कला/साहित्य शनिबार, कात्तिक ३०, २०७६

फरक मतको मञ्च

गोपाल गडतौला

हरेक दुई वर्षमा ललितपुरमा हुने दक्षिणएशियाकै ठूलो वृत्ताचित्र महोत्सव ‘फिल्म साउथएशिया’ को १२औं संस्करणले दक्षिणएशियामा नेपाल ‘तटस्थ देश’ भएको पुनः प्रमाणित गरेको छ।

तस्वीरहरु : मनिष पाैडेल

१४ अक्टोबर २०१६ मा नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयका छात्र नजिबमाथि छात्रावासमै सांघातिक आक्रमण हुन्छ । घटनामा घाइते भएकै रातदेखि उनी अचानक गायब हुन्छन् । र, अहिलेसम्म उनी बेपत्ता नै छन् ।

सुनिल कुमारले बनाएको ‘अम्मी’ गाउँबाट स्नातकोत्तर पढ्न जेएनयू पुगेका उनै छोरा नजिबको खोजीमा निस्किएकी आमामाथिको वृत्तचित्र हो ।

नजिब हराइरहेको मुद्दा हाल दिल्ली उच्च अदालतमा छ । तर, पीडितका लागि न्याय टाढा छ । “अल्पसंख्यक र निर्धामाथि बहुसंख्यकले गर्ने थिचोमिचोको यो एउटा उदाहरण मात्र हो”, निर्देशक सुनिल कुमार भन्छन् । वृत्तचित्रमा नजिबको खोजीको माग गर्दै भएका प्रदर्शनको अग्रभागमा देखिएका कैयौं विद्यार्थीको अध्ययनमा जेएनयू प्रशासनले गरेको विभेद पनि उठाइएको छ ।

ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा भइरहेको चारदिने वृत्तचित्र महोत्सव ‘फिल्म साउथएशिया’ १ मंसीरमा सकिंदैछ । र, यसअघिका संस्करणहरू झैं १२औं संस्करण पनि विशेष बन्दैछ ।

‘जहाँ मस्तिष्क निस्फिक्री छ....’ नारासाथ शुरु भएको महोत्सवको यो संस्करणमा दक्षिण भारतकी नामी पत्रकार तथा लेखिका गौरी लंकेशको हत्यामा आधारित ‘आवर गौरी’ पनि प्रदर्शन गरिएको थियो ।

चिकित्सा शिक्षा सुधारका सत्याग्रही अभियन्ता डा. गोविन्द केसीमाथिको ‘वीआर विथ डा.केसी’, म्यान्मारबाट निर्वासित क्रान्तिकारी कलाकारबारे बनाइएको वृत्तचित्र लिसन्, ४० वर्षमै हत्या गरिएकी पाकिस्तानी मानवअधिकारकर्मी सविन महमुदसँगै थुप्रै वृत्तचित्र प्रदर्शन गरिए ।

महोत्सव ‘इन्दुस ब्लुज’ वृत्तचित्रबाट उद्घाटन गरिएको थियो, दर्शकबाट वाह्वाही पाएको यो वृत्तचित्र लोकसंगीत र बाजाको संरक्षणमा लागेको पाकिस्तानी कलाकारको संघर्षमा केन्द्रित थियो । महोत्सवको उद्घाटन लोक रक गायक अमृत गुरुङले गरेका थिए ।

अहिलेसम्म ६१० स्थानमा प्रदर्शन भइसकेको ‘आवर गौरी’ वृत्तचित्र भारत बाहिर भने पहिलोपटक प्रदर्शन भएको हो । महोत्सवमा यस्ता थुप्रै वृत्तचित्र छन्, जो आफ्नो देशमा प्रदर्शन हुन सकेनन्, कतिपय प्रतिबन्धित छन् ।

दक्षिणएशियाको साझा मञ्च

'आवर गाैरी'का निर्देशक प्रदीप क‍े‍.पी.

फिल्म साउथएशियामा नेपाल, भारत, पाकिस्तान, म्यान्मार, बाङ्लादेश, अफगानिस्तान लगायत मुलुकका २५०० मध्ये छनोट ६३ वृत्तचित्र प्रदर्शन भइरहेका छन् ।

“यस किसिमको महोत्सवका लागि काठमाडौं दक्षिणएशियाकै सबभन्दा उत्तम ठेगाना हो” महोत्सवकी निर्देशक मितु बर्मा भन्छिन्, “किनभने हवाईमार्ग समेत बन्देज रहेका भारत र पाकिस्तानका फिल्मकर्मीहरू समेत शान्त काठमाडौंमा जुटेर अनुभव साटासाट गरिरहेका हुन्छन् ।”

भारतमा नरेन्द्र मोदीको उदयपछि समानता र सामाजिक न्यायको कुरा ठूलो स्वरमा भनिए पनि ‘ठूला मान्छेहरूले’ ध्यान नदिएको बर्माको तर्क छ । “पूरै दक्षिणएशियामा लगभग यस्तै अवस्था छ । त्यसैले यो मञ्च पीडाहरूको साझा अभिव्यक्ति पनि हो”, उनी भन्छिन् ।

यसखाले वृत्तचित्र महोत्सवले समाजको निर्मम समीक्षा गर्न सघाउने फिल्म साउथएशियाका अध्यक्ष कनकमणि दीक्षितको भनाइ छ । विश्वको एक चौथाइ जनसंख्या रहेको दक्षिणएशिया राजनीतिक रोग–व्याधग्रस्त भएको बताउँदै दीक्षित भन्छन्, “यस उपमहाद्वीपमा असहिष्णुता छाएको छ, उग्र लोकरिझ्याईं, अतिवाद र अधिनायकवाद मौलाएको छ । त्यसैले पनि नेपालमा यस्तो महोत्सवको आयोजन झनै आवश्यक छ ।”

महोत्सवमा प्रतिस्पर्धी ५२ वृत्तचित्रमध्ये उत्कृष्ट वृत्तचित्रले रामबहादुर ट्रफी सहित दुई हजार अमेरिकी डलर, द्वितीय हुने वृत्तचित्रले एक हजार अमेरिकी डलर पुरस्कार र ‘डेब्यू’ निर्देशकको उत्कृष्ट वृत्तचित्रले ‘तारेक मसूद पुरस्कार’ अन्तर्गत एकहजार अमेरिकी डलरको पुरस्कार राशि प्राप्त गर्नेछन् ।”

बालबालिकाको विषयमा केन्द्रित भई तयार पारिएका वृत्तचित्रहरूमध्ये उत्कृष्ट वृत्तचित्रले ‘युनिसेफ पुरस्कार’ स्वरुप एक हजार अमेरिकी डलर र ‘स्टुडेन्ट फिल्म’ तर्फ उत्कृष्टले ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् । महोत्सवको निर्णायकमा पत्रकार कुन्द दीक्षित, भारतीय भिजुअल आर्टिस्ट आयशा अब्राहम र श्रीलङ्काकी चलचित्रकर्मी सुमाथी शिवामोहन रहेका छन् ।

 

प्रतिकृया दिनुहोस