कला/साहित्य शनिबार, कात्तिक ३०, २०७६

विभेदको कहाली

लक्ष्मी बस्नेत

१९१० सालको मुलुकी ऐनको दफा २१ मा जैसी बाहुनले उपाध्याय बाहुनलाई जानी जानी आफूले छोएको खुवाए २० रुपैयाँ दण्डको व्यवस्था गरिएको थियो ।

ब्राह्मणभित्रै उपाध्याय र जैसीबीचको विभेद विभिन्न स्वरुपमा अहिलेसम्म कायमै भए पनि दण्डित भने हुनुपर्दैन । जस्तो, उपाध्याय ब्राह्मणले क्षेत्रीसँग बिहे गरे सन्तान जैसी हुन्छन्, बोलीचालीको भाषामा ‘जात जान्छ ।’ यो ब्राह्मणभित्रैको विभेद मात्र नभएर क्षेत्रीलाई गर्ने जातीय छुवाछूतको स्वरुप पनि हो । 

पहाडे ब्राह्मणको मात्र होइन मैथिल ब्राह्मणमा पनि ठूलो र सानो जात छ । पूजापाठ गर्ने ब्राह्मणलाई उच्च मानिन्छ भने कर्मकाण्ड गर्नेलाई तल्लो । ब्राह्मणबीच मात्र होइन हरेक जातिभित्रको आन्तरिक विभेदलाई पत्रकार मेघराज रसाइलीले आफ्नो पुस्तक ‘आन्तरिक विभेदको वृत्तान्तः दलित र गैरदलितभित्रका विभेद र छुवाछूत’ मा वयान गरेका छन् ।

लिच्छविकालमा खत्री, घर्ती र ठकुरीलाई क्षेत्री मानिंदैनथ्यो । अझै जनै लगाउने र नलगाउने तथा जाँडरक्सी, कुखुरा खाने र नखाने क्षेत्री भन्ने चलन छ । जनजातिमा पनि आन्तरिक विभेद छ । नेवार समुदायमा ‘जनै लगाउने बाहुनदेखि सनै फुक्नेसम्म’ छन् भनिन्छ । यसले नेवारको आन्तरिक विभेदलाई देखाउँछ । जोशी लगायत थरले नेवारकै केही थरलाई ‘पानी नचल्ने’ का रुपमा मान्छन् ।

गैरदलितले दलितलाई गर्ने छुवाछूत कानूनतः दण्डनीय भइसकेको छ । तर, दलितभित्रै पनि कथित उच्च जात जस्तै आन्तरिक विभेद छ । दमाईले छोएको कामीले नखाने अवस्था छ ।

दमाईभन्दा ‘तल्लो’ जात पनि कैयौं छन्, जसले छोएको पानी कामी\दमाईलाई चल्दैन । यसरी एक जातले अर्कोलाई गर्ने विभेद मात्र नभएर आन्तरिक विभेद पनि छ । त्यसैले लेखकले पुस्तकको शुरुमै लेखेका छन्, “जातीय विभेदको संरचना जेरी जस्तै जेलिएको छ ।”

पुस्तकको परिशिष्ट १ ले २००७ सालमा प्रजातन्त्र आएपछिको दलितहरूको अवस्थालाई देखाएको छ । एक जना दलितले बजारमा घर बनाएर बस्न नपाउने, बजारमा चाहिएको सामान किन्न नपाउने अवस्था थियो ।

त्यतिवेला दलित समुदायले बाँच्नका लागि गरेको जीवन संघर्ष अहिले धेरैलाई कथा जस्तो लाग्छ । २०२० सालमा मुलुकी ऐन आएपछि पनि आफैं बजार जान पाउनुपर्ने भन्दै दलितहरूले केही ठाउँमा आन्दोलन नै गरेको पुस्तकमा उल्लेख छ ।

दलितले बजार प्रवेश गर्न पाउनुपर्ने माग उठिरहेका वेला विष्णुभक्त गदालले इलामको फिक्कल बजारमा जग्गा किनेर घर बनाउन थालेका थिए ।

तर, तत्कालीन प्रहरी निरीक्षक रामप्रसाद प्रधानले हवल्दार शेरबहादुर गिरीलाई घर भत्काउन पठाए । गदालले प्रहरीलाई खुकुरी लिएर लखेटेका थिए । तर, दुई तले घर बनाएर बस्न थालेपछि प्रधान आफैं राति हतियारसहित पुगेर उनलाई लखेटेका थिए ।

भागेका गदाल दार्जीलिङ पुगी त्यहाँबाट तत्कालीन राजा त्रिभुवनलाई टेलिग्राम मार्फत उजुरी गरेपछि ती प्रहरी निरीक्षकलाई काठमाडौं बोलाइएको थियो ।

अन्ततः गदाल आफ्नो घरमा बस्न पाए । दलित आन्दोलनको इतिहासमा ‘२०१० सालमै बजारमा घर बनाएर बस्ने मेची अञ्चलकै पहिलो दलित’ भनेर गदालको नाम उल्लेख गरिन्छ ।

विभेदको कुप्रथाबाट सबैभन्दा पीडित दलित समुदायका बारेमा दिइएका थुप्रै प्रसङ्ग र तथ्य–तथ्यांकले पुस्तकलाई खँदिलो बनाएको छ । तर, पुस्तकको शीर्षकले विभिन्न जातभित्रकै विभेदलाई झल्काए पनि दलित–गैरदलितको विभेदको कुरालाई बढी स्थान दिइएको भान भने हुन्छ ।

जातीय विभेद र जातिभित्रकै आन्तरिक विभेद आधुनिक समाजको कलंक हो । तर लोकतान्त्रिक गणतन्त्र नेपाल अझै पनि यस्तो सामाजिक कुरीति र अन्धविश्वासबाट ग्रस्त छ ।

राजेन्द्र महर्जन र अर्जुन विश्वकर्माको सम्पादनमा रसाइलीले लेखेको यो पुस्तक विभेद पर्गेल्ने र यसलाई जरैबाट उखेल्ने अभियानमा सहयोगी हुनसक्ने देखिन्छ ।

पुस्तक: आन्तरिक विभेदको वृत्तान्तः दलित र गैरदलितभित्रका विभेद र छुवाछूत (गैरआख्यान) 
लेखक: मेघराज रसाइली 
प्रकाशक: समता फाउण्डेशन 
पृष्ठ: ३२३+५ 
मूल्य: रु.४५०

प्रतिकृया दिनुहोस