ज्ञानेन्द्रको सत्तामोह र महत्त्वाकांक्षालाई जगमान र दुर्गाहरूले अहिले त्यसैगरी पुट दिइरहेका छन् जसरी नाटकमा म्याकबेथलाई दिइएको थियो। तर नाटकको सन्देश शाश्वत छ- सीमापार महत्त्वाकांक्षाको परिणाम जहिल्यै दु:खद हुन्छ।
सुशील प्याकुरेल
२०४६ सालको जनआन्दोलनले ३० वर्षे पञ्चायत ढाल्यो भने बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुन:स्थापित गर्यो। २०४८ सालको आम निर्वाचनपछि बहुदलीय प्रजातन्त्रले संसदीय अभ्यास थालेको चार वर्ष नपुग्दै तत्कालीन नेकपा (माओवादी)ले २०५२ सालमा ‘जनयुद्ध’ नाम दिएर हिंसात्मक गतिविधि थाल्यो। निर्दलीय पञ्चायतको ३० वर्षे निरंकुश शासनलाई शान्तिपूर्ण जनआन्दोलनबाट हटाएको बहुदलीय शासन प्रणालीले हिंसा र प्रतिहिंसा बेहोर्नुपर्यो। यही स्थितिमा २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको पूरै परिवारको हत्या भयो।
त्यसपछि वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा बन्न पुगे। यो उनको दोस्रो पटकको श्रीपेच पहिराइ थियो। पहिलो पटक- राणाशासनको अन्त्यका लागि भएको जनक्रान्ति उत्सर्गमा पुग्दै गर्दा ज्ञानेन्द्रका हजुरबुबा राजा त्रिभुवन भारतको शरणमा पुगेपछि राणाशासकले चार वर्ष पनि नपुगेका बालकलाई राजा घोषणा गरेका थिए। तीन महीना जति राजा बनेका उनको श्रीपेच २००७ सालको क्रान्तिले राणाशासन समाप्त पारेपछि स्वत: खोसिएर पुनः त्रिभुवनको शिरमा पुग्यो।
त्यसपछि राजा बनेका बाबु महेन्द्रको निर्दलीय र निरंकुश शासनमा अधिराजकुमार रहेर हालीमुहाली गर्न पाएका ज्ञानेन्द्रलाई दोस्रो पटक अचानक मिलेको श्रीपेच र राजगद्दीले निरंकुश शासन गर्ने अभीष्ट जगाइदियो। यसै पनि वीरेन्द्रको शासनको अन्तिम कालमा स्थापित संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था ज्ञानेन्द्रका लागि सुपाच्य भएन। राजा निरंकुश नै हुनुपर्छ भन्ने मान्यताबाट ग्रस्त उनले दाजु जसरी संवैधानिक सीमाभित्र बस्न रुचाएनन्।
माओवादीले थालेको सशस्त्र विद्रोहले उनलाई अभीष्ट पूरा गर्ने माध्यम दियो। दोस्रो पटक श्रीपेच पहिरिएदेखि नै उनी बहुदलीय व्यवस्था र दलहरूले देशका लागि काम नगर्ने आशयका अभिव्यक्ति दिन थाले। बाबु महेन्द्रले बहुदलीय व्यवस्था अफाप भएको भनी २०१७ सालमा बीपी कोइरालाको मन्त्रिमण्डल विघटन गरेका थिए। उनी पनि बाबुकै कदम दोहोर्याउन उद्यत रहे। यसबीच हिंसा र आतंकले गर्दा देशमा चुनाव हुन सकेको थिएन। त्यसैलाई निहुँ बनाएर उनले नेपालको संविधान, २०४७ को धारा १२७ लाई उपयोग गर्दै शासनसत्ता हातमा लिए। आफ्नो मनखुशी सरकार गठन र विघटनको सिलसिला शुरू गरे।
त्यस बखत म २०५७ सालमा स्थापित राष्ट्रिय मानव अधिकार आयोगको सदस्य थिएँ। अध्यक्ष थिए, पञ्चायतकालमा लामो समय प्रधानन्यायाधीश र राजदूत भइसकेका नयनबहादुर खत्री। कानूनी र संवैधानिक विषयमा स्पष्ट विचार राख्ने उनी निर्भीक र हकी स्वभावका थिए। ज्ञानेन्द्रले धारा १२७ को उपयोग गर्नु संवैधानिक भयो र भन्ने मेरो जिज्ञासामा उनले भनेका थिए, “हेर्नुस्, संविधान भनेको अक्षर मात्र होइन, भावना पनि हो। अनि फेरि संविधान कस्तो समयमा जारी भयो र कस्तो समयमा निर्णयहरू लिइन्छ भन्ने पनि विचार गर्नुपर्छ।”
उनको बाँकी अभिव्यक्ति पनि अलि घुमाउरो नै थियो, “२०१७ सालमा धारा ५५ को प्रयोगबाट सत्ता लिंदा विश्वमा शीतयुद्ध थियो। सोभियत संघ र अमेरिकाबीच विश्वव्यापी सामरिक प्रतिस्पर्धा थियो। चीन र रूसबीच विवाद थियो। भारत र चीनबीच शत्रुता थियो। यसै परिस्थितिले गर्दा धारा ५५ ले ३० वर्ष काम गर्यो र पञ्चायती व्यवस्था टिक्यो। तर अहिलेको धारा १२७ त बाधा अड्काउ फुकाउने मात्र हो र त्यसको आफ्नै प्रक्रिया छ। उस वेलाको संविधानको धारा ५५ र अहिलेको संविधानको धारा १२७ फरक परिस्थितिमा उपयोग गरिएका छन्। पहिले २०१७ साल थियो, अहिले २०५९। हुन त कहिले कहिले मानिसहरू आफ्ना पुर्खाले जे गरे, त्यही गर्छु भन्छन्। तर समय-सन्दर्भ फरक भइसकेको स्थितिमा सधैं उस्तै हुँदैन। नेपालमा चन्द्रशमशेर श्री ३ महाराज हुँदा बेलायतको जगजगी थियो। भारतमा बेलायतको उपनिवेश थियो। बेलायतीहरू आफ्नो उपनिवेशमा निरंकुश शासन सञ्चालन गर्दै थिए। त्यसैले श्री ३ चन्द्रशमशेरले जसरी शासन चलाए पनि भएको थियो। पछि उनका छोरा मोहनशमशेर श्री ३ महाराज बन्न पुगे। त्यस वेला भारतमा प्रजातन्त्र आइसकेको थियो र बेलायतीहरू भारतबाट बिदा गरिएका थिए। नेपालमा टंकप्रसाद आचार्यले प्रजापरिषद्बाट क्रान्तिको बिगुल फुकिसकेका थिए। यस्तो वेला मोहनशमशेरले मेरा बुबाले जसरी शासन गर्नुभएको थियो, म पनि त्यसै गरी गर्छु भन्ने सोच राखे। बाबुकै बाटोमा हिंड्न खोज्दा मोहनशमशेरले शासनसत्ता गुमाए र नेपालबाट राणाशासन समाप्त भयो।”
खत्रीले मेरो जिज्ञासामा एउटा इतिहास बोले, तर ज्ञानेन्द्रले गरेको धारा १२७ को प्रयोगबारे केही प्रस्ट भनेनन्। यो उनको शैली थियो। उनी जति हकी थिए, त्यति नै राजाप्रति अनुगृहीत। उनले नलुकाईकन एक चोटि मलाई भनेका थिए, “तपाईंहरूले प्रजातन्त्रको कुरा गरुन्जेल मसित कुरा मिल्छ, तर राजाका बारेमा म केही बोल्न सक्दिनँ।”
यसै सन्दर्भमा मलाई शेक्सपियरको नाटक म्याकबेथ को याद आयो, जसमा सत्तामोहले मानिसमा आपराधिक प्रवृत्ति समेत विकास हुने कुरा उल्लेख छ। नाटकमा जुन पात्रलाई राजाले पदोन्नति गर्दै राजगद्दी दिने विचार राखेका हुन्छन्, उसैले राजाको हत्या गर्छ। युद्धमा विजयी भएर फर्कंदै गरेका म्याकबेथको भेट बाटोमा तीन जना बोक्सी*सित हुन्छ। (*नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत शब्दकोश अनुसार ‘बोक्सी’ को अर्थ बोक्सेरो जान्ने वा टुनामुना गर्ने स्त्री; डङ्किनी, डाइनी हो) तिनले उनलाई भविष्यवाणी सुनाउँछन्, “राजा तिमीसित एकदमै खुशी छन्। उनले तिमीलाई तुरुन्तै स्कटल्यान्डको ‘कुलीन’ पदमा नियुक्त गर्नेछन्। तर पछि तिमी स्कटल्यान्डको राजा नै बन्नेछौ।”
म्याकबेथले बोक्सीका कुरा पत्याएनन्। दरबार नजीक पुगेपछि लिन आएका डनकनका सेनाले पनि ‘तिमी कुलीन पदमा नियुक्त हुँदै छौ’ भनेपछि चाहिं उनलाई विश्वास जाग्यो। ठाने- कुलीन भइहालियो, अब राजा हुन बाँकी छ। यो कुरा पत्नीलाई पनि सुनाए। तब पत्नीमा छिटै रानी हुने इच्छा जाग्यो। उनले म्याकबेथलाई राजाको हत्या गर्ने सल्लाह दिइन्। विजय-उल्लास मनाउन आयोजित भोजमा म्याकबेथले राजाको हत्या गर्छन् र आफूलाई स्कटल्यान्डको राजा घोषित गर्छन्। राजाका छोराहरू भने भाग्न सफल हुन्छन्। कालान्तरमा तिनले अरू देशका शासकको समर्थनमा स्कटल्यान्डमा आक्रमण गर्छन्। राजाका एक छोराले म्याकबेथको टाउको गिंडिदिन्छन्। यसरी जसले आफूलाई पदोन्नत र सम्मान गर्यो, उसैको हत्या गर्ने व्यक्तिको पनि दुःखद अन्त्य भयो।
मानिसमा महत्त्वाकांक्षाले सीमा नाघ्दाको परिणाम कति दुःखद हुन्छ भन्ने शेक्सपियरको सयौं वर्षअगाडिको यो नाटकको सन्देश हो।
संसारमा विभिन्न कालखण्डमा म्याकबेथहरू देखा पर्छन्। अहिले पूर्व राजा ज्ञानेन्द्रको महत्त्वाकांक्षा म्याकबेथ प्रवृत्तिकै छ। वीरेन्द्रको वंशनाश भएबाट क्षुब्ध नेपालीले उक्त घटनाका लागि ज्ञानेन्द्रलाई औंला ठड्याउँदै थिए। तापनि दलहरूले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको हत्यापछि उनलाई सहजै राजा स्विकारे। उनीहरूले ज्ञानेन्द्र पनि वीरेन्द्र जस्तै संवैधानिक राजा रहने विश्वासमा राजगद्दीमा बस्न दिएका थिए।
नेपाली सत्तामा यो सर्वथा नयाँ कुरा भइरहेको थियो। राजाका जेठा छोरा राजा हुने, त्यो नभए उत्तराधिकार अरू छोरामा सर्ने प्रचलन रहेकामा अनायास राजाका भाइ सत्तामा आएका थिए जुन जनताका लागि सुपाच्य थिएन। त्यसैले उतिखेरै कतिपय राजनीतिक नेताले गणतन्त्र घोषणा गर्नुपर्ने मत राखेका थिए। तर, माओवादी विद्रोह र सेनाको ज्यादती रोक्न नसकेका बहुदलीय नेताहरूले ज्ञानेन्द्रलाई साथ लिएर पनि प्रजातन्त्रको विकास गर्न सकिन्छ भन्ने विश्वास पनि सँगसँगै पालेका थिए।
राजा बने लगत्तै ज्ञानेन्द्रले बाबु महेन्द्रको शैली पछ्याउँदै तत्कालीन बहुदलीय व्यवस्था विघटन गरी निरंकुश शासनसत्ता चलाउन खोजे। २०४६ सालमा संयुक्त जनआन्दोलनद्वारा पुनःस्थापित प्रजातन्त्र अनि दाजुले स्विकारेको संवैधानिक राजतन्त्र उनका लागि स्वीकार्य भएन। त्यसैले उनले दल र नेताप्रति वक्रदृष्टि राख्दै महेन्द्रपथमा जाने निर्णय गरे। राजा बने लगत्तै सम्पूर्ण सत्ता हातमा लिए र पुन: नेपाललाई निरंकुश राजतन्त्रको बाटोमा फर्काउने प्रयत्न गरे। तर त्यस वेला २०१७ को नभई ५० वर्षपछिको नेपाल थियो। विश्वमा धेरै ठूला परिवर्तन भइसकेका थिए र नेपाली जनताको चेतनास्तर पनि धेरै माथि उठिसकेको थियो। फलत: बाबुकै जस्तो शासन गर्ने ज्ञानेन्द्रको अभीष्ट पूरा हुन सकेन। अर्को शान्तिपूर्ण जनआन्दोलनले राजतन्त्रलाई नेपालबाट बिदा नै गरिदियो।
जननिर्वाचित संविधानसभाले २०६५ सालमा राजकीय संरचनामा फेरबदल ल्याउँदै नेपाललाई गणतन्त्रात्मक मुलुक घोषणा गर्यो। तर नाटकमा म्याकबेथलाई दिइएजस्तै ज्ञानेन्द्रको सत्तामोह र महत्त्वाकांक्षालाई पुट दिने आधुनिक पात्रहरू सलबलाइरहेका छन्। यसको प्रतीकमा लिन सकिन्छ- ‘जगमान गुरुङ र दुर्गा प्रसाईं’ प्रवृत्ति। उनीहरू अब धर्मको आडमा विश्वकै हिन्दू सम्राट् बन्ने ज्ञानेन्द्रको अभीष्टका वाहक भएका छन्। यसमा उनलाई भारतका केही पीठाधीश र नेपालका केही मठाधीशको पनि समर्थन छ। केही प्रतिगामी सोच भएका तर आफूलाई राजनीतिक भन्न रुचाउने दलका छाता ओढेकाहरू पनि उनको अभीष्टका सहचर भएका छन्। जगमान-प्रसाईं प्रवृत्ति र ३० वर्षे पञ्चायतकालका भरियाहरूसाथ हिंड्न उद्यत छन्, ज्ञानेन्द्र। स्पष्ट छ, उनी शेक्सपियरको म्याकबेथ को नेपाली पात्र बन्नेछन्।
यो पनि पढ्नुहोस्