एक छाक राम्ररी खान नपुग्ने र टाउको ढाक्न छत समेत नभएको परिवारमा जन्मिएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली रातारात अर्बपतिका रूपमा उदाए। सहकारीको रकम अपचलनमा पक्राउ परेका नेपालीको कथा बलिउडको मसला फिल्मभन्दा कम रोचक छैन।
ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली सहकारीको करीब दुई अर्ब बचत अपचलन गरेर २०८० जेठ ५ गते फरार भए। कहाँ हराए, कसैलाई पत्तो थिएन। फरार भएको ६ महीनापछि (२०८० मंसीर ५) एकाएक उनी फेसबूकमा झुल्किए। त्यहाँ उनले एउटा भिडिओ सन्देश छाडेका थिए, जसमा भनिएको थियो, ‘हामी घरजग्गा सम्पत्ति नभएका मान्छे होइनौं। हामीले चल-अचल सम्पत्ति नुनदेखि सुनसम्म त्यहाँ नै छोडेर आएका छौं। मेरो र मेरी श्रीमतीको नाममा बुर्तिबाङ, बाग्लुङ, पोखरा र काठमाडौंमा भएको ४५ कित्ता जग्गामध्ये बुर्तिबाङमा सात वटा घर, बाग्लुङमा दुई वटा घर, पोखरामा तीन वटा घर र काठमाडौंमा ६ वटा गरी जम्मा १८ वटा घर छन्। तर यी सम्पत्तिहरू इमेजको पैसाले जोडेको हो भन्ने नसोच्नुहोला। हामी आफैंले कमाएको सम्पत्ति हो। तर यो सम्पत्ति करीब तीन अर्बभन्दा बढीको सम्पत्ति हो। सहकारीको समस्या समाधानका लागि हाम्रो नाममा भएको घरजग्गा विभिन्न मालपोत कार्यालयमा गएर सम्पूर्ण बचतकर्ताको नाममा हस्तान्तरण गर्न चाहन्छु। हस्तान्तरण गर्नका लागि वातावरण मिलाइदिन कानूनी निकाय, राजनीतिक दल, नागरिक समाज, पत्रकार र विभिन्न सरोकारवालाज्यूहरूलाई अनुरोध गर्दछु।’
यो सन्देश छाडेको करीब एक वर्षपछि (२०८१ असोज ११) उनी भारतको नयाँ दिल्लीबाट पक्राउ परे। कानूनतः थुनुवालाई सार्वजनिक स्थानमा भाषण, मन्तव्य वा सम्बोधन गर्ने छूट हुँदैन। तर बाग्लुङमा नेपालीको दबदबा कतिसम्म थियो भने, उनले पक्राउ परेको केही समय नबित्दै (२०८१ माघ २७) आफ्नो वरिपरि प्रहरी राखेर सरकारी वकील कार्यालय परिसरबाट सहकारीपीडितलाई सम्बोधन गर्दै भाषण गरे। फिल्मी शैलीमा गरिएको भाषणमा उनले भने, “मेरो समस्या, अप्ठ्यारो भएको कारणले म बाहिर जान परेको हो। तपाईंहरूको बचत जति छ, मैले सबै जिम्मा लिएको छु। सानालाई पैसा, ठूलालाई जग्गाको व्यवस्थापन हुँदै छ। यसको नेतृत्व दिलबहादुर दाइ र लोकेन्द्र भाइले गरिराख्नुभएको छ। तपाईंहरू ढुक्क हुनुस्, कसैको कुरा सुन्ने होइन। हामीले दिने हो, तपाईंहरूले लिने हो। संस्थापक अध्यक्षको हैसियतले मैले जिम्मा लिएको छु। म आफू सुकुम्बासी भए पनि हजुरहरू हजारौं व्यक्तिलाई सुकुम्बासी गराउन चाहन्न। आज हामी मिलापत्र गर्दै छौं। छिटोभन्दा छिटो जति बचत छ, त्यो सबैको व्यवस्थापन हुन्छ।”
शक्तिशाली भएर हो वा लोकप्रियताको प्रतापले, नेपालीको थातथलो बुर्तिबाङ छेउछाउका मान्छे उनीबारे खुलेर बोल्नै मान्दैनन्। कहाँसम्म भने, गएको मंसीर-पुस महीनामा सहकारीपीडितबारे रिपोर्टिङ गर्न त्यस क्षेत्रमा पुगेकी मसँग सहकारीपीडितहरू समेत खुलेर बोल्न मानेनन्। उनीहरू नेपालीका सबै कर्तुत खोल्दथे, तर ‘नाम चाहिं नखुलाइदिनोस् है’ भन्दथे। नेपालीले बुर्तिबाङ क्षेत्रमा यत्रो दबदबा कसरी कायम गरे होलान्? बुझ्दै जाँदा थाहा भयो, नेपालीको यस्तो रवाफको ऐतिहासिक टेको धेरै लामो थिएन। उनको विगत बलिउडको फिल्मी कथाभन्दा कुनै अर्थमा भिन्न थिएन।
स्थानीयको भनाइमा बुर्तिबाङ क्षेत्रमा मेयर नेपालीको रवाफ बढ्न थालेको धेरै भएको छैन। राम्रो भलिबल खेलाडीका रूपमा देवकुमार त्यो भेगमा परिचित नाम नै थियो। तर २०६७/६८ तिरबाट नेपालीको परिचयमा थप फुर्का थपियो, समाजसेवीको। बडीगाड, बुर्तिबाङ, ढोरपाटन, निसिखोला, तमानखोला लगायत क्षेत्रमा लाग्ने हरेक मेला र महोत्सवमा नेपाली प्रमुख अतिथिका रूपमा देखिन थाले। आयोजकद्वारा मेला-महोत्सव सफल पार्न नेपालीले चार-पाँच लाखसम्म चन्दा दिएको उद्घोष गरिन्थ्यो। उनी पोखरादेखि हेलिकोप्टर चार्टर गरेरै यस्ता महोत्सवमा धाउन थालेका थिए। यदि उनी बुर्तिबाङ नै छन् भने पनि आसपासको क्षेत्र राजकुत, अर्नाकोट, कानाबगर लगायत ठाउँ जान पोखराबाट हेलिकोप्टर मगाउँथे। ती ठाउँ बुर्तिबाङबाट दुईदेखि तीन घण्टामा पैदल नै पुगिने सडक सञ्जाल विस्तार भइसकेका हुन्। नेपालीले बुर्तिबाङस्थित आफ्नै घरको कम्पाउन्डभित्र हेलिप्याड नै निर्माण गराएका थिए।

नेपालीले त्यस क्षेत्रका ५५ वटा विद्यालय (प्रत्येकमा एक जना)मा हरेकलाई मासिक ६ हजार तलबभत्ताको व्यवस्था आफ्नै खल्तीबाट बेहोरिदिएका थिए। तिनै ५५ विद्यालयमध्येको एक ढोरपाटन नगरपालिका वडा नं. ५ चौरस्थित भूजी महावीर आधारभूत विद्यालयकी प्र.अ. शान्ति पुन भन्छिन्, “त्यति वेला निजी शिक्षकको स्रोतको अभाव थियो। उहाँले म सहयोग गर्दिन्छु भनेर एक वर्षका लागि प्रा.वि. तहमा एक जना शिक्षकको व्यवस्था गरिदिनुभयो। ती शिक्षकको तलब उहाँले नै तिर्नुहुन्थ्यो। पछि दरबन्दी थपिएपछि उहाँले राखेका शिक्षकलाई हटाइयो।”
आफूले एउटा सिंगो सिसाकलमले लेख्न नपाएको विगत सम्झँदै सबैभन्दा पहिले गरीब र विपन्न विद्यार्थी पढ्ने विद्यालयहरूमा आफ्नै खर्चबाट शिक्षकहरू राखिदिएको उनले १९ सेप्टेम्बर २०१९ मा जनता टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा बताएका छन्।
देवकुमार समय समयमा विद्यार्थीसँग अन्तरक्रिया पनि गर्दथे। आफ्ना संघर्ष र सफलताका कथा सुनाउँथे। सभासमारोहमा आफ्नो जीवनी रोचक पारामा सुनाउँथे। मिडियामा अन्तर्वार्ता दिन्थे। दन्त्यकथा जस्ता लाग्ने ती कथा असाध्यै रोमाञ्चक र प्रेरणादायी हुन्थे।
सुकुम्बासी हुर्काइ
नेपालीले सुनाउने ढोरपाटन नगरपालिका वडा नं. १ (साविकको बुर्तिबाङ गाविस-१) बस्ने कथाका पात्र देवकुमार नेपाली सुकुम्बासी बस्तीमा जन्मिएका थिए, त्यो पनि अर्कैको घरमा। घरधनीले वासस्थान छाड्न भनेपछि उनका बुबासँग खरको छानो हालेर ओत लाग्ने झुप्रोसम्म बनाउने हैसियत थिएन। विसं २०२५/०२६ तिर देवको परिवार करीब तीन वर्षसम्म ओडारमा आश्रय लिई बस्यो। उनका बुबाआमा बालीघरे प्रथा (वर्षभरि काम गरे बापत केही अन्न दिइने चलन)मा कपडा सिलाउँथे।
नेपालीले एउटा अन्तर्वार्ता (इन्साइडर मिडियामा १९ जून २०१९ मा प्रसारण)मा बताए अनुसार ओडारमा बस्ने क्रममै उनका बुबाले साहुबाट ऋणधन गरेर स्थानीय अर्जुन मल्लको जग्गामा सानो कटेरो बनाएपछि नेपाली परिवार ओडारबाट कटेरोमा बसाइ सर्यो। उनी भन्छन्, “ओडारमा बसेर सिलाउँदा सिलाउँदै बा–आमाले केही पैसा जम्मा गरेर र केही साहुसँग ब्याजमा ऋण लिएर अर्जुन मल्लको जग्गामा सानो कटेरो बनाउनुभयो। त्यति वेला मेरो उमेर आठ वर्ष मात्र भएको थियो।”
तर तिनै नेपाली हेर्दाहेर्दै बुर्तिबाङमा मात्र नभई काठमाडौं र पोखरा जस्ता शहरमा १८ वटा आलिशान महल ठड्याउने हैसियतका भए। उनकै शब्दमा ‘तीन अर्ब भौतिक सम्पत्तिका मालिक भए।’ देवकुमारले बाग्लुङ बजार, बुर्तिबाङ बजार र पोखरामा ‘कर्मा भवन’ नामका आलिशान महल बनाई त्यसैबाट सहकारी सञ्चालन गर्दथे। बुर्तिबाङमा दरबार होटल, कर्मा भवन, चाइनिज इँटाले बनाएका करीब ७ वटा घर सहितको अग्ला पर्खालले घेरिएको आवासमा बस्ने गर्थे। यस्तो राजसी ठाँट ‘इन्जोय’ गरिरहेका देवकुमारको सफलताका कथाका आख्यानहरू बनाइन थाले। उनलाई त्यो भेगका चर्चित नायकका रूपमा हेर्न थालियो। आखिर यो सब कसरी सम्भव भयो?
नेपालीसँगै पढेका उत्तरगंगा माविका सहपाठी तथा नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति नरबहादुर गुरुङका अनुसार नेपाली सानैदेखि चतुर, तीक्ष्ण र साहसी स्वभावका थिए। नेपाली कति दुःखमा हुर्किएका थिए भने, उनका दाजुभाइले एउटा सिसाकलमलाई आधा आधा टुक्रा बनाई बाँडेर चलाउँथे। विद्यार्थी जीवनदेखि नै खेलकूद क्षेत्रमा रुचि राख्ने नेपालीले भलिबल खेलमा राम्रै प्रगति गरे। त्यति वेलाको सबैभन्दा चर्चित अन्तरविद्यालयस्तरीय ‘वीरेन्द्रशील्ड प्रतियोगिता’ खेल्न देवकुमारकै नेतृत्वमा नरबहादुर गुरुङ लगायतको टीम ठाउँ ठाउँमा जान्थ्यो, खेल जितेर आउँथ्यो। त्यति वेला देवकुमार टीम क्याप्टेन थिए। उनले टीमसँग राम्रो सहकार्य गरेको गुरुङलाई अझै सम्झना छ। उनी भन्छन्, “देवकुमार त्यति वेला हाम्रो टीम क्याप्टेन थिए। गेमभित्र उनले राम्रो सहकार्य गर्थे। त्यसैकारण हामीले म्याग्दी, बाग्लुङ, गुल्मी लगायतका ठाउँमा धेरै खेलहरू जित्यौं।”
देवकुमार कथावाचनमा निकै माहिर थिए। उनी फूलबुट्टा भरेर घटना विवरण पेश गर्न जान्दथे। २०७६ फागुन १७ गते त्रिभुवन नमूना मावि बडीगाड-२, खर्बाङमा अध्ययनरत कक्षा ११ र १२ मानविकी संकायका विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रममा उनले स्पाइक्स हान्दा तीन वटा बल फुटाएको किस्सा सुनाएका थिए, “मलाई बाग्लुङे क्वीक भनेर चिन्थे, मैले राष्ट्रिय टीमबाट खेल्ने क्रममा विराटनगरमा स्पाइक्स हान्दा भलिबल नै फुटाएको थिएँ। त्यस्तै, म्याग्दीमा पनि भलिबल फुटाएको थिएँ।”

बल फुटाएको घटनाबारे उनका सहपाठी गुरुङ भन्छन्, “बडिगाड गाउँपालिकास्थित तत्कालीन खार प्राविको वार्षिकोत्सवको अवसरमा हामी पनि उत्तरगंगा माविबाट भलिबल खेल्न गएका थियौं। मध्य वैशाखको गर्मी थियो। हामी गुल्मीको राष्ट्रिय सर्वोदय माविको टीमसँग खेल्दै थियौं। देवकुमारले हानेको स्पाइक्सलाई ब्लक गर्ने क्रममा गुल्मीको खेलाडीको हातमा नीलो ज्वाला निस्केर बल फुटेको थियो,” उनी थप्छन्, “एउटा बल फुटेको मलाई याद छ। अरू चाहिं मैले थाहा पाइनँ।” गुरुङको भनाइमा राष्ट्रिय खेलाडीसम्म बन्न पुगेका देवकुमारलाई त्यस वेला खेलकूद क्षेत्रमा नचिन्ने कमै हुन्थे।
विद्यार्थीसँगको अन्तरक्रियामा उनले आफू पढाइमा समेत अब्बल भएको भन्दै त्यसलाई निकै रोचक पारामा प्रस्तुत गरेका छन्। उनले आफू १ कक्षाबाट ‘होलफर्स्ट’ भई एकैचोटि ३ कक्षामा पुगेको बताएका छन्। एसएलसी परीक्षाको गणित विषयमा ८८ प्रतिशत नम्बर आएको बताएका छन्। तर त्यो उनको उडन्ते गफ थियो। यथार्थमा उनी गणित विषयमै फेल भएका थिए। सहपाठी गुरुङको भनाइमा नेपाली औसत विद्यार्थी मात्र थिए। गुरुङ भन्छन्, “हामी एसएलसीको टेस्ट परीक्षामा सँगै फेल भएका हौं।”
हकी नेपाली
स्टार खेलाडी नेपालीको ‘ग्ल्यामर्स’ उत्कर्षमा थियो। गुरुङको स्मरणमा २०४७ सालमा एसएलसी दिएका नेपालीले २०४८/४९ सालमा भलिबल खेल्न गएको गाउँ साविकको रणसिंह किटेनी गाविस-२ बाट एक मगर युवती भगाए। ३० वर्षअघिको रूढिवादी समाजमा दलितले गैरदलित बिहे गर्नु अपराध ठानिन्थ्यो, भयो त्यही। केटीको माइतीले दलित ज्वाईंलाई स्विकार्न मानेन अनि छोरीलाई त्याग्यो। त्यसपछि नेपालीकी श्रीमती सरिता राना मगर माइत नफर्की श्रीमान्को व्यवसायमा पूरै लगनका साथ काम गर्न थालिन्। समयक्रममा देवकुमार दुई छोराका बुबा बने।
विवाहपश्चात् केही समय देवकुमारले बुबासँगै बजारमा पुर्ख्यौली पेशा अन्तर्गतकै कपडा सिलाउने, मशिनको पाटपुर्जा मर्मत गर्ने काम गरे। पछि त्यसलाई परिवर्तन गरेर गल्ला किराना तथा फेन्सी पसल खोले। उनी गुल्मीको तम्घासबाट खच्चडमा सामान ढुवानी गर्थे। व्यापार-व्यवसायबाट बिस्तारै आफ्नो पारिवारिक स्थिति बलियो बनाउँदै लगेका नेपालीलाई गरीबीबाट माथि उठाउन श्रीमती सरिताको पनि हात रहेको उनलाई चिन्नेहरू सुनाउँछन्।
यही वेला कथामा एउटा ‘ट्वीस्ट’ आउँछ। देवकुमारले ढोरपाटन शिकार आरक्षको कार्यालय र ढोरपाटन प्रहरीलाई रासन पुर्याउने ठेक्का पाउँछन्। ढोरपाटनमा ठेक्कापट्टाको यो क्रम ११-१२ वर्षसम्म जारी रहन्छ। यही अन्तरालमा उनको भेट ढोरपाटन स्थित शरणार्थी शिविरमा रहेकी तिब्बती मूलकी महिला (छेला)सँग हुन्छ। त्यति वेला छेलाका दाइ र देवकुमारका दाइ ओमकार नेपालीको मितेरी सम्बन्धबाट यी दुईको भेट भएको हुन्छ।
देवकुमार फेरि एकचोटि प्रेममा पर्छन्। छेलालाई दोस्रो श्रीमतीका रूपमा भित्र्याउँछन्। दलितको छोराले अन्तर्जातीय विवाह गर्न सम्भव नभएकाले छेलासँग प्रेमविवाह गरेको अन्तर्वार्तामा बताउने गरे पनि उनले पहिलो श्रीमतीबारे भने कतै खुलाएका छैनन्। एक ठाउँमा उनी भन्छन्, “दमाईंको छोरालाई अन्य जातिको छोरी दिने चलन थिएन, त्यसैले छेला र मैले लभ म्यारिज नै गर्यौं। विवाहपश्चात् ससुरालीले राम्रैसँग स्विकार्यो।”

तर पहिलो श्रीमतीको हकमा यस्तो थिएन। न उनलाई ससुरालीले स्विकार्यो न उनकी श्रीमतीलाई नै माइतीले आत्मसात् गर्यो। कतिसम्म भने, हामीले ७० वर्ष कटिसकेका सरिताका जेठा दाजु इमानसिंह राना मगरलाई बहिनीबारे सोध्दा उनले नाम समेत बिर्सिसकेको बताए। उनलाई ‘दमाईं युवासँग भागेको’ कान्छी बहिनी हुन् भन्ने मात्र स्मरण छ। उनी भन्छन्, “बहुत साल भयो, मलाई उसको बारेमा केही पनि थाहा छैन। परिवारको अन्य सदस्यसँग पनि सम्पर्क भएको थाहा छैन। देवकुमारसँग गएपछि त ऊ हाम्रो लागि मरेको बराबर नै भयो, मरेको बाँचेको केही पनि अत्तोपत्तो छैन,” इमानसिंह उल्टै प्रतिप्रश्न गर्छन्, “बरु कहाँ छ, के छ, हजुरहरूलाई थाहा होला नि!”
नेपालीले छेलालाई भित्र्याएपछि पहिलो श्रीमती र उनको मेल हुन सकेन। त्यसपछि पहिलो श्रीमतीले घर छाडेर हिंड्नुपरेको उनका एक निकट मित्र बताउँछन्। नाम खुलाउन नचाहने उनी भन्छन्, “देवकुमारले दोस्रो विवाह गरेपछि पहिलो श्रीमती यहाँ देखिइनन्। उनी कहाँ गइन्, केही अत्तोपत्तो छैन।” दोस्रो विवाहपछि देवकुमारले बुर्तिबाङबाट पोखरा बसाइ सारे। पोखरा बसाइ सार्नुको कारणबारे उनले विद्यार्थीमाझ बोलेका छन्। उनी भन्छन्, “देशमा माओवादी सशस्त्र संघर्ष शुरू भयो। यहाँ पनि जनयुद्धको बिस्तारै बिस्तारै प्रभाव बढ्न थाल्यो। बजारमा व्यापार-व्यवसाय पनि कम कम हुन थाल्यो। बुर्तिबाङमा व्यापार गर्न साँघुरो भएको कारण व्यापार-व्यवसाय विस्तार गर्न पोखरा गएँ।”
विसं २०५७ तिर पोखरा गएका उनी करीब १५ वर्ष त्यहाँ बसे। त्यहाँ रहँदा विभिन्न व्यवसायमा हात हाले। उनले ‘मनसुन साइकल स्टोर’ खोले। पर्यटक लक्षित ब्यागको स्टोर पनि खोले। जग्गाजमीनको कारोबारमा पनि संलग्न भए। उनले पोखराको सिर्जना चोकमा घर बनाएका थिए। बुर्तिबाङबाट गएका साथीभाइसँग त्यहीं भेटघाट गर्थे। त्यहाँ पुगेकाहरूले देवकुमारले राम्रै प्रगति गरेको कुरा बुर्तिबाङसम्म ल्याइपुर्याउँथे। देवकुमारका बुबा, आमा र दाइ बुर्तिबाङमा नै थिए। बुर्तिबाङमा उनको आउजाउ भइरहन्थ्यो।
दानवीर नेपाली
देवकुमार हात फैलाउन आउने दीनदुःखीलाई खाली हात फर्काउँदैनथे। सहयोग माग्न आउनेहरूले उनको घर कहिल्यै खाली हुँदैनथ्यो। उनी हिजो आफूले भोगेको दुःखले अरूलाई सहयोग गर्न सिकाएको सुनाउँथे। आफू खेलाडी भएको नाताले खेलकूद क्षेत्रलाई टेवा दिनुपर्छ भन्ने देवकुमार बाग्लुङका क्लबलाई दिल खोलेर आर्थिक सहयोग बाँड्थे। खेलाडीलाई आफ्नै खर्चमा खेल्न पठाउँथे। उनले धेरै ठाउँमा आमा समूह गठन गर्न लगाई अक्षयकोष खडा गरिदिन्थे। आमा समूहको भवन निर्माणमा सहयोग गर्थे। उनी तिनलाई सम्झाउँदै भन्थे, “चेतनशील हुनुपर्छ, सामाजिक कुरीतिलाई रोक्नुपर्छ, सक्षम हुनुपर्छ।”
आफ्नो बाल्यकाल ओडारमा बिताएका कारण ७०० भन्दा बढी घरलाई टिनको छानो र २०-२५ वटा सिंगो घर पनि बनाइदिएको उनी गर्वका साथ सुनाउँथे। पश्चिम बाग्लुङमा मात्रै नभएर गलकोटसम्म घर बनाइदिएको सुनाउँथे। २०७५ सालमा ढोरपाटन नगरपालिका-९ नवी गाउँमा आगलागी हुँदा जलेका ४८ वटा घर र २०७७ सालमा ढोरपाटन नगरपालिकामा आएको बाढीले बगाएको १२१ घरलाई कर्कट पाता दिएर पुनर्निर्माणमा सहयोग गरेको ढोरपाटन नगरपालिका वडा नं ८ का पूर्व वडाध्यक्ष सन्ते सुनार सुनाउँछन्।
देवकुमारले गरेका सहयोग स्थानीय मिडियामा पनि प्राथमिकता साथ प्रचार गरिन्थ्यो। २०७६ साउन ५ गते गलकोट एफएमले गलकोट नगरपालिका वडा नम्बर-९ मल्मछिसका बेसहारा वृद्ध दम्पती चन्द्रबहादुर राम्जाली र उनकी श्रीमती सरस्वतीलाई देवकुमारले घर बनाइदिएको समाचार प्रसारण गरेको देखिन्छ।
राजनीतिक यात्रा
हेर्दाहेर्दै देवकुमार यति चर्चित भए कि उनी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेको टिकटबाट मेयर पदमा निर्वाचित भए। मेयर पदमा जितेपछि उनले भनेका छन्, “एमालेको तर्फबाट सम्पूर्ण टीम आएर तपाईंले एमालेबाटै उम्मेदवारी दिनुपर्छ, यहाँको विकासका लागि तपाईंको अर्को विकल्प छैन भन्नुभयो। त्यसअघि नै ढोरपाटन नगरपालिकाका दलित, महिला, पिछडिएका वर्ग, विभिन्न दलका साथीहरू आई कर गरेपछि मेयरको उम्मेदवारी दिएको हुँ।”

राजनीतिक दाउपेचमा समेत अभ्यस्त देवकुमार शुरूमा राष्ट्रिय जनमोर्चामा थिए, पोखरा गएपछि माओवादी बने। गाउँ फर्किएर चुनाव चाहिं एमालेबाट जिते। मेयर हुनुभन्दा पहिले र भइसकेपछि देवकुमारले धेरै राम्रा काम गरेको र त्यस क्षेत्रको लोकप्रिय नेता, देशकै नमूना नगर प्रमुख बनेको भन्दै ढोरपाटन नगरपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष चित्रबहादुर भण्डारीले स्थानीय मिडिया (इन्साइडर मिडिया २ जुलाई २०१९)मा खुलेरै उनको प्रशंसा गरेका छन्।
देवकुमारका दायाँ हात मानिएका यी तिनै भण्डारी हुन् जसलाई देवकुमारसँग मिली इमेज सहकारीको रकम हिनामिना गरेको अभियोगमा जिल्ला अदालत, बाग्लुङले २०८० साउनमा पुर्पक्षका निम्ति थुनामा पठाएको छ।
देवकुमारले भाषण गर्ने क्रममा आफूले नगरपालिकाबाट एक रुपैयाँ पनि तलबभत्ता नलिएको र आफू बस्ने कार्यकक्ष, त्यहाँ भएको कुर्सी र पर्दा पनि सबै आफैंले व्यवस्था गरेको बताउन छुटाउँदैनथे। यसरी तलब नलिने मेयर देशभरिमा आफू मात्र भएको दाबी उनको थियो। यसबारे जिज्ञासा राख्दा ढोरपाटन नगरपालिकाकी पूर्व उपमेयर करमती पुन मगर भन्छिन्, “मेयर सा’बले आफू बस्ने कोठाको डिजाइन र डेकोरेशन आफ्नै खर्चमा गरेको बताउनुहुन्थ्यो। हामीले उहाँको व्यक्तिगत खर्चमा चासो राख्ने कुरा पनि भएन।” मेयर देवकुमारले पाँचवर्षे कार्यकालमा तलबभत्ता नलिएको कुरा ढोरपाटनका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोख्रेलले पनि स्विकारे। उनी भन्छन्, “तलब मात्र होइन, उहाँ बाहिरबाट आउने कतिपय तालीम र सेमिनारको पैसा पनि लिनुहुन्नथ्यो।”
२०७९ वैशाखमा भएको स्थानीय चुनावमा पनि नेकपा एमालेको तर्फबाट उनै देवकुमार दोस्रो कार्यकालका निम्ति मेयर पदको उम्मेदवार हुने भए। यस पटक उनका प्रतिद्वन्द्वी कुनै समय राष्ट्रिय जनमोर्चामा खटेर हिंड्ने देवकुमारकै सहपाठी माओवादी केन्द्रका चन्द्र अर्याल थिए। पहिलो कार्यकालभरि कामभन्दा बढी ‘स्टन्ट’ गरेका देवकुमारलाई दोस्रो चुनाव जित्न चाहिं निकै सकस पर्यो। आफूलाई हराउन सहपाठी देवकुमारले करोडौं खर्च गरेको आरोप चन्द्रको छ। उनले भने, “देवले एक भोट किन्न एक लाखसम्म खर्च गरेको सुन्यौं।” चन्द्र ६०० मतान्तरले देवकुमारसँग पराजित भएका थिए। अर्याल माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य तथा ढोरपाटन नगर कमिटीका इन्चार्ज पनि हुन्।

आखिर देवकुमारले यसरी चुनावमा करोडौं खर्च गर्ने पैसा कहाँबाट जोहो गरिरहेका थिए? सहयोगका नाममा गाउँ गाउँमा लाखौं पैसा बाँड्न हेलिकोप्टर चढीचढी पुग्ने देवकुमारले त्यो रकम कहाँबाट पाइरहेका थिए? यसको पछाडि उनले कान्छी श्रीमतीसँग मिली तस्करी गरेको हल्ला त्यो भेगभरि फैलिएको थियो। यो हल्लाबारे उनी स्वयं बोलेका छन्। उनले भनेका छन्, “देवकुमार नेपालीले चरेस बेच्यो रे, देवकुमार नेपालीले सुन तस्करी गर्यो रे, देवकुमार नेपालीले माओवादीले पैसा लिएर राख्न दिएको पैसाले घर बनायो रे। दुनियाँ लाञ्छना लाए। त्यसको तथ्य केही पनि छैन। देवकुमार नेपालीले चरेस देखेको पनि छैन। सुन कारोबारका बारेमा थाहा पनि छैन मलाई।”
यो प्रमाणित नहुने खबर थियो। प्रमाणित हुने खबर चाहिं थियो, देवकुमारले फुर्मास गर्ने करोडौं रुपैयाँ त उनले गाउँ गाउँबाट उठाएको सहकारीको धन पो रहेछ। यो धेरै पछि मात्र खुल्न गयो।
असाधारण छलाङ
पोखरामा व्यवसाय सञ्चालन गर्ने क्रममा देशभर ‘सहकारी साम्राज्य’ फैलाई अर्बौं रुपैयाँ जम्मा गरिसकेका गीतेन्द्रबहादुर राई (जीबी राई) र ज्ञानबहादुर बम्जनको संगतमा पुग्छन्, देवकुमार। त्यसपछि उनी जीबीको सूर्यदर्शन सहकारीको शेयरधनी हुन पुग्दछन्। यो २०६७ सालको कुरा हो। उपाध्यक्ष पदसम्म पुगेका महत्त्वाकांक्षी देवकुमारले अध्यक्ष पद ताकिरहेका थिए। त्यो पद जीबी देवकुमारलाई दिन खोजिरहेका थिएनन्। यसमा कुरा नमिलेपछि यी तीनको मित्रता एक वर्षभन्दा बढी टिकेन। जीबी र बम्जनले २० करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै देवकुमार त्यहाँबाट अलग्गिए। उनले यसबारे सहकारी डिभिजन कार्यालय, कास्कीमा उजुरी समेत दिएका थिए।
देवकुमारले सहकारीभित्र गरिने तिगडम जति जीबीबाट सिकिसकेका थिए। उनले सूर्यदर्शनका हर्ताकर्ता दीपक पौडेलको साथ लिई २०६८ सालमा नयाँ सहकारी दर्ता गरे, इमेज बचत तथा ऋण सहकारी संस्था। त्यसको अध्यक्ष आफ्ना साथी चित्रबहादुर भण्डारीलाई बनाए, जो पछि नेपालीले मेयरमा जित्दा वडाध्यक्षका रूपमा जितेर आए। एक वर्षपछि उनले बाग्लुङमा पनि शाखा विस्तार गरे। त्यो शाखाको अध्यक्षमा आफू बसे भने छोरालाई सचिव बनाए। गलकोट र बुर्तिबाङमा पनि बाग्लुङको शाखा विस्तार गरे।
बुर्तिबाङ शाखा उद्घाटन कार्यक्रममा देवकुमारले विभिन्न राजनीतिक दलका नेता, ब्यांकका म्यानेजर, कर्मचारी लगायतलाई बोलाएका थिए। त्यति वेला उनले इमेजमा ब्यांकभन्दा बढी नगद रहेकाले बचतकर्ताले जति वेला चाह्यो त्यति वेला फिर्ता गर्न सक्ने लगायत धेरै आश्वासन दिएका थिए। त्यति वेला ब्यांकहरूले पाँच प्रतिशतसम्म ब्याजदर दिइरहेको वेला इमेजले १८ प्रतिशतसम्म ब्याज दिने बताएका थिए।

देवकुमार त्यसै चर्चित थिए। त्यसैले सहकारी निक्षेपमा उनलाई कुनै समस्या भएन। इमेजले १६ देखि १८ प्रतिशतसम्म ब्याज दिने भएपछि मान्छेले ब्यांकमा राखेको पैसा समेत निकालेर सहकारीमा थुपार्न थाले। ब्यांकको मुद्दती खाता बन्द गरेर इमेजमा पैसा राख्न थाले। ब्यांकबाट ऋण लिएर सहकारीमा बचत गर्ने होडबाजी नै चल्न थाल्यो। यो क्रम पोखरा, गलकोट, बाग्लुङ जताततै देखियो।
गत पुस अन्तिम साता बुर्तिबाङ बीउ भण्डारमा भेटिएकी बचतकर्ता गुमादेवी थापाले पनि त्यसै गरिन्। उनले घरपायक पर्ने त्रिवेणी बचत तथा ऋण सहकारी संस्थामा बचत गरिरहेकी थिइन्। त्यो सहकारीले पाँच देखि १० प्रतिशतसम्म ब्याज दिन्थ्यो। इमेज सहकारीमा काम गर्ने उनकी छिमेकी बहिनी आई १८ प्रतिशत ब्याज दिने भनेपछि उनले इमेजमा खाता सारिन्। उनले नाबालक छोराको नाममा पनि बचत गर्न थालिन्।
थापाको इमेज सहकारीमा १३ लाख रुपैयाँ फसेको छ। पैसा माग्न जाँदा छैन भनेर फर्काइन्छ। उनी दुःख पोख्दै भन्छिन्, “छोरालाई क्याम्पस पढाउन भनेर उसलाई आफन्तले दिएको, दशैंमा टीका लगाएको पैसा जम्मा गरेर राखिदिएकी थिएँ। अहिले कम्प्युटर किनिदिनु भन्छ, आफूसँग पैसा छैन।”
इमेज सहकारीको एउटा गजबको पक्ष थियो, विना धितो जति वेला र जति पनि ऋण दिने। त्यस्तो सुविधा कसैले दिंदैनथ्यो। त्यही फाइदा लिन पाल्पा स्थायी घर भई १४ वर्षदेखि बुर्तिबाङमा कस्मेटिक पसल गरिरहेका अजिज उल्ला मियाँ र सल्मा बानियाँ पनि इमेजसँग जोडिए। त्यहाँबाट ऋण लिए। त्यसले उनीहरूलाई कारोबार बढाउन मद्दत मिल्यो र सावाँ-ब्याज दैनिक रूपमा तिर्दा सजिलो पनि भयो।
मियाँ दम्पतीले व्यवसायबाट आर्जन गरेकोे १० लाख रूपैयाँ ‘फिक्स्ड डिपोजिट’ मा राखे। केही दिनपछि सहकारी डुब्न लागेको थाहा पाई पैसा निकाल्न खोज्दा सहकारीकी म्यानेजर अनिता बुढा मगरले त्यस्तो केही हुन्न, केही भएछ भने म आफैं जिम्मा लिन्छु, मेरो व्यक्तिगत खाताबाट दिन्छु भनेर फिर्ता पठाइन्। उनले अरूलाई पनि त्यसरी नै फिर्ता पठाइरहेकी थिइन्। अजिज उल्ला भन्छन्, “इमेजमा केही भए पनि उनले आफैं दिन्छु भनेकाले ढुक्क भएर फर्किएँ।”
सल्मा त्यतिखेर गर्भवती थिइन्। उनलाई प्रसूति गराउन पोखरा जानुपर्ने भयो। पैसा माग्न जाँदा सहकारीका कर्मचारीले ‘ढुक्क भई जानुहोस्, हामी पठाइदिन्छौं’ भन्दै आश्वासन दिए। तर पोखराको अस्पतालको बेडबाटै देवकुमार फरार भएको थाहा पाएपछि मिया दम्पती छाँगाबाट खसे झैं भए। त्यति वेलाको क्षण सल्मा सम्झिन चाहन्नन्। उनी भन्छिन्, “खाईनखाई दिनरात नभनी दुःख गरेर जोडेको पैसा त्यसरी डुबेको सुन्दा म सुत्केरी अवस्थामै धेरै रोएँ। सुत्केरीमा धेरै ट्रमा भयो, खाना खान मन नलाग्ने, पैसा सम्झेर एकोहोरो रुन मात्र मन लाग्ने भयो।”
सहकारी सम्बन्धी अध्ययन गर्न बनेको संसदीय समितिको प्रतिवेदन अनुसार देवकुमारले पनि निक्षेपकर्ताको रकम अपचलन गर्न जीबीकै शैली पछ्याएका थिए। उनले सूर्यदर्शनमा जस्तै सर्वसाधारणको बचत कुनै कागजात विनै व्यक्तिगत स्वार्थमा लगाए। पोखरा महानगरको सहकारी शाखाका अनुसार देवकुमारले पोखरामा सञ्चालक समिति नै फर्जी बनाएर यस्तो काम गरिरहेका थिए। देवकुमारले जीबीकै शैली पछ्याउँदै रेडियो बुर्तिबाङ एफएम पनि चलाएका थिए। पोखराको इमेजबाट ६० करोड र बाग्लुङबाट झन्डै २ अर्ब रुपैयाँ सर्वसाधारणको बचत अपचलन गरिएको अध्ययनले देखाएको छ।
हुन पनि इमेज सहकारी स्थापना भएपछि नै हो, देवकुमार हेलिकोप्टरमा गाउँ धाउन थालेको र कार्यक्रम, मेला-महोत्सवलाई सहयोग गर्न थालेको। उनका एक सहपाठीको भनाइमा हामीले ‘तिमीले यत्रो पैसा कहाँबाट ल्यायौ?’ भनी सोध्दा देवकुमार जवाफ दिन्थे, “मेरो घरबाटै मासिक सात लाख भाडा आउँछ। मेरा आफन्त, साला-सालीहरू अमेरिकामा छन्। बुहारी लन्डनमा छिन्। तिनैले पठाएको पैसाले यत्रो सम्पत्ति र जमीन जोडेको हुँ।’ यो कुरा उनले मिडियामा पनि बोलेका छन्। उनी भन्छन्, “अहिलेको जमानाका करोडौं भनेको त्यति ठूलो कुरा हैन। मेरी श्रीमती तिब्बतियन हुन्। माइती परिवार अमेरिका, फ्रान्स लगायत देशमा हुनुहुन्छ। अलि बढी माइतीबाट सपोर्ट छ। मेरी बुहारी पनि लन्डनमा छिन्। अलिकति मैले कमाएँ। अलि बढी पारिवारिक साथसहयोग नै हो।”
उनले सहकारीको पैसा खर्च गरेको कहिल्यै स्वीकार नगरेको उनका साथीहरू बताउँछन्। यथार्थ उल्टो रहेछ। उनी सहकारीकै पैसामा मोज गरेर हिंडिरहेका रहेछन्।
देवकुमारले सहकारीको करीब दुई अर्ब ५० करोडको हिनामिना गरेको उजुरी परेको छ। कतिपय मान्छेहरूले उजुरी पनि गरेका छैनन्, त्यसैले उक्त रकमको आँकडा बढी नै हुन सक्छ। कतिसँग बचत गरेको प्रमाण छ, तर सहकारीमा रेकर्ड नै भेटिंदैन। सहकारीमा कुल कति रकम बचत थियो भन्ने तथ्यांक नै उपलब्ध छैन। देवकुमारले व्यक्तिलाई मनखुशी दिने ऋण र निक्षेपकर्ताको हिसाबकिताब ‘सिस्टम’ मै राखेका थिएनन। उनले हिसाबकिताब नै आफ्नो ‘खल्ती’ मा राखेकाले भद्रगोल अवस्था आएको देखिन्छ। उनको बहीखाता कति लथालिंग थियो भन्नेबारे देवकुमार आफैंले २०८० मंसीर १२ गते गरेको फेसबूक लाइभबाट पनि बुझ्न सकिन्छ। त्यहाँ उनले भनेका छन्, “१० हजार बचत गरेका बचतकर्ताले १० लाखको दाबी गरेका छन्। ५० लाख फिक्स्ड डिपोजिट गरेर ९० प्रतिशत कर्जा फिर्ता लगेर फेरि ५० लाखकै दाबी गर्न आएका छन्।”
बुर्तिबाङ शाखाकै हकमा हेर्ने हो भने पनि सिस्टमभित्र रहेको आठ करोड र सिस्टम बाहिर रहेको चार करोड गरेर १२ करोड रुपैयाँ डाटामा देखिएको इमेज बचत तथा ऋण सहकारी संस्था संघर्ष समिति बुर्तिबाङ शाखाका संयोजक याम कुँवर बताउँछन्। उनी भन्छन्, “अहिले यहाँका बचतकर्ताहरूमध्ये १५१ जना बचतकर्ताले प्रमाण सहित सात करोड ९० लाख जतिको मुद्दा हाल्नुभएको छ।” सहकारीपीडितहरूको भनाइमा अहिले उजुरीका आधारमा दुई अर्ब ५० करोड मात्र देखिए पनि इमेजमा निक्षेपकर्ताहरूको रकम करीब साढे सात अर्ब जति फसेको विश्वास गरिन्छ। निक्षेपकर्ताहरूको भनाइमा देवकुमारले बुर्तिबाङबाट भाग्ने वेला सहकारीका खाता र लेजर नष्ट गरेर गएकाले वास्तविक हिसाब निकाल्न सास्ती परेको बताइन्छ।
कसैको सल्लाह-सुझाव नसुन्ने अटेरी स्वभावका देवकुमार पछिल्लो समय सहकारीको पैसामा अहंकार देखाउन थालेका थिए। आफ्नै कारण बाग्लुङ क्षेत्रमा एमालेको साख जोगिएको भन्दै हिंड्न थालेका थिए। त्यसैले पछिल्लो समय उनका धेरै विरोधी जन्मिइरहेका थिए। त्यसमाथि जीबी एन्ड कम्पनीको सहकारी ठगी प्रकरणले राष्ट्रिय राजनीतिमा हलचल ल्याएपछि त्यसको चपेटामा देवकुमार पनि पर्न गए, उनी पक्राउ परे। प्रहरी हिरासतमा भए पनि देवकुमारले अहिले आफूसँग १८ वटा घरको करीब ३ अर्ब बराबरको सम्पत्ति रहेकाले निक्षेपकर्ताको रकम डुब्दैन भनी आश्वासन दिन छाडेका छैनन्। त्यही आशले होला, संघर्ष समितिका सदस्यहरू पनि देवकुमारका बारेमा अन्य ठाउँका सहकारी सञ्चालकलाई जस्तो टिप्पणी गर्न चाहँदैनन्। अर्काे कारण पनि छ, संघर्ष समितिले नै आफ्नो निक्षेप फर्कने आशमा देवकुमारको बुर्तिबाङको महलबाट दरबार होटल सञ्चालन गरिरहेको छ। समितिका सदस्यहरू जथाभावी बोलेर देवकुमारको स्वामित्वमा भएको अचल सम्पत्ति पनि गुमाउन चाहँदैनन्।