टिप्पणी शनिबार, भदौ २५, २०७३

बेढंगे पुनःनिर्माण

वसन्त महर्जन

सन् १८४५ को रानीपोखरीको पेन्टिङ, कैलाश जर्नल भोल्युम ७, संख्या १ मा प्रकाशित पेन्टिङको स्क्यान।

सम्पदाहरूको पुनःनिर्माणमा विशेष होशियारी नअपनाए इतिहास नै बाङ्गिन सक्छ भन्ने कुराको हेक्का राखेको देखिएन।

महाभूकम्पको करीब डेढ वर्षपछि रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरको जीर्णोद्धार शुरू हुँदा खुशी लाग्नुपर्नेमा सम्पदाबारे थोरै जानेबुझेका पनि झस्किनु पर्‍यो– घर बनाएजस्तै मन्दिरको पुनःनिर्माणमा कंक्रिट पिलर उठाएको देख्दा। घर ठड्याए जस्तो हैन, सम्पदा पुनःनिर्माण।

फलानो सम्पदा यति पुरानो, उति पुरानो भनेर गर्व गर्ने हो भने पुनःनिर्माणमा त्यही बेलाका कला–शिल्प र प्रविधि अपनाउनुपर्ने हुन्छ। सम्बन्धित अधिकारीहरूले भने खै किन हो, यो पक्षमा बुझपचाएको देखियो। 

पुराना वास्तु कलालाई उपेक्षा गरी स्वतन्त्र रूपमा गरिने निर्माण कार्यलाई नवनिर्माण भन्नुपर्ने हुन्छ। बालगोपालेश्वर मन्दिरको जीर्णोद्धारको पारा पनि त्यही देखियो। सम्बन्धित निकायका अधिकारीहरूको सम्पदाचेत निदाएको देख्दा अन्य सम्पदाको हविगत पनि त्यस्तै हुने शंका उत्पन्न हुनु स्वाभाविकै हो। र, यही आशंकाले नेपाली इतिहास र संस्कृतिमा चासो राख्नेहरूलाई आतंकित तुल्याएको छ।

नेपाली वास्तुकला आधुनिक प्रविधि भित्रिनुभन्दा धेरै अघि विकसित भयो। प्यागोडा पनि भनिने तले शैलीका मन्दिर मध्यकाल वा सो भन्दाअघि विकास भएको छुट्टै प्रकारको नेपाली वास्तुकला हो।

यसको महत्वलाई ध्यानमा राखेर आधुनिककालमा पनि थुप्रै सम्पदाको निर्माण यही शैलीमा भयो। नेपालकी रानी ललितत्रिपुरासुन्दरीले बनारसमा बनाउन लगाएको पशुपति मन्दिर यही नेपाली मौलिक शैलीमा छ, जसबाट भारतमा पनि नेपालीको वास्तुकलाको छुट्टै पहिचान कायम भयो।

मौलिकमा फर्कने अवसर
भूकम्पले सम्पदा क्षेत्रमा पुर्‍याएको क्षतिलाई पुनःनिर्माणको अवसर बनाउनुपर्छ। सम्पदाहरू विभिन्न समयमा परिवर्तित हुँदै आएका पनि छन्। भन्ने बेलामा फलानो सम्पदाको इतिहास यति हजार वर्ष पुरानो छ भन्ने तर पुनःनिर्माण गर्नु पर्दा सय डेढसय वर्षअघि भित्रिएको शैली अपनाउँदा सम्पदा संरक्षण होइन, विनाश हुन्छ।

यस्तो काम आधिकारिक निकायहरूबाट नै हुनु कम गम्भीर कुरा होइन। नयाँ मन्दिर बनाउँदा त पुरानो शैली अपनाइन्छ भने पुरानो मन्दिरको पुनःनिर्माणमा नयाँ प्रविधि अपनाउनु अख्तियारको दुरुपयोग हो।

बालगोपालेश्वरको मौलिक स्वरूप गुम्बज नभई शिखर शैलीको हो। सन् १८४५ को फेबु्रअरी ५ देखि मध्य मार्चसम्म नेपाल भ्रमण गरेका प्रुसिया (जर्मन साम्राज्य बन्नुभन्दा अघिल्लो अधिराज्य) का राजकुमार वाल्डेमरले ल्याएका कलाकारले उतारेको पेन्टिङमा बालगोपालेश्वर मन्दिर शिखर शैलीमा देखिन्छ। नजाने के कारणले हो पछि गुम्बज शैलीमा ढालिएको मन्दिर १९९० सालको भूकम्पपछि अझ सानो आकारमा पुनःनिर्माण गरिएको पाइन्छ।

नेपाली मन्दिर वास्तुकलामा पहिले प्यागोडा शैली विकास भएको थियो भने पछि शिखर र गुम्बज शैली पनि भित्रियो। काठमाडौं उपत्यकाका कतिपय सम्पदास्थलका गुम्बज शैलीका मन्दिरमध्ये धेरैजसो १९९० सालको भूकम्पपछि वा त्यस अगावै विविध कारणले परिवर्तन भए।

मौलिक स्वरूपमा मन्दिरको निर्माण गर्न आर्थिक लगायतका समस्या आउँदा तत्कालका लागि अपनाइएका गुम्बज शैली पछि कायम भएका हुनसक्छन्। पुनःनिर्माण गर्नुपरेपछि अब पुरानै शैलीमा फर्काउनु राम्रो हुन्छ।

सन् १८०८ मा हनुमानढोका दरबारको दक्षिण–पश्चिम (कुमारीघर) तर्फको केही भाग बिगारेर रोमन शैलीमा ढालियो। अहिले मध्यकालीन नेपालको सम्पदा भन्दै रोमन शैली देखाउनु आफैंमा लाजमर्दो र हेर्नेलाई पनि हाँसोउठ्दो भएको छ।

त्यसलाई २०७२ वैशाखको भूकम्पले नराम्रोसँग क्षति पुर्‍याएकोले अब जगैसम्म भत्काएर पुनःनिर्माण गर्नुपर्ने भएको छ। अबको पुनःनिर्माणलाई पुरानै मौलिक शैलीमा फर्काउने अवसर बनाउनुपर्छ। पहिलेको स्वरूप कस्तो थियो भनेर जान्न त्यही दरबारको बाँकी भाग हेरे थाहा हुन्छ।

हनुमानढोका दरबारमा रोमन वास्तुकला थपिंदा केही भाग बाहिर पनि निकालिएको छ। मौलिक स्वरूपमा फर्कंदा बाहिर निस्केको त्यो भागलाई हटाए बाटो पनि सीधा र फराकिलो हुन्छ। पुनःनिर्माणको सन्दर्भमा यो एउटा उदाहरणीय काम पनि हुन्छ।

हनुमानढोका दरबार क्षेत्रको पुनःनिर्माण नभएको भन्दै युनेस्कोले विश्व सम्पदा सूचीबाट हटाउने संभावना बढेको बेला मध्यकालीन मौलिक स्वरूपमै फर्कन लागेको सन्देश दिंदा सबैतर्फबाट सराहना नै हुनेछ।

भूकम्पमा परम्परागत नेपाली शैलीका घर र सम्पदाहरू भत्केपछि काठमाडौं महानगरपालिका जस्तो जिम्मेवार निकाय समेत ढलान प्रविधिमा आकर्षित भएको देखियो।

बालगोपालेश्वर पुनःनिर्माणमा अपनाइएको विधिमाथि प्रश्न उठेपछि महानगरपालिकाले मन्दिरको भित्री संरचना दह्रो पार्न पिल्लर बनाएको सार्वजनिक सफाइ दिएको छ। तर, जानकारहरू सिमेन्ट निर्मित संरचनाभन्दा ढुंगा, माटो र ईंटाको परम्परागत वास्तुसंरचना बढी टिकाउ हुने बताउँछन्।

हुन पनि भूकम्पमा भत्केका सम्पदाहरू तीन–चार सय वर्ष पुराना संरचना हुन्। तिनको समय–समयमा हुनुपर्ने मर्मत–सम्भार भएको थिएन। जीर्णोद्धार गरिएका मन्दिरहरू पछिल्लो भूकम्पमा केही नहुनुले पनि सिमेन्टकै संरचना बलियो हुन्छ भन्ने कुराको खण्डन गरेको छ।

प्रतिकृया दिनुहोस