सडक भासिएर गाडी हराएको हेटौंडाको गैरीगाउँ क्षेत्रमा यसअघि खेत जोत्दाजोत्दै हलगोरु समेत हराएको स्थानीय बासिन्दा बताउँछन्।
हेटौंडा उपमहानगरपालिका-१७ का वडाध्यक्ष रामकृष्ण कोइरालाले सानै छँदा गैरीगाउँमा खेत जोत्दाजोत्दै हलगोरु हराएको सुनेका थिए। ठूलो फाँटमा कसरी हलगोरु हराए होलान् भन्ने लागेको थियो। “पहिले पहिले जोत्दै गरेको हलगोरु नै हराउने गरेको सुनेको थिएँ, त्यो पत्यार लाग्दैनथ्यो,” कोइराला भन्छन्, “कसैले कहानी बनायो होला सोच्थें।’
एक दशक जति अघिको कुरा हो, गैरीगाउँमा खेत जोत्दै गर्दा भासियो। दलदलमा गोरु फसेको छ भन्ने सुनेपछि गाउँले आइपुगे। त्यति वेला खेतमै पुगेका कोइराला भन्छन्, “१० वर्षअघि जोत्दै गरेको हलगोरुमध्ये एउटा गोरु दलदलमा भासिएर मरेको देखेको थिएँ।”
खेत जोत्दै गर्दा गोरु दलदलमा फसेर मरेको ठाउँबाट ५००-७०० मिटरको दूरीमा वैशाख १९ मा जमीन भासिंदा गाडी हराएको खबर आयो। कोइराला पनि त्यस ठाउँमा पुगे। “सडक भासिएर गाडी हराएको सुन्दा आश्चर्य लाग्यो,” उनी भन्छन्, “पहिले खेत जोत्दा हलगोरु हराएको सुनेको थिएँ, अहिले त सडक भासिंदा गाडी हराएको छ।”
माछा बोक्ने ना.४ च ४८३३ नम्बरको ‘पिकअप भ्यान’ वैशाख १९ मा हेटौंडा-१६ स्थित गैरीगाउँको भित्री सडकमा रोकिएको थियो। घाँस काट्ने मशिन ‘लोड’ गरिएको गाडीका अगाडिका पांग्रा जमीनमा धसिए। हेर्दाहेर्दै जमीन भासिएर गाडी नै हरायो। अहिले ठूलो खाल्डो बनेको छ। स्थानीय बासिन्दा, प्रहरी र भूगर्भविद्को टोलीले खोजबिन गर्दा पनि गाडी भेटिएको छैन।
पहिलेदेखि नै त्यो क्षेत्र दलदले रहेको स्थानीय बासिन्दा बताउँछन्। स्थानीय सागर पुडासैनी २०७२ सालको भूकम्प आउँदा त्यस क्षेत्रमा चुन मिसिएको पानीका फोका उठेको सुनाउँछन्। “पहिलेदेखि नै दलदले थियो,” पुडासैनी भन्छन्।
उक्त स्थानमा पोखरी बनाउन आठ वर्षअघि बोरिङ गरिएको थियो। तर सोचे अनुसार पानी नआएको र वरिपरि लेदो सहित पानी बग्न थालेको स्थानीय प्रकाश पराजुली सम्झन्छन्। “अहिले जमीन भासिएको ठाउँ बोरिङ खनिएको स्थल हो,” उनी भन्छन्, “आठ वर्षअघि बोरिङ गरेपछि लेदो मिसिएको पानी बग्ने गरेको थियो।”
स्थानीय पराजुलीका अनुसार हेटौंडाका वडा नंं. १६, १७ र १८ स्थित फाँटमा सानाठूला कैयौं ‘डीप बोरिङ’ छन्। करीब ५०० मिटरको दायरामा मात्र झन्डै आधा दर्जन ठाउँमा पाइप गाडेर भूमिगत पानी निकालिएको छ।
अर्का स्थानीय बासिन्दा निरञ्जन ढकाल बोरिङ गरेको स्थानमा जमीन कमजोर भएर भासिएको अड्कल लगाउँछन्। “योभन्दा अलि माथिको स्थान चाहिं अझै बढी धाप क्षेत्र हो, तर यो त त्यस्तो ठाउँ नै होइन,” ढकाल भन्छन्, “सडकका दुवै छेउमा माछापोखरी रहेछन्, सडकको भित्तामा पनि बोरिङका लागि खनिएको छ।”
के माछापोखरी र बोरिङकै कारण सडक भासिएको हो त? गाडी हराएको ठाउँको अध्ययन गरेर भूगर्भविद्को टोली फर्किएको छ। अध्ययन टोलीको प्रारम्भिक प्रतिवेदन आएपछि मात्रै वास्तविकता थाहा हुने हेटौंडाका उपमेयर राजेश बानियाँ बताउँछन्।
हेर्दाहेर्दै हरायो गाडी
घाँस काट्ने मशिन ‘लोड’ गरिएको गाडी वैशाख १९ गते साँझतिर गैरीगाउँको भित्री सडकको हिलोमा फस्यो। गाडी चालक हरेराम राई र सहचालक मुक्तिलाल सहनीले निकाल्ने कोशिश गरे। “गाडी निकाल्ने निकै प्रयास गरें। झन्डै एक घण्टासम्म पनि निकाल्न सकिएन,” चालक राई भन्छन्।
गाडी डुबेपछि बनेको आहाल।
उनी त्यही क्षेत्रमा माछापालन पनि गर्छन्। उनको बोरिङ पनि छ।हराएको गाडी माछा बोक्न प्रयोग हुन्थ्यो।
कच्ची सडकमा गाडी फसेपछि उनी ट्र्याक्टर बोलाएर तान्ने ध्याउन्नमा थिए। त्यसका लागि गाडीभित्रै बसेर फोन गर्दै थिए। सहचालक सहनी गाडी निकाल्न खोजिरहेका थिए। “गाडीको अगाडिको भाग बिस्तारै दबिएको जस्तो देखेछन्। मुक्तिलालले चिच्याएर बाहिर निस्किन भने,” चालक राई सुनाउँछन्, “म नि तुरुन्तै निस्कें। हेर्दाहेर्दै गाडी जमीनमा बिलायो।”
उनी हरेक दिन त्यही बाटो भएर आउजाउ गर्थे। माछा र दाना ल्याउने-लैजाने गर्थे। “मेरा नौ वटा माछापोखरी छन्। एक वर्षदेखि दिनदिनै गाडीमा आवतजावत गर्थें,” राई भन्छन्, “कहिले यस्तो भएको थिएन। जमीन भासिएको यसै पटक देखेको हुँ।”
गाडी डुबेपछि धमिलो पानीको भुमरी बनेको उनी सुनाउँछन्। हेर्दाहेर्दै वरपरको माटो पनि झरेर गहिरो खाल्डो बनेको उनी बताउँछन्।
भोलिपल्ट वैशाख २० मा जिल्ला प्रहरी कार्यालय, मकवानपुरको टोली खोजबिनमा खटियो। दुई वटा मोटरको प्रयोग गरेर दिनभर लगाएर पानी बाहिर फालियो, तैपनि गाडी फेला परेन।
गाडी ६ मिटर तल रहेको आकलन
तीन दिनपछि काठमाडौंबाट पुगेको खानी तथा भूगर्भ विभागको टोलीले खोजबिन शुरू गर्यो। भूगर्भविद्को टोलीले वैशाख २३ र २४ गते खोजबिन गर्दा पनि गाडीबारे यकीन जानकारी पाउन सकेन। जमीनको सतहबाट ६ मिटर तल गाडी रहेको आकलन गरिएको भूगर्भविद् नारायण अधिकारी बताउँछन्।
गैरीगाउँ क्षेत्र।
अधिकारी नेतृत्वको चार सदस्यीय टोलीले तीन ठाउँमा ड्रिलिङ गरेको थियो। एउटामा ड्रिलिङ रड आठ मिटरको गहिराइसम्म सजिलै गएको र त्यसपछि गरिएका दुई वटा ड्रिलिङका क्रममा ड्रिलिङ रड ६ मिटरमा रोकिएको उनी बताउँछन्। यसैलाई आधार मानेर ६ मिटरमा गाडी रहेको अनुमान गरिएको छ।
भूगर्भविद् अधिकारीका अनुसार सबैभन्दा पहिले ‘प्रोटोन म्याग्नेटोमिटर’ प्रयोग गरी गाडीको सम्भावित स्थान पत्ता लगाउने कोशिश गरिएको थियो। “प्रोटोन म्याग्नेटोमिटर प्रयोग गर्दा जमीन भासिएर गाडी हराएको ठाउँको वरपर एक ठाउँमा चुम्बकीय वस्तु रहेको संकेत अन्य स्थानको तुलनामा निकै बढी देखियो,” उनी भन्छन्, “त्यसकै आधारमा ‘ड्रिल’ गर्दा तीनमध्ये दुई स्थानमा ड्रिल रड ६ मिटरमै रोकिएपछि गाडी भएको स्थानमा पुग्यौं भन्ने अनुमान गरेका हौं।”
यद्यपि यसैलाई आधार मानेर गाडी त्यही स्थानमा रहेको यकीनसाथ भन्न नसकिने उनी बताउँछन्।
भूगर्भविद्को टोलीले गैरीगाउँ क्षेत्रको भौगोलिक अवस्थाबारे पनि अध्ययन गरेको छ। माटाको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण समेत गरेको छ। प्रारम्भिक अध्ययनपछि भूगर्भविद्को टोली काठमाडौं फर्किएको छ। संकलन गरेका तथ्य र नमूनाको प्रयोगशाला परीक्षणपछि दोस्रो चरणको अध्ययन गरिने जनाइएको छ।
अध्ययन टोलीमा रहेका अर्का भूगर्भविद् कृष्ण पाण्डे ‘प्रोटोन म्याग्नेटोमिटर’ को सहायताले गाडी भासिएको स्थानको केही पूर्वतर्फ ठूलै चुम्बकीय क्षेत्र तथा पदार्थ रहेको संकेत प्राप्त भएको बताउँछन्। हराएको गाडीसँगै आसपासको भूबनोट, भूमिगत जलस्रोत लगायतबारे पनि अध्ययन गरिएको पाण्डेको भनाइ छ। अहिले जमीन भासिएर खाल्डो भएको स्थानको वरपर समेत बसोबासका लागि जोखिम रहेको उनी जानकारी दिन्छन्। “दलदले क्षेत्र रहेको कारण जुनसुकै वेला जमीन भासिन सक्छ, यो स्थान बसोबासको लागि जोखिमपूर्ण छ,” भूगर्भविद् पाण्डे भन्छन्।