टिप्पणी शुक्रबार, साउन २८, २०७३

मायादेवी मन्दिरको रेप्लिका जरुरी

वसन्त महर्जन

पुरातात्विक सम्पदाको असरल्ल प्रदर्शनी भएको मायादेवी मन्दिरको रेप्लिका बनाउनु आवश्यक छ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन (२९ कात्तिक–२ मंसीर, २०७१) को अघिल्लो साँझ मायादेवी मन्दिरभित्र पस्दा दुई जना कर्मचारी पुरातात्विक संरचनाहरूमाथि दगुरादगुर गरिरहेका देख्नु पर्‍यो। पंक्तिकार सम्मेलनमा तिनै पुरातात्विक वस्तुहरूको सुरक्षा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्न लुम्बिनी पुगेको थियो। ती कर्मचारी दिउँसो चढाइएका रुपैयाँ–पैसा जम्मा पार्ने हतारमा थिए। 

पुरातात्विक महत्वका चित्रकलादेखि ढुंगा–माटोसम्मलाई फोटो खिच्दासमेत फ्ल्यासले असर गर्न सक्छ भनेर निषेध गरिएको हुन्छ, मायादेवी मन्दिरभित्र पनि फोटो खिच्न दिइँदैन। तर, त्यही संरचनामाथि दौडादौड गरिरहेको दृश्यले प्रश्न उठायो– हामी पुरातत्वबारे के बुझेर, के नियम बनाएर लागू गरिरहेका छौं?

ऐतिहासिक–पुरातात्विक स्थलका साना–ठूला सबै चिजको महत्व हुन्छ। लुम्बिनी बुद्ध जन्मस्थल हो भनेर चिनाउने प्रमाण वाङ्मय स्रोतबाहेक अशोक स्तम्भ, स्तम्भको अभिलेख र अभिलेख पुष्टि गर्ने 'मार्कर स्टोन' हो। इ.पू. ५६३ वैशाख पूर्णिमाका दिन बुद्ध जन्मेको स्थल भनेर चिनाउन राखिएको स्तम्भलाई मौर्य सम्राट अशोकले बडो श्रद्धा र जतनका साथ सानो पर्खाल बनाएर राखेका थिए।

कालान्तरमा त्यस वरिपरि अन्य संरचनाहरू बने। सन् १९९३–९६ को उत्खननमा 'मार्कर स्टोन' लगायत पूर्व–पश्चिममा पाँच र उत्तर–दक्षिणमा तीन पंक्ति गरी १५ कोठाको संरचना पाइयो। यी कोठाहरू के प्रयोजनहेतु बने भन्ने प्रश्नहरू अनुत्तरित छन्।

पीपलको जराले मन्दिरको संरचनामा पुर्‍याएको क्षति रोक्न उत्खनन गर्दा 'मार्कर स्टोन' र १५ वटा च्याम्बर भेटिएको थियो। अहिलेको मायादेवी मन्दिर निर्माता सन् १९३३–१९३९ को उत्खननमा संलग्न जनरल केशरशमशेर हुन्।

उनले पुरातात्विक वस्तुहरूलाई घामपानीबाट सुरक्षित राख्न बनाएको संरचना अहिले जनमानसमा लुम्बिनीको आकृति बन्न पुगेको छ। पुरातात्विक संरचनालाई सुरक्षित राख्न मात्र बनाइएको हुनाले मायादेवी मन्दिरको यो आकृतिमा ऐतिहासिकताको अभाव छ।

उत्खननपछि पुरातात्विक सम्पदालाई छोपेर राख्ने विषयमा पटक–पटक छलफल र गोष्ठीहरू भए पनि ठोस निर्णय हुन नसक्दा असरल्ल रहिआएका छन्। मायादेवी मन्दिरको यो प्रारूपले कुनै पनि वास्तुकलाको प्रतिनिधित्व गर्दैन। यो मन्दिरको रूपमा छैन पनि।

न त यो बौद्धबिहार नै हो। झट्ट हेर्दा गोदाम घरजस्तो देखिने मन्दिरभित्र पुरातत्वको खुल्ला प्रदर्शनी छ। प्राकृतिक प्रक्रियाको तातो–चिसो अनुसार ईंटका संरचनाहरू कहिले लेउ लागेर हरियै त कहिले नूनका कारण सेतो देखिन्छन्।

श्रद्धा र धर्मचित्तले लुम्बिनी पुग्ने बौद्धहरू कुनै तामझाम वा कृत्रिम निर्माण हेर्न लालायित हुँदैनन्। उनीहरू त प्राकृतिक र सहज वातावरणको अपेक्षा राख्छन्। तर, जसै उनीहरू मायादेवी मन्दिर प्रवेश गर्छन्, उत्खनन्पछिको असरल्ल र अर्थ नखुलेका संरचनाहरूको भयावहपूर्ण दृश्य हेर्न बाध्य हुन्छन्। विशुद्ध धार्मिक भावले आएका बौद्धमार्गी हुन् वा बौद्ध जगतको आस्थाको केन्द्र अवलोकन गर्न चाहने पर्यटक, मायादेवी मन्दिरभित्रको दृश्यले सबैलाई स्तब्ध बनाउँछ।

उत्खननबाट प्राप्त पुरातात्विक वस्तुहरूलाई यसरी असुरक्षित र खुल्ला राखिनु यसलाई पर्यटकीय दृष्टिले मात्र हेरिनु वा बौद्ध श्रद्धालाई बेवास्ता गरिनु हो। मन्दिरभित्र १५ वटा साना–ठूला कोठाको गारो, एउटा गारोभित्र मार्कर स्टोन, छेवैमा मौर्य, शुंग, कुषाण र गुप्तकालका 'डिपोजिट' हरू जनाउने ढुंगा–माटोको ढिस्को र शिशु (सिद्धार्थ कुमार) लाई जन्म दिइरहेको मायादेवीको मूर्ति छन्।

पुरातात्विक वस्तुहरू प्रदर्शनका लागि संग्रहालय हुन्छ। अत्यन्तै संवेदनशील पुरातात्विक सम्पदा प्रदर्शनीका लागि 'रेप्लिका' बनाउन सकिन्छ। मायादेवी मन्दिरभित्रका मार्कर स्टोन लगायतका संरचनाको पनि 'रेप्लिका' बनाउँदा पर्यटकीय आकर्षणका साथै संग्रहालयको गरिमा पनि बढ्छ।

लुम्बिनी संग्रहालयमा रेप्लिका बनाउन पुग्ने स्थानको अभाव पनि छैन। केही वर्षअघि दक्षिण कोरियामा निर्मित मायादेवी मन्दिरको 'रेप्लिका' अवलोकन गर्न लुम्बिनीमा भन्दा ठूलो भीड लाग्थ्यो।

लुम्बिनी संग्रहालयमा मायादेवी मन्दिर र त्यस वरिपरिको 'रेप्लिका' बनाई प्रदर्शनीमा राख्न सकिन्छ। मन्दिर क्षेत्रलाई 'प्लेटफार्म' को रूप दिन सकिन्छ। कोठाहरूको संरचना हेर्दा पनि कुनै बेला त्यो 'प्लेटफार्म' नै थियो र श्रद्धालुहरू ध्यान–सूत्रपाठ गर्थे भन्ने अनुमान गर्न सकिन्छ।

१५ कोठालाई पुरेर 'प्लेटफार्म' बनाई 'बुद्धजन्म स्मारक' को पहिचानसहित लुम्बिनीको स्वरुप परिवर्तन गर्न सकिन्छ। बुद्धजन्मस्थल भनी चिनाउने अशोक स्तम्भसहितको नयाँ स्वरुपले पुरातात्विक वस्तुहरूको संरक्षणका साथै पवित्र स्थलको प्रदक्षिणा र वरिपरि बसेर ध्यान तथा सूत्रपाठ गर्ने फराकिलो वातावरण पनि बन्छ।

प्रतिकृया दिनुहोस