सुशान्त केसीको गीत भारतको ठूलो म्युजिक लेबल कम्पनी टी-सिरिजबाट आएर लोकप्रियता कमाएसँगै यसले नेपाली कलाकारको सिर्जना अन्तर्राष्ट्रिय बजारमा फैलिन सक्ने सम्भावनाको ढोका खोलेको छ।
कहिले आउँछौ माया तिम्रो घरको बार्दलीमा
कुर्दै छु हेर्न तिमीलाई।
हल्ला भो सारा यो शहर गल्ली गल्लीमा
जिस्काउँछन् सारै नि मलाई।
उसको एक झलक मुस्कानै अलग
उफ्! मार्यो नि मायाले।
युवा पुस्तामाझ लोकप्रिय गायक सुशान्त केसीले गत वर्षको कात्तिक ११ गते ‘बार्दली’ बोलको गीत यूट्यूबमा सार्वजनिक गरे। शब्द र संगीत उनकै रहेको गीतले धेरैको मन जित्यो। यूट्यूबको ग्लोबल ट्रेन्डिङमै समावेश भयो। गीतको भिडिओ हालसम्म सात करोड ९३ लाखभन्दा बढी पटक हेरिइसकेको छ।
सोही गीतको हिन्दी संस्करण ‘उफ्’ वैशाख १५ गते भारतको संगीत उत्पादन कम्पनी टी-सिरिजको मुख्य यूट्यूब च्यानलबाट आयो। यो गीत पनि यूट्यूबको ‘ग्लोबल डेली टप म्युजिक भिडिओज्’ को सूचीमा समावेश भएको छ। गीतको भिडिओ यूट्यूबको ग्लोबल ट्रेन्डिङमा १५औं स्थानसम्म पुग्यो। साथै, यो गीत नेपाल, भारत, अस्ट्रेलिया, बेलायत, क्यानडा, डेनमार्क, माल्टा, कतार, यूएई लगायत मुलुकको कन्ट्री ट्रेन्डिङमा पनि पर्यो। संसारमा धेरै हेरिनेमध्येको यूट्यूब च्यानल मार्फत गीतले व्यापकता पाउँदा उनी ‘ग्लोबल’ गायक बन्न पुगे। यो समाचार लेख्दासम्म भिडिओले ५४ लाखभन्दा बढी भ्यूज पाएको छ।
टी-सिरिज भारतको सबैभन्दा ठूलो म्युजिक लेबल कम्पनी हो भने यूट्यूबमा सर्वाधिक सब्सक्राइबर भएको विश्वकै दोस्रो ठूलो च्यानल हो। २९ करोड २० लाख सब्सक्राइबरको धनी यस च्यानलमा २३ हजार ३०० भन्दा बढी भिडिओ छन्। जसकै एक कडी बनेर जोडियो, सुशान्तको हिन्दी रिमेक ‘उफ्’।
गीतबारे श्रोताबाट विभिन्न टिप्पणी आइरहेका छन्। कतिपयले हिन्दीभन्दा नेपाली संस्करण नै मीठो रहेको बताएका छन् भने कतिपयले नेपाली कलाकारको सिर्जना विश्वकै ठूलो म्युजिक प्लेटफर्मबाट आउनु महत्त्वपूर्ण कुरा भएको प्रतिक्रिया दिएका छन्। एक प्रशंसकले लेखेका छन्, ‘सुशान्तले नेपाली संगीतलाई विश्वमञ्चमा पुर्याए। यो हाम्रा लागि ठूलो गर्वको कुरा हो।’
सुशान्तले पनि टी-सिरिजसँगको सहकार्य नेपाली संगीतको विस्तारका लागि एक उपलब्धि भएको विश्लेषण गरेका छन्। नेपाली संगीतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन र परिचित गराउन यो महत्त्वपूर्ण कदम भएको उनको भनाइ छ। “टी-सिरिजसँगको यस अवसरले हाम्रो संगीतलाई अझ ठूलो श्रोता समूहसम्म पुर्याउने सपना साकार भएको छ,” उनी भन्छन्। यसले हौसला मिलेको उनी बताउँछन्।
भारतको सबैभन्दा ठूलो म्युजिक लेबल कम्पनी र यूट्यूबमा सर्वाधिक हेरिनेमध्येको च्यानलले सुशान्तको गीत ल्याउँदा धेरै नेपालीले निकै उत्साहित भएर यसलाई ‘टी-सिरिजमा फिचर हुने पहिलो नेपाली कलाकार’ पनि भनिदिए। तर यथार्थ त्यो होइन। यसअघि पनि टी-सिरिजले नेपाली संगीतकर्मीसँग सहकार्य गरिसकेको छ। २१ मे २०२२ मा टी-सिरिजको यूट्यूब च्यानलमा इम्तियाज वफाको शब्द-संगीतमा गायक सुमनशेखर मानन्धरले गाएको ‘शाम से ही दिल’ सार्वजनिक भएको थियो। जनकदीप पराजुलीको निर्देशन रहेको भिडिओमा नेपाली कलाकार र प्राविधिकले काम गरेका थिए भने नेपालकै विभिन्न ठाउँमा छायांकन गरिएको थियो।
‘उफ्’ को रचनागर्भ
पप संगीतमा रमाएका सुशान्तले २०७३ सालदेखि सांगीतिक यात्रा शुरू गरेका हुन्। उक्त वर्षको वैशाख १० गते उनले नयाँ आउन लागेको अल्बम ब्लु फिगमेन्ट्स मा समेटिएको सिर्जना भन्दै ‘कहाँ जाऊँ’ बोलको गीत आफ्नो यूट्यूब च्यानलमा राखेका थिए। यसको अर्को महीनामा सार्वजनिक गरिएको ‘आमा’ गीत भने धेरै लोकप्रिय भयो। गत वर्ष सार्वजनिक ‘सारंगी’ गीतबाट उनको ख्याति झनै चुलियो। उक्त गीतको भिडिओले यूट्यूबमा सात करोड ४६ लाखभन्दा बढी भ्यूज पाएको छ।
तीन दर्जनभन्दा बढी गीत सार्वजनिक गरिसकेका उनका ‘साथी’, ‘रिसाउने भए’, ‘झ्यालबाट’, ‘पर्ख न’, ‘मायामा’, ‘गुलाबी’ लगायत गीत पनि श्रोताले रुचाएका छन्।
युवाको बदलिंदो स्वाद अनुरूपका फरक संगीत पस्किंदै आएका सुशान्तले नौ वर्षको करिअरमा अत्यधिक प्रशंसक कमाएका छन्। यूट्यूबमा उनका २२ लाख ८० हजार हाराहारी सब्सक्राइबर छन्। स्पटिफाईमा पनि उनी धेरै सुनिने गायकमध्ये पर्छन्। नेपाली र नेपालीभाषी रहेका देशहरूमा उनका गीत युट्यूब ट्रेन्डिङमा पर्दै आएका छन्। विभिन्न व्यावसायिक उत्पादनका ब्रान्ड एम्बेस्डर छन् उनी। देश तथा विदेशका कन्सर्टमा व्यस्त रहन्छन्।
यही चर्चा र लोकप्रियताको यात्रामा रहेका सुशान्तसँग सहकार्य गर्न टी-सिरिज इच्छुक भयो। कम्पनीले उनलाई यसका लागि प्रस्ताव गर्यो। यति ठूलो म्युजिक कम्पनीबाट मिलेर काम गर्ने प्रस्ताव आउनु ठूलो अवसर थियो। त्यसमा अलमलिने कुरै थिएन। उनले सहजै स्विकारे। त्यसपछि गीत पुनर्लेखन, रेकर्डिङ र भिडिओ निर्माणको तयारीमा उनीसहितको टीम जुट्यो।
‘बार्दली’ मा उनलाई गायिका इन्द्रकला राईले साथ दिएकी थिइन्। म्युजिक भिडिओमा सुशान्तसँगै शशांक बोहरा, स्वस्तिमा खड्का, निश्चल बस्नेत, सृष्टि श्रेष्ठ, आना शर्मा, आकृति राजभण्डारी लगायत कलाकारको अभिनय छ।
यसको हिन्दी संस्करण ‘उफ्’ मा इन्द्रकलाको नेपाली संस्करणकै गायन राखिएको छ। ‘बार्दली’ कै संगीत र एरेन्ज रहेको गीतमा सुशान्तले हिन्दी भाव र भाका मिलाउन मूल गीतका केही शब्द अदलबदल गरेका छन्। ‘बार्दली’ मा धेरै कलाकारको अभिनय रहे पनि हिन्दी रिमेकको म्युजिक भिडिओमा सुशान्तसँग स्वस्तिमा मात्र दोहोरिएकी छिन्। टी-सिरिजले नेपालकी लोकप्रिय अभिनेत्रीलाई राख्न चाहेकाले स्वस्तिमाको नाम अग्रपंक्तिमा आउँदा उनी नै चयन भइन्।
‘उफ्’ गीतको म्युजिक भिडिओमा स्वस्तिमा खड्का।
टीमवर्कसँगै गीतको गुणस्तरले टी-सिरिजसम्म पुग्न भूमिका खेलेको सुशान्त बताउँछन्।
तीन महीनामा तयार
‘बार्दली’ गीत सार्वजनिक भएको ठीक ६ महीनापछि हिन्दी संस्करण ‘उफ्’ आयो। यो गीत तयार पार्न सुशान्तलाई तीन महीना लाग्यो।
नेपाली गीतलाई हिन्दीमा ढाल्ने प्रक्रिया कस्तो रह्यो त?
उनका अनुसार नेपाली शब्दलाई हिन्दीमा सीधै अनुवाद गर्दा शब्द र भाव सुहाउँदो भएन। त्यसैले नयाँ हिन्दी शब्द लेख्नुपर्यो। “यस प्रक्रियामा गीतको मूल भाव र मेलोडीलाई दुरुस्त राखेर हिन्दीभाषी श्रोताका लागि सुहाउँदो बनाउन विशेष ध्यान दिइयो,” उनी भन्छन्।
हिन्दी भाषामा गीत गाउनु सुशान्तका लागि नौलो कुरा थिएन। उनले यसअघि पनि हिन्दी गीत गाइसकेका थिए। १० महीनाअघि उनले आफ्नै शब्द र संगीतमा ‘क्या करदिया’ बोलको गीत आफ्नो यूट्यूब च्यानलमा सार्वजनिक गरेका छन्। त्यो गीत पनि उनका अन्य गीत जस्तै धेरैले मन पराए। उक्त गीतको भिडिओले ८८ लाखभन्दा बढी भ्यूज पाएको छ।
‘उफ्’ गीत रेकर्ड गरेपछि अडियो टी-सिरिजलाई पठाइयो। टी-सिरिजले त्यो मन परायो। “हामीले एक सातामा अडियो तयार पारेका थियौं। हाम्रो कामलाई टी-सिरिजले तुरुन्तै स्वीकार गर्यो,” सुशान्त भन्छन्।
त्यसपछि गीतको भिडिओ छायांकन प्रक्रिया अगाडि बढ्यो। मूल गीतको भिडिओ निर्माण स्टेलर स्टुडियोले गरेको थियो। यसको निर्माणका लागि पनि सोही स्टुडियो रोजियो।
भिडिओ निर्माणमा सम्पूर्ण रूपमा नेपाली टीमले नै काम गरेको हो। सुशान्तका अनुसार यस प्रोजेक्टमा करीब २०० जना नेपाली जनशक्ति खटिएको थियो।
बार्दलीको भिडिओ अन्जोन लिम्बूले निर्देशन गरेका थिए। यसको हिन्दी संस्करणको भिडिओ निर्माणको जिम्मा नयन राईलाई दिइयो। निर्देशन र छायांकन दुवै काम नयनले नै सम्हाले। भक्तपुरको भादगाउँ रिसोर्टमा दुई रातमा भिडिओको छायांकन गरिएको हो। कलाकार दिनभर अभ्यास गर्थे र रातभर छायांकन हुन्थ्यो।
“बजेट ठूलो भएकाले प्रोडक्शनमा कुनै कसर बाँकी राखिएन। दुई दिन र दुई रात निरन्तर खटिएर हामीले भिडिओ तयार पार्यौं,” सुशान्त भन्छन्।
जसै भिडिओ टी-सिरिजको यूट्यूब च्यानलमा आयो, गीत दुई दिनमै ग्लोबल ट्रेन्डिङमा पर्यो।
‘उफ्’ को सफलताले नेपाली कलाकारका लागि अन्तर्राष्ट्रिय बजारमा अवसरको ढोका खोलेको सुशान्तको ठम्याइ छ। “यो गीतको सफलताले नेपालका अन्य कलाकारलाई पनि बाटो खोल्यो। अब नेपाली गीतहरू हिन्दी र विश्वका अन्य भाषामा पनि जान सक्छन् भनेर यसले सम्भावना देखायो,” उनी भन्छन्।
‘उफ्’ गीतको सफलता केवल एक गीतको कथा होइन, यो नेपाली संगीतको विश्वव्यापी सम्भावनाको शुरूआत पनि हो। यसले नेपाली कलाकारलाई आन्तरिक श्रोता र बजारको साँघुरो संसार छिचोलेर अवसर खोज्न हौसला दिएको छ।
यस गीतले नेपाली र हिन्दीभाषी श्रोता/दर्शकबीचको सांस्कृतिक सेतुको पनि काम गरेको छ। ‘बार्दली’ को नेपाली भावनालाई ‘उफ्’ मा हिन्दी शैलीमा प्रस्तुत गर्दा दुवै संस्कृतिको मिश्रण देखिन्छ, जसले गीतको पहुँच अझ फराकिलो बनाएको छ।
सुशान्तको यो उपलब्धिपछि उनलाई धेरै प्रशंसक, साथीभाइ र संगीतप्रेमीले बधाई सन्देश पठाइरहेका छन्। यो साथ र समर्थनले आफूलाई ठूलो हौसला मिलेको उनी बताउँछन्।