थप समाचार आइतबार, मंसिर ८, २०७६

झोला, केको होला ?

नुनुता राई

मन्त्रिपरिषद्ले काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा ३० माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिकका झोला प्रतिबन्ध लगाउने निर्णय गरी राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ तर सरकारका कुनै प्रयास सफल हुन सकेका छैनन्।

दैनन्दिन आवश्यक परिरहने समान हो, झोला । तरकारी, फलफूल, खाद्यान्न लगायतका चिज/वस्तु बोक्न झोलाकै प्रयोग सहज ठानिन्छ ।

हलुङ्गो भएकाले बोक्न सजिलो लागेर केही वर्ष अघिदेखि प्लाष्टिकको झोलाको प्रयोग अत्यधिक गरियो । तर, यसको नकारात्मक वातावरणीय असर देखिन थाल्यो । कालो पोलिथिन झोला बनाउन प्रोपेलिन, बेनजिन, फेनोल र इथिलिन जस्ता रसायन प्रयोग हुन्छन् । जसले क्यान्सर, एलर्जी, पेटको समस्या, दम लगायतका रोग निम्त्याउने जोखिम हुन्छ । 

योसँगै प्लाष्टिक सड्न धेरै वर्ष लाग्ने, जलाउँदा हाइड्रोकार्बन र क्लोरोफोरोकार्बन नामक विषालु ग्याँस निस्कने भएकाले यसलाई निषेध गरिनुपर्ने आवाज उठन थाल्यो । मानिस, जीवजन्तु र वातावरण असर पनि देखिन थाल्यो । अनि बल्ल प्लाष्टिकका झोला निषेध गर्नुपर्ने आवाज उठ्यो ।

वातावरण मन्त्रालयले ३० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिकका झोलाको उत्पादनमा प्रतिबन्ध लगाउन ‘प्लाष्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका’ नै जारी गरेको छ ।

मन्त्रिपरिषद्ले काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा ३० माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिकका झोला प्रतिबन्ध लगाउने निर्णय गरी राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ तर सरकारका कुनै प्रयास सफल हुनसकेका छैनन् ।

सरकारी अभियानले कालो पोलिथिनको प्रयोगमा कमी आए पनि सेता तथा नीलो प्लाष्टिकका झोलाहरूको प्रयोग भने अझै उस्तै छ । अहिले भारतबाट ल्याएर प्रयोग गरिरहेको पोलिस्टरबाट बनेका झोला कम हानिकारक भने होइनन् । यी झोला दुई/तीन पटकसम्म प्रयोग गर्न सकिने भएकाले प्लाष्टिकका झोलाभन्दा कम फालिन्छन् ।

तर, वातावरणविद् डा. भूपेन्द्र देवकोटा संख्या कम हुँदा असर पनि कम गर्छ भन्ने दृष्टिकोणले अहिलेको अवस्थामा यस्तो झोला ठीकै हो भन्न सकिने बताउँछन् । उनी प्लाष्टिकको प्रयोग कम गर्न यसको उत्पादनमा निश्चित मापदण्ड लागू गर्नुपर्ने बताउँछन् । भन्छन्, “सरकारले प्लाष्टिकको विकल्पमा प्लाष्टिक नै ल्याउने भन्दा पनि यसको उत्पादन घटाउन निश्चित मापदण्ड बनाउनुपर्छ ।”

अधिकांशमा घरैबाट झोला बोकेर बजार जाने बानी छैन । यसले पनि प्लाष्टिक झोलाको प्रयोग कम गर्न नसकिएको थापाथलीकी मीरा ढुङ्गेल बताउँछिन् । भन्छिन्, “प्लाष्टिकका झोला स्वास्थ्यको लागि हानिकारक छ भन्ने थाहा भए पनि झोला बोक्ने बानी नहुँदा प्लाष्टिकको झोला बोकिरहनुपरेको छ ।”

ललितपुरको कुपण्डोलमा होस्टेल सञ्चालन गर्ने विना लामा बजार जाँदा एउटा झोला बोकेर जान्छिन्, फर्किंदा उनको हातमा पोलिस्टाइन र रङ्गीन झोला थपिएर आउँछ । “झोला बोकेरै गए पनि व्यापारीले पोलिस्टर र प्लाष्टिककै झोलामा सामान हालेर दिन्छन्, अनि त घरभरि झोलैझोला हुन्छन्”, उनी भन्छिन् ।

प्लाष्टिक झोलाको प्रयोग निषेधसँगै कागज तथा कपडाबाट निर्मित झोलाहरूको उत्पादन हुनथाले पनि यो आम प्रयोगमा आउन सकेको छैन । साथै अरु खालका झोला प्रयोग गर्न प्रेरित गर्ने अभियान पनि प्रभावकारी ढङ्गबाट बढ्न सकेको छैन ।

काठमाडौं चाबहिल निवासी कमल गौतम सरकारले प्लाष्टिकको झोलाको विकल्प दिनुपर्ने बताउँछन् । उनका अनुसार सरकारले हल्का सामानका लागि कागजको झोला र गह्रौं सामानको लागि कपडाको झोला प्रयोगमा ल्याउन बृहत् कार्यक्रम ल्याउनुपर्छ । आवश्यक तालिम तथा सहुलियत ऋण दिनुपर्ने उनको जोड छ ।

“अहिले कागजका सामान्य झोलाकै लागि ३० देखि ५० रुपैयाँसम्म तिर्नुपर्छ, त्यत्ति महँगो झोला दैनिक किन्न सकिंदैन”, विना लामाको तर्क छ ।

मीरा ढुङ्गेल भने गैरसरकारी संस्थाहरूले कम मूल्य र सरल रुपमा सिकाउने भन्दा पनि हेर्दा आकर्षक देखिने र बनाउन समय लाग्ने खालका डिजाइन सिकाएकाले सर्वसाधारणको पहुँच अनुसारको झोला नबनेको बताउँछिन् । उनी भन्छिन्, “अब सरकारले दैनिक प्रयोग गर्न सकिने खालका वातावरण मैत्री झोला बनाउने तालिम दिनुपर्छ ।”

प्रतिकृया दिनुहोस