दस्तावेज मंगलबार, मंसिर १०, २०७६

पत्रकारिताका पाँच दशक: सम्झनामा पञ्चायतको त्यो जगजगी

गोपाल गडतौला

‘यो थियो काठमाडौंबाट केदारमान सिंहको रिपोर्ट ।’

साँझ पौने ९ बजे बीबीसी नेपाली सेवामा दैनिकजसो सुनिने नाम थियो, केदारमान सिंह । बीबीसी नेपाली सेवाका श्रोता उनको नामसँग परिचित थिए । उनले लामो समय काठमाडौंलाई कार्यक्षेत्र बनाएर रिपोर्टिङ गरे । उनीसँग पत्रकारका रूपमा देखेका र भोगेका धेरै किस्सा छन् ।

बीपी गिरफ्तारीको रिपोर्टिङ
सिंह १ पुस २०१७ मा तरुण दलको भेलाको रिपोर्टिङका लागि साइकल चढेर थापाथली पुगेका थिए । उनी सगरमाथा संवाद समितिमा काम गर्थे । सबैको ध्यान थियो, हातमा दियो बोकेर मञ्चमा नाचिरहेकी युवतीमा। एक्कासी सेनाका चार जर्नेल मञ्चमा चढेर प्रधानमन्त्री बीपी कोइराला अगाडि पुगे । सबैको ध्यान त्यतै गयो ।

बहालवाला प्रधानमन्त्रीलाई स्यालुट समेत नगरी एक जर्नेलले भने, “मौसूफको हुकुम छ ।” बीपीले सोधे, “अहिल्यै ?” सेनाले तत्काल जानुपर्ने बताएपछि बीपी मञ्चबाट तल झ्र्न थाले ।

पूर्व पत्रकार केदारमान सिंह । तस्वीरहरूः विक्रम राई

गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई लगायत नेतालाई पनि उनीहरूले त्यसरी नै तल झरे । सेनाले घेरेर मोटरतर्फ लग्दै गरेका बीपीलाई पत्रकार दीर्घामा रहेका सिंहले सोधे “कहाँ लगेको हो तपाईंलाई ?” बीपीले थाहा नभएको बताए । यही प्रश्न सोध्दा सूर्यप्रसाद उपाध्याय भने फुस्फुसाए मात्र । हक्की स्वभावका गणेशमान सिंहले ‘जहाँसुकै लैजाओस्’ भनेर जवाफ दिए ।

बीपीलाई प्रधानमन्त्रीको झण्डावालमा चढ्न नदिई सेनाको गाडीमा राखे । अन्य मन्त्रीलाई पनि ‘त्यता होइन यता’ भन्दै सेनाकै गाडीमा राखे । त्यो रात सेनाले नेताहरूलाई सिंहदरबारमा राख्यो । सिंह पनि रिपोर्टिङका लागि राति ८ बजेसम्म सिंहदरबारमै बसे ।

यसबारे उनको समाचार भोलिपल्टको मदरल्याण्डमा छापिएको थियो । नेताहरू समातिएको खबर फैलिए पनि ठूलो प्रतिरोध कतै भएन । चारैतिर सेना तैनाथ थिए । तर, कांग्रेस र कम्युनिष्टहरूले खुला र भूमिगत दुवै खाले संघर्ष भने थाले ।

२०१८ सालमा राजा महेन्द्र पूर्वी नेपालको भ्रमणमा थिए । झापाबाट फर्किंदै गर्दा जनकपुरमा राजा चढेको जीपलाई लक्षित गरेर बम विस्फोट गराइयो । भ्रमणमा सँगै गएका पत्रकार सिंह लगत्तैको अर्को गाडीमा थिए । तर, कसैलाई कुनै क्षति भएन ।

राजा महेन्द्र त्यो दिन साँझ बाराको परवानीपुरमा बास बसे । सिंहले त्यहीं मदरल्याण्डसगरमाथा संवाद समितिका लागि अन्तरवार्ता गरे । महेन्द्रले पञ्चायती व्यवस्थाबारे भनेका थिए, “मैले यो कदम जनताको हितको लागि नै उठाएको हुँ ।”

अन्तरवार्ता लिइसकेपछि राजा महेन्द्रले सिंहलाई सोधेछन्, “तिमीलाई मसँग केही भन्नु छ ?” उनले केही भन्नु नभएको बताए । बाहिर निस्किएपछि अन्तरवार्तामा सँगै रहेका सरकारी कर्मचारीले भनेछन्, “यस्तो मौकामा त केही मागेको भए हुन्थ्यो नि !”

जनकपुर विस्फोटपछि राजभक्ति देखाउन सरकारी अधिकारीले दुर्गानन्द झालाई पक्राउ गरी काठमाडौं ल्याए । केन्द्रीय कारागारको महिला बन्दीगृह बाहिर रूखमा झुण्ड्याएर माघ २०२० मा झाको हत्या गरियो ।

बन्द राजनीतिक वातावरणमा यस्ता घटना चाँडो बाहिर आउँदैनथे । सिंह भन्छन्, “राणाहरूले समेत ब्रह्महत्या लाग्छ भनेर ब्राह्मणको हत्या गर्दैनथे, तर त्यो घटनामा भने राजाका चाकडीबाजले ब्राह्मण युवककै ज्यान लिए ।”

प्रधानमन्त्रीबाटै धम्की !

२०४६ सालमा पञ्चायतको अन्तिम दिन गन्ती शुरू हुन थालेपछि खपेका धम्की पनि उनको स्मरणमा ताजै छन् । एकपटक आधारातमा विछ्यौनाछेउको टेलिफोन बज्न थाल्यो । फोन उठाउनेबित्तिकै कड्किएको आवाज आयो, “के हो केदारजी, सधैं सरकारको विरोधमा मात्र प्रचारबाजी गर्ने ? अराष्ट्रिय तत्वलाई सघाउने हो भने ठीक हुन्न ।”

यस्तो धम्की दिने प्रधानमन्त्री मरिचमान सिंह थिए । उनले नम्र भएर जवाफ दिए, “जनतालाई साँचो खबर दिनु पर्‍यो नि ! जे देखेको हुँ त्यही लेख्छु, यसमा तपाईंलाई के आपत्ति भयो र ?”

प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि उनलाई राजा र पञ्चायती व्यवस्थाप्रति अनास्था फैलाउने सामग्री बीबीसी नेपाली सेवा बाट नबजाउन बारम्बार आग्रह गरिरहन्थे । तर, उनको भाषा धम्कीपूर्ण भने हुँदैनथ्यो ।

उनले २०४६ सालको आन्दोलनमा जुलूसमै हिंडेर रिपोर्टिङ गर्दा कतिपयले ‘बीबीसीको केदारमान सिंह यही हो’ भनेर औंल्याए भने कतिपय हातै मिलाउन आए । २०४६ सालको आन्दोलन चर्किएपछि राजा वीरेन्द्रले दलहरूमाथिको प्रतिबन्ध फुकुवा गरेको रिपोर्टिङ उनले नारायणहिटीबाटै गरेका थिए ।

प्रजातन्त्र आउनुअघि र आएपछि उनको प्रभाव यस्तो थियो कि विदेश मामिलामा आयोजित सरकारी पत्रकार सम्मेलनहरू त उनी नआउन्जेल शुरू नै हुँदैनथे ।

तलब रु.५० !
स्नातक सकेपछि २०१६ सालमा सगरमाथा संवाद समिति मा काम थाल्दा सिंह २० वर्षका थिए । उनको तलब मासिक रु.५० थियो । काम थालेको करीब एक वर्षमा विशेष संवाददाता भए । त्यहीवेला मणिन्द्रराज श्रेष्ठको मदरल्याण्ड मा पनि काम गर्न थाले ।

अंग्रेजीमा राम्रो दक्खल भएकाले सिंहलाई काठमाडौंका विदेशीसँग हिमचिम बढाउन गाह्रो भएन । त्यतिवेला महामारीको रूपमा फैलिएका बिफर, प्राकृतिक विपत्ति, पर्वतारोहणमा आएका पश्चिमाहरूको रुचि र अनुभव, गुम्सिंदो राजनीतिक वातावरण तथा आम जीवनशैली उनका समाचारका विषय थिए । तर, धेरैले राजनीतिक समाचार नै पढ्न रुचाउँथे । राजाको उपत्यका बाहिरको भ्रमणमा प्रायः उनलाई नै लगिन्थ्यो ।

सरकारी सञ्चारमाध्यम रेडियो नेपालगोरखापत्रले भारतीय समाचार एजेन्सी युएनआईबाट प्राप्त अन्तर्राष्ट्रिय समाचार मात्र प्रकाशन तथा प्रसारण गर्थे । उतिवेला भारतसँग चीन र पाकिस्तानको सम्बन्ध अहिलेभन्दा खराब थियो । उनी भन्छन्, “ती देशसँग सम्बन्धित समाचार भारतीय सञ्चारमाध्यमबाट पूर्वाग्रही ढङ्गमा आउँथ्यो ।”

त्यहीवेला फ्रान्सेली समाचार एजेन्सी एएफपीले काठमाडौंमा पनि संवाददाता राख्न खोजेको थियो । सिंहले २०१८ सालदेखि एएफपीको काठमाडौं संवाददाता भएर काम थाले । सिंहले काठमाडौंबाट एएफपी, बीबीसी र द टेलिग्राफ यूके का लागि काम गरे ।

उनी २६ वर्ष एएफपीको काठमाडौं ब्यूरो चिफ भए । बीबीसी नेपाली सेवामा झण्डै तीन दशक काम गरेपछि २०५२ सालबाट विदा भए । २०६३ सालमा पत्रकारिताको नियमित कामबाट विश्राम लिंदा उनी जापानको प्रख्यात दैनिक पत्रिका असाइ सिम्बुनमा कार्यरत थिए ।

उनले पश्चिमा जगतलाई पत्रकारिताको माध्यमबाट नेपाल बुझ्न सघाए । उनी अहिलेको पत्रकारितासँग सन्तुष्ट भने छैनन् । सिंह भन्छन्, “आज पत्रकारिता फैलिएको छ तर, उँचाइ लिनसकेको छैन ।”  

लामो समय सहकार्य गरेका बीबीसी नेपाली सेवा का पुराना पत्रकार मणि राणा उनी निर्भीक पत्रकार भएको बताउँछन् । राणा भन्छन्, “तथ्यमा अडिन सक्ने र पत्रकारमा हुनुपर्ने गुण भएको मान्छे हो ।”

प्रतिकृया दिनुहोस