डाँठमा हत्केलाको ठीक पछाडिको भागले छुँदा चिसो अनुभव भए गोलभेंडा हुर्किरहेको वातावरण स्वस्थ रहेको बुझिन्छ। छुँदाखेरि तातो अनुभव भए चाहिं बढी तापक्रमले बिरुवामा पानीको क्षय भएको वा रोगकीराले आक्रान्त पार्न लागेको बुझ्नुपर्छ।
डोलराज पाण्डे
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २०७८/७९ को तथ्यांक अनुसार नेपालमा कुल २२ हजार ९११ हेक्टर क्षेत्रफलमा गोलभेंडा खेती हुँदै आएको छ। यसमा ८०० हेक्टर संरक्षित संरचनाभित्र हुने व्यावसायिक खेतीले ओगट्छ। बाँकी खुला जमीनमा हुने परम्परागत खेती हो। कुल उत्पादकत्व १८.४५ टन प्रतिहेक्टर रहेको गोलभेंडाको कुल उत्पादन चाहिं चार लाख २२ हजार ७०३ टन छ।
गोलभेंडाको व्यावसायिक खेती गर्नेहरू पहिलेभन्दा बढ्नुको मुख्य कारण यसको माग बढ्नु हो। माग बढ्नुको कारण चाहिं यसमा हुने पौष्टिक तत्त्वबारे सर्वसाधारणसम्म व्यापक प्रचार हुनु र परिकारको स्वाद बढाउनु हो। गोलभेंडामा विभिन्न भिटामिन, क्याल्सियम, कार्बोहाइड्रेट जस्ता पोषक एवं क्यान्सर आदि रोग विरुद्ध लाभकारी तत्त्व पाइने वैज्ञानिक अनुसन्धानले देखाएका छन्। खाना स्वादिलो बनाउन यो वर्षौंदेखि सर्वसाधारणका भान्सादेखि होटल-रेस्टुराँसम्मका परिकारको साथी बन्दै आएको छ।
नेपालमा भौगोलिक परिवेश अनुसार विभिन्न समयमा रोपिने गरेको गोलभेंडाबाट राम्रो उत्पादन लिन हावापानीको भूमिका महत्त्वपूर्ण हुन्छ। चिसो र तातो दुवै बढी परिमाणमा सहन नसक्ने यसका लागि २४ देखि २७ डिग्री सेन्टिग्रेड उत्तम रहन्छ। यस अनुसार मध्यपहाडी क्षेत्र र संरक्षित संरचनाभित्र फागुनदेखि मंसीरसम्म बाली लिन सकिन्छ। त्यस्तै, मध्यपहाडमा ८०० देखि १३०० मिटर उचाइसम्म पुस-माघ बाहेक वर्षैभरि, तराई तथा ८०० मिटरभन्दा तल्लो भेगमा असोजदेखि फागुनसम्म र उच्च पहाडी भूभागमा चैतदेखि भदौसम्म खेती गर्नु हावापानीका हिसाबले अनुकूल हुन्छ।
उमारशक्ति ७० प्रतिशतभन्दा बढी रहेको बीउ भए एक रोपनी जमीनमा सात ग्रामबाट नै पर्याप्त गोलभेंडा फलाउन सकिन्छ। राम्रो सेचनक्रियाले सम्पन्न पोटिलो एक ग्राम बीउमा १८० देखि २०० वटासम्म दाना लाग्छन्। संरक्षित संरचनाका हकमा ६० वर्गमिटर क्षेत्रमा लहरामा फैलने सिर्जना आदि जातका बोट १५४ वटासम्म लगाउन सकिन्छ। नर्सरीको ब्याड तयार पार्दा नै संक्रमणरहित बनाउन सकिए पछि बिरुवा स्वस्थ भई रोगकीरामा गर्नुपर्ने खर्च कम हुन्छ। ब्याड जति लम्ब्याए पनि चौडाइ एक मिटर मात्र हुनुपर्छ। दुई ड्याङबीच ३० देखि ५० सेमीसम्म फराकिलो बाटो राखिनुपर्छ ताकि सिंचाइ तथा झारपात उखेल्नका लागि ओहोरदोहोर गर्न सहज होस्।
ब्याड बनाउँदा सकेसम्म एक बोटले अर्कोलाई सूर्यको प्रकाश नछेकोस् भन्नेमा ध्यान दिइनुपर्छ। सामान्यतया ब्याड उत्तर-दक्षिणतिर लम्ब्याउँदा प्रकाश राम्ररी पुग्छ। सबैभन्दा पहिले ‘ड्रिप लाइन’ विस्तार गरी माथिबाट ‘प्लास्टिक मल्च’ को प्रयोग गर्नुपर्छ। एकदेखि अर्को ड्याङसम्मको दूरी ९० देखि १०० सेमी र एकदेखि अर्को बोटसम्मको दूरी ३०-४० सेमी कायम गर्नु उचित हुन्छ। ‘ड्रिप लाइन’ प्रयोग गर्नुको उद्देश्य सिंचाइका साथमा घुलनशील मल र विषादी समेत दिन सकियोस् भन्ने हो।
गोलभेंडाको ब्याड
राम्ररी जोतेर सम्याएको नर्सरी क्षेत्रलाई हल्का सिंचाइ गरी पारदर्शी तर नच्यातिएको सफा प्लास्टिकले दुई-तीन हप्ता छोपिदिएर ‘सोलराइजेशन’ गराउँदा बिरुवा रोगकीराबाट जोगिन्छ। उपयुक्त तापक्रम र माटामा पर्याप्त चिस्यान पुगेको बिरुवा रोपेको २२-२५ दिनमै चार-पाँच पाते भइदिन्छ। बिरुवाको रोगप्रतिरोधात्मक क्षमता बढाउन बेर्ना तीनपाते हुँदा नै ‘क्रान्ति’ वा ‘न्यूलाइट’ छर्किनु राम्रो हुन्छ। यी विषादीको मात्रा प्रति एक लिटर पानीमा एक मिलिलिटरका दरले मिलाउनुपर्छ।
बीउ राखेको २५ दिनभित्र बाली लगाउने मुख्य जमीनमा पनि आवश्यक तारतम्य मिलाइसक्नुपर्छ। जस्तो- एक रोपनी जमीनका लागि १५०० केजी बुर्बुराउँदो गोबर वा कम्पोस्ट मल, २०-२५ केजी चिउरी वा तोरीको पिना, ९०-१०० केजी कुखुराको सुली, ८-१० केजी डीएपी, पाँच केजी पोटास तथा आधा केजी बोरेक्स र जिंक चाहिन्छ। पाँच केजी युरियालाई बाली अवधिभरका लागि पुग्नेगरी भाग लगाएर पहिलो पटक फूल फुल्न थालेपछि (रोपेको ४२ दिनमा पहिलो पटक) र हरेक पटक फल टिपेपछि बोटमा हाल्दा उत्पादन राम्रो हुन्छ।
एक अध्ययन अनुसार एक केजी गोलभेंडाले माटाबाट नाइट्रोजन ६.१ ग्राम, फस्फोरस सात ग्राम, पोटास ७.४ ग्राम, क्याल्सियम ७.५ ग्राम, म्याग्नेसियम २.२ ग्राम र सल्फर ०.६ ग्राम लिन्छ। एशियन भेजिटेबल रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर (एभीआरडीसी)को रिपोर्टमा कति गोलभेंडा फलाउन मलको मात्रा कति मिलाउने भन्नेबारे एउटा सूत्र छ। ३० टन गोलभेंडा फलाउनुलाई आधार बनाएर उक्त सूत्रले दिएको हिसाब अनुसार यसका लागि प्रतिहेक्टर ७२ केजी नाइट्रोजन, २५.२ केजी फस्फोरस र १०४.४ केजी पोटास हाल्नुपर्छ।
जात अनुसार स्याहार
गोलभेंडाको वृद्धि संरचना दुईखाले हुन्छ- छिमलमा फल्ने र लहरिएर जाने। छिमलमा फल्ने जात- मनप्रेकस, पुसा, रुबी आदिमा काटछाँटको आवश्यकता पर्दैन। तिनमा पात र फलको वृद्धिविन्यास एकनासको नहुने भएकाले प्रायः रोगी पात मात्र काट्न सकिन्छ। चोर हाँगाले असर पुर्याउँदैन। लहरामा फल्ने जात- सिर्जना, कविता आदिमा चाहिं हरेक तीन पातपछि फलको झुप्पो लाग्छ। पातको बीचबाट आइरहने चोरहाँगाले बिरुवाको भागको पानी, प्रकाश तथा पोषक तत्त्व पनि लिइदिन्छन्। त्यसैले यस्ता चोर हाँगा वेलैमा हटाउँदै जानुपर्छ। लहरे गोलभेंडाका पात फल नटिपुन्जेल भरसक काट्न हुँदैन। किनकि यसका पात बाहेक सबै भाग खन्चुवा हुन्छन्। तिनका लागि खाना बनाउने काम पातले गरिदिन्छ। त्यसैले फल टिप्नुअघि नै पात हटाए उत्पादनमा असर पर्छ।
लहरामा फल्ने सिर्जना जातको नेपाली हाइब्रिड गोलभेंडा।
लहरे गोलभेंडामा जात अनुसार ४५-६० सेमीको उचाइबाट प्राकृतिक रूपमा मोटा हाँगा अंग्रेजीको ‘भी’ आकारमा छुट्टिएर जाने गर्छन्। तीभन्दा तल सहायक हाँगा पनि हुन्छन्, तिनलाई हटाउन सकिन्छ। माटो मलिलो छ भने माथि पुगेर छुट्टिएका हाँगालाई थप बढाएर फैलाउन सकिन्छ। माटामा पोषक तत्त्व नै कम छ भने ती दुई मुख्य हाँगा मात्र राख्दा राम्रो हुन्छ।
आजभोलि लहरे गोलभेंडालाई टेको दिन प्लास्टिकको डोरी प्रयोग गरिन्छ। गाउँघरतिर बाँस वा झिक्राहरूले पनि टेको दिइन्छ। यसरी बाँस प्रयोग गर्दा बोटलाई चोट नपुगोस् भन्नेमा सजग हुनुपर्छ। खासगरी बाँसको मुलायम भागलाई बोटपट्टि पार्नुपर्छ। बजारमा सजिला ‘टमाटो क्लीपर’ पनि आएका छन्। संरक्षित संरचनाको चारैतर्फ स्टीलको तारले घेर्ने, त्यो तारमा नाइलन वा प्लास्टिकको डोरी बाँधेर बिरुवाको फेदमा ल्याई गाँठो पार्ने र बिरुवाको हुर्काइसँगै त्यसलाई सोही डोरीमा ‘स्टीच’ लगाएर पनि अड्याउन सकिन्छ। यसमा डोरी र डाँठलाई फिताले लपेटेर कागजलाई जस्तै ‘स्टीच’ गर्न सकिन्छ। यसरी टेको दिनु वा स्टीच लगाइनुको कारण बोट भुइँमा ढलेर वा लत्रिएर नाश नहोस् भन्ने हो।
गोलभेंडा सप्रन सूर्यको प्रकाश, कार्बनडाइअक्साइड, मल एवं पानी जरूरी छ। तसर्थ संरक्षित संरचनाभित्र खेती गर्दा सापेक्षिक आर्द्रता सकेसम्म ६५-७० प्रतिशत कायम गर्ने, माटामा चिस्यान नियमित राख्ने, कार्बनडाइअक्साइडको अवस्था थाहा पाउन टनेलभित्र एउटा धागो बाँध्ने, अधिकतम र न्यूनतम तापक्रम छुट्याउने थर्मोमिटर राख्ने, टनेलमा बालीले ढाके बाहकको क्षेत्रमा कम्तीमा ४० प्रतिशत स्थान खुला छाड्ने आदि गर्नुपर्छ।
बिरुवालाई प्रकाश संश्लेषणका लागि अक्सिजन र कार्बनडाइअक्साइड ग्यास दुवै चाहिन्छ। टनेलमा बाँधिने धागोको हलचलले प्राकृतिक रूपमा हावाको सञ्चार भइरहेको छ/छैन भन्ने जनाउ दिन्छ। हावा नखेल्दा बिरुवाको प्रकाश संश्लेषणमा बाधा पुग्छ। अधिकतम र न्यूनतम तापक्रम नाप्न मिल्ने थर्मोमिटरले टनेलको २४ घण्टाको तापक्रम मापन एकैचोटि गर्छ। १० डिग्री सेन्टिग्रेडभन्दा कम वा ३० डिग्रीभन्दा बढी तापक्रम यो बालीका लागि राम्रो हुँदैन। तापक्रम बढी हुँदा फूल झर्ने र फल नलाग्ने, हावाको चापमा असर पार्ने र रोगकीरा लाग्ने जोखिम रहन्छ।
डाँठमा हत्केलाको ठीक पछाडिको भागले छुँदा चिसो अनुभव भए बिरुवा हुर्किरहेको वातावरण स्वस्थ रहेको बुझिन्छ। छुँदाखेरि तातो अनुभव भए चाहिं बढी तापक्रमले बिरुवामा पानीको क्षय भएको वा रोगकीराले आक्रान्त पार्न लागेको बुझ्नुपर्छ। खेती गर्नेले बिरुवाको भाषा बुझ्न सक्नुपर्छ। जस्तो- तापक्रम, पानी वा मल बढी भएको खण्डमा पात तलतिर लत्रिन्छन्। मल वा पानी कम भए पात माथितिर फैलिन्छन्। मलपानी सन्तुलित परिमाणमा पाएका पात चाहिं सामान्यतया डाँठसँग समानान्तर रहन्छन्। फस्फोरस (डीएपी) बढी प्रयोग हुँदा पातबाट हाँगा निस्किएर सताउँछन्। तसर्थ मलको पनि सही उपयोग जरूरी छ।
टनेलभित्र गोलभेंडालाई डोरीले बाँधेर दिइएका टेका।
सामान्यतया प्राथमिक तत्त्व मानिने नाइट्रोजन, फस्फोरस तथा पोटासको कमीका लक्षण बिरुवाको तल्लो भागका पातले देखाउँछन् भने माध्यमिक तत्त्वको कमी मध्यम भागका पातले। त्यस्तै सूक्ष्म तत्त्वहरू बोरोन, जिंक, मोलिब्डेनम, कपर, आइरन आदि तत्त्वको कमी बोटका सबैभन्दा कलिला र टुप्पाका पातहरूमा देखा पर्छ। नाइट्रोजनको कमीले पातमा हरितकण हराउँछ र बोट बढ्न सक्दैन। फस्फोरस नहुँदा पात बैजनी रङमा बदलिन्छ भने पोटासको कमीले पातमा कडापन वा भाँचिने समस्या आउँछ। माध्यमिक तत्त्वमा क्याल्सियम कम भए फल कुहिन्छ। त्यसैले फल टिपेपछि सूक्ष्म तत्त्वको पूर्तिका लागि एक लिटर पानीमा दुई एमएल ‘क्रान्ति’ (पोषक तत्त्वहरू मिलाएर तयार पारिएको मल) मिलाई प्रयोग गर्नु उपयुक्त हुन्छ।
बजारसँग तादात्म्य
बीउ उत्पादनका लागि गोलभेंडा पूर्णतः पाकेपछि (सामान्यतया २२ देखि २७ डिग्री सेन्टिग्रेडमा क्रसिङ गरेको ४५ दिनपछि) मात्र टिप्नुपर्छ। फल पूरै रातो नहुँदै टिपे भ्रूण परिपक्व हुन पाउँदैन र बोटको व्यावसायिक अवधि कम हुन्छ। नौ महीना टिक्ने बोट ६ महीनामै फाल्नुपर्ने हुन्छ। तर उपभोगका लागि बजारको अवस्था र दूरी हेरेर, फलको आकारप्रकार बिचारेर, हल्का पहेंलो वा रातो भएको अवस्थामा बीउ नकाटिनेगरी टिप्दा फरक पर्दैन।
बजारमा तत्काल राम्रो भाउ नपाउने कारणले गोलभेंडा १५-२० दिन बोटमै राख्नुपर्ने अर्थात् ढिलो पकाउनुपर्ने स्थिति रहे ‘क्याल्सियम क्लोराइड’ प्रयोग गर्न सकिन्छ। यो सकेसम्म घाम अस्ताएपछि पूरै बोट भिज्नेगरी छर्कनुपर्छ। यसको प्रयोग गोलभेंडाको टुप्पो कुहिने समस्याको निराकरणमा पनि गर्न सकिन्छ। तत्काल पकाइहाल्नुपर्ने स्थिति छ भने चाहिं ‘इथेफोन’ को प्रयोग गर्नुपर्छ।
गोलभेंडामा डढुवा रोग पनि लाग्न सक्छ। यसलाई समयमै रोक्न ब्याड बनाउँदा ताका नै ‘मेन्कोजेव’ प्रयोग गर्नुपर्छ। रोग लागिहाले चाहिं क्रिल्याक्सिल वा कपरअक्सिक्लोराइड जस्ता सुरक्षात्मक विषादी हाल्नुपर्छ। विषादीको मात्रा विज्ञको सिफारिश अनुसार तय गरिनुपर्छ। खासगरी मौसममा अदलीबदली हुँदा- तापक्रम १० देखि २० डिग्रीसम्म रहे, बादल लागिरहे, सिमसिम पानी परिरहे, शीतलहरले छोपिरहे डढुवा लाग्ने जोखिम हुन्छ।
टनेलभित्र टुटा, हेलिकोभर्पा, सेतो झिंगा तथा निमाटोडले पनि दुःख दिन सक्छन्। यी कीराको व्यवस्थापन गर्न मोहिनी पासो (टुटालुर), पहेंलो पासो र विषादी समेत प्रयोग गर्नुपर्ने हुन्छ। पहेंलो पासोमा चुसाहा कीराहरू टाँसिएर मर्छन्। मोहिनी पासोमा खासगरी भाले कीरा आकर्षित हुन्छ र त्यहाँ रहेको विषादीमा परेर पर्छ। सबैभन्दा हानिकारक मानिने कीरा टुटाका लागि एउटा टनेलमा तीन-चार वटा टुटालुर र पाँच-सात वटासम्म पहेंलो पासो राख्नुपर्छ। टुटालुर हरेक ४५ दिनमा फेर्नुपर्छ। यसलाई एउटा सोलीमा सर्फ-पानी घट्न नदिई नियमित राख्नुपर्छ। पानी सुके कीरा त्यसमा पर्न पाउँदैनन् र उम्कन्छन्। पात चुस्ने र रोगका भाइरस समेत सार्न सक्ने सुलसुले कीरा धेरै आए एउटा टनेलमा दुई वटासम्म टुटालुर राख्नुपर्ने हुन सक्छ।
मोहिनी पासो।
टुटामा इमामेक्टिन बेन्जोएट, इमिडाक्लोप्रिड वा स्पिनोस्याड आदि विषादी प्रयोग गर्न सकिन्छ। तर यी विषादी एकै पटक नभएर सिफारिश गरिएको मात्राका आधारमा पालैपालो राख्नुपर्ने हुन्छ। एकैपटक प्रयोग गर्दा बचेका कीराका सन्ततिमा विषादि पचाउने शक्तिको विकास भई पछि अझ कडा विषादी प्रयोग गर्नुपर्ने स्थिति आउँछ जुन वातावरणीय र आर्थिक हिसाबले घातक सावित हुन सक्छ।
गोलभेंडाको ठूलो शत्रुजीव हो, निमाटोड। बोट लगाएको प्रायः तीन-चार महीनामा यसको क्षति देखिन शुरू गर्छ। यसलाई नियन्त्रण गर्न पानी पटाउने, तोरी वा सयपत्री लगाएर जोतिदिने, माटो परीक्षण गरी अम्लीय र क्षारीयपन सन्तुलनमा राख्ने, बाली लगाउनुपूर्व माटामा चिउरीको पिना, दैहिक विषादी र केही चुना मिलाई हल्का सिंचाइ गरी जोत्ने र २१ दिनसम्म पारदर्शी प्लास्टिकले छोपिदिनुपर्छ। खडा बालीमा निमाटोडको संक्रमण भएको अवस्थामा गोबरमलको लेदोले डाँठलाई जमीनमा सुताएर ढाकिदिए त्यसबाट सहायक जरा पलाई बोट जोगिन्छ। यो प्रक्रिया तत्काल उत्पादन लिन बाधक पनि बन्दैन।
गोलभेंडाका लागि सबैभन्दा महत्त्वपूर्ण तत्त्वमध्ये क्याल्सियम एक हो। एक केजी गोलभेंडाले माटाबाट ६.५ ग्राम क्याल्सियम तान्छ। यो पानीको माध्यमबाट बिरुवाको परिवहन प्रणालीमा पुग्छ। माटामा चिस्यान नियमित रहे क्याल्सियमको कमी हुँदैन। अन्यथा क्याल्सियम बिरुवाको डाँठमै रोकिई टुप्पामा पुग्न पाउँदैन। फलतः फलको टुप्पामा पहिले सेता फोका देखा पर्छन्। सुक्खापन कायमै रहे टुप्पो कुहिने समस्या निम्तिन्छ। तसर्थ माटामा कम्तीमा २५-३० प्रतिशत चिस्यान कायम भइरहनुपर्छ। टुप्पो कुहिने समस्या रोक्न ‘चिलेटेड क्याल्सियम’ पनि प्रयोग गर्न सकिन्छ।
गर्मी याममा संरक्षित संरचनाभित्र तापक्रम बढी भई कहिलेकाहीं फूल झर्ने र फल नलाग्ने समस्या देखिन्छ। यस्तो स्थितिमा टनेलमा बोट भिज्नेगरी सफा पानी छर्किएर तापक्रम कम गर्ने प्रयास गर्नुपर्छ। टनेलका छेउछाउका प्लास्टिक खोलिदिनुपर्छ। पानी छर्कनुअघि ‘स्प्रेयर’ चार-पाँच पटक सफा पानीले पखालिएको हुनुपर्छ। विषादीहरू मिसिएको पानी रहेछ भने बोट दुबी आए जसरी सेतो हुन सक्छ। यद्यपि यसले उत्पादनमै असर गर्दैन। ठूलो क्षेत्रफलमा गोलभेंडा लगाइएको छ र पानी पुर्याउन सकिने स्थिति छैन भने तापक्रमको सन्तुलन बिग्रिएर बोट मरिहाल्न नदिन बिरुवाका आधाभन्दा बढी पात काटिदिनुपर्छ। किनकि गोलभेंडाको बोटमा पानीको सबैभन्दा बढी पानी खपत वा नाश गर्ने पातले नै हो। अन्य अवस्थामा भने बिरुवाको पात काट्नु घातक सिद्ध हुन्छ, किनकि फलहरूसम्म खाना पुर्याउने पनि यसैले हो।
गोलभेंडाको राम्रो हाइब्रिड जात उपलब्ध रहेको तर त्यसको बीउ बनाउन नसकिएको स्थिति भए वानस्पतिक वृद्धि गरी बिरुवा जोगाइरहन सकिन्छ। यसका लागि भर्खर फुल्न लागेको बोटबाट १०-१५ सेमीका चोर हाँगा लिने र तिनमा टुप्पाका दुई पात बाँकी राखेर अरू काटिदिने। त्यसपछि त्यो हाँगालाई बालुवा वा माटामा छड्के पारेर रोपी दिनहुँ पानी हाल्ने। यसो गर्दा गर्मी महीनामा १५ दिन र जाडोमा २२ दिनभित्र सहायक जरा पलाउँछ। तब उक्त हाँगालाई मुख्य खेतमा सार्न सकिन्छ। खासगरी मनिमेकर जस्ता एक ग्रामकै ७२ डलरसम्म मूल्य पर्ने बीउहरूमा यस्तो प्रविधि अपनाउन सकिन्छ। यसरी कटिङ प्रविधिबाट फलेका शुरूका फल साना हुने भए पनि पछिका झुप्पा सामान्य आकारकै हुन्छन्।
(पाण्डे तरकारी बाली विकास केन्द्र, खुमलटार, ललितपुरका बागवानी विकास अधिकृत हुन्।)
यी पनि पढ्नुहोस्