टिप्पणी शुक्रबार, कात्तिक १९, २०७३

अहंकारको अवसान

शंकर तिवारी

व्यवस्थापिका–संसद्मा विचाराधीन महाअभियोग प्रस्ताव लोकमानसिंह कार्कीका सबै अन्ध महत्वाकांक्षाहरूको अन्त्यको यात्रा हो।
  
लोकतन्त्रको उदय भएपछि निरन्तर चर्चामा रहेका पात्र हुन् लोकमानसिंह कार्की, मानौं उनी २०६२/६३ को जनआन्दोलनसँग अन्योन्याश्रित पात्र हुन्। यी विवादास्पद पात्र अहिले चर्चाको उत्कर्षमा छन्। धेरैले उनीमाथि लागेको महाअभियोगलाई अवश्यम्भावी पतनको कारण मानेका छन्। 

लोकमान एक पहेलीको रूपमा चर्चामा रहे। धेरैले 'जन्मँदै चाँदीको चम्चाले भुजा ज्यूनार गर्ने' भनेर उनको पहेलीमा रहस्य बढाइदिए। यथार्थ चाहिं के बुझिन्छ भने २००७ सालको क्रान्तिसम्म उनका पिता भूपालमानसिंह कार्की झापाको अनारमनि माल अड्डाका सामान्य कर्मचारी थिए।

आन्दोलनको उत्कर्षमा बडाहाकिम अत्तालिएर भागेपछि भन्सारको सम्पूर्ण धनमाल उनको नियन्त्रणमा आयो र तिलस्मी कथाको शुरूआत त्यहींबाट भयो।

समयक्रममा भूपालमानसिंह कार्की मन्त्रीदेखि राजपरिषद् स्थायी समितिको सभापतिसम्म बने। लोकमान स्वाभाविक रूपमा पुलपुलिएको सन्तानको रूपमा हुर्किएका बालक थिए। उनी विद्यालयदेखि त्रिभुवन विश्वविद्यालयसम्म कांग्रेस नेता महेश आचार्यका सहपाठी थिए।

भूपालमानले आफ्ना चार पत्नीमध्ये माहिली पट्टिका साहिंला छोरा लोकमानलाई अरू कुनै उपाय नलागेपछि राजा महेन्द्रलाई बिन्ती बिसाएर राजप्रासाद सेवामा लगाएका थिए।

पूर्वी नेपालका खान्दानी जमीनदारहरूको जस्तो विर्ता वा विरादरी कार्की परिवारको कहींकतै देखिंदैन। लोकमानसिंहको बानेश्वर हाइटको घर पनि राजा महेन्द्रले आफ्ना सेवकहरूलाई बाँडेको जग्गामा बाबु भूपालमानले बनाएका हुन्।

उत्थान र पतन
२०४७ सालपछि राजप्रासाद सेवाका कर्मचारीहरू निजामती प्रशासनमा आउने क्रममा लोकमानसिंह कार्की आफ्ना बालसखा महेश आचार्यको सहयोगमा अर्थमन्त्रालय अन्तर्गतको राजस्व कार्यालयमा उपसचिव बन्न सफल भए, जहाँबाट उनले अकुत सम्पत्ति आर्जन गर्दै गए। सत्ताको तावेदारी गरेर आफ्नो काम पट्याउने कला उनले पिताबाट सिकेका थिए। कोइराला परिवारलाई रिझाउन उनलाई धेरै समय लागेन।

कोइराला परिवारलाई लोकमानसिंह कार्कीले कतिसम्म वशीभूत पारेका थिए भने उनकै आग्रहमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जेलनेल र निर्वासन भोगेका मित्र बलदेव मजगैयाँलाई जलस्रोत मन्त्रीबाट सरक्क हटाए।

जलस्रोत मन्त्रालयमा सचिव रहेका लोकमान राजा ज्ञानेन्द्रले सत्ता लिएपछि वरिष्ठ सचिवहरूलाई माथ गर्दै मुख्यसचिव बन्न पुगे। शक्तिको आडमा शान र तुजुक देखाउने उनको स्वभावलाई पदोन्नतिहरूले साथ दिंदै गयो, जसले उनको अहंकारलाई पनि बढाउँदै लग्यो।

लोकमान देखिनेभन्दा नदेखिने शक्तिमार्फत दबदबा बढाउँथे। आफूले सहयोग लिएका पात्रहरूलाई पनि 'किक् आउट' गर्ने उनको पुरानै आदत थियो। उनले आफूलाई राजस्वमा ल्याउने महेश आचार्यसँग ज्ञानेन्द्रको शासनकालपछि बोलचालै बन्द गरेका थिए।

२०६२/६३ को जनआन्दोलनमा भएको दमनको लेखाजोखा गर्न बनाइएको रायमाझी आयोगले तत्कालीन मुख्यसचिव लोकमानलाई पनि दोषी ठहर्‍याएको थियो, तर गिरिजाप्रसाद, पुष्पकमल दाहाल जस्ता नेताहरूलाई घरमा पाहुना बनाउन थालिसकेका उनलाई त्यसले केही फरक पारेन।

त्यो बेलासम्म लोकमान अवैध स्रोत जुटाएर सत्ताका शक्तिशालीहरूलाई रिझाउन माहिर बनिसकेका थिए। पहिले दरबार रिझाएका उनले पछि गणतन्त्र नेपालका सत्ताका प्रमुख खेलाडीदेखि लैनचौरसम्मलाई प्रभावमा पारे।

निन्दा र आलोचनाको पात्र हुँदाहुँदै पनि गणतन्त्र नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पहिलो प्रमुख आयुक्त बनेर लोकमानले सबैलाई जिल्लाराम बनाए।

विना क्षमता परीक्षण राजाको हुकुमबाट राजप्रासाद सेवामा छिरेका लोकमानसिंह कार्की गणतन्त्रमा पनि रातारात विधि–प्रक्रियाभन्दा बाहिरबाट अख्तियार प्रमुख बने।

राति १० बजेसम्म उनको नियुक्ति रोक्ने प्रतिबद्धता व्यक्त गरिरहेका तत्कालीन राष्ट्रपति डा. रामवरण यादव भोलिपल्ट बिहान शपथ ग्रहण गराउन बाध्य भए। कार्कीलाई शपथ खुवाएको केही समयपछिको एक निजी प्रसंगमा डा. यादवले नियुक्तिको विरोध गर्नेहरूलाई लोकमानले डस्न सक्ने बताएका थिए।

गणतन्त्रपछि सकिने अनुमान गरिएको लोकमानसिंह कार्कीको 'करिअर' आश्चर्यजनक रूपमा उकालो चढ्यो। त्यसपछि उनको महत्वाकांक्षा र अहंकार क्रोध र प्रतिशोधको रूपमा प्रकट हुन थाल्यो। उनले मुलुकको संविधान दुरुपयोग गर्न र कानून हातमा लिन थाले।

उनी पूर्णतः बदला भावबाट परिचालित भए। त्यसका लागि उनका अगाडि आफ्नो नियुक्तिको विरोध र विधिको वकालत गर्ने एक से एक शत्रु थिए– शम्भु थापा, कनकमणि दीक्षित, टीकाराम अधिकारी, ज्योति बानियाँ आदि। दीक्षितको द साउथएशिया ट्रष्ट र हरि शर्मा जोडिएको सोसल साइन्स बहाः पनि लोकमानको कोपभाजनमा परे।

उनी मुलुकको न्यायपालिकालाई समेत विभिन्न रूपमा धम्क्याउन, गिज्याउन उद्यत भए। लोकमानको त्रास कति बढ्यो भने ५९७ सांसद् भए पनि संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्न आवश्यक पर्ने तीन जना पुर्‍याउन हम्मे–हम्मे पर्‍यो।

प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदा अख्तियार प्रमुख बनेका लोकमानसिंह कार्की भविष्यमा रेग्मी राष्ट्रपति र आफू प्रधानमन्त्री बन्ने तरल राजनीतिको विश्लेषण सुनाउँथे।

आसेपासे र अवसरवादीहरूले यस्तो भविष्यवाणीमा दिने पुटले उनलाई अन्धो बनाउँदै लग्यो र सर्वोच्च अदालतको म्याद तामेली प्रक्रियालाई पनि बाहुबलबाट टार्न खोजे। अनि एउटा यस्तो विन्दु आइपुग्यो जहाँ लोकमानले हारेको महसूस गर्नु पर्‍यो।

सर्वोच्चमा लोकमानको आरोहण प्रक्रियाबारे प्रश्न उठेको थियो, जसबारे समाचार प्रसार नगर्न लोकमानले दैनिक पत्रिकाहरूका प्रकाशकलाई फोन गरेका थिए।

अदालतलाई निष्त्रि्कय पार्न कुनै पहल नगरेको महसूस गरेपछि उनले भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई माओवादी लडाकू शिविरको भ्रष्टाचार छानबीनमा तान्ने अस्त्र फ्याँके, तर त्यो पनि प्रत्युत्पादक नै भयो।

नियतिका दास
लोकमानले नागरिक समाजलाई सदैव नकारे। उनले एकाध अगुवालाई पुर्जी काटेपछि सबै चूप हुन्छन् भन्ठाने, तर २०६२/६३ अघि नामै नसुनिएका छोटो कदका मेडिकल डाक्टर गोविन्द केसी नागरिक आन्दोलनका सत्याग्रही भएर आए। लोकमानले चिकित्सा क्षेत्रमा समेत लामो हात गरेको परिणाम थियो, डा. केसीको सत्याग्रह। त्यही सत्याग्रहले अग्ला पर्खाल र सुरक्षाकर्मीहरूले घेरिएर बस्ने लोकमानलाई महाअभियोगको सामना गर्न बाध्य बनायो।

लोकमान जहाँ जाँदा पनि अरू संवैधानिक निकायका प्रमुखहरूभन्दा पर लगभग राष्ट्रपतिकै तहमा सुरक्षा परिचालन गर्थे, तर उनी गणतन्त्र नेपालको संवैधानिक, कानूनी र नैतिक चेतनाबाट बच्न सकेनन्। उनले आफ्नो नियुक्तिपश्चातको कामकारबाहीलाई कहिल्यै पनि गणतन्त्र नेपालको संवैधानिक, कानूनी र नैतिक चेतना अनुकूल अगाडि बढाएनन्।

शारीरिक सुरक्षामा अल्झेका उनले नागरिक अगुवादेखि राजनीतिक नेतासम्मलाई तारो बनाए। स्वामी बन्न उनले तपोवनमा ध्यान गरेको समाचारहरू त आए, तर तदनुरूपको नैतिकता पालना गरेको लोकले थाहा पाएन।

ठूलो ज्यानका भोगी लोकमानलाई ब्रह्मचारी 'डेविड' रूपी डा. गोविन्द केसीले सार्वजनिक रूपमा पतीत बनाएरै छाडे। मुसोबाट बाघ बन्ने आशीर्वाद दिएका नेताहरूले पनि लोकमानको ज्यादतीबाट आजित भएर यहींनेर पुनः मुसो बनाउन संसद्मा महाअभियोगको प्रस्ताव दर्ता गरे।

भूमिगत पात्रहरूमार्फत प्रभाव विस्तार गरेका लोकमानसिंह कार्की आफ्नो पराजय निश्चित भइसक्दा पनि स्वभाव अनुसार टसमस भएको संकेत गरिरहेका छैनन्। राजीनामाबाट सुरक्षित हुने सल्लाह दिने शुभचिन्तकहरूलाई उनले महाअभियोगको सामना गर्ने धाक लगाउने गरेको बताइन्छ। अहंकारको उन्मादमा मानिस आफ्नो पतनलाई थप दुःखदायी बनाउन अग्रसर हुन्छ। लोकमान पनि त्यही नियतिमा देखिन्छन्।

प्रतिकृया दिनुहोस