अरूभन्दा ‘म विशेष र अद्वितीय हुँ’ भन्ने मनोगत भावनामा बेरिएर आफूलाई फरक देखाउन पो लेखक बनेको हुँ कि?
पशुपति घिमिरे
कोही मानिस किन लेखक बन्छ? अथवा लेखकले किन लेख्छ? यसबारे चर्चा गर्नुअघि दुई वटा प्रसंग उल्लेख गर्नु सान्दर्भिक हुन्छ।
‘मान्छेभन्दा नालायक प्राणी त कोही छैन होला यो संसारमा! जस्तो कि म। म यतिखेर मेरै फुपूको अन्तिम अवस्थाको बेलीविस्तार लगाएर एक लेखक हुनुको अहं प्रदर्शन गर्दै छु।’
यो लेखक कुमारी लामाको भनाइ हो, २०८२ वैशाख ६ मा रातोपाटी मा प्रकाशित ‘भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा’ शीर्षक निबन्धमा।
‘हरेक मानिसका मनमा गुम्फनहरू हुन्छन्। ती गुम्फन गुनासाका रूपमा गफमा पोखिन्छन्, आक्रोशका रूपमा छरपस्ट हुन्छन् र चिच्याहटमा कसैको गुम्फनले आँसुको भल बगाउँछ, तर एउटा स्रष्टाको मनको गुम्फन अक्षरमा रूपान्तरित हुन्छ र पाठकको मनमनमा पुग्छ। सिर्जनाको सुन्दरता यही हो। यस्ता सिर्जनाहरू नै लेखकका उपलब्धि हुन्। पाठकका पनि उपलब्धि हुन्। मन छुने रचना पाउनु पाठकको पनि उपलब्धि हो।’
यो लेखक गोविन्द गिरी प्रेरणाको भनाइ हो, ‘शैलेन्द्र साकारले बाँचेको रोमाञ्च र दुःख’ शीर्षकमा २०८२ वैशाख १० मा अनलाइनखबर मा प्रकाशित लेखमा।
अब यिनै भनाइबाटै चर्चा शुरू गरौं। के कुमारी लामाले भने जस्तै हरेक लेखकले आफ्नै अहंको प्रदर्शनका लागि लेख्छ? आफ्नै अहंको तुष्टिका लागि लेख्छ? कि गोविन्द गिरी ‘प्रेरणा’ ले भने जस्तो मनको गुम्फन अक्षरमा पोख्छ?
लेखक बन्नुका यी सहित अन्य धेरै कारण हुन्छन्। मानिस विभिन्न प्रेरणा र उद्देश्यले लेखनमा आकर्षित हुन्छन्। कोही आफ्नो विचार, भावना र अनुभवलाई बाहिर ल्याउन आत्म-अभिव्यक्तिका निम्ति लेखक बनेका होलान्। कसैले समाजमा परिवर्तन ल्याउने चाहनाले सामाजिक, राजनीतिक वा सांस्कृतिक विषयमा कलम चलाएका होलान्। कोही आत्मखोज र आत्मचिन्तनको फलस्वरूप लेखक भएका होलान्। शब्दको सौन्दर्य र भाषाको शक्तिप्रति आकर्षित भएर कला सिर्जनाको चाहनाले छटपटाउँदै लेखक बनेका होलान्, कति।
कतिपय ज्ञानी मान्छे ज्ञान र विचार बाँड्ने इच्छाले पनि लेखक भएका हुन सक्छन्। संस्कृति, इतिहास र परम्परा संरक्षण गर्ने प्रयासस्वरूप लेखक भएका होलान्, कोही। कोही भावी पुस्ताका लागि वर्तमानका अनुभव सँगालेर राख्न लेखक बनेका होलान्। कोही आफूले थाहा पाएका सूचना सम्प्रेषण गर्न लेखक भएका होलान्।
हरेक सर्जकका आआफ्नै कारण र अनुभव हुन्छन्, लेखक बन्नुका। अरूको भन्दा आफ्नै अनुभवबाट लेखनको कुरा गर्दा सजिलो होला बरु। हुनत म त्यस्तो चिनिएको लेखक होइन। चिनिनेगरी गतिलो काम गरेको पनि छैन। चिनिनुपर्ने ठूलो आग्रह पनि हैन। तैपनि ममा ‘लेखक हुनुको अहं पटक्कै छैन’ भन्दिनँ। सँगसँगै ‘मनमा गुम्फनहरू छैनन्, हुँदैनन्’ पनि भन्दिनँ।
त्यसो भए म किन लेखक भइटोपलेको हुँला? अहंको तुष्टिका लागि कि गुम्फनहरू निफनेर हलुका हुन्? कि आफ्ना विचार, भावना र अनुभवलाई बाहिर ल्याउन लेखक बनें?
गरूँ न त आफ्नै कुरा।
२०५५ सालमा पत्रकारिता क्षेत्रसँग नाता जोडियो। २०५७ सालदेखि त यो पेशा नै बन्यो। पत्रकारिता पेशाकै कारण पढेका, सुनेका काम लाग्ने कुरा टिपोट गर्ने आदत बस्यो।
अंग्रेजी र समाजशास्त्र विषयमा स्नातक सकिएपछि २०६१ सालमा काठमाडौं बसाइँ सरें। जहाँ पत्रकारिता र सामान्य जागीरका क्रममा गौतम बुद्धको जीवनीमा आधारित सिनेमा बनाउने एक समूहसँग ठोक्किन पुगें। बुद्धको जीवनीमा आधारित कथा लेखिदिन गरेको आग्रह स्विकार्दै विभिन्न पुस्तकालय धाउने क्रममा बुद्ध धर्म र दर्शनप्रति रुचि जाग्यो।
२०६२ सालमा त्रिभुवन विश्वविद्यालयको बौद्ध अध्ययन केन्द्रमा ‘पोस्ट-ग्राजुएट’ तहमा भर्ना भएँ। बौद्ध सम्बन्धी अध्ययन औपचारिक रूपमै शुरू भयो। कक्षाकोठामा गुरूले भनेका, पुस्तकमा पढेका, विद्वान्सँगको भेटमा भएका कुरा टिपोट गर्दै र नोट बनाउँदै जाँदा केही वर्षमा पाण्डुलिपि जस्तो खाका तयार भएछ। अझ अन्वेषण, अनुसन्धान र अध्ययनले पुटुक्क पारेर पुनर्लेखन गरेर चटक्क पार्दा त किताब नै पो बन्छ कि भन्ने लोभ जाग्यो।
किताबै बन्यो भने त लेखकको परिचय पो हुन्छ! यही हुटहुटीले विभिन्न पुस्तकालय, बुद्ध बिहार, गुम्बा र ज्ञानीजनको नजीक पुर्यायो। त्यही चाहनामा बेरिंदै, डोरिंदै र लेख्दै जाँदा केही समयपछि ७५ प्रतिशत पाण्डुलिपि तयार भयो।
नियतिले मलाई २०६५ सालमा परदेशतिर धकेल्यो। पाण्डुलिपि र सन्दर्भ सामग्रीका पुस्तक बोकेरै देश छोडें।
अमेरिका पुग्दा त मान्छेको पुनर्जन्म जस्तो हुँदो रहेछ। बच्चा जस्तो भइँदो रहेछ शुरूआतमा। न हिंड्न जानिन्छ न त बोल्न। न खान जानिन्छ न त डुल्न नै। हरेक कुरा नौला हुन्छन्, नयाँ लाग्छन्, बालकले जस्तो सिक्नुपर्छ।
सबै कुरा सिक्दै गरिखान सक्ने हुन, आत्मनिर्भर बन्न समय लाग्छ। मलाई पनि समय लाग्यो। अनि कामको चापमा परें, परिस्थितिको चेपमा थिचिएँ। अमेरिकी दैनिक व्यवहारको चेपचापबाट समय चोरेर अध्ययन गर्दै, लेखनलाई पनि अघि बढाउँदै लगें।
यसरी ६ वर्षमा लेखनले पूर्णता पाएपछि पुस्तक निकाल्ने धुन चढ्यो। काठमाडौंको बागबजारमा टाइप र सेटिङको काम गर्ने जीवन नेपाललाई सम्झिएँ। उनैलाई कामको जिम्मा दिएँ। केही वर्षअघि उनी बिते।
जीवन नेपाल र साहित्यकार मोहनबहादुर कायस्थको सम्पर्क र सद्भावले आफ्ना कमीकमजोरी केलाउन र विद्वत् आशीर्वादका लागि सर्वश्री सत्यमोहन जोशीको सम्पर्कमा पुगियो। टेलिफोनबाटै आशीर्वाद मागें। पाण्डुलिपि आद्योपान्त पढेर छोटो मन्तव्य सहित आशीर्वचन दिनुभयो, सत्यमोहन जोशीले। त्यसपछि २०७० सालमा प्रकाशित भयो, बुद्धवादका तीन आयाम ।
यो अनुसन्धानमूलक कृति प्रकाशनपछि म त लामो समय कुम्भकर्ण जस्तो निदाएछु। विदेशी भूमिमा दैनन्दिनको व्यस्तता र आपाधापीमा हराएछु। यसबीचमा लेखिएका केही लेखोट पनि लुकाएरै राखेछु। लेखक हुनुको परिचय नै पो बिर्सेछु।
११ वर्षपछि एकैचोटि एउटा सपना देखें। हिमाल टलल्ल टल्केको देखें। हिमालका चेपबाट उदाउँदै गरेको सूर्य देखें। हृदयको उज्यालो देखें। भविष्यको प्रकाश देखें। अनि पो झल्याँस्स भएँ- ए, म त लेखक पनि हुँ!
फेरि शब्दहरूको माला उन्न विषयरूपी धागो खोज्न थालें। टोलाएँ, भौतारिएँ, सोचमग्न बनें। केलाई धागो बनाउने भनेर सोचें, विचारें।
मलाई यात्रा गर्न मन पर्दो रहेछ। गत दशकमा केही महत्त्वपूर्ण यात्रा पनि गरेको रहेछु। घुमफिर गर्नु नदी बग्नु जस्तै लाग्छ। जसरी नदीमा उसको बगाइले, प्रवाहले सङ्लोपन थपिदिन्छ, पवित्रता थपिदिन्छ, त्यसैगरी जीवनमा पनि यात्राले नयाँ ऊर्जा, उमंग, सङ्लोपन र पवित्रता थपिदिन्छ। समय र स्रोतले भ्याएसम्म बगिदिन मन लाग्छ। कतै गडगडाएर, कतै छङछङ त कतै सुनसान र चूपचाप बगिदिन मन लाग्छ, ठ्याक्कै नदी जस्तै।
यसरी गएको दशकभरि कतै नदी जस्तो बगेको रहेछु, कतै झरना जस्तो झरेको रहेछु। सोचें, यही यात्राको धागामा शब्दहरूको माला उन्छु। यसरी उन्दै, उनिंदै जाँदा एउटा माला तयार भयो। जसको नाउँ दिएँ- तीन महादेशका केही तरङ्ग ।
नेपाली मेरो मातृभाषा। मातृभाषामा जति सजिलो गरी अभिव्यक्त गर्न अन्य भाषामा हुँदैन। सबै यात्रा निबन्ध मातृभाषामै लेखें।
त्यसपछि लाग्यो, अमेरिकामा नेपालीमा छाप्नुभन्दा अंग्रेजीमा प्रकाशन गर्न सके झन् अर्थपूर्ण हुन्छ। अथक मिहिनेत, केही विद्वान्को मद्दत र प्रविधिको सहयोगमा नयाँ पुस्तक तीन महादेशका केही तरङ्ग र पहिल्यै प्रकाशित बुद्धवादका तीन आयाम को अंग्रेजी संस्करण तयार गरें। अमेजनले लेखकलाई प्रदान गरेको विश्वव्यापी मञ्च किन्डल डाइरेक्ट पब्लिशिङको सदुपयोग गर्दै दुवै पुस्तक अंग्रेजी भाषामा प्रकाशित गरें, वान्डरिङ वर्डस् र थ्री डाइमेन्सन्स अफ बुद्धिज्म ।
यसरी पुस्तक प्रकाशित त भए, तर विमोचनको बिरालो बाँध्ने परम्परा पनि धान्नै पर्यो। बुद्धवादका तीन आयाम निवासमै आयोजित सानो ‘डिनर पार्टी’ मा लोकार्पण भयो। पहिलो पुस्तक प्रकाशन हुँदा हामी बसेको शहर भर्जिनियाको रिचमन्डमा नेपाली समुदाय पनि सानो संख्यामै थियो, पहुँच पनि त्यति थिएन।
त्यसपछिका १२ वर्षमा जेम्स खोलामा धेरै पानी बगिसक्यो। नेपालीको पनि संख्या मात्र बढेको छैन, सामाजिक र राजनीतिक क्षेत्रमा पहुँच पनि बढेको छ। हामीले स्थापना गरेको गैरनाफामूलक संस्था ‘नेपाली कम्युनिटी अफ ग्रेटर रिचमन्ड भर्जिनिया (एनसीआरभीए)’ मार्फत नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै पुस्तक लोकार्पण गर्ने कार्यक्रम बन्यो।
पुस्तक विमोचन गर्दै भर्जिनिया राज्यका सिनेटर स्काइलर टी भ्यान भ्याकेन्बर्ग।
हाम्रो निमन्त्रणालाई स्वीकार गर्दै भर्जिनिया राज्यका सिनेटर स्काइलर टी भ्यान भ्याकेन्बर्ग कार्यक्रममा आइपुगे। करीब २५० नेपालीजनको उपस्थितिमा नयाँ वर्ष मनाउँदै मेरा दुवै अंग्रेजी पुस्तक भर्जिनिया सिनेटरको बाहुलीबाट विमोचन गरियो। त्यससँगै अमेजन मार्फत विश्व बजारमा लोकार्पण गरियो।
अहिले आएर गम्छु, यसै यसै गरी म लेखक पो बनेछु।
साँच्ची म कुन प्रेरणाले लेखक बनेको रहेछु? व्यक्तिगत अहंको तुष्टिका लागि या मान्यता र प्रशंसाको चाहनाले? आफ्नो प्रतिभा र विचारलाई अरूले स्वीकारून् भन्ने इच्छाले कि आत्मसम्मान र आत्मविश्वास बढाउने अभिलाषाले? आत्मगौरव बढेको भ्रममा बाँच्न कि आफ्नो अस्तित्वको प्रमाण छोड्ने इच्छाले?
अरूभन्दा म विशेष र अद्वितीय हुँ भन्ने मनोगत भावनामा बेरिएर आफूलाई फरक देखाउन पो लेखक बनेको हुँ कि? या आत्ममुग्धताको मनोगत मनेच्छामा मखलेल हुन?
लेखक बनेपछि आफैंसँग प्रश्न गर्दै छु।