नेपालको भारतसँग मात्र नभई चीनसँग पनि निकै पुरानो ‘रोटीबेटी सम्बन्ध’ छ।
निष्णु थिङ
नेपालमा ‘रोटीबेटी सम्बन्ध’ को चर्चा हुने बित्तिकै भारतसितको प्रसंग आउँछ। नेपाल-भारत सम्बन्ध विशेष र अद्वितीय हुनुको मुख्य कारण यही रोटीबेटी सम्बन्धलाई मानिन्छ। त्यसरी व्याख्या-विश्लेषण गरिंदा यस्तो रोटीबेटीको सम्बन्ध अरू कसैसित नभएको जिकिर पनि गरिन्छ, जुन गलत हो।
यो सम्बन्धको चर्चा नेपाल र भारतको कूटनीतिक तहदेखि राज्यका सबै तह र समाजसम्म हुँदै आएको छ। यस आलेखमा उत्तरी छिमेकीसँग हजारौं वर्षदेखि रहँदै आएको नेपालको यस्तै सम्बन्ध केलाउने जमर्को गरिएको छ।
नेपालको ‘रोटीबेटी सम्बन्ध’ भारतसित जस्तै तिब्बत र चीनसँग पनि रहेको इतिहास छ। यस्तो सम्बन्ध जनस्तर र शासक परिवारसित समेत रहेको पाइन्छ।
मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका रामको विवाह भएको पौराणिक प्रसंगको निकै चर्चा हुन्छ। त्यस्तै, भृकुटीको तिब्बती राजा स्रोङचोङ गम्पोसित विवाह भएको थियो। यसरी राजपरिवारमा मात्र नभई दार्चुलादेखि ताप्लेजुङसम्मका उत्तरी सीमावर्ती गाउँहरूको पारि तिब्बतसित रोटीबेटी सम्बन्ध उत्तिकै रहँदै आएको छ।
नेवार, तामाङ लगायत जनजातिका लोकगीत र कथामा ल्हासा गएर, व्यापार गरेर धन कमाएर काठमाडौंमा आर्थिक समृद्धि भित्र्याएको विवरण पाइन्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुनामदन पनि यसैको एक उदाहरण हो।
डोरबहादुर विष्टको उपन्यास सोताला त्यस्तै अर्को उदाहरण हो। उत्तरसित नेपालको रोटीबेटीको सम्बन्धबारे विभिन्न ऐतिहासिक लेखोट पनि पाइन्छन्।
व्यापार गर्न ल्हासा गएका काठमाडौंका नेवार व्यापारीहरूले उतै घरजम गरेका थुप्रै घटना छन्। नेपाली व्यापारी पिता र तिब्बती आमाबाट जन्मेका सन्तानलाई ‘खच्चर’ नाम दिइएको देखिन्छ (सुधीर शर्मा, भिक्षु, व्यापार र विद्रोह , पृ.३६)।
तिब्बत चीनको अधीनस्थ भएपछि ती खच्चर पहिचानको समस्यामा पर्न थाले, नागरिकताको समस्या भयो। त्यसैक्रममा थुप्रै खच्चर नेपाल आएर यहींको समाजमा समाहित भए। निकै दुःख पाएर कोही उतै फर्के। यता पिताको नामबाट नेपाली नागरिकता बनाइदिंदा भविष्यमा अंश दाबी गर्ला भनेर नागरिकता बनाइदिन चाहेनन् (अमीशराज मुल्मी, अल रोड्स लिड नर्थ , पृ.१३)।
रोटीबेटी सम्बन्धमा बदलाव
प्राचीनकालदेखि नै नेपाल-तिब्बत सम्बन्ध विभिन्न प्रकारले गाँसिंदै आयो। सीमा वारपार उस्तै सामाजिक, सांस्कृतिक र आर्थिक पृष्ठभूमिले गर्दा रोटीबेटीको सम्बन्ध जीवन्त रह्यो। मूलतः चीनले तिब्बतलाई आफूमा विलीन नगराएसम्म नेपालतर्फका सीमानाका खुकुला रहेकाले आवतजावत सहज थियो।
उत्तरतिरको आउजाउमा एक दशकअघिसम्म पनि त्यति समस्या नरहेको रसुवागढीमा करीब ९० वर्षका एक वृद्धले २०८१ मंसीर तेस्रो साता पंक्तिकारलाई बताएका थिए। उनका अनुसार दुईतिरको चरिचरन, तीर्थस्थल, मेलाजात्रा र बजारहरू एकै थिए। त्यस्ता स्थानहरूमा सहज भेटघाटले मायाप्रीति र घरजम गराउँथ्यो। सामाजिक तवरमा पनि सांस्कृतिक रीति पुर्याएर वारिपारि मागी विवाह समेत हुन्थ्यो। सयौं वर्षदेखि पुस्ता-दरपुस्ता यस्ता चलन चले।
मुस्ताङका विष्ट राजाका बुहारी पारिबाटै ल्याउने चलन धेरै पुरानो हो (प्रशान्ति पौडेल, शिलादेवी पराजुली र प्रविशा बस्नेत, एभल्भिङ नेपाल-चीन क्रस-बोर्डर रिलेशन्स एन्ड इट्स इम्प्याक्ट अन बोर्डरल्यान्ड सिटिजन्स , पृ.३४।)
नेपालका कलाकारहरूले पनि उता गएर थुप्रै ऐतिहासिक संरचना निर्माण गरे। अरनिको तिनैमध्येका अग्रणी कलाकार हुन्। चीनमा ठूलो ख्याति कमाएका उनी उतै घरजम गरेर बसे।
त्यो आयाममा गाँसिएको सम्बन्धले गर्दा दुई छिमेकीबीच चलेको द्वन्द्व र युद्धलाई पनि निस्तेज पार्न सहयोग पुगेको थियो। उता अनिकाल पर्दा यताबाट सहयोग भयो। इतिहासका विभिन्न कालखण्डमा विविध निहुँमा युद्धहरू भए। तिब्बतसित सन् १६४५-५०, सन् १७८८-८९, सन् १७९१-९३ र सन् १८५६ मा भएका युद्धहरू सफल वार्ताबाट टुंगिए र आपसमा मेलमिलाप कायम भयो (लिओ इ. रोज, नेपाल: स्ट्राटेजी फर सरभाइबल , १९७१)। ती शान्तिवार्ताका लागि सीमावर्ती क्षेत्रका बासिन्दाले मध्यस्थको भूमिका कुशल ढंगले निभाएका थिए।
अनुसन्धानका क्रममा पंक्तिकार पुगेका कोदारी, रसुवागढी लगायत गाउँमा पारिबाट ल्याइएका बुहारी थुप्रै रहेछन्। बुहारी भएर पारि गएका छोरीहरूको संख्या पनि ठूलै छ। रसुवागढीमा भेटिएकी पारि लेन्देकी एक बज्यैलाई हेरचाह गर्ने उता कोही नभएपछि छोरीज्वाँइले यता ल्याएर राखेका रहेछन्। यस्तो रोटीबेटीको सम्बन्ध दोहोरो रूपमै चलेको पाइयो।
नेपाल-चीन सीमा क्षेत्र रसुवागढी नजिकै रहेको नेपालको सेदाङ गाउँ। तस्वीर: निष्णु थिङ
२०-२५ वर्षअघिसम्म तिब्बतका केरुङ, लेन्दे लगायत गाउँबाट सिकर्मी, डकर्मी जस्ता ज्यालादारीमा काम गर्न नेपालतर्फ आउने गरेको रसुवागढीका बासिन्दाले बताए। उनीहरूले यता कमाएको पैसाले पीठो, दाल जस्ता खाद्यान्न लिएर जान्थे रे। उति वेला यताभन्दा उता बढी गरीबी थियो रे। परम्परागत खेतीले खान धौधौ हुने तिब्बती पठारका छोरीहरू बुहारी भएर यता आउन लालायित हुन्थे रे।
त्यतिखेर सीमा वारपार गर्न प्रवेशाज्ञा नचाहिने हुँदा यताका उता र उताका यता आएर ढुक्कले पशुपालन, व्यापार या काम गर्थे। आआफ्नो सीप र आवश्यकता अनुसार दुवैतिरका मानिस वारिपारि गर्थे। कोदारीमा पनि यही तथ्य पाइएको थियो।
अहिले चीन सरकारले गरीबी उन्मूलन गरेपछि भने पारिका मानिस काम गर्न यता आउँदैनन्। बरु हाम्रो निर्भरता उतातिर बढेर गयो। यस्तो आर्थिक असमानताले गर्दा रोटीबेटीको परम्परागत सम्बन्धमा परिवर्तन आउन थालेको छ।
चीनको द्वैध कूटनीति
सी जिनपिङको उदयपछि चीनको विदेश नीतिमा व्यापक परिवर्तन आएको छ। तीव्र आर्थिक प्रगतिबाट विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बनेपछि चिनियाँ समाजको आधारभूत चरित्रमै आएको परिवर्तन सीको विदेश नीतिमा प्रतिविम्बित छ।
चीनले विज्ञान र प्रविधिमा फड्को मारेको छ। कृत्रिम बौद्धिकताको क्षेत्रमा त चीनले विश्वलाई नै उछिन्न थालेको छ। भर्खरै सार्वजनिक भएको एप डिपसिकले त्यो प्रमाणित नै गरिदियो।
नेतृत्वमा आउने बित्तिकै राष्ट्रपति सीले ‘वान बेल्ट वान रोड’ विश्व परियोजना घोषणा गरे। हाल त्यसैलाई बीआरआई नाम दिइएको छ। त्यसका पाँच वटा मूलभूत तत्त्व छन्- नीति समन्वय, पूर्वाधार निर्माण, निर्बाध व्यापार, वित्तीय एकीकरण र जनस्तरमा सम्बन्ध विस्तार। अहिले चिनियाँ विदेश नीतिको प्रमुख खम्बा नै बीआरआई हो।
चाउ एनलाईले जग बसालेको चिनियाँ विदेश नीतिमा तङ स्याओफिङले तला थपे। अहिले त्यसलाई सीले उचाइ दिएका छन्। सीको उदयसँगै चिनियाँ कूटनीति असरदार बन्दै गएको छ। कूटनीतिज्ञदेखि प्राध्यापकसम्मको स्वर प्रखर हुन थालेको छ, जुन हालैको दुईदिने काष्ठमण्डप संवादमा पनि प्रस्टै सुनियो।
चीनले तङ स्याओफिङले प्रतिपादन गरेर चार दशक अभ्यास रहेको ‘हाइड एन्ड बाइड’ नीतिको ठाउँमा नयाँ विदेश नीति लागू गरेको छ, जसलाई पश्चिमाहरूले ‘वल्फ वारियर डिप्लोमेसी (ब्वाँसो कूटनीति)’ भन्ने गरेका छन्। यसलाई शान्त कूटनीतिको ठाउँमा आक्रामक कूटनीति अपनाइएको रूपमा व्याख्या-विश्लेषण गरिंदै आएको छ।
विगतमा चीनले ‘बाइलेटरल डिप्लोमेसी’ अपनाएकामा ‘मल्टिलेटरल डिप्लोमेसी’ को अभ्यासमा छ अहिले। उसले राज्य र सरकारहरूसित मात्र नभएर समाज र विभिन्न तहसित सम्बन्ध विस्तार गर्ने उद्देश्यले यस्तो कूटनीति अपनाएको देखिन्छ।
यसरी जनस्तरीय सम्बन्ध विस्तार हुने भए पनि यसमा ‘डबल स्टान्डर्ड’ रहेको देखिन्छ। सीमावर्ती गाउँमा भएका केही घटनाले त्यस्तै संकेत गर्छन्।
जस्तो- कोदारीका एक युवकले उताका केटी ल्याउँदा चिनियाँ प्रहरी घरमै आएर केटालाई कुटपिट गर्दै केटी खोसेर लगेको स्थानीयवासीले पंक्तिकारलाई सुनाएका थिए। उनीहरूका अनुसार त्यो बेला न गाउँले न त हाम्रा प्रहरी र प्रशासन बोल्न सके।
त्यस्तै, ताप्लेजुङको फाक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष क्षेतेन लामाले बताए अनुसार त्यहाँका एक युवकको प्रेममा परेर राजीखुशीमै आएकी तिब्बती युवतीलाई फर्काउन चिनियाँ प्रहरीहरू अनधिकृत रूपमा पटक पटक नेपाल पसेका थिए। तर युवतीले ज्यान गए पनि नफर्कने अडान लिएपछि उनीहरू खाली हात फर्किएका थिए। सीमाक्षेत्रका विभिन्न घटनामा स्थानीय नेपाली समुदाय मौन बस्दो रहेछ, चिनियाँ प्रहरी प्रशासनको त्रासका कारण।
ती युवतीका भाइ चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए)मा रहेछन्। उनलाई बर्खास्त गर्ने र अभिभावकले पाउने सबै सुविधा कटौती हुने चेतावनी तिब्बती प्रशासनबाट पाएपछि लाचार भएर ज्वाइँको घर आएका आमाबाबुले सबैलाई बिन्ती चढाएर छोरी फिर्ता लगेको क्षेतेन लामाले बताएका थिए। “उनीहरूले परिस्थिति अनुकूल भएपछि छोरी पठाउने वाचा गरेका थिए, तर त्यस्तो भएन,” उनले भनेका थिए, “पारिबाट आएका बुहारीहरूलाई राज्य नै लागेर फिर्ता लैजाने, यता बिहे गर्न नदिने नीति लिए जस्तो देखिन्छ।”
बिहे गरेर पारि गएकाहरूलाई नागरिकता जस्तो स्थायी पहिचान वा बसोबासको अनुमति नदिने नीति लिएको देखिएको बताउँदै वडाध्यक्ष लामाले भनेका थिए, “बुहारी भएर पारि गएकाहरूले हरेक साल भिसा थप्दै बस्नुपरेको अवस्था छ।”
चीन सरकारले ३५ वर्ष ‘एक सन्तान नीति’ लियो। यस अवधिमा अधिकतम दम्पतीले छोरा नै जन्माउने उपाय खोेजे। यसले गर्दा छोरीको अभाव भयो। त्यसको नकारात्मक प्रभाव सामाजिक जीवन र अर्थतन्त्रमा पनि देखिन थालेपछि सन् २०१७ यो नीति परित्याग गर्यो। अहिले चिनियाँ समाज बुहारी नपाउने समस्याबाट गुज्रिइरहेको छ।
यसकारण दलाल र विभिन्न गिरोहले प्रलोभनमा पारेर नेपाली महिलालाई चिनियाँसँग बिहे गराउने धन्दा पनि फस्टाएको छ। तर विदेशीसँग विवाह रोक्ने सरकारी नीतिका कारण चीनमा नेपाली महिला यौनशोषण र हिंसामा परेका समाचार आइरहेका छन्।
चीन सरकारले एकातिर जनस्तरमा सम्बन्ध विस्तार गर्ने नीति लिएको देखिन्छ भने अर्कातिर सयौं वर्षदेखि चलेको वारिपारि बिहेबारी र सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई निस्तेज गर्ने कदम।
अहिले सीमावर्ती गाउँका उत्तरतिर रोटीबेटीको सम्बन्ध अघिल्लो पुस्तामा सीमित भएको पाइन्छ। सी जिनपिङको उदयपछि सीमा वारपार बिहेबारीमा पूर्णतः बन्देज भएको देखिन्छ। अहिले त वारिपारिका आफन्तबीच भेटघाट समेत असहज बन्दै गएको छ।
(थिङले एमफिलमा ‘चाइनाज फरेन पोलिसी शिफ्ट्स टु नेपाल’ शीर्षकमा शोध गरेका छन्।)
यो पनि पढ्नुहोस् :