टिप्पणी विहीबार, कात्तिक २८, २०७६

गाउँगाउँमा डोजर आतङ्क

मिलन बगाले

जताजता डोजर गयो उताउता डाँडापाखा भत्कने मात्र हैन, सामाजिक सद्भाव पनि भत्कँदै गएको छ।

मिलन बगाले

विगत केही वर्षयता देशमा डोजर आतङ्क चलिरहेको छ । डाँडापाखा, वनजङ्गलदेखि गाईभैंसी हिंड्ने डहरमा धमाधम डोजर जोतिंदैछ ।

सानो घर वा शौचालयको जग खन्न, खेतका आली फोरेर गरो फराक बनाउन समेत डोजर बोलाउनुले यो फेशन बनिसकेको पुष्टि हुन्छ । घरबारीमा डोजर आउनुलाई गाउँमा सम्पन्नताको मानक मान्न थालिएको छ । 

हामी सानो छँदा डोजर देख्नु दुर्लभ जस्तै थियो । २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री छँदा ‘आफ्नो गाउँ आफैं बनाऔं’ अभियान शुरू भएसँगै जनश्रमदान मार्फत गाउँमा बाटो बन्न थालेका थिए । ‘कामका लागि खाद्यान्न’ परियोजना अन्तर्गत स्थानीयले बाटो खने बापत चामल पाउने कार्यक्रम पनि चलेका थिए ।

चलनचल्तीका बाटालाई खनखान पारेर फराक पार्ने अभियानमा कोदाली, गैंती बोकेर सहभागी भइरहँदा हामी भुराभुरीलाई लाग्थ्यो, यो देश खनिसाध्य छैन । डरलाग्दा डाँडा, भीर, पहरा, बडाबडा चट्टान र ठूलाठूला रूख । मान्छेले खनेर पनि यस्तो भीरपाखामा बाटो बन्छ ? यो देशले डोजर नभएरै दुःख पाएको हो ।

तस्वीर: ‘स्वागत क्रियशन’ युट्युवबाट

डोजर भए एकैदिन कति बाटो भस्काउँथ्यो । अनि पो गाउँको जीवन शहरसँग जोडिन्थ्यो । बिजुलीको पोल र लट्ठा गाउँमा आउँथ्यो । मोटर आउँथ्यो, मास्टर र डाक्टर आउँथे, पुलका लट्ठा आउँथे । जिन्दगी जिन्दगी जस्तो हुन्थ्यो ।

त्यसैले पनि हुनुपर्छ, बाल्यकालमा हामी सपनामा पनि डोजर देख्थ्यौं । पहिला बकेटवाला स्काभेटरभन्दा बडेमाका फाली र चेन भएका डोजरले बाटो खन्थे । टाढा टाढा एकाध ठाउँमा डोजरले जोत्दा बिहानदेखि बेलुकासम्म त्यतै झुम्मिन्थ्यौं । बाटो बनाउन अवरोध त त्यतिवेला पनि हुन्थ्यो नै ।

बाटै छेकेर लमतन्न सुत्नेहरू पनि हुन्थे । कसैले सुन्तलाको बोटलाई अँगालो हाल्थे, कसैले घाँसको बुटोलाई । अवरोध गरेर बसेकालाई डोजरले बडो जतनसँग जुरुक्क उठाउँथ्यो र आनन्दले कुनै कुनामा लगेर थपक्क राखिदिन्थ्यो । त्यो कहालीलाग्दो भन्दा पनि साहसिक दृश्य बन्थ्यो ।

तर, ५ कात्तिक सामाजिक सञ्जालमा एउटा संवेदनाहीन भिडियो सार्वजनिक भयो । बैतडीको दशरथचन्द नगरपालिकाको दृश्य थियो, त्यो । बाटो खन्न अवरोध गरेका स्थानीयलाई स्काभेटरको बकेटले अन्धाधुन्द हानेर घाइते पारिएको क्रूर र बर्बर घटना । डोजर लगाएर मान्छे पेलिएको यो घटनाले देशमा डोजर आतङ्कले कुन हद पार गरेछ भन्ने सजिलै बुझन सकिन्छ ।

गाउँगाउँमा सरकारी र निजी डोजर पुगेसँगै तिनले डाँडापाखा भत्काउने काम पाएका छन् । सरकारी बजेट सिध्याउने सबैभन्दा सजिलो माध्यम नै बाटो बनेको छ ।

खनिदिएपछि सक्कियो । भवन बनाएर वा अरू काम गरेर हिसाब मिलाउनभन्दा यसो गर्नु धेरै सजिलो छ । सरकारले रु.१ करोडभन्दा कमका योजनामा डोजर लगाउन रोकेको छ । तर, नियम पालन भएको छैन । किन पनि भने, अधिकांश ठाउँमा डोजर मालिकहरू नै वडाध्यक्ष र वडासदस्य बनेका छन् ।

काम देखाउन र दाम कमाउन उनीहरूलाई यही नै सजिलो माध्यम बनेको छ । निर्माण व्यवसायीलाई पनि मान्छे लगाउनुभन्दा डोजर सस्तो पर्ने भएकोले साना–ठूला सबै योजनामा ‘डोजर राज’ चलेको छ ।

सडक सञ्जालपरको मानव जीवन धेरै कष्टकर छ तर यसको समाधान लगाम विनाका घोडा जस्तै डोजर दौडाउनु हैन । बाटो बनाउन पहिला जमीनको सर्वेक्षण गर्नुपर्‍यो ।

बाटोको डिजाइन बनाउनुपर्‍यो । त्यसपछि बल्ल आवश्यकता अनुसार डोजर, स्काभेटर, मान्छे जे–जे चाहिन्छ त्यसको प्रयोग गर्नुपर्‍यो । डोजर पुगेको बाटोमा मोटर पुग्छ भन्ने मानसिकताले अहिले देशका समग्र डाँडापाखा छियाछिया भएका मात्र हैनन्, त्यस्ता बाटा मृत्युमार्ग पनि बनेका छन् । बाटो भन्नै नमिल्ने यस्ता संरचनाले प्राकृतिक प्रकोप निम्त्याएका छन्, दुर्घटनाहरू बढेका छन् ।

अब डोजर आतङ्कलाई लगाम कस्ने वेला भइसकेको छ । विना सर्भे, डिजाइन र इष्टिमेट खनिएका बाटालाई भुक्तानी नदिने, सानातिना योजनामा डोजर जोत्नै नदिने र नियम नमान्नेलाई कारबाही गर्न ढिलो गर्नुहुन्न । बाटो खनेको खन्यै गर्नुभन्दा अब एकाध वर्ष दुर्गम बाहेक, भएका बाटाहरूको विस्तार र स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्छ ।

डोजरकाे छियाछियाले देश बन्दैन । यो तथ्य आत्मसात् गरौं र डोजर आतङ्कको लगाम कसौं ।

 

प्रतिकृया दिनुहोस