टिप्पणी शनिबार, साउन २२, २०७३

नभेटिने चिजको खोजी

वसन्त महर्जन

देवदहको खोजी जारी राख्नुको अर्थ लुम्बिनीको प्राप्तिलाई स्वीकार नगर्नु हो।
 

देवदह उत्खननका क्रममा भेटिएको ईंटा निर्मित संरचना। भर्जिन स्वाइलसम्मै
पुगेको यस उत्खननले बाह्रौं शताब्दीभन्दा पुराना कुरा भेट्टाउन सकेन।
उत्खननका क्रममा फेला पारिएको ईंटा निर्मित इनार।

गौतम बुद्धको मामाघर देवदह भएकोे बौद्ध वाङ्मयहरूमा स्पष्ट उल्लेख पाइन्छ। बुद्धको मामाघर देवदह प्राचीन कोलीय राज्यको राजधानी पनि थियो, तर यस सम्बन्धमा खासै चर्चा हुने गरेको पाइँदैन।

बौद्ध वाङ्मय अनुसार, कपिलवस्तु र कोलीय दुई गणराज्यको स्थापना तथा विकास सँगसँगै भएको हो। दुई गणराज्यका जनताबीच रक्त शुद्धताका लागि वैवाहिक सम्बन्ध पनि रहेको सिद्धार्थ (गौतम बुद्ध) को नातासम्बन्धहरू देवदहसँग हुनुबाट स्पष्ट हुन्छ। 

धर्म प्रचारका क्रममा गौतम बुद्ध बरोबर देवदह पुग्थे। कुशीनगरमा महापरिनिर्वाणपछि बुद्धको अस्थिधातुको एक भाग कोलीय राज्यका शाक्यहरूले पनि पाएका थिए। त्यसलाई राखेर उनीहरूले ठूलो स्तूप निर्माण गरेको वर्णन पाइन्छ।

पुरातात्विक साक्षीका रूपमा भने देवदहबारे ठोस प्रमाणहरू देखाउन सकिएको छैन। पुरातत्व विभागले देवदहको खोजीमा प्रत्येक वर्षजस्तो लाखौं खर्च गरेर विभिन्न ठाउँको उत्खनन कार्यक्रम चलाउँदै आइरहेको छ, तर आशातीत सफलता पाउन सकिएको छैन।

बुद्धसँग सम्बन्धित स्थलहरूको भ्रमणमा आएका चिनियाँ यात्रीद्वय फाहियान (पाँचौं शताब्दी) र ह्वनसाङ (सातौं शताब्दी) कपिलवस्तु, लुम्बिनी हुँदै पूर्व लागेका थिए। त्यसक्रममा दुवैले रामग्राम स्तूपको दर्शन गरेका थिए। यसबाट पनि बुझिन्छ– देवदह लुम्बिनीबाट पूर्वमा अवस्थित छ।

यस अर्थमा, वर्तमान नवलपरासी जिल्ला र त्यस वरपरका सम्पूर्ण क्षेत्र कोलीय गणराज्य अन्तर्गत पर्थ्यो। यसैको आधारमा नवलपरासी सदरमुकाम परासीबाट चार किलोमिटर दक्षिणको उज्जैनस्थित बौद्ध स्तूपको अवशेषलाई रामग्राम स्तूप भनी अनुमान गरिएको हो।

अध्ययन–अनुसन्धान गर्नुअघि नै यसलाई रामग्राम स्तूप भनी प्रचार गरियो। पुरातत्व विभागबाट खटिएका पुरातत्वविद् बाबुकृष्ण रिजालले सन् १९७४ मा यो स्थानलाई रामग्राम स्तूप बाहेक अरू हुनै नसक्ने ठोकुवा गरिदिए। त्यसपछि अर्का पुरातत्वविद् शुक्रसागरले सोही स्थलको उत्खनन गरे, तर रामग्राम भनेर ठोकुवा गरेनन्।

२०६० सालमा पंक्तिकार उत्खनन् स्थलमा पुग्दा उत्खननकर्ता ज्यादै उत्साहित देखिन्थे। पंक्तिकारलाई थप उत्खनन् गरेर रामग्राम स्तूप हो, होइन भन्न सकिने प्रतिक्रिया दिइएको थियो, तर उत्खनन टोली बीचैमा काम रोकेर काठमाडौं फर्केको थियो।

कन्यामाई, वैरीमाई, भवानीपुर, पण्डितपुर आदि प्राचीन देवदह देखाउने अन्य स्थलहरू हुन्। स्थानीयवासीहरूले कन्यामाई, वैरिमाइ र भवानीपुरमा रहेका संरचनाका अवशेषहरूको आधारमा आ–आफ्नो ठाउँलाई प्राचीन देवदह मान्दै आएका छन्।

पुरातत्वविद् प्रकाश दर्नालले गरेको उत्खननको क्रममा पाइएका मूर्ति, अभिलेख र वास्तुसंरचनाले भने बुद्धको समयसँग सामीप्यता राखेको पाइएन। मूर्ति, अभिलेख र वास्तुसंरचनाहरू बाह्रौं शताब्दीभन्दा पुरानो देखिएनन्।

प्राचीन देवदह वा बुद्धमाता मायादेवीसँग सम्बन्धित भनिएको
देवदह गाविस–२ स्थित कन्यामाई मन्दिर क्षेत्रमा
२०६८–६९ सालमा गरिएको पुरातात्विक उत्खनन।

ती स्थानहरूमा पद्मपाणि बोधिसत्वको मूर्ति पाइएको थियो, तर त्यो बुद्धभन्दा निकै पछिको अवधारणा हो। कन्यामाई बुद्धकी आमा मायादेवी र वैरीमाई सानीआमा प्रजापति गौतमी हुन् भनेर व्याख्या गर्नेहरू पनि छन्। त्यस्ता मनगढन्ते कथा हालेर देवदह सिद्ध गर्ने प्रयासहरू ऐतिहासिक तथा पुरातात्विक दृष्टिले अर्थहीन छन्। यो अवस्थामा पण्डितपुरको उत्खनन भने उत्साहप्रद रह्यो। प्राप्त पुरातात्विक अवशेषले यो ठाउँलाई कपिलवस्तुको समकालीन देखाएको छ। 

देवदहका खोजीकर्ताहरू निरास देखिन्छन्। उनीहरू दरबार वा यस्तै ठूलो संरचनाको खोजीमा रहेका हुन् भने त्यो सजिलै भेटिन्छ भन्न सकिन्न।

देवदहको अवसान कहिले भयो भन्ने कुरा खुल्दैन, तर बुद्धकालीन निर्माण संरचना काठबाट मात्र भएको देखिन्छ। काठका पुरातात्विक संरचनाहरू ईंटा–ढुंगाका जस्तो सजिलै भेटिंदैन। अवस्थितिकै भेउ पाउन नसकेको अवस्थामा अवशेष पाउनु मुश्किलको कुरा हो।

देवदहका खोजीकर्ताहरूले होश पुर्‍याउन नसकेकोे पक्ष– पश्चिमतिर लुम्बिनी प्राप्त हुनु नै त्यसभन्दा पूर्वमा रहेको देवदह पनि स्वतः प्राप्ति हो।

आफ्नो गाउँठाउँको महत्व बढाउन अनेक कथा–कहानी जोडेर देवदह सावित गर्नुभन्दा स्थानीयले पनि लुम्बिनीको प्राप्तिसँगै देवदह पनि स्वतः पाएको मान्नुपर्छ। कुनै एउटा संरचना पाइनु नै देवदह भेटिनु होइन, जबकि लुम्बिनीको प्राप्ति हरदृष्टिले सिद्ध भइसकेको छ।

प्रतिकृया दिनुहोस