दस्तावेज शनिबार, मंसिर ७, २०७६

नेपाल–भोट युद्ध तयारी, हुम्ला र रसुवामा धपेडी

ज्ञानमणि नेपाल

भोटसँग युद्धको तयारीका क्रममा हुम्ला सिमाना नजिकै सैन्य शिविर राख्ने उपयुक्त ठाउँ हेरिंदै थियो। रसुवामा भने तराईबाट ल्याएका अन्न धोक्रामा भरेर राख्ने चटारोले छोपेको थियो।

ज्ञानमणि नेपाल

प्रधानमन्त्री जङ्गबहादुर राणाले दिपायलबाट हुम्लामा खटिएका कर्णेल कृष्णध्वज कुँवर राणालाई हिउँदभरिमा सैनिकलाई डेढ वर्ष खान पुग्ने अन्नको जोहो गर्न अह्राएका थिए । यस्तै, चैत महीनासम्म फौजलाई हिउँ नपर्ने गरी गमगढीमा राख्न, तिनलाई तारो हान्न सिकाउन, चैतमा अन्न बोक्न खच्चर, घोडा, भेडा, च्याङ्ग्रा जोहो गरेर राख्न पनि उर्दी दिएका थिए ।

त्यो आदेश अनुसार कर्णेल कृष्णध्वजले सेना बस्ने ठाउँको टुङ्गो लगाउनतिर लाग्दा हुम्लाको सीमा नाकाबाट गमगढी दुई दिनको बाटो, टाढा पर्ने देखे । बरु सीमा नजिकै पर्ने र हिउँले पनि अवरोध नगर्ने हुम्लाकै गल्फातुचुं गाउँ सेनाको शिविर राख्न उपयुक्त रहेको ठहर गर्दै उनले प्रधानमन्त्रीलाई चिठी मार्फत जाहेर गरे ।

यो ठाउँमा अछाम, बझाङ, बाजुरा, डोटी, कैलालीबाट रसद (अन्न) र सैन्य खरखजाना ल्याउन पनि सजिलो पर्ने उनको भनाइ थियो । उनले सैनिकहरूलाई त्यहीं लगेर तारो हान्ने तालिम दिन थालेका थिए ।

कृष्णध्वजले चिठीमा सेनालाई डेढ वर्षका लागि पुग्ने अन्न जोहो गर्ने वाचा गर्दै अन्न बोक्ने खच्चर, घोडा आदिको बन्दोबस्त भइरहेको पनि उल्लेख गरेका थिए । चैतमा अन्न ल्याउने उनको योजना थियो ।

यस्तै, लडाइँमा सहयोग गर्न राजा–रजौटाहरूलाई वैशाखमा उर्दी दिने कर्णेलले चिठीमा खुलाएका थिए । प्रधानमन्त्रीले धेरै भत्ता खाने राजा–रजौटालाई धेरै सिपाही र थोरै खानेलाई थोरै सिपाही ल्याउनका लागि उर्दी दिन अघिल्लै चिठीमा निर्देशन दिएका थिए ।

यता, रसुवातिर तराईका जिल्लाहरूबाट अन्न धमाधम आइरहेको थियो । चितवनबाट पनि अन्न आउनै लागेको थियो । अन्न आइपुगे लगत्तै धोक्रा–धोक्रामा भरेर सिएर राख्नुपर्थ्याे र त्यसको रसिद भरियालाई तत्काल दिनुपर्थ्याे।

रसुवामा खटिएका मेजर कप्तान महारुद्र खत्रीले प्रधानमन्त्री जङ्गबहादुरलाई लेखेको चिठीमा आम्दानी\खर्च लेख्ने र रसिद दिने ५० मुखिया तथा बोरा भर्ने र सिउने ६\७ सय कामदार आवश्यक परेको जानकारी गराएका थिए ।

मेजर खत्रीले भारतको पटनाबाट झिकाइएका दुई हजार धोक्रा आइपुगेको तर धोक्राहरू १०\१० पाथी अट्ने एकैनाशका नभएका कारण चामल नभरी राखेको उल्लेख गरेका थिए । चामल आइपुग्नासाथ नभरे हिसाब राख्न गाह्रो हुने भए पनि उपयुक्त धोक्रा नहुँदा सकस परेको उनले लेखेका थिए ।

प्रधानमन्त्री जंगबहादुर राणालाई कर्णेल कृष्णध्वज कुँवर राणाले लेखेको चिठी :

उप्रान्त सिपाहीहरूलाई तारो हान्न सिकाउनु. चैत्र मैन्हामा लस्करलाई हिउले नपाउन्या गरि गमगढिमा राख्नु. डेढ वर्ष खान् पुग्न्यागरि रसद जम्मा गर्नु. चैत्र मैन्हामा रसद वोकनलाई चौरि भेडा लुलुकोश च्याङग्रा भेडा ज्मा गरी राख्नु. फौजलाई चाहिन्या गोला गिराफ खरखजाना ज्मा गर्नु. कामकाज पर्दा सव भारदारका सल्लाहसंग्ग पल्टनलाई र दुनिञालाई वढिया हुन्या श्री ५ सर्कारको वन्या सप्रन्या काम गर्नु. विना मेरो चिठ्ठी नगई लडन्या काम, दुस्मनका मुलुकमा कुल्चन्या काम नगर्नु. वैसाखमा जौन माफीकको काम गर्नु. राजारजौटाहरूलाई अ‍ैल्है झिकाउनु पर्ने, वैशाखमा धेरै खान्याहरू उही अनुसार थोरै खान्याहरू उही अनुसार मानिस लिइ आउनु भनि उर्दि दिनु भनि लेखिबक्सनु भयाको रहेछ. बहुत बढिया भयो. फौजलाई चाहिन्या गोली गिराफ, गैह्रखरखजाना अघि मर्जि भै आयावमोजिम तयार गर्‍याको छु. टुट्फुट् पुग् नपुग् थप्नु पर्‍या थपन्या काम गरौंला. लस्करलाई गमगढिमा राख्नु भनि लेखिबक्सनु भयाका अर्थ सिवानालाई नगीच लस्करलाई हिउँले नपाउन्या सुविस्ता हुन्या गरि राख्नु भनि अघि लेखिबक्सनु भयाको हुनाले ञाहा आई बस्न्या ठाउको तजविज गर्दा सिवानाको नजिक चैत्र मैन्हासम्म हुमला जानलाई हिउले रोकन पनी नसकन्या, होचो येकैनास घना भयाको, रसदलाई पनि आछाम, वझङ, बाजुरा, डोटी गैह्र जग्गाबाट ल्याउन्यालाई पनि सजिलो जग्गा हुनाले गलफातुचुं गाउमा डेरा खलंगा गरि लस्कर राखी पल्टनलाई तारो हान्न सघाउनु सिकाउनु ल्यायाको छु.गमगढिबाट सिवाना पनि ञाहाँ भन्दा २ दिनले टाढा पर्छ. हिउका नागना पनि ठुला र नागना पर्छन् गमगढिमा जान्या काम गर भनि मर्जि हुंछ तापनि यहि बस भनि मर्जि हुंछ तापनि जो मर्जि. डेढ वर्ष खान पुगन्या गरि रसद ज्मा गर्न्या काम पनि भरिसक्य गरूँला. रसद बोकनलाई चौरि लुलु, घोडा, भेडा, च्याङग्रा गैह्र ज्मा गरि चैत्रमा रसद बोकन लाउन्या काम गरूँला. काजगर्दा सव भारदारका सल्लाहसँग पल्टन दुनिया राजीरहन्या र श्री ५ सरकारको वन्या सप्रन्या काममा जानत भर गरूँला. हजुरबाट लड्नु भंन्या अर्ति नआउन्ज्याल लडन्या छैन. दुस्मनका मुलुकमा कुल्चने पनि छैन. राजा रजौटाहरूलाई पनि मर्जि बमोजिम वैशाखमा सामेल हुनु भंन्या उर्दी दिने काम गरौंला.
१९११ मार्ग शुदि ७ रोज १

प्रधानमन्त्री जङ्गबहादुर राणालाई मेजर कप्तान महारूद्र खत्रीले लेखेको चिठी :

जिल्ला बारा, पर्सा, रौतहट, सर्लाहि जिल्ला ४ का रसद मार्ग वदि १२ रोज ६ का दिन देखि वरोवर आयो. चितवन रसद पनि साज विहान आई पुग्छ. लेखने मानिस नभै चावल भर्न अडक्यो चावल भरि रसिद नदिया रैतिहरू कराउन लाग्या हजुरबाट पठाई बक्सनु भयाका मुखिया नौसिदा कोहि आयाका छैनन्. जिल्ला ५ को आम्दानी खर्च र रैतानलाई रसिद दिनालाई हाल मुखियाहरू लेखन्या मानिस जना ५० नभै काम चलेन. हाल भर्ने मानिस र भर्‍याका चावल धोक्रामा हालन्या धोक्राका मुख स्युनलाई चाहिन्या मानिस ६ सये सात सये नभै काम ढाकन सकियेन. ञाहाका सिपाहिले चावल भन्र्या ठाउको पहरा र बाटो बनाउनाको ताकितिमा लायाका छन्. पट्नाबाट आयाको धोक्रा दुई हजार ञाहा आईपुग्या. धोक्रामा चावल कति जाँदो रहेछ भनि तजविज गर्दा धोक्रा १० पाथि जान्या कोहि ९ पाथि जान्या कोहिमा आठ पाथि जान्या रह्याछन्. दश १० पाथिको नमिल्दा धोक्रामा चावल हाल्याको छैन. अरू धोक्रा आयाका छैनन्. जौना रोजमा चावल भरियो उसै रोजका धोक्रामा हाल्या बढिया हुदोरहेछ. जिल्ला मौजेको चावल नआउदा रैतिका मुख जवानबाट भर्दा जिल्ला मौजे संचिदोरहेछ. येति मानिस नभइ काम चलाउनलाई हर्कत भयो. रसद ल्याउन्या रैतिहरूले मिच्या रसद भर्ने उठाउने ठाउमा चाहिन्या तपसिल् ......................
कागज भारि ......................५
बत्तिवाल्न्या थालस्मेत् पानस ......................१०
लंपट ......................३
लाहा धार्नि ......................२५
१९११ मार्ग शुदि ८ रोज २

प्रतिकृया दिनुहोस