कला, संस्कृति जगेर्ना गर्न स्थापना गरिएको दाङको चखौरास्थित थारू सांस्कृतिक संग्रहालय पर्यटकीय गन्तव्य त बनेको छ नै, स्थानीय स्तरमा आर्थिक गतिविधि पनि बढाएको छ।
माछा मार्ने हेल्का, जाल, खोंग्या र डेल्या, शिकार गर्ने हातहतियार तथा लुगा राख्ने भौका र ढक्या। रातसाँझ सुस्ताउने खटिया, बस्ने बेरी, खटौली र ढच्या गोन्द्री, धान राख्ने डेह्री, कुठली र भकारी तथा दुलाहादुलही बोक्ने ड्वाला लहरै छन्।
सँगसँगै थारू राजा दंगीशरणको आकृति र घोडाघोडीको मूर्ति। खोलामा माछा मार्दै गरेको परिदृश्य। मघौटा, छोक्रा, हुर्डंग्या, लठ्वा तथा बर्का लगायत नृत्य झल्किने कलाकृति।
यो दाङको दंगीशरण गाउँपालिका-३, चखौरास्थित थारू सांस्कृतिक संग्रहालयको दृश्य हो। थारू समुदायको कला, संस्कृति र परम्परागत सामग्री संरक्षण गर्न स्थापना गरिएको संग्रहालय अहिले पर्यटकीय गन्तव्य बनेको छ। संग्रहालय अवलोकनका लागि हरेक दिन आन्तरिक पर्यटकको घुइँचो लाग्छ।
लौठसारी पूजाको दृश्य।
संग्रहालय स्थापना गरेको संस्था थारू सांस्कृतिक संरक्षण केन्द्रकी उपाध्यक्ष शान्ता चौधरी पर्यटकीय गन्तव्य बनेको देख्दा खुशी लागेको बताउँछिन्। “थारू जातिको संस्कृति हराउँदै गइरहेको देखेर मन कुँडिन्थ्यो। त्यही पीडाबाट यो केन्द्रको यात्रा शुरू भएको हो,” चौधरी भन्छिन्, “गएको वर्ष झन्डै एक लाख जनाले संग्रहालयको अवलोकन गरे। यसले स्थानीय स्तरमा आर्थिक गतिविधि पनि बढाएको छ।”
संस्कृति झल्किने संग्रहालय
स्कूलको छुट्टीमा बर्दियाका शम्भु थारू छोराछोरी लिएर चखौरा पुगे। संग्रहालय डुलाउँदै ऐतिहासिक सामग्री देखाएर विविध जानकारी दिइरहेका थिए। “हेर न, हाम्रा बाजेबज्यैको जीवन कस्तो थियो!,” संग्रहालयमा सजिएका आकृति देखाउँदै थारू बोले। उनीसँगै आएका गाउँका बालबालिका पनि रमाएर हेर्न थाले।
बिदाको दिन स्कूले बालबालिकाको घुइँचो लाग्छ। टाढा टाढाबाट संग्रहालय अवलोकन गर्न शिक्षक, विद्यार्थी आउने गर्छन्। अझ चाडपर्वमा त विद्यार्थी बाहेकका अवलोकनकर्ताको पनि भीड लाग्छ।
थारू समुदायको परम्परागत घर।
दैनिक झन्डै ३०० जनाले संग्रहालय अवलोकन गर्ने गरेको उपाध्यक्ष चौधरी बताउँछिन्। त्यसमा आन्तरिकसँगै बाह्य पर्यटक पनि हुन्छन्। कहिलेकाहीं त एकै दिनमा दुई हजारभन्दा बढी पनि आएको तथ्यांक छ। “थारू समुदाय मात्र नभई अन्य समुदायका मानिस पनि आउँछन्। विशेषगरी देशभरबाट विद्यार्थी आउने गरेका छन्,” उनी भन्छिन्, “पछिल्लो समय थारू समुदायको संस्कृति र रहनसहनबारे अध्ययन र अवलोकन गर्न विदेशी पनि आइरहेका छन्।”
तराईका २४ जिल्लामा थारू समुदायको बाक्लो बसोबास छ। सबै जिल्लामा बसोबास गर्ने थारू समुदायका फरक फरक कला, संस्कृति र पहिचान झल्किने सामग्री संग्रहालयमा राखिएको छ। डगौरा, राना, चितवन्या, डशौरी, माझी र पूर्वेली गरेर थारू समुदायका विभिन्न पहिचान छन्। सबैका फरक फरक परम्परागत वेशभूषा, भाँडाकुँडा, रहनसहन, कला र संस्कृति छन्। ती सबै एउटै ठाउँमा अवलोकन गर्न पाइन्छ।
खाना पकाउने माटाका भाँडाकुँडा, ढिक्री, रक्सी बनाउने भाँडाकुँडा, गरगहना संग्रहालयमा देख्न सकिन्छ। थारू समुदायका पुर्खाले लुगा राख्न बनाएका भौका, ढक्या, सुत्ने खटिया, बस्ने बेरी, खटौली, ढच्या गोन्द्री, धान राख्ने डेह्री, कुठली, भकारी, बिहेमा दुलाहादुलहीले चढ्ने ड्वाला, चौठ्यार पनि जोगाएर राखिएका छन्। शिकार खेल्न प्रयोग गरिने हातहतियार, माछा मार्न चाहिने हेल्का, जाल, खोंग्या र डेल्या अवलोकन गर्न सकिन्छ।
थारू समुदायले हरेक वर्ष माघ महीनामा बरघर, मटावा तथा भलमन्साको चयन गर्छ। यसका लागि बस्ने बैठक तथा कचेहरीको झल्को पनि संग्रहालयमा देखिन्छ। पूर्वदेखि पश्चिमसम्म फैलिएका डंगौरा, डशौरी, राना, चितवन्या र पूर्वेली थारूका परम्परागत घर पनि छन्, संग्रहालयमै। “देशभर छरिएका थारू संस्कृति, नाचगान, रीतिरिवाज, रहनसहन झल्काउने ५०० वटा आकृति बनाउनुपर्यो,” उपाध्यक्ष चौधरी भन्छिन्।
करोडको कमाइ
२०७० सालमा पाँच बिघा क्षेत्रमा संग्रहालय स्थापना गरिएको थियो। सबै संरचना निर्माण गर्न पाँच वर्ष लाग्यो। २०७५ सालदेखि सञ्चालनमा आएको संग्रहालय निर्माणमा २० करोड रुपैयाँ खर्च भएको उपाध्यक्ष चौधरी बताउँछिन्। त्यसमध्ये लुम्बिनी प्रदेश सरकारले तीन करोड ६५ लाख रुपैयाँ सहयोग गरेको छ।
संग्रहालयमा भवन निर्माण, आकृति बनाउन र परम्परागत गरगहना खरीदमा खर्च भएको छ। सञ्चालनमा आएपछि भने आम्दानी हुन थालेको छ। अहिले वार्षिक ७५ लाख रुपैयाँसम्मको टिकट बिक्री हुने गरेको छ। टिकटको मूल्य १३० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिकले ५० प्रतिशत छूट पाउँछन्। त्यस्तै, विद्यार्थीका लागि १०० रुपैयाँ तोकिएको छ। संग्रहालयको आम्दानीले कर्मचारीलाई तलब खुवाउन पुगिरहेको छ।
थारू संग्रहालय।
संग्रहालयसँगै थारू होमस्टे सञ्चालन गरिएको छ। संग्रहालयको अवलोकन गर्न आउने पर्यटकलाई ध्यानमा राखेर होमस्टे सञ्चालन गरिएको हो, जहाँ रैथाने थारू परिकार पाइन्छन्। पर्यटकले थारू परिकार पनि चाख्ने गरेका छन्। “थारू समुदायमा सीमित परम्परागत परिकार अहिले सबैको रोजाइमा परिरहेको छ,” चौधरी भन्छिन्, “टिकट र रैथाने परिकार बिक्री गरेर वार्षिक सरदर एक करोड रुपैयाँ आम्दानी हुन्छ।”
यसले रोजगारी पनि सिर्जना गरेको छ। रेखदेखदेखि व्यवस्थापनमा ५० जना खटिंदै आएका छन्।
आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै थारू संग्रहालय लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यमा दरिन पुगेको छ। एकै थलोमा बसेर देशभरका थारू कला, संस्कृति, इतिहास तथा जीवनशैली अवलोकन तथा अध्ययन गर्न सकिने भएकाले प्रमुख पर्यटकीय गन्तव्य बनेको संस्कृतिविद् डा. गोविन्द आचार्य बताउँछन्। “दाङ आफैंमा पर्यटकीय क्षेत्रका रूपमा चिनिने जिल्ला हो। विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा छन्। त्यसमा थारू सांस्कृतिक संग्रहालय थपिएको छ,” आचार्य भन्छन्।