टिप्पणी शनिबार, भदौ ४, २०७३

अध्ययनअघि नै निष्कर्ष!

वसन्त महर्जन

सुर्खेतको लाटीकोइली डाँडास्थित सम्पदा काँक्रेबिहारलाई जानेर वा नजानेर धार्मिकस्थलहरूलाई कसरी विवादास्पद बनाइन्छन् र सामाजिक जीवनमा समस्याको बीउ रोपिन्छन् भन्ने उदाहरण बनाइएको छ।

हाम्रो पुरातत्व विभाग आफ्नै विषयवस्तुमा पनि संवेदनशील हुन नसक्दा पुरातात्विक स्थल काँक्रेबिहारमा अहिले 'शिव–बुद्ध मन्दिर' बनाउने काम भइरहेको छ। काँक्रेबिहारलाई हिन्दू र बौद्ध धर्मावलम्बीहरूको अपूर्व समन्वयस्थल भनी व्याख्या गरिटोपल्न खोजेको देखिन्छ। सन् १९५७ तिर योगी नरहरिनाथ त्यहाँ पुग्दा पुरातात्विक भग्नावशेषमा बुद्धलगायत बौद्ध मूर्तिहरूको दृष्टिगोचर भएको हो।

मूर्ति तथा स्तूपलगायत बौद्ध धर्मसम्बन्धी केही वस्तु देख्यो कि त्यसलाई बौद्ध बिहार भनिहाल्ने नेपाली प्रचलनअनुसार योगीले पनि यसलाई बिहार भनेको बुझिन्छ। तर, बिहार शब्दले बौद्ध भिक्षुहरू निवास गर्ने, पूजापाठ गर्ने र अध्ययन केन्द्रलाई बुझाउँछ। 

सुर्खेततिर डाँडालाई काँडा भनिन्छ। काँडा वा काँक्रो आकारको डाँडामा रहेको बिहारको अर्थमा काँक्रेबिहार भनिएको हो कि? स्पष्ट छैन, तर योगीले नै काँक्रेबिहार भनेको र त्यही बेलादेखि यसलाई बौद्धस्थलको रूपमा मानिएको भने स्पष्ट छ।

बौद्ध तथा स्थानीयहरूको माग अनुसार यहाँ २०५७ सालतिर उद्धव आचार्यको नेतृत्वमा उत्खनन गरिएको थियो। उत्खनन गर्दा बौद्ध मूर्तिका अलावा हिन्दू देवताको मूर्ति पनि भेटिएको भन्दै यो हिन्दूसँग सम्बन्धित रहेको निष्कर्ष पुरातत्व विभागको छ।

उत्खननस्थलतर्फ प्रस्थान गर्नुअघि पुरातत्वविद् आचार्यले लेखेको अंग्रेजी भाषाको एउटा पत्रमा काँक्रेबिहारलाई बौद्धस्थल भनिए पनि हिन्दूस्थल भन्न सक्ने कुरा लेखेका थिए। त्यसबेला काठमाडौंबाट प्रकाशित हुने एउटा दैनिक पत्रिकालाई पनि पुरातत्वविद् आचार्यले त्यस्तो आशयको 'कोट' दिएका थिए। यस प्रसङ्गले काँक्रेबिहारको अध्ययन अगावै निष्कर्ष सार्वजनिक गर्न उत्साहित भएको बुझाउँछ।

महायानी बौद्ध सम्प्रदायमा महादेव, गणेश लगायतका देवतालाई बौद्ध चरित्रकै रूपमा लिइएको हुन्छ। यस पाटोलाई नजरअन्दाज गरेर हिन्दू देवताका मूर्ति पाइएको आधारमा मन्दिर भन्न सकिने भनी तत्कालीन मन्त्री ओमकार श्रेष्ठलगायतले औपचारिक रुपमा बोल्नुका साथै प्रचारप्रसारमा लगिदिंदा काँक्रेबिहारमा हिन्दू धर्मावलम्बीहरूको ध्यान आकर्षित भयो। त्यसपछि बौद्ध र हिन्दू दुई धार्मिक समूहबीच विवाद र एकप्रकारको वैमनस्यताले स्थान पाउन थाल्यो।

मध्यकालमा सुर्खेत उपत्यका खस साम्राज्यको एउटा केन्द्र थियो। त्यो बेला निर्माण भएका बौद्ध कलाकृतिहरू सुर्खेत उपत्यकाका विभिन्न ठाउँमा पाइएका छन्। यसरी नै तिब्बतको एउटा गुम्बामा पाइएको बौद्ध ग्रन्थ 'अभिसमयालंकार' को अन्त्यमा रहेको पुष्पिका वाक्यमा सो ग्रन्थको उतार सुरक्षेत्र (सुर्खेत) बाट लिइएको उल्लेख भएबाट सुर्खेत बौद्धिक क्षेत्र पनि भएको अनुमान हुन्छ।

काँक्रेबिहारमा भइरहेको निर्माण कार्यमा यहाँ छरपष्ट रुपमा छरिएका ढुंगाहरूको प्रयोग भइरहेको छ। अहिले एउटा ढुंगा बोक्न पनि एक दर्जनभन्दा बढी श्रमिकको दरकार पर्ने ठूल्ठूला ढुंगाहरू ठूलो श्रम गरी यहाँ पुर्‍याइएको बुझ्न सकिन्छ।

लाटीकोइलीस्थित यस डाँडामा काँक्रेबिहार एउटा मात्र संरचना हुनु तर्कसंगत छैन। तर, पुरातत्व विभागले यहाँ जति देखियो, त्यतिमै चित्त बुझाएर थप अध्ययन आवश्यक ठानेन। जबकि, बौद्धहरू विभिन्न शैलीमा पूजास्थल बनाउँछन्। बौद्ध पूजास्थल वरिपरि बिहारलगायत संरचना स्वाभाविक कुरा हो। काँक्रेबिहारको यस भग्नावशेष वरिपरि अध्ययन नहुँदा सही जानकारी प्रकाशमा आउन सकेन।

काँक्रेबिहार शिखरशैलीमा बनाइएको थियो भन्नेमा शंका छैन। भारतको बोधगयास्थित प्रख्यात बोधगया महाबिहार यही शैलीमा छ। मध्यकालमा बोधगया क्षेत्र पनि खस साम्राज्य अन्तर्गत थियो। बौद्ध केन्द्रको रूपमा विकसित बोधगया महाबिहारकै प्रभाव र शैलीमा काँक्रेबिहार निर्माण गरिएको हुनसक्छ।

यस अर्थमा वर्तमान निर्माण स्थल वरिपरि पनि उत्खनन गरेर मात्रै निष्कर्षमा पुग्नुपर्थ्या। भग्नावशेषको प्रकृति हेरेर कुनैलाई संग्रहालय त कुनैलाई सोही स्थलमा संरक्षित गरी प्रदर्शनीमा राखिन्छ वा छापेर पठाइन्छ। संभव भएसम्म पुरातात्विक वस्तुहरूका बारेमा रेकर्ड राखेको हुन्छ र त्यसैको आधारमा भविष्यमा आउने अध्येताहरूले अध्ययन गर्ने हुन्।

तर, हामीकहाँ पुरातात्विक स्थलको उत्खननपछि रेकर्ड राख्ने र उत्खननको रिपोर्टलाई प्रकाशनमा ल्याउने काममा त्यत्ति ध्यान दिएको पाइँदैन। पुरातत्व विभागले काँक्रेबिहारको भन्दै एउटा शिखरशैलीको मन्दिरको नक्शा तयार पारेर त्यही आधारमा पुनःनिर्माण गर्दैछ।

पुरातात्विक भग्नावशेष भेटिंदैमा त्यसको पुनःनिर्माण गर्नैपर्छ भन्ने छैन। तर नेपालमा पुनःनिर्माणमा हतारिने उदेकलाग्दोे प्रवृत्ति काँक्रेबिहारको सन्दर्भमा पनि देखियो। काँक्रेबिहार भनी तयार पारिएको नक्शाको आधार के हो, खुल्दैन। कमिशनलगायतका आर्थिक पक्षलाई केन्द्रमा राखेर काँक्रेबिहार पुनःनिर्माणको चासो दिइएको हो भने त्यो घातक छ।

प्रतिकृया दिनुहोस