नागार्जुन डाँडाको नाम दोस्रो शताब्दीका शून्यवादी आचार्यबाट नभएर दशौं/एघारौं शताब्दीतिर जामाचो गुफामा ध्यान गरेको भनी जनश्रुतिमा रहेका सिद्ध नागार्जुनको नामबाट बसेको मान्ने हो भने एउटै नागार्जुन ९०० वर्षसम्म बाँचेको भन्ने भ्रम समेत निवारण हुन सक्छ।
वसन्त महर्जन
काठमाडौं उपत्यकाको उत्तर-पश्चिम कुनामा नागार्जुन नामले प्रसिद्ध डाँडो छ। स्थानीय बोलीचालीमा ‘जामाचो’ भनिने यो क्षेत्रले नागार्जुन नाम पछि मात्र पाएको हो। तर नयाँ नामले बोकेको ऐतिहासिकताका सन्दर्भमा सर्वसाधारणदेखि बौद्धिक वर्गमा समेत भ्रम व्याप्त छ। अधिकांश व्यक्ति यो पर्वतमा बौद्ध दर्शन अन्तर्गतको माध्यमिक सम्प्रदाय (शून्यवाद)का संस्थापक आचार्य नागार्जुनको नाम जोडिएको बुझ्छन्। उनीहरू त्यहाँको गुफामा यी आचार्यको मूर्ति पनि रहेको ठान्छन्। तर त्यही कुरा पत्याउँदै दुइ दशकअघि गुफाभित्र पस्दा म जिल्लिएँ।
गुफाभित्र वज्रयानी सम्प्रदायका पञ्चबुद्धमध्येका एक अक्षोभ्यको ठूलो मूर्ति छ। त्यसको छेवैमा पञ्चबुद्ध अन्तर्गतकै अमोघसिद्धिको मूर्ति छ, जुन निकै सानो छ। यी अमोघसिद्धि बुद्धको चित्रांकन गर्दा नागको छहारी दिइएको मूर्ति बनाइन्छ। अनि त्यसलाई उत्तर दिशातिर फर्काएर राखिन्छ। आचार्य नागार्जुनलाई चित्रकलामा देखाउँदा पनि शिरमा नागकै चित्रण गरिन्छ। सोही कारण बौद्धिकहरू समेत अमोघसिद्धिको मूर्तिलाई नागार्जुन ठानेर झुक्किएका छन्।
जामाचो पर्वत र काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा पनि आचार्य नागार्जुनका भनी जति मूर्ति राखिएका र पुस्तकमा प्रकाशन गरिएका छन्, ती सबै अमोघसिद्धिका हुन्। वज्रयानी परम्परा अनुरूप चैत्यहरूको चार दिशामा चार बुद्ध (अक्षोभ्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धि) तथा पाँचौं बुद्ध वैरोचनलाई अदृश्य रूपमा राखिन्छ। यस्तोमा अमोघसिद्धिका सबै मूर्तिलाई आचार्य नागार्जुन ठान्नु बौद्ध धर्म र कला-संस्कृतिबारेको सामान्य जानकारीसम्म नहुनु हो। अनुसन्धानात्मक भनिएका ग्रन्थ समेत यस्तै काँचा र हचुवा जानकारीका भरमा लेखिंदै र सम्पादन गरिंदै आएका छन्।
काठमाडौंको नागार्जुन डाँडोबाट देखिएको हिमशृंखला। तस्वीर स्रोत : अल्टिच्यूड हिमालय
अर्कातिर, मूर्ति नागार्जुनको नभए पनि जामाचो शताब्दीऔंदेखि उनको नामबाट पुकारिंदै आएको कुरा जगजाहेर छ। यो प्रचलनका पछाडि जामाचोको गुफामा प्रसिद्ध आचार्य नागार्जुनले ध्यान गरेको र सोही कारण डाँडाको नाम नै नागार्जुन रहेको भन्ने लोककथनले बलियो भूमिका खेलेको छ। तर समस्या के भने, नागार्जुन नामका आचार्य महायानी बौद्ध धर्ममा एकभन्दा बढी छन्। र, यो पर्वतलाई तीमध्ये कुन चाहिंको नाम दिइएको हो भन्ने प्रस्ट छैन।
पहिलो नागार्जुन बौद्ध धर्मदर्शनका चार सम्प्रदाय वैभाषिक, सौत्रान्तिक, माध्यमिक र योगाचारमध्ये माध्यमिकसँग सम्बद्ध छन्। यस सम्प्रदायको अर्को नाम शून्यवाद हो। दर्शनका क्षेत्रमा गौतम बुद्धको मौलिक देन ‘प्रतीत्यसमुत्पाद’ हो जसले कुनै कुराको छुट्टै अस्तित्व वा स्वभाव नरहेको, एकअर्कासँग सम्बद्ध रहेकै कारण अस्तित्व देखिएको मान्छ। यही दर्शनको जगमा विभिन्न ज्ञात-अज्ञात आचार्यले काम गरे। सोही क्रममा प्रज्ञापारमिता ग्रन्थको रचना हुन पुग्यो। प्रज्ञापारमिता मा निहित दर्शनलाई व्याख्या गर्ने क्रममा नागार्जुनले माध्यमिककारिका ग्रन्थ रचेका थिए। त्यसैबाट माध्यमिक वा शून्यवाद सम्प्रदाय स्थापित हुन पुग्यो। नागार्जुनको शून्यवादलाई उनका प्रशिष्यहरूले निकै फैलाए। अहिले पनि बौद्ध दर्शनका अध्येतामाझ यो दर्शन लोकप्रिय छ। कतिपय स्थितिमा त शून्यवादलाई नै पूरै बौद्ध धर्म-दर्शन भनेर बुझ्ने गरिएको छ।
तिनै शून्यवादका आचार्य नागार्जुन नेपाल आउँदा बसेको ठाउँ भनी जामाचोलाई उनको नाम दिइएको बुझाइ स्थानीय स्तरमा छ। तर यो बुझाइ तथ्यपरक होइन। बौद्ध इतिहासमा नागार्जुन नाम एक समय सुल्झाउन मुश्किल गाँठो जस्तै थियो। किनकि शून्यवादका प्रवर्तक आचार्य ९०० वर्षसम्म बाँचेको भन्ने प्रचारले लोकमा लामो समयदेखि जरा गाडिरहेको थियो। यस्तो अविश्वसनीय प्रचारमाथि प्रश्न गर्दा आस्थामै आघात पारिदिन सक्थ्यो। तर अब के स्पष्ट भइसकेको छ भने, बौद्ध धर्म-दर्शनमा आचार्य नागार्जुन नामका व्यक्ति तीन जना थिए– दार्शनिक, रसायनविद् र सिद्ध। उनीहरू बेग्लाबेग्लै समयका हुन्। यी सबैलाई एउटै ठानेर ९०० वर्षको हिसाब निकाल्दा यस्तो भ्रम पर्न गएको हो।
नेपाल आउने को?
बौद्ध जगत्मा नागार्जुन नामका पहिलो आचार्य शून्यवादका प्रवर्तक नै हुन्। यिनको जन्ममितिबारे ठोस कुरा नपाइए पनि आन्ध्र राजा गौतमीपुत्र यज्ञश्री (१६६-१९६ ई.)का समकालिक रहेका यिनले ती राजालाई लेखेको पत्र ‘सुहृल्लेख’ बाट खुल्छ। नागार्जुन र राजाबीच गहिरो मित्रता थियो। आदर्श राजाले कसरी राज्य गर्नुपर्छ भन्ने सन्दर्भमा लेखिएको उक्त पत्रमा बौद्ध धर्म-दर्शनका कुरा ज्यादै प्रभावी रूपमा प्रस्तुत गरिएको छ।
तस्वीर : सन्त गाहा मगर
ब्राह्मण कुलमा जन्मिएका नागार्जुनले वैदिक ग्रन्थहरू सानै उमेरमा खारिसकेका थिए। तर तिनमा निहित ज्ञानले चित्त नबुझेपछि भिक्षु भई बौद्ध धर्म-दर्शनको सूक्ष्म रूपमा अध्ययन गरेका थिए। कालान्तरमा यिनले बौद्ध धर्म-दर्शनमा अधिकार नै जमाए। माध्यमिककारिका सँगै उनका युक्तिषष्टिका, प्रमाणविध्वंसन, उपायकौशल्य, विग्रह व्यावर्तनी, चतुःस्तव, सुुहृल्लेख आदि रचना प्रसिद्ध छन्।
शून्यवादका यी प्रसिद्ध आचार्य नेपाल आएको पुष्टि भने हुँदैन। यिनी नालन्दासम्म मात्र पुगेको पाइन्छ। त्यति वेलासम्म नालन्दा विश्वविद्यालयको विकास हिजोआज हामीले बुझे जस्तो स्वरूपमा थिएन। यो ठाउँ पहिल्यैदेखि शिक्षाको केन्द्र त थियो, तर विश्वविद्यालयका रूपमा विकास पाँचौं शताब्दीमा राजा कुमारगुप्तबाट भएको हो। यी नागार्जुन नालन्दामा केही समय अध्ययन गरी दक्षिण भारततिर लागेका थिए। उनका क्रियाकलाप ज्यादाजसो दक्षिण भारतमै केन्द्रित छन्।
अर्का नागार्जुन रसायनविद् हुन्। महायानी दर्शनमा संलग्न रहँदारहँदै यिनको प्रसिद्धि रसायन विज्ञानमा हुन पुग्यो। तीन आचार्यलाई एउटै ठानेर लेखिएको एक प्रकाशनमा यी नागार्जुनको वर्णन यस्तो छ, “विज्ञानका क्षेत्रमा उनलाई हामी आयुर्वेदका महान् धातुवेत्ता र रासायनिक, सुश्रुतसंहिताका सम्पादक, अनेक योग, रासायनिक विधि र यन्त्रका आविष्कारक, लौहादि शास्त्र, रसरत्नाकर, धातुविज्ञान, जननविज्ञान र तन्त्र सम्बन्धी महत्त्वपूर्ण ग्रन्थका निर्माताका रूपमा देख्दछौं (आर्य जगत्का महाविभूतिहरू , लेखक : मंगलकुमार नेपाल, प्रकाशक : नेपाल प्रज्ञा-प्रतिष्ठान)।” काठमाडौंमा प्रचलित किंवदन्ती अनुसार यिनमा रसायन सम्बन्धी ज्ञान यति थियो कि फलामलाई सुन बनाउन सक्थे। यसैका आधारमा काठमाडौंको नागार्जुन पर्वतमा सुन पाइने भन्दै मानिसहरू खोज्न जान्थे। तर यी नागार्जुनका व्यक्तिगत कुराहरू खुल्दैनन् र उनी नेपाल आएको कुराको पनि पुष्टि हुँदैन।
तेस्रा नागार्जुन चाहिं प्रसिद्ध चौरासी सिद्धमध्ये एक हुन्। चौरासी सिद्ध भनेको बौद्ध तान्त्रिकहरूको विशिष्ट समूह हो जुन वज्रयान परम्परासँग सम्बद्ध छ। यी सिद्धहरूको समय मुख्यतः आठौंदेखि बाह्रौं शताब्दी हो। तत्कालीन भारतको विशेषगरी उडियान (आजको पाकिस्तान/स्वात उपत्यका), बंगाल, बिहार र नेपाल आसपासका क्षेत्रमा क्रियाशील यी सिद्धमध्ये सर्वाधिक चर्चित हुन्– सरहपा, काण्हपा (कृष्णाचार्य), इन्द्रभूति, लक्ष्मीकरा, तिल्लोपाद (तिलोपा), नारोपा, डोम्बिपा, शवरपा, लुइपा तथा नागार्जुन। तन्त्र-योग साधना आदिमा निपुण उनीहरूले महायान तथा वज्रयान परम्परामा ठूलो योगदान गरेका थिए।
सिद्ध नागार्जुन पूर्वी भारतमा पर्ने कान्चीको कहोर भन्ने नगरमा ब्राह्मण परिवारमा जन्मिएका थिए। आचार्य अभयदत्तश्रीद्वारा संस्कृत भाषामा लिखित ग्रन्थ चतुरशीतिः सिद्धाः प्रवृत्ति वृत्तान्त को भोटभाषाबाट हाल नेपालीमा अनुवाद भई प्रकाशनको तयारीमा रहेको ‘चौरासी महासिद्ध वृत्तान्त’ (अनु. तेन्जी शेर्पा, प्रकाशकः नेपाल बुद्धिस्ट न्यूज)मा यिनका बारेमा विस्तृत वर्णन रहे पनि त्यसलाई बडो सतर्कतापूर्वक पर्गेल्नुपर्ने स्थिति छ।
नागार्जुन हाइकिङमा पदयात्री।
किनकि यस ग्रन्थमा अघिल्ला दुई नागार्जुनलाई पनि यिनै सिद्धमा मिलाइएको छ। शून्यवादी नागार्जुनका वेला नालन्दा विश्वविद्यालयले आकार ग्रहण गरिसकेको थिएन, तर सिद्ध नागार्जुनका वेलामा यस विश्वविद्यालयको प्रसिद्धि देशदेशान्तर फैलिइसकेको थियो। सिद्ध नागार्जुनले नालन्दा विश्वविद्यालयमा ‘पञ्चविद्या’ सिकेको, केही समय त्यहीं शिक्षण कार्य पनि गरेको तर त्यसबाट निराश भएपछि साधना गरी आर्यताराबाट सिद्धत्व प्राप्ति गरेको वर्णन यस ग्रन्थमा पाइन्छ। तर यसमा उनी काठमाडौं उपत्यका आएको, जामाचोको गुफामा बसेको जस्ता कुरा छैनन्।
शून्यवादी नागार्जुनको समय दोस्रो शताब्दी रहेको कुरा सुहृल्लेखबाट खुल्छ। रसायनविद् नागार्जुनको व्यक्तिगत कुरा पूरै अज्ञात छ। दशौं-एघारौं शताब्दीका रहेको अनुमान गरिएका सिद्ध नागार्जुनको वृत्तान्तमा मृत्युको वर्णन त छ, तर त्यसमा शून्यवादी आचार्यकै विवरण ल्याएर जोडिएको देखिन्छ। यसर्थ तीन व्यक्तिलाई एउटै मानेर कालगणना गर्नु लेखकहरूको ठूलो गल्ती हो जसले सबैलाई रनभुल्लमा पारिरहेको छ।
यति हुँदाहुँदै जामाचोको गुफामा ध्यान गर्ने को होला भन्ने सन्दर्भमा सिद्ध नागार्जुनतर्फ हाम्रो अनुमानको सुई प्रबल रूपमा घुम्छ। किनकि काठमाडौं उपत्यकामा बौद्ध धर्मको विकास शुरूआती दिनदेखि नै हुँदै आए पनि सिद्ध नागार्जुनको समय भनी अनुमान गरिएको दशौं-एघारौं शताब्दीतिर यो वज्रयानको केन्द्र भइसकेको थियो। सिद्ध नागार्जुन वज्रयानी नै हुन्। ग्रन्थकारहरूले ध्यान नदिए पनि उनी काठमाडौं आएको र स्थानीय समाजमा ठूलै प्रभाव छाड्न सफल भएको लोकश्रुति छ। शायद काठमाडौंका वज्राचार्यहरूले आफ्नो ठाउँमा नागार्जुन आएको कुरा पुस्तैनी रूपमै सम्झिई त राखे, तर ती नागार्जुन तीनमध्ये कुन हुन् भन्ने हेक्का नराख्दा कालान्तरमा एउटामा अर्काको व्यक्तित्व थोपरिंदै गयो र अन्योलको स्थिति बन्न पुग्यो।
सिद्ध नागार्जुनले ध्यान बसेको भनिएको गुफा अन्य थुप्रै साधकको पनि साझा गुफा हो। यस वरिपरिका अरू गुफामा पनि मानिसहरू ध्यान बसिरहेका हुन्छन्। यो ठाउँलाई सोह्रौं-सत्रौं शताब्दीतिर मात्र ‘नागार्जुनको ध्यानस्थली’ भनेर चिनाउन थालिएकामा क्रमशः डाँडाको नाम नै नागार्जुन हुुन गएको हो। त्यसअघि जनमानसमा प्रचलित नाम जामाचो थियो। लिखतमा चाहिं रानीवन रहँदै आएको पाइन्छ।