विसं २००६ र २०१६ मा टिपोट गरिएका माङ्गेना मुन्धुमका लिखतले पापो लिम्बूका पुर्खाको बसोबास, बसाइँसराइ लगायतको इतिहास उजागर गरेका छन्।
लक्ष्मण लावती
लिम्बू जातिमा ग्रहदशा कटाउने र शिर उठाउने अनुष्ठान माङ्गेना गर्दा पुर्खाको वंश–क्रम, वासस्थान, बसाइँसराइ र तिनले भोगेका घटनाक्रम सहितको पूरै इतिहास अनुष्ठान गर्ने फेदाङमा, येबा, साम्बाले फलाक्छन्। पितृशक्ति नाहाङमामा विश्वास राख्ने लिम्बूहरूको पुर्खाको इतिहासको सँगालो नै माङ्गेना मुन्धुम बन्न गयो। जुन एकपछि अर्को पुस्तामा हस्तान्तरण हुँदै आयो। दशकौंअघिदेखि लिम्बूहरूले टिपोट गरेर राखेका पुर्खाबारे जानकारी दिने मुन्धुमका कागजात आज पनि गाउँ गाउँमा भेटिन्छन्।
यस्तै पुराना लिखत खोज्ने क्रममा पाँचथरको फाल्गुनन्द गाउँपालिका-१, अम्लाबुङका अम्बिकाप्रसाद आङ्देम्बेको घरमा विसं २०१६ फागुन १२ गते फेदाङमा स्व. सुनबहादुर आङ्देम्बेबाट स्व. बागदल आङ्देम्बेले टिपोट गरेर राखिएको पापोहाङ लिम्बूहरूको नाहाङमा माङ्गेना मुन्धुम फेला पर्यो। सोही ठाउँमा स्व. यामबहादुर आङ्देम्बेले २००६ सालमा टिपोट गरेको माङ्गेना मुन्धुम पनि भेटियो।
पापोहाङ लिम्बू भन्नाले पाँचथर, तेह्रथुम र छिटफुट रूपमा अन्य जिल्लामा पनि फैलिएर बसेका तुम्बापो, आङ्देम्बे, लाओती, सेर्मा, तुम्रोक, कुगेत्नाम्बा, इङवाबा, सङ्बाहाङ्फे, इवाहाङ, इङ्नाम र पापो गरी ११ थरी लिम्बूलाई जनाउँछ। यिनीहरूको माङ्गेना अनुष्ठान गर्दा तेह्रथुम आठराईको इवा गाउँको शिरमा रहेको खेक्लेसेबुङ भन्ने ठाउँमा झाडीजंगल फाँडेर पहिलो पटक बसोबास गरेका यिनका पुर्खा मुसाहाङबाट मुन्धुम शुरू हुन्छ।
बागदल आङ्देम्बेले विसं २०१६ मा टिपोट गरेको नाहाङमा मुन्धुम।
मुसाहाङका दुई श्रीमती हुन्छन्। जेठीपट्टिबाट साङयुकहाङ नामका छोरा र मुधाहाङ थाम्लासो पापो (थाम्लासो पापो) नाम गरेका नाति हुन्छन्। कान्छीपट्टिबाट आवासो चङ्बाहाङ नाम गरेका छोरा र मुन्धाङ आवासो नाम गरेका नाति हुन्छन्। पापोहाङ लिम्बूहरूको हालसम्म भेटिएको सबैभन्दा पुरानो वंशावलीको पाण्डुलिपि विसं १८७९ मा पाँचथर यासोकका नाम्नो रायले संकलन गरेको लाओतीहरूको वंशावली पाण्डुलिपि भएको देखिन्छ। पापोहरूको मुन्धुममा पाइने उल्लिखित पुर्खाहरूको नाम नाम्नो रायले संकलन गरेको नाम र पुर्खाले भोगेका घटनाक्रमसँग मेल खाने भएकाले उनले पापोहाङहरूको माङ्गेना मुन्धुमलाई आधार मानेर टिपोट गरेको अनुमान गर्न सकिन्छ।
स्व. बागदल आङ्देम्बेले टिपोट गरेको यो पापोहाङ नाहाङमा माङ्गेना मुन्धुमको शुरूआत पितृहरूका देव खाम्बोलिङ नाहाङमा देवको स्तुतिबाट हुन्छ।
लिप्यन्तरण
अे तोहिदिङ नाम्धा लेप्माङ।। अे अे सोधुङगेन वरक लुङओ अे अे।। तलक्केन ताङसाङ थाबा माङङे अे अे।। खेसेदिङ ओफामा माङङे अे अे।। खाम्बोलिं नाहाङमा मांङङे अे अे।। तोहिदिङ नामधा लेमांङनु अे अे।। तेंगो अे योलाङ केधासिंङ अे अे।। अजिकैन लाङधुंङ केभेरा अे अे।। कबुकेन पाङभे कोती केभेर अे अे।। सेदु .. पे केधासिङ अे अे।। सुमागेन तोकमा केमेत्ता अे अे सिक्चोगें पे केथातु थावागें पे केलुप्तु अे अे।। नुमागें तोकमा केपिरु अे अे।। पांजाके इंजा केपिरु अे।। सिकुंदिं निवा किपिरु अे अे।।
(भावार्थ : ए आकाश झैं विशाल देव। सोधुङ्गेन पोखरीबाट निस्केर आयौ। ए आकाशको तारा झैं झिलिमिली उज्यालो देखिने देव। खाम्बोलिङ नाहाङमा देव। सुरक्षा दिने, शरीरमा शक्ति दिने देव। पश्चिम दिशाबाट हामी बसेको बाटो पहिल्याउँदै आयौ। कमिलाको लस्कर र धमिराले लाएको ढिस्को हेरेर मिहिनेत, परिश्रम गरी खानू भनी अर्ती दियौ। तिम्रो शुभ लाभ होस् भन्दै बेलिविस्तार लगायौ, चेतना दियौ। )
यस लेखोटमा सोधुङ्गेन वरक (पोखरी)बाट नाहाङमा देव आएको लेखिएको छ। यो पोखरी ताप्लेजुङको हाल मिक्वाखोला गाउँपालिका–५, तोप्केगोलाको सोधु पोखरी हो। सोधु पोखरी र सिङसादेन/सिगो सँगसँगै छन्। मिक्वाखोलाको शिरमा रहेको सोधुङ पोखरी र सिगो तेम्बेको चर्चा मुन्धुममा प्रशस्तै हुनुले लिम्बूहरूका पुर्खा यतैतिर बसेर तलतिर फैलिंदै गएको प्रस्ट हुन्छ।
नाहाङमा मुन्धुममा वर्णित सोधुङ्गेन वरक (पोखरी)मा लेखक लावती।
यस मुन्धुमको लेखोटमा कथा शुरू गरिनुअघि पुर्खाहरूको शक्ति जगाउने खाम्बोलिङ नाहाङमाको स्तुति गाइएको छ। बाजे मुसाहाङ र तिनका छोराहरूको मृत्यु भइसकेको तथा दुई बजू र तिनका दुई नातिमा बाबुबाजे र आफूहरूले ढालफाँड गरेको जग्गाको विवादबाट मुन्धुमको कथा थालनी हुन्छ। जेठी बजूले आफ्नो नाति थाम्लासो पापोलाई तिम्रो हक लाग्ने जग्गा भाइ मुन्दाङ आवासोले कब्जा गरेको र त्यो फिर्ता माग्नू भनेर दबाब दिइरहन्छिन्।
मुन्धुमले थाम्लासो पापोलाई सोझो व्यक्तिका रूपमा देखाएको छ। दाजुको सोझोपनसँग जानकार भाइ मुन्धाङले जेठी बजूलाई समस्या मानेर मार्ने षड्यन्त्र बुन्छन् र दाजुसँग सल्लाह गर्छन्। दाजुलाई फकाउँछन्, ‘हाम्रा बजूहरू धेरै पाका भए, हाम्रा लागि बोझ बने। दुवैलाई बाकसमा राखेर तमोर नदीमा बगाइदिऔं। त्यसपछि ढालफाँड गरेको जग्गा बाँडौं।’
सोझा थाम्लासो पापोले भाइको कुरा पत्याउँछन् र आफ्नी बजूलाई बाकसमा राखेर तमोरमा बगाइदिन्छन्। भाइ मुन्धाङले चाहिं चलाखी गर्दै बाकसमा केराको थाम राखेर यसभित्र आफ्नी बजू रहेको भन्दै बगाउँछन्। घरमा आएपछि थाम्लासो पापोले कान्छी बजूलाई जिउँदै देख्छन् र भाइले आफूमाथि छल गरेको थाहा पाउँछन्। उनले आफूलाई पनि असुरक्षित महसूस गर्छन् र बसाइँसराइको मुन्धुम शुरू हुन्छ।
लिप्यन्तरण
अे आल्ल हेनेग केन्सारे युक्नाआं केम्बिरान।। अे नेत्नाआङ केम्बिरान।। अे युमाआङ वादेन पाङखाङ केलरे।। अे सिक्कुम मयारो निङवा मयारो।। आल्ल हेने केन्सा मिङ केवातु मिङ केवान्नेत्छि।। अे हेने याप्मी इङ केलेक्पा मुन्दाङ आवासो केबोखा।। इङगा युमा वादेन्दुङ थाम्लासो पापो आमिङस्रा पोखा।। आम्बि हेक्केआङ मिङ आवान्नेछि।। अे सिक्कुम मयाना निङवा मयाना।। अे लत्छा यम्बा योपाधिक वयाबे।। अे हेन योपाङग ताम्वा यङघङ पित्तुआङ।। अे फेदेन खङवा नेन्छिङाङ।। याम्मो फेरेआङ वयाबे।। आम्बि कन मराक्यापा खाम्मिन्ग हाङखाम्बे खाम्बे।। अे कन हाङ खाम्बेओ पेकाआङ युङा केलरे।। अे सिक्कुम केइत्छिङ।। अे निङवा केइत्छिङ।। युमारे सिकुम केबिरा।। अे निङवा केबिरा।।
(भावार्थ : तिम्रो भाइले बस्ने ठाउँ दिएन। भाइले बजूलाई पनि बगाउन लायो भन्यौ। छक्क पर्यौ, ज्ञान चेत हरायो। तिमीले भाइको नाम राखिदियौ। तिम्रा भाइ ढँटुवा मुन्धाङ आवासो भए। मैले बजू बगाएँ, थाम्लासो पापो मेरो नाम हो भन्यौ। यसरी भाइ र मैले एकअर्काको नाम राखिदिएका थियौं। बस्ने ठाउँ भएन, चेत हरायो, सोचमा डुब्यौ। एउटा बडेमानको सुँगुरको बिर थियो। त्यो बिर ताम्वा (तमोर नदी) तरेर फेदेन (फिदिम) डाँडाको रातो माटोमा आहाल बसेर फर्केको थियो। यो रातो माटो त राजा माटो रहेछ, अब यो ठाउँमा गएर बस्छु भन्यौ। ज्ञान आयो, चेत आयो, बजूले तिम्रो चेत खुलाइन्। )
यस मुन्धुममा ढालफाँड गरी खेतीयोग्य बनाइएको जमीन पाउन एउटा मान्छे आफ्नी बजू बगाउनसम्म पछि नपरेको कथाले त्यस वेला ढालफाँड गरेर जमीन बनाउनुको कठिन पक्षलाई उजागर गर्छ।
मुन्धुममा रहेका स्थाननाम अपभ्रंश भएर आज अर्कै भइसकेका छन्। मुन्धुममा फेदेन भनिएको ठाउँ आज फिदिम भएको छ। लिम्बू भाषामा फेदेनको अर्थ हुन्छ, फैलिएको ठाउँ। मुन्धुममा वर्णित ताम्वालाई अचेल तमोर भनिन्छ। ताम्वाको अर्थ हुन्छ, फराकिलो नदी। खासमा मुन्धुममा तमोरलाई इम्बिरी थाङवा भनिएको छ। त्यही थाङवालाई अर्थ खुल्ने गरी ताम्वा भनिएको र पछि अपभ्रंश भई तमोर भएको अनुमान गर्न सकिन्छ।
थाम्लासो पापोले नदीमा बजू बगाइसकेपछि आफूलाई निरीह र असुरक्षित महसूस गर्छन्। त्यसपछि आफूले पालेको भाले सुँगुर खेल्न गइरहने ठाउँ फेदेन अबको आफ्नो वासस्थान हुने निष्कर्ष निकाल्छन्। यसलाई बजूले दिएको विवेक मान्छन्। यसपछि त्यही सुँगुरलाई पछ्याउँदै उनी नयाँ वासस्थानको खोजीमा तमोर तरेर गएको मुन्धुम छ।
लिप्यन्तरण
अे योपाङग पोगेरो हाङयाम्बु हेनेआङ पोगेओ।। अे योपाङग खेक्लेसेबुङ ओनु थासिङलो।। अे हाङयाम्बु हेनेआङ थासिङओ।। अे योपाङग पिन्देर ताम्वा यङखङ केरेरो।। अे पापोहाङ हेनेआङ ताम्वा यङखङ केगेरा।। अे योपाले ताम्वा यङखङ पित्तुरो।। अे पापोहाङ हेनेआङ ताम्वा यङखङ फोक्तेओ।। अे योपाङग यक्वाचेप्पा लन्देरो।। अे पापोहाङ हेनेआङ यक्वाचेप्पा केलन्दे।। अे योपाङग यक्वाचेप्पा लाजेनु फाराबा केरेरो।। अे पापोहाङ हेनेआङ फाराबा केरेरो। अे योपाङग फाराबा पोखेर हेङवा वाहङ केरेरो।। अे पापोहाङ हेनेआङ हेङवा वाहङ केगेरे। अे योपाले हेङवा वाहङ फोक्तुरो।। आम्बी हेङवा वाहङीन्ग फाक्फोक्तेन पोखेरो। अे हाङयम्बु हेनेआङ हेङवा वाहङ फोक्तेओ।। अे योपान्नु ताक्कन्नी कन्नी।। अे हाङयम्बु सारेनथाक केलन्देत्छी।। अे योपाङग सप्फा खङवा नेन्छिङबे।। अे पापोहाङ हेनेआङ सप्फा केहाङखु।। अे योपाग याम्मो पोगेरो।। अे हाङयम्बु हेनेआङ केनातुरो।। अे योपाङग योपालुङ केरेरो।। अे योपाङग लुङओ इसिङलो।। अे योपाङग सप्फा नेन्छिङलो।। अे पापोहाङ हेनेआङ सफा नान्छिङेओ।।
(भावार्थ : सुँगुरको बिर त उठ्यो, तिमी पनि उठ है। बिर त खेक्लेसो भन्ने ठाउँबाट हिंड्यो, तिमी पनि हिंड। बिर त उफ्रिंदै ताम्वा नदीसम्म आइपुग्यो। तिमी पनि बिरलाई पछ्याउँदै ताम्वा आइपुग्यौ। सुँगुरको बिरले ताम्वा नदी तर्यो। पापोहाङ, तिमी पनि तर है। ताम्वा तरेर यक्वाचेप्पा (एकचेप्पा) आइपुग्यो। बिर यक्वाचेप्पा हुँदै फाराबा (हाल भारपा) आइपुग्यो। पापोहाङ, तिमी पनि बिरलाई पछ्याउँदै फाराबा आइपुग्यौ। बिर फाराबा हुँदै हेङवा (हेंवा खोला) आइपुग्यो। बिरले हेङवा खोला तर्यो। त्यो त फाक्फोक्तेन (हाल तीनभँगाले) भयो। पापोहाङ, तिमी पनि हेङवा खोला तर है। बिरसँग डुल्दैडुल्दै सारेनथाक (हाल सारान्था) भन्ने ठाउँ आइपुग्यौ। त्यहाँ त बिर आहाल बस्यो। तिमीले बिरलाई पर्खियौ। बिर तुरुन्तै उठ्यो र तिमीले पछ्यायौ। सुँगुरको बिर त योपालुङ आइपुग्यो। बिरले त्यहाँको ढुंगामा आफ्नो जीउ दल्यो र विश्राम गर्यो। पापोहाङ, तिमी पनि अडेस लाएर बस है। )
प्रस्तुत मुन्धुममा उल्लेख भएका स्थाननाम महत्त्वपूर्ण छन्। यक्वाचेप्पा हाल एकचेप्पा भएको छ। यक्वाचेप्पाको अर्थ हो, यक्वा लिम्बू काटिएको। त्यहाँ आसपास बसोबास गर्ने यक्वा लिम्बूहरूका कुन पुर्खा काटिएका थिए, त्यो खोजीको विषय बनेको छ। मुन्धुमको फाराबा हाल भारपा भएको छ। यसको अर्थ बाँसघारी भन्ने हुन्छ। सारेन्थाकलाई हाल सारान्ता भनिन्छ। हालको हेवालाई हेङ्वा र योपालुङमुनिको तीनभँगाले हेवालाई फाक्फोक्तेन भनिएको छ। त्यसको पुरानो नाम फाक्फोक्तेन नै हो। यसको अर्थ हुन्छ, सुँगुरले तरेको ठाउँ। सुँगुरको बिरले जीउ दलेको फिदिम-४, गढीमुनिको ढुंगालाई आज पनि योपालुङ नै भनिन्छ। जसको अर्थ ‘बिरको ढुंगा’ भन्ने हुन्छ। भाइबाट असुरक्षित महसूस गरी खेक्लेसेबुङबाट हिंडेका थाम्लासो पापोले यो ढुंगासँगैको फाँटमा ढालफाँड गरी घर बनाएर बसेको मानिन्छ। योपातापादेन (बिरले ल्याएको ठाउँ) भनिने यस ठाउँ जंगलको बीचमा छ, जहाँ प्राचीन ढुंगाको गारोका अवशेष आज पनि देख्न सकिन्छ।
खेक्लेसेबुङको टुप्पोमा लेखक लावती।
मुन्धुममा भनिने पिन्देवा (हाल पेगेखोला) दोभानमा रहेको ढुंगालाई अहिले योपापिप्पा लुङ भनिन्छ। जसको अर्थ हुन्छ, बिर उफ्रेको ढुंगा। पापोहरूको मुन्धुम र उक्त घटनाक्रमसँग सम्बन्धित रहेर आजसम्म कायम स्थाननाम हेर्दा लिम्बूहरूले आफ्नो पुर्खा सम्बन्धी मुन्धुम र घटनाक्रमप्रति अगाध श्रद्धा राखेको देखिन्छ। पापो लिम्बूहरूले आफ्ना पुर्खाले बगाएकी बजूलाई सम्झँदै बजू बगाइएकै ठाउँमा हरेक तीन वर्षमा ठूलो संख्यामा भेला भई साक्मुरा वादेम्मा पूजा गर्ने चलन बसाए। सन्तानलाई गाली र श्राप नलागोस् भनी माफी माग्दै आदिकालदेखि गर्न थालिएको उक्त पूजा आजपर्यन्त गरिंदै आएको छ।
भाइबाट आजित थाम्लासो पापोले आफ्नो सुँगुर तमोर तरेर सधैं फेदेन जान रुचाउनुको कारण कतै युमा (देवी)ले तोकिदिएको आफ्नो वासस्थान त्यही ठाउँ त होइन भन्ने सोच्नु स्वाभाविक देखिन्छ। अन्ततः ऊ आफ्नो प्रिय चौपाया भाले सुँगुरसँग फेदेनको योपातापादेन पुग्छ र पुनः मुन्धुम शुरू हुन्छ।
लिप्यन्तरण
अे योपाङग पोगेरो।। अे थाम्लासो पापोहाङ हेनेआङ पोगेओ।। अे केसो मेम्माए इमे मेम्माए।। अे योपाङग फेदेन केरेरो अे हेनेआङ फेदेन केगेरा।। याङफेरि योपाङग खङवा नेन्छिङलो।। अे पापोहाङ हेनेआङ ओम केबेरो।। अे फेदेन केगेरा फेदेन यक्पे।। अे सुसुवा केबेंग यासक यक्पे।। अे कन्हासेबा पापोहाङ यक्पे।। अे योपाले केदारा योपातापा केबोखे।। आल्ल कन्हा यक्पेबा हाङ केबोखे।। अे पापोहाङ केहिम्मो युङेना केयुक्नाओ युङेना।। अे सुम्जिलीगर सुम्हात्लुङ माए।। अे खाम्बोलिङगर नाहाङमा साम्मे।। कुधक्काङ साम्मे इबुलिगर कुमुक्कुम साम्मे।। कुयाङभु साम्मे खाम्बुली बुली नाहाङमा साम्मे।। अे कन पापोहाङले हाङमुक्साम केनाक्पे।। हाङमुक्सा पिरेओ।। अे याङमुक्साम केनाक्पे याङ मुक्साम पिरेओ।। अे पान्चाङवा केनाक्पे पानचाङवा पिरेओ।। इङचाङवा केनाक्पे इङचाङवा पिरेओ।।
(भावार्थ : बिर त उठ्यो। थाम्लासो पापोहाङ, तिमी पनि उठ है। बिर त फेदेन पुग्यो। तिमी पनि फेदेन पुग्यौ। त्यसपछि बिर त आहाल बस्यो। पापोहाङ, तिमीले नजर घुमाउन थाल्यौ। फेदेन पुग्यो फेदेन गढ नजर घुमायौ यासोक गढ। यी गढहरू तिमी पापोहाङका गढ हुन्। बिरले ल्याइपुर्याएको तिमी यासोक फेदेन गढका राजा भयौ। ए पापोहाङ, तिमी आफ्नो घरमा बस। आफ्नो ओछ्यानमा बस। ए सुम्जिरी सुम्हात्लुङका देव, ए पितृहरूका खाम्बोलिङ नाहाङमा देव, ए शरीरमा शक्ति दिने ज्ञान, बुद्धि, विवेक दिने खाम्बोलिङ नाहाङमा देव, यो पापोहाङले राजशक्ति माग्दै छन्, राजशक्ति दिनू है। यिनले धनसम्पत्ति माग्दै छन्, धन दिनू। ज्ञान, बुद्धि र विवेक माग्दै छन्, यो सबै दिनू है। )
फिदिम-४, गढीस्थित योपातापादेनमा थाम्लासो पापोहाङको घरको भग्नावशेषमा लेखक लावती र लिम्बू इतिहास अध्येता एवम् तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङ।
प्रस्तुत मुन्धुममा बिरले यहाँ ल्याइपुर्याएका तिमी यासोक फेदेन गढका राजा भयौ भनिएको छ। पापो लिम्बूहरूको वंशावली, मुन्धुम र अन्य लिखित प्रमाण हेर्दा यासोक फेदेनका राजा भएका यिङासो पापोहाङ मुन्धुममा उल्लेख भएका बिरसँग फेदेन आउने मुधाहाङ थाम्लासो पापोहाङका नाति हुन्छन्। पापोहाङहरूको आङ्देम्बे वंशावली २०६६ पृष्ठ ४९, लाओती वंशावली २०७६ पृष्ठ १७ र पापोहरूको मुन्धुम अनुसार मुधाहाङ थाम्लासो पापोहाङ फेदेन यकमा आएर बसोबास गर्न थालेपछि उनका सन्तान फैलिंदै गए।
त्यस बखत फेदेन यकमा त्यहाँका आदिवासीका राजा पाथोङ थिए। आदिवासीहरूले पापोहाङहरू त्यहाँ फैलिंदै गएको थाहा पाउनासाथ तिनलाई दमन गर्न थाले। पापोहरूले त्यो अत्याचारको डटेर सामना गर्ने कसम फेदेन यक सुम्हात्लुङ (लिम्बूहरूको गढी)मा खाए। फेदेन यक सुम्हात्लुङमा दुई पक्षबीच ठूलो लडाइँ भयो। त्यहाँबाट शुरू भएको लडाइँ दुङदुङ्गे भन्ने ठाउँसम्म पुग्यो। अन्ततः त्यहीं राजा पाथोङ काटिए। त्यसपछि मुदाहाङ थाम्लासो पापोका नाति येङासो पापोहाङ फेदेन यासोकका राजा भए। हज्सन पाण्डुलिपि भोल्युम ८४ पृष्ठ २३८ देखि २३९ मा येङासो पापोहाङ फेदेन यासोकका राजा भएको उल्लेख छ। बेलायतका इडेन भेन्सिटार्टले लिम्बुवानका १० वटा गढमा येङासो पापोहाङ यासोक फेदेन यकका राजा भएको उल्लेख गरेका छन् (द गुर्खाज् , सन् १९०६ः पृष्ठ १०७)। येङासो पापोहाङ सम्बन्धी सम्पूर्ण सन्दर्भ सामग्रीले उनी लडाइँ जितेरै फेदेन यासोकका राजा भएको देखाउँछ।
पापो मुन्धुमले फेदेन यक सुम्हात्लुङलाई पापोहरूको श्रीवृद्धि भएको, शिर उठेको, फैलिन शुरू भएको माङ्गेना चोःत्लुङ मान्दछ। मुन्धुमले फेदेन यक सुम्हात्लुङको देवस्थल पुकार्दै पापोहाङ राजा भएको उल्लेख गर्नुले पापोहरूले फेदेन यकलाई माङ्गेना लुङधुङ मान्न थालेको देखिन्छ। मुन्धुमले आठराई इवाको खेक्लेसेबुङलाई पापोहरूका पुर्खा मुसाहाङले ढालफाँड गरी बसोबास शुरू गरेको भनेकाले त्यसै ठाउँलाई आफ्नो उद्गमस्थल (थामालुङ) मान्दै आएका छन्।
विसं २०३२ मा फेदेन यक सुम्हात्लुङ।
मुन्धुममा भएका हरेक स्थल आज पनि पापो लिम्बूका पूजनीय स्थलका रूपमा छन्। हिजो लिम्बूहरूका पितृहरूले खाइखेली गरेर छोडेका डोब पछ्याउँदै, आफ्नो वंशीय सम्बन्ध खोज्दै पुर्खाको आशीर्वाद लागोस् भनेर गरिने नाहाङमा, माङ्गेना अनुष्ठानको मुन्धुमले लिम्बूहरूको इतिहास जीवन्त राख्न सहयोग गरेको छ। मुन्धुम फलाक्ने फेदाङमा, युमा, येबा, साम्बाहरू समयसँगै हराउन थालेकाले श्रुति परम्परा अनुसार मुन्धुम एकपछि अर्को पिंढीमा हस्तान्तरण हुने परम्परा रोकिने क्रममा छ। अतः यसको खोजबिन गरेर दस्तावेजीकरण गर्दै जानु जरूरी छ।
(इतिहास अध्ययनमा रुचि राख्ने लावती मुन्धुम शोधकर्ता हुन्।)