टिप्पणी विहीबार, मंसिर १२, २०७६

ढुङ्गेधारा मासेर विकास !

वसन्त महर्जन

ढुङ्गेधारामा पानी ल्याउन हाम्रै रैथाने पाराले बनाइएका भूमिगत जलमार्ग ठूल्ठूला निर्माण संरचनाले मासिंदै गएका छन् ।

वसन्त महर्जन

पाटन दरबार परिसरमा रहेको ढुङ्गेधारा ‘मंगःहिति’ मा चौबीसै घण्टा पानी आउँछ । यहाँको पानी स्थानीयले अझै पनि घरघरमा लगेर प्रयोग गर्छन् । धाराबाट खस्ने पानी उत्तर पश्चिमको कुनामा रहेको निकासबाट बाहिरिन्छ ।

त्यो पानी बग्दै–छानिंदै च्यासल टोलमा रहेको धारा ‘च्यासःहिति’ बाट खस्छ र पुनः प्रयोग हुन्छ । धेरैलाई आश्चर्य लाग्न सक्ने यो काइदा काठमाडौं उपत्यकामा खानेपानी व्यवस्थापन सम्बन्धी रैथाने प्रविधिको उदाहरण हो ।

मंगःहितिको पानी सडक र घरका छिंडीहरूबाट आठ–दश फिट मुनि व्यवस्थित बाटो भएर बग्छ । पानी बग्ने ठाउँ ठम्याउन ठाउँठाउँमा ‘स्ल्याब’ राखिएका छन् ।

केही वर्षअघि यो पङ्क्तिकार एक स्थानीयको सहयोगमा यहाँको पानी पछ्याउँदै जाँदा पाटन दरबार क्षेत्रदेखि उत्तर पश्चिम दिशामा रहेको च्यासल टोलस्थित च्यासःहिति पुगेको थियो । उपत्यकामा स्थानीय तौरतरिकाबाट निर्मित मठमन्दिर र घरहरू जस्तै पानीको लागि जमीनमुनि गरिएको विशिष्ट प्रविधिलाई पनि हामी सम्पदा मान्न सक्छौं । 

पाटन सु्न्धारा । तस्वीर : विक्रम राई

उपत्यकाका ढुङ्गेधारा त्यहीं मूल फुटेर निस्किएको जस्ता लाग्छन् । तर प्रायः धाराको पानीको स्रोत अन्तै हुन्छ । काठमाडौंको सुन्धारामा सञ्चय कोषको भवन निर्माण गर्दा खनेको गहिरो जगका कारण त्यहाँको लिच्छविकालीन धारा सुक्यो ।

यसको कारण थियो, त्यो धाराका लागि जमीनमुनिबाट ल्याइएको पानीको बाटोमा अवरोध पुग्नु । तर, त्यहाँ कुन ठाउँबाट पानी ल्याइएको थियो भन्ने थाहा हुन सकेन, कतैबाट चासो पनि दिइएन ।

उपत्यकाका कतिपय मुख्य बस्तीहरूका ढुङ्गेधाराको पानी नागार्जुन पर्वतदेखि जमीनमुनिबाट ल्याइएको बताइन्छ । पाटनको सुन्धाराको स्रोत पनि गोदावरी रहेको भनिन्छ ।

पाटन दरबार परिसरको मंगःहितिमा चापागाउँ वा त्यस वरिपरिबाट पानी ल्याइएको अनुमान छ । यसको आधार के हो भने, पाटनका लागि राजकुलोबाट चापागाउँ आसपासबाट पानी ल्याइन्थ्यो र लगनखेलमा जम्मा पारेर वितरण गरिन्थ्यो ।

एकै ठाउँमा एकभन्दा बढी धारा भएको र धारापिच्छे पानीको स्वाद फरक भएको पनि हामीले देखे/चाखेका छौं । यसो हुनुको कारण ती धाराहरूको स्रोत नै फरक हुनाले हो । स्रोत फरक भएकै कारण कुनै धाराको पानी पिउन उपयुक्त मानिंदैन, कुनैको भने पिउन मात्र उपयोग गरिन्छ ।

ढुङ्गेधाराको प्रसङ्गमा, कुनै कुनै ढुङ्गेधारा तान्त्रिक विधिसँग सम्बन्धित रहेको पनि बताइन्छ ।

पछिल्ला वर्षहरूमा भने बढ्दो जनघनत्व र प्राचीन विधि र प्रविधिप्रतिको उपेक्षाका कारण पोखरी सुक्ने, धारामा पानी नआउने जस्ता समस्या बढ्दो छ । दैनिक जीवनसँग प्रत्यक्ष जोडिने सार्वजनिक सरोकारका पोखरी र धारा मृत सम्पदामा परिणत हुँदैछन् ।

ढुङ्गेधाराबाट पानीको स्रोत पछ्याउँदै जाँदा केही मीटरकै दूरीमा त्यसभन्दा अगाडि नबढ्न सङ्केत राखिएको हुने र कदाचित अगाडि बढ्यो भने जलसाधना गरिएको अर्थात् सली (पूजाविशेषमा चलाइने माटोका साना भाँडा) लाई अर्को सलीले छोपेर राखेको भागबाट पानी निस्किएको भेटिने बताइन्छ । तन्त्रविद्याका जानकारहरूका अनुसार, यस्तो जलसाधनाको विधि उच्चकोटिको अभ्यास हो ।

प्रसिद्ध रानीपोखरीको चारै कुनामा ढुङ्गेधारा छन् । पश्चिम उत्तर कुनामा रहेको प्रख्यात ढुङ्गेधारा ‘झ्ंगःहिति’ लाई पुरेर आरसीटी क्लबको भवन बनाइयो । पूर्व पश्चिमको ढुङ्गेधारा ‘स्वधाःहिति’ भने तीनधारा पाकशालाभित्र अझै देख्न सकिन्छ ।

दक्षिण पूर्वतिरको धारा बागबजारस्थित जामे मस्जिद रहेको भवन क्षेत्रकै वरिपरि पुरिएको बताइन्छ । यस्तै, दक्षिण पश्चिममा रहेको ढुङ्गेधाराको नामबाटै त्यस ठाउँको नाम भोताहिति रहन पुगेको छ ।

केही दशकअघि त्यहाँ भूमिगत ‘सब–वे’ खन्ने वेलामा भेटिएको यो धारा उखेलेर छाउनी संग्रहालयमा लगिएको थियो । रानीपोखरीमा यिनै चार ढुङ्गेधाराको पानी जम्मा हुन्थ्यो । तर यी धारामा कहाँबाट पानी आउँथ्यो, स्रोत अज्ञात छ ।

काठमाडौं उपत्यकामा केही दशक अघिसम्म पनि मानव बसोबास, कृषि आदिको लागि निश्चित जमीनको व्यवस्था गरिने भएकाले खुला ठाउँ प्रशस्त थियो । जसका कारण प्राचीन पोखरी र धाराहरू सजीव थिए ।

पछिल्ला वर्षहरूमा भने बढ्दो जनघनत्व र प्राचीन विधि र प्रविधिप्रतिको उपेक्षाका कारण पोखरी सुक्ने, धारामा पानी नआउने जस्ता समस्या बढ्दो छ । दैनिक जीवनसँग प्रत्यक्ष जोडिने सार्वजनिक सरोकारका पोखरी र धारा मृत सम्पदामा परिणत हुँदैछन् ।

धारा तथा पोखरीलाई नगर सभ्यताका लागि पनि महत्वपूर्ण मानिन्छ । तर, यी सम्पदा र यिनको स्रोत बचाउनेतर्फ रत्तिभर सोचविचार नै नगरी विकासका नाममा जथाभावी भौतिक संरचना बनाएर मास्ने कार्य भइरहेको छ ।

खुला ठाउँहरूमा ठूल्ठूला भवन निर्माण गरिंदा भौगर्भिक संरचनामा दूरगामी असर पर्न सक्ने भएकाले यसतर्फ स्थानीय समुदाय, सम्पदाप्रेमी र सम्बद्ध निकाय संवेदनशील बन्नैपर्छ ।

 

प्रतिकृया दिनुहोस