कास्कीको अन्नपूर्ण क्षेत्रमा कालिज प्रजाति अन्तर्गत संरक्षित सूचीमा रहेका डाँफे र मुनाल चोरी शिकारका गतिविधि र डढेलोका कारण झनै जोखिममा परेका छन्।
नेपालका संरक्षित पन्छी हुन्, राष्ट्रिय चरा डाँफे र मुनाल। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले दुर्लभ र लोपोन्मुख नौ प्रकारका चरालाई संरक्षित पक्षीको सूचीमा राखेकामा तीमध्ये यी दुई पनि पर्छन्। कालिज प्रजातिका यी दुई चरा चोरी शिकारका कारण झनै संकटमा परेका छन्।
पछिल्ला वर्षमा अन्नपूर्ण क्षेत्रमा डाँफे र मुनालको चोरी शिकार भइरहेको छ। आकर्षक हुने भएकाले प्वाँख र मासुका लागि यसलाई शिकारीहरूले फन्दामा पार्ने गरेका छन्।
अन्नपूर्ण क्षेत्रमा वैशाख ४ देखि १८ गतेसम्म जैविक विविधता संरक्षण समाज नेपाल र वर्ल्ड फेजन्ट एशोसिएशनले कालिज प्रजातिका चराको गणना गरेका थिए। अध्ययनकर्ता दुई समूहमा बाँडिएर गरिएको अध्ययनका क्रममा डाँफे, मुनालका लागि थापिएका पासो वनैभरि भेटिएको समाजका निर्देशक पारसविक्रम सिंह बताउँछन्। अघिल्ला वर्षभन्दा यसपालि केही कम भए पनि शिकारीहरूले पासो राख्न भने नछाडेको सिंहले सुनाउँछन्। “विगत वर्षहरूमा १०० देखि २०० वटासम्म पासो राखेको भेटेका छौं,” उनी भन्छन्।
पासो परेको मुनाल।
शिकारीहरूले गाउँमा डाँफे र मुनालको चोरी शिकार गरेर पोखरासम्म पुर्याउने गरेका छन्। कालिज गणना टोलीका सदस्य तथा पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार केही वर्षअघिसम्म डाँफे, मुनालको मासु गाउँमै प्रतिकिलो १५ सय रुपैयाँ र पोखरामा ३५ सय रुपैयाँसम्म बिक्री भएको पाइएको थियो।
कालिज प्रजातिका पक्षी बिहान सबेरै मात्र कराउँछन्। अनुसन्धाताहरूले दैनिक सूर्योदय हुनु अगावै एक घण्टा समूहमा बाँडिएर चराका आवाज रेकर्ड गरेर गणना गरेका थिए।
कालिज प्रजातिको गणना यस वर्ष माछापुच्छ्रे गाउँपालिकाका पिलिचो, पिपर, खुमै, कोर्चाङ, लुर्बुचा, चिचिम्ले, डाँफे चौर, हिले, ओदाने लगायत वन क्षेत्रमा गरिएको थियो। गणनामा डाँफे १४६ वटा, मुनाल १४८ वटा र फ्रोकास १९ वटा भेटिएका छन्। जैविक विविधता संरक्षण समाजका अध्यक्ष लक्ष्मण पौड्यालका अनुसार सन् २०१९ मा पिपर वन क्षेत्रमा कालिज प्रजातिका पक्षी गणनाको निष्कर्षले मुनालको संख्या सन् २०१४ र २०१७ को तथ्यांकभन्दा ५५ प्रतिशतले घटेको देखाएको थियो। यसमा मुनालले निकाल्ने आवाजका आधारमा गणना गरेर निष्कर्ष निकालिएको थियो। सन् २०२२ र २०२५ को गणनाको तथ्यांकले भने बढेको देखाएको छ।
यद्यपि वन क्षेत्रमा शिकारीहरूको सक्रियता र पासो थाप्ने क्रम बढ्दा संरक्षित पक्षी झन् संकटमा परेको अध्ययनकर्ताहरू बताउँछन्।
चराका लागि थापिएको पासो।
कालिज प्रजाति फ्यासियानिडाई परिवार अन्तर्गत पर्छ। नेपालमा यस प्रजातिका डाँफे, चीर, मयूर, कालिज, फ्रोक्रास, चिलिमे, लुइँचे र मुनाल गरी आठ प्रकारका चरा पाइन्छन्। यीमध्ये डाँफे, मुनाल र चीरलाई संरक्षित पक्षीको सूचीमा राखिएको छ। संरक्षित पक्षीको शिकार, ओसारपसार र बिक्रीवितरण गर्न कानूनले रोक लगाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको दफा २६ (४) मा संरक्षित पक्षीको शिकार गरी मारेमा वा घाइते बनाएमा १५ हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना वा तीन महीनादेखि नौ महीनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
फ्यासियानिडाई परिवारका चार प्रकारका चरा ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि’ (साइटिस)को अनुसूचीमा पनि सूचीकृत छन्। डाँफे र चीर अनुसूची १ मा, चिलिमे अनुसूची २ मा र मुनाल अनुसूची ३ मा छन्। साइटिसको अनुसूची १ मा लोप हुने अवस्थामा पुगेका प्रजाति समावेश गरिन्छ भने अनुसूची २ मा बिक्रीवितरण समयमै नियमन र नियन्त्रण नगर्दा निकट भविष्यमा लोप हुने अवस्थामा रहेका प्रजातिलाई समेटिन्छ। यस्तै, अनुसूची ३ मा व्यापार नियमन र नियन्त्रण गर्नुपर्ने आवश्यक ठानिएका प्रजातिलाई राखिएको हुन्छ। यस आधारमा डाँफे र मुनाल क्रमशः लोपोन्मुख र शिकार एवम् बिक्रीवितरण नियन्त्रण गरिनुपर्ने संकटको अवस्थामा पुगेका पक्षी हुन्।
कालिज प्रजातिका चरा लामो समय उड्न सक्दैनन्। वन क्षेत्रमा हिंडडुल गरेरै कीराहरू मारेर खान्छन्। यही कारण शिकारीहरूले जमीनमा पासो थापेर यिनको शिकार गर्ने गरेको पोखरा पन्छी समाजका अध्यक्ष घिमिरे बताउँछन्। चोरी शिकारसँगै बर्सेनि लाग्ने डढेलोका कारण पनि कालिज प्रजाति सहितका पक्षी प्रभावित भइरहेका छन्।
कास्की, माछापुच्छ्रे गाउँपालिकाको पिपर वन क्षेत्र।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार नेपालमा डाँफेको संख्या तीन हजार ५०० देखि पाँच हजारसम्म रहेको अनुमान गरिएको छ। यस्तै, मुनाल एक हजारभन्दा कम रहेको अनुमान छ। यी दुई चरा खप्तड, शे-फोक्सुन्डो, लाङटाङ, सगरमाथा र मकालु वरुण राष्ट्रिय निकुञ्ज, ढोरपाटन शिकार आरक्ष तथा अपि नाम्पा, अन्नपूर्ण, मनास्लु, गौरीशंकर र कञ्चनजंघा संरक्षण क्षेत्रमा पाइएका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पोखरा प्रमुख रविन कडरिया चोरी शिकार रोक्न समुदायमा सचेतना र वनमा गस्ती गरिरहेको बताउँछन्। “पहिलेको तुलनामा नियन्त्रण र कडाइ गरिएको छ,” उनी भन्छन्।
‘पदयात्राका पिता’ ले थालेको गणना
कालिज प्रजातिका चरा गणनाको इतिहास एक त्यस्तो पर्वतप्रेमीसँग जोडिएको छ, जसले नेपालमा विश्वकै पहिलो मानिने ‘ट्रेकिङ कम्पनी’ खोले, नेपालका पदमार्ग विश्वमा चिनाए र ‘पदयात्राका पिता’ कहलिए। उनी थिए, जिमी रोबर्टस्। उनी काठमाडौंस्थित बेलायती दूतावासमा सैनिक सहचारीका रूपमा काम गर्न सन् १९५८ मा आएका थिए। त्यसपछि नेपालको मोहनीमा परेर उनी यतै बसे।
उनले अन्नपूर्ण र माछापुच्छ्रे क्षेत्रमा पदयात्रा गरेर यस क्षेत्रलाई पदमार्गका रूपमा चिनाए। हाल कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने पिपर वन क्षेत्रमा सन् १९७६ मा पदयात्रा गरिरहेका वेला उनले डाँफे, मुनाल लगायतका कालिज प्रजातिका पक्षी प्रशस्त भेटे। त्यसबाट रोमाञ्चित भएका उनले विश्वभरका कालिज प्रजातिको संरक्षण गर्ने कार्यक्रम १९७९ मा पिपरबाटै शुरू गरे। कालिज गणनाको थालनी गरे।
वर्ल्ड फेजन्ट एशोसिएशनले लामो परियोजनाकै रूपमा यस क्षेत्रमा ४६ वर्षदेखि कालिज प्रजातिका पक्षीको गणना गर्दै आएको छ। सन् १९७९ देखि २०२२ सम्म पिपर वन क्षेत्रका पक्षीको १४ पटक गणना गरिएको छ। गणनाका क्रममा त्यस क्षेत्रमा कालिज प्रजातिका मयूर र चीर भने भेटिएका छैनन्। सन् १९७९ देखि हालसम्मको अध्ययनमा ३१४ प्रजातिका चरा भेटिएका छन्।
पिपर वन क्षेत्र पछिल्लो समय पिपर संरक्षण क्षेत्र र पिपर स्यान्चुरी नामले विश्व पक्षी अवलोकनकर्ता र अनुसन्धाताका लागि चर्चित छ।
नेपाल पक्षीविद् संघका अध्यक्ष हथन चौधरी समुद्री सतहबाट तीन हजार मिटरमा प्रायः भेटिने डाँफे र मुनालको सहज अवलोकन पिपरमा गर्न सकिने बताउँछन्। अध्ययन टोलीका सदस्य समेत रहेका उनी भन्छन्, “डाँफे, मुनालको अवलोकन गराउन लाङटाङ क्षेत्र धेरै पटक पुगेको छु। तर यति सहज रूपमा डाँफे, मुनाल भेटिएको पिपरमै हो।”
कालिज प्रजाति गणनाका लागि गएको अध्ययन टोली।
चरा पर्यटनको सम्भावना
विश्वभर नै चराको अवलोकन गर्ने र तस्वीर खिच्ने चरा पर्यटन फस्टाएको छ। नेपालमा धेरै अगाडिदेखि चरा अवलोकन हुन थाले पनि बिस्तारै पर्यटकीय गतिविधिका रूपमा अघि बढिरहेको छ। बर्ड लाइफ इन्टरन्याशनलका एशिया पार्टनरशिप म्यानेजर हुम गुरुङ चरा पर्यटनका लागि नेपालको सम्भावना राम्रो रहेको र यसले ‘महँगा पर्यटक’ भित्र्याउन सघाउने बताउँछन्। “चरा अवलोकन गर्न महँगो शुल्क तिरेर आउन पर्यटक तयार हुन्छन्, तिनलाई भित्र्याउने वातावरण सिर्जना हुनुपर्छ,” उनी भन्छन्।
चराविद्हरू चरा पर्यटनका लागि पिपर उत्कृष्ट गन्तव्य हुन सक्ने बताउँछन्। जैविक विविधता संरक्षण समाजका अध्यक्ष पौड्याल चराको संरक्षणमा स्थानीय समुदाय गाँसिएर दिगो पर्यटनलाई अगाडि बढाउन सकिने बताउँछन्।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ स्थानीय समुदायले भन्दा बाहिरबाट आउने व्यक्तिले चरा शिकार गर्न पासो लगाउने गरेको सुनाउँछन्। संरक्षित पक्षीहरूको संरक्षणका लागि स्थानीय स्तरमा चेतनामूलक कार्यक्रम गरिनुपर्ने चराविद्हरूले सुझाव दिएका छन्।