दस्तावेज शुक्रबार, कात्तिक २९, २०७६

जङ्गबहादुरलाई जर्नेल भाइको सुझाव

ज्ञानमणि नेपाल

भोटसँग नेपालले युद्धको तयारी गरिरहँदा जर्नेल बद्रीनरसिंह राणाले प्रधानमन्त्री दाजु जङ्गबहादुर राणालाई चिठी लेखेर चीन र अंग्रेजको वस्तुस्थिति देखाउँदै युद्धका लागि हौस्याएका थिए।

ज्ञानमणि नेपाल

नेपालले भोटसँग युद्ध गर्ने तारतम्य मिलाइरहँदा पाल्पामा खटिएका जर्नेल बद्रीनरसिंह कुँवर राणाले दाइ एवं प्रधानमन्त्री जङ्गबहादुर राणालाई चिठी लेखेका थिए । चिठीमा बद्रीनरसिंहले उत्तरी छिमेक चीन र दक्षिण भारतमा शासन गर्ने अंग्रेजसँगको नेपाल सम्बन्धको चर्चा गर्दै सुझाव दिएका थिए ।

टमा आक्रमण गर्दा कथंकदाचित् सेनासहित अंग्रेज नेपाल आए ‘उसले चीनसँग लड्न नभई यहाँ आफ्नो रेजिडेन्ट भएकाले के कसो छ भनी बुझ्न मात्र आएको बताउने’ चिठीमा लेखिएको थियो ।

अंग्रेजले यति मात्र होइन, बिजाइँ गरेका कारण एक पटक चीनसँग आफ्नो पनि टक्कर परेको र मौकामा चीनको मद्दत गरेर मित्रतामा खलल पर्न नदिनु नेपालको कर्तव्य भएको पनि सुझाउने बद्रीनरसिंहले उल्लेख गरेका थिए । जङ्गबहादुरको स्वभाव र मन बुझी आफ्नो इमानमा प्रश्न उठ्ला भनेर अंग्रेजले आफ्नो फौज सुगौलीमै राखेको उनको बुझाइ थियो । 

चिठीमा चीनको चर्चामा ठूलो जनसङ्ख्या भएको विशाल देशमा युद्धको काम पर्दा जतिसुकै फौज तयार हुने र रसद देशमै भरपूर रहेकाले नेपालले आफ्नो तयारीमा विशेष ध्यान दिनुपर्ने औंल्याइएको थियो ।

चीन र नेपालबीच स्थिति बिग्रिएमा अहिलेकै अवस्थाले धान्न नसकिने बद्रीनरसिंहको आकलन थियो । यद्यपि उनले चीनका बादशाहले त्यहाँको ताइपिङ विद्रोह दबाउन मद्दतका लागि बोलाएमा जङ्गबहादुरको पुरुषार्थ थाहा पाउने भन्दै प्रधानमन्त्री दाजुको तारीफ गरेका थिए ।

तर, पाल्पामा रहेका बद्रीनरसिंहले विकसित घटनाक्रम थाहा नपाएका कारण त्यस्तो लेखेका थिए । किनकि, चिनियाँ बादशाहले नेपालको सैन्य सहयोगको प्रस्ताव नकार्दै गृहयुद्ध साम्य पार्न आफैं सक्षम रहेको जवाफ काठमाडौंमा पठाइसकेका थिए ।

बद्रीनरसिंहले बहादुर शाहको ऐन, त्रिभुवन प्रधानको मस्यौदा, भीमसेन थापाको विश्वास, फत्तेजङ्ग शाहको धैर्य र जङ्गबहादुरको सानमान दुनियाँमा प्रसिद्ध रहेको भन्दै यो सबै सम्हाल्नुपर्ने वेला आएकोतर्फ जोड दिएका थिए ।

जङ्गबहादुरको तारीफमा शब्द खर्चिंदै उनले २०/२५ वर्षका जर्नेल कर्णेल भाइहरूलाई ठाउँ–ठाउँमा राखेर मुलुक चलाइराखेको र शिकारमा ध्याउन्न भए जस्तै ईश्वरमा अभ्यास गरे इच्छा पूरा हुने बताएका थिए ।

बद्रीनरसिंहले दुई बलिया देशको बीचमा रहेका कारण नेपालले भवितव्यका लागि युद्धका सरसामग्री तयार पारेर राख्नुपर्नेमा जोड दिएका थिए ।

उनले आम्दानी बढाउने उपाय पनि सुझाएका थिए । एक जना सरदार खटाई तराईको धान बिक्री गर्ने, दश हजार पिपा (भरिया) र चौबीस पल्टन तैनाथ राखी तिनको जिम्मा भाइहरूलाई दिएर बाँझ पर्ती जग्गामा खेती गराउने, सेर्मा साफा (कर) एक वर्षको लागि बढाएर डेढी लिने, ठेक्कामा लगाइएका तराईका जग्गाको रकम बढाएर साविक भन्दा रु.१ लाख बढी लिने, जमदार पदसम्मका जागिरदार सिपाहीबाट रु.५ कट्टी गरी लिने र त्यसभन्दा माथिका जङ्गी निजामती अधिकारीलाई जागिर वापत दिइएको जग्गाको बाली सरकारले लिने जस्ता उपाय उनले दिएका थिए ।

चीनको विद्रोह दबाउन जाने पल्टनका लागि खरखजाना र रसदपानी जोहो गर्न यसरी रकम बढाएर लिने कुरा थियो । त्यसवेला प्रत्येक रैतीहरूलाई युद्धमा जाने वा सरकारलाई रकम दिने भनी सोधिएको थियो । लडाइँमा जानेसँग रकम लिइँदैनथ्यो ।

जर्नेल बद्रीनरसिंह कुँवर राणाले प्रधानमन्त्री जङ्गबहादुर राणालाई लेखेको पत्र :

उप्रान्त चिनतर्फ चह्राईगर्दा कदाचित् अंग्रेजले नेपाल दाखिल भै चीनलाई हामि तिमिसंग लड्न आयाका होइनौं. ञाहा रजिडंट भयाको फगत यसै निमित्त हो. अघि हामिलाई पनि मद्दत दिन्छु भंदा मिजात थाहा थियो. इ हाम्रा पनि दुस्मन हुं. आज श्रीईश्वरका कृपाले संजोग पर्न जाँदा दोस्तिमा मद्दत दि कार्यसिद्ध गर्यौं. आफू तिमि बडा हौ हामि खुव जांदछौं. अघि जस्तो तिम्रो हाम्रो येक दिल थियो. सो वमोजिममा बहुत राजि छौं. तिमिले इनहरूका वेजाको सजा दियो मुनासिव हो भनि पैल्हे केहि कालपछि बखतमा पर्यामा चिनसंग कोम गर्नु, दोश्रो मुलुक हासिल तेश्रो दोस्तिमा खलल नहुने. हामिले ञाहासम्म इरादा राख्यापछि अंग्रेजले सलतनमा आवैन भन्या संका राखैन. अघि क्वांताङमा हामिसग लडाञि भयाको उन्हेरुले पनि बुझाएका छन्. सासा वादसाह पनी हुरित पाया. ताङमोड गर्न सकिनै छ. येस्तो आड पायेपछि घर फुट्को बेलामा कम्वर कसन्या बखत पर्याको छ भनि यो काम गरि यस्तो जवाफ दियो भन्या फाइदै देखिन्छ. शुभा र हजुरको यो दिल देख्दा आफ्ना इमां वत्ता लाग्ला भन्या कारणले सुगौलीमा फौज ल्याई राखेछ त्यसतिर यस्तै देखिन्छ. चिनतिरका कुरालाई चार हजार वर्ष भयो राज्य थिर रह्याको छ. निजका अम्मलमा कुचिन् पहेचिन चिन चार तखत छन्. मुलुक ५७० कोष चौडा छ. वेहिसाब लोग छन्. सुन पैदा हुन्छ. जङ्गी काम पर्दा फौज तयार गर्दा अनुमान गर्दा येक करवड गर्छन्. यसैमाफिक खजाना दुरुस्त छन्. साना ठूला गैह्र गरि ५/७ लाख भारदार छन्. दैवी किल्ला रसद आफ्ना घरै हो मुदा कुरो प्रताप हो. यो दोतर्फि पर्न जाँदा तसैले पनि साध्य होला भन्न सकिंदैन. हजुरमा तारिफ गर्याको हैन. चिनजस्ता वादशाहले मदत आउनु पर्छन् भन्यापछिबाट खडाभै ज्मा वर्दि रह्यो कि रहेन बुझिबक्सजाला. बाहादुर शाहाको आइन त्रिभुवनको मस्यौदा भिमसेन थापाको विश्वास फत्तेजङ्गसाहाको धैज्र्यैता हजुरको औसान भन्या दुनिञामा प्रसिद्ध छ. समालिबक्सनु पन्र्यावेला येहि हो. वेसगरि मनन् गरिबक्सिजाला. हजुरको दुनियाँदारिमा आइन दस्तुर इन्साफ वन्दोवस्त अैमसोर्जे गरिवक्सनामा काहि बाकि रह्याको छैन. फगत मुक्तिको इच्छा राखि वक्स्याको जस्तो देखिन्छ. श्री कर्णेल नानी २०/२५ वर्षका उमेरमा विलकुल अखतीयार सौपि दाज्युभाईहरूलाई ठाउ ठाउमा राखि बक्सी आइन बमोजिमका काम चलाई जस्तो सिकार पाउलागी वक्सनुहुन्थ्यो सो माफिक श्री ईश्वरमा अभ्यास गरिबक्सनु भया हजुरका इक्षाबमोजिम हुन्यैछ. रणमा मरि ज्मा मर्दको सोर्गवास छ र रणमा मरी अवस्य मुक्ति छ. २ वादसाहको दभ्र्यान दोस्रो राजधानीमा रुपैयाँ पैसा खर्च गरि जंगी असवाफ लैस गरि राखनु बहुत मुनासिव हो. सारा खलतकमा चल्याकै छ. जागीर वक्सनु भयाको छ. सामेद तेसकाममा खर्च भयाका रुपैयाँ खडा गर्नु पर्छ. मर्जि हुन्छ भन्ये विलकुल तराईका धानको येक हट्टी गरि खर्च गरि यौटा सर्दार मुकर भै मुगलानामा बिक्री गर्नु. १० हजार पिपा र २४ पल्टन् तैनाथ गरि भाईहरूमा कमानीयेर भै पोखराको मैदान विह्राई अवाद गर्नु. १ साल रैतिहरूलाई सेर्मा साउन्या फागु गैह्र डेढिलिनु. मध्येस ८ जिल्लामा साविक माथि लाख रुपैयाँ बढाउनु जागिरदार सिपाइ १ के दर रु ५ कट्टी गरि दामासाहिका हिसावले ज्यामादारतक लिनु. ताहादेखि उप्रान्त पैदा अनुसार उला दर्जा जङ्गी निजामति गैह्रलाई आफ्ना काजकाममा कायम राखी वाली जफत गर्नु. इ कुरा लेखियाका मानिसहरूलाई अघि चिन्न आपुसमा लडाञी हुँदा तिमिलाई तेस्तो पन्र्या पछि हामि मद्दत दिनआउँछु भनि ञाहाबाट अम्बालाई लेखिजाँदा वहुत मुनासिव लेख्याछौ. म वादसाहलाई साधी पठाउछौं भनि लेखि आउदा यो कामको तैयारी गर्याको हो. श्री ५ सर्कारको ज्मा खडा गर्नामा कवुल गर्छौ कि लडाइमा कबोल गर्छौ. तिमिहरू जे भन्छौ भनि रोजाई ज्मा खडा गर्नमा कबुल गर्छन् भन्या वढिया भयो. लडाइमा कवोल गर्छन् भन्या हजुरका वेभार पर्माथमा केहि हानि छैन. तजविजमा जस्तो ठहर्छ गरिवक्स्याजावस् सबैलाई मज्जा छ. कर्म अनुसार वुद्धि भंछन्. हजुर निहायत दानि विवेकि हुनुहुंछ. सात वादसाहको सैर गरिबक्सनुहुनाले सवै बुझ्विक्सनु भयाको छ. मैले येस अवस्थामा विंति चह्राउनु वहुतै मुनासिव हो. अघि हजुरबाट मर्जि गरिवक्सनु हुँदा अदफले सामान्य विंति चह्रायाको हो. तावेदार जीन्दगीभर तालिम पुर्वरिस गरिवक्सनु भयाको हुनाले जाहा रात छ तापनी समझनु अनुसार लेखेछ भन्ने जानी विंति चह्रायाको हो. गठ्ठा पत्थर ४८६९ फर्मायसि पिपा ५८ काठका सन्दुस पिपा ३६ पुराना विकंवा सजायाको पिपा १५५ ज्मा पिपा २४९ तयार गर्या. सुजनी ५४१ मार्तौल ५४१ मरहट्टी १०० कमानी फकालन्या सनासो २० को दरले २ कोदाली २ गल १ खंती १ हात्रो १ वन्चरो २ चुपी र चिराक कुपी ४ पनी तयार भयो. पाल छैन. काठमा सन्दुसी पिपा १ के भरिया २ का हिसाबले कोदालाहरू वोकन्ये स्मेत ज्मा भरिया २८६ मध्ये १२० छन् अरूको ठेगाना छैन. येक हिसावका भरियाले अशवाफ उठीसक्ला भन्याजस्तो लाग्दैन. सै नाल श्रीवरखमा भर्ति भयाका छैन. ति कोरा मानिसलाई तालिम गर्न हर्कत भैरहेछ. वेलामा हर्कत होला भन्या बहुत दर्लागिरहेछ. मानिस सबै खारेज भयापछि येस छरूवा जील्लामा १२ साललाई येतावाट काम पुगी सकिदैन भनि सुवेदार भवानसिंस्वारले लेखिपठायेछ. ञाहा भन्या तेस जिल्लाको मेसो पाउने माथवर मानिस कोहि छैन. तेस्मा क्या वेहोरा गन्र्या हो. म ५/७ दिनपछि वुटवल तरफ जांछु.
सम्वत् १९११ मार्ग सुदी ५ रोज

प्रतिकृया दिनुहोस