टिप्पणीशनिबार, २३ कार्तिक , २०७६

एउटा पहाडेको छठ अनुभूति

केदार शर्मा

मेरा मनमा छठका बारेमा प्रश्न मात्र छन्, यो लोकपर्वको सही इतिहास के होला ? छठी माईको परिकल्पना कसले ग‍र्‍यो होला ? यो हिन्दू कर्मकाण्डको प्रभाव पर्नु अघिदेखि नै यस भेकमा प्रचलित लोकपर्व हो त ?

केदार शर्मा

“छठ वैदिक विधि अनुसार मनाइने, भगवान सूर्यनारायणको आराधना गरिने हिन्दू पर्व हो” भन्ने जस्ता कुरा सुनेर र पढेर बनेका मेरा धारणाहरू त्यही छठ मनाइँदै गरेको पोखरीमा डुबेका छन् ।

यो हिमाल खबरपत्रिका (३–९ कात्तिक) को लेख ‘एउटा पहाडेको छठ तयारी’ को दोस्रो र अन्तिम भाग हो । त्यस लेखमा नजिकबाट छठ पर्व नदेखेको पहाडेको एउटा मधेशी परिवारमा पाहुना लागेर छठ पर्वमा सहभागी हुने उत्साह अभिव्यक्त थियो ।

त्यसमा अन्तरसामुदायिक आदरसम्मान र आदानप्रदानका सम्भावना बारेमा चर्चा गरिएको थियो ।

त्यस लेखमा प्रयोग भएको एउटा पद थियो ‘आदानप्रदान पर्यटन’ र त्यसलाई ‘तपाईं मकहाँ आउनुहोस्, बस्नुहोस् र यहाँ वरिपरिका मन लागेका ठाउँमा घुमफिर गर्नुहोस्, म तपाईंकहाँ आउँछु, त्यसरी नै बस्छु, त्यसरी नै घुम्छु’ भन्ने अवधारणामा आधारित सामाजिक पर्यटन भनेर व्याख्या गरिएको थियो ।

त्यसमा भने जसरी नै हामीले यस पटक महोत्तरी जिल्लाको एउटा परिवारको पाहुना भएर छठ मनायौं र दङ्ग प‍र्‍यौं ।

पुराना साथी

कुरा झण्डै चार दशक अघिको हो । म क्याम्पसमा भर्ना भएकै वर्ष, २०३५ साल चैतमा शुरू भएको विद्यार्थी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाहरूका कारण हाम्रो पढाइ खजमजिएको थियो ।

बीच–बीचमा अनिश्चितकालका लागि क्याम्पसहरू बन्द भइराख्थे र हामी घर गइरहन्थ्यौं । त्यसै वेला २०३७ सालमा मेरो भेट भयो मिथिलेश ठाकुरसित ।

मिथिलेश अञ्चल आयुर्वेद औषधालयका कर्मचारी थिए । मभन्दा झण्डै एक दशक जेठा मिथिलेश कविता लेख्थे र तिनै कविताले हामीलाई साथी बनाएका थिए । मैले भर्खरै जयशंकरप्रसादको ‘कामायनी’ पढेको र हिन्दी कविताको मोहमा परेको थिएँ ।

मिथिलेशले लेख्ने छन्द–लयमा म त्यही नौलो स्वाद र ढाँचा–पारा पाउँथें । उनले हाम्रो ठाउँ, आइतवारे, करफोकलाई ‘मेघलोक’ नाम दिएका थिए, जुन शब्द उनका कविताहरूमा कतै न कतैबाट छिरिरहन्थ्यो । उनी सुनाउँथे, “मेघलोक की अमर कहानी तुमको मैं सुनाता हुँ...”

उनी विवाहित थिए तर उनकी श्रीमती र छोरी कालिन्दी घरमै थिए । उनलाई दुई अढाइ वर्षकी छोरी कालिन्दीको न्यास्रो लाग्थ्यो, कविता लेख्थे; श्रीमती सम्झँदा कविता लेख्थे; बादलसित लुकामारी खेल्ने डाँडाहरू र कम्मरमा गाग्री बोकेर धारातिर हिंडेका युवतीहरू देखेर कविता लेख्थे ।

उनी दिनहुँ कविता लेख्थे । म आफूभित्र पनि कविपन पोटाइरहेको नवयुवक थिएँ, त्यसैले पनि मिथिलेशसित नजिकिएँ । उनका लागि पनि म राम्रै श्रोता थिएँ ।

हडतालहरू पातलिए । म ओभरसियर भएँ । उनी अञ्चल आयुर्वेद औषधालयका लेखापालको जागिर छाडेर पढ्न गएछन् । अनि हाम्रो भेट भएन ।

काठमाडौंमा २०५० सालतिर एक झल्को भेट भएको हो कि जस्तो लाग्छ । भेट भएकै भए पनि मनमा त्यस भेटका कुनै स्पष्ट तस्वीर छैनन् तर मैले उनलाई बिर्सिइनँ । उनका केही हरफहरू त मेरा ओठैमा बसेका थिए –

“हर क्षण बदली घूमा करते वादी को लिपटाये रखते
इधर उधर से आते दौडे कलियों को वह चूसा करते
इन्ही खेल को देख देख कर अपने में खोया रहता हुँ
सुन्दर सा इस प्रकृति खेल में अपने से डूब रहता हुँ
मेघलोकका अमर कहानी...”

हामी यस पटक छठ मनाउन तिनै पुराना साथी मिथिलेश ठाकुरको घर, जनकपुरभन्दा करीब १० किलोमिटर पश्चिम, महोत्तरी जिल्लाको पण्डित टोल ‘परसा’ गयौं ।

त्यति अघिदेखि नभेटेका साथी पहिल्याउँदै चाड मनाउन गएको कुरा सुनेर धेरैलाई अचम्म लाग्न सक्छ । आफ्नो आनीबानीसित कहिलेकाहीं हामी आफैं पनि अचम्मित हुन्छौं ।

हामीलाई घरमा स्वागत गर्ने र परिवारकै सदस्य बनाएर सबै कुरामा सम्मिलित गराउने ठाकुर परिवारका लागि त धन्यवाद भन्ने शब्द साँघुरो हुन्छ ।

अचम्म त त्यतिपछि भेट्दा पुराना सम्झनाका पानाहरू फरर्र पल्टेको देखेर पनि लाग्यो । मिथिलेशले हाम्रा गाउँठाउँका धेरै व्यक्तिहरूका बारेमा सोधे, मैले बताएँ ।

उनले अक्षर धमिलिइसकेका पुराना डायरीहरू पल्टाए र कविता पढे । मैले पनि एक दुइटा कविता सुनाएँ । उनले मलाई धोती र पाग लगाइदिए, मैले उनलाई टोपी लगाइदिएँ । मेरी श्रीमतीले उनकी श्रीमतीलाई थोरै भए पनि काम सघाइन् ।

मैले कहिल्यै नाम नबिर्सेकी छोरी कालिन्दी काठमाडौंमै रहिछन्, तर उनकी छोरी भने त्यहीं ‘नानीगाम’ मै भेटिइन् । कालिन्दी पछिका छोराछोरी मन्दाकिनी, रजनीश र उनीहरूका पति–पत्नी र सन्तानसित पनि भेट भयो ।

मिथिलेशले आफ्नो बृहत्तर परिवारका धेरै घरमा लगेर चिनजान गराए । वि.सं. १८६३ मा गीर्वाणयुद्ध विक्रम शाहका पालामा गुठीको ताम्रपत्र पाएको ठाकुर परिवारसँग रहेर खर्नादेखिका तीन दिन बिताउँदा हामीलाई आफू ‘ठाकुर’ नै हौं कि जस्तो भयो ।

पुनर्मिलन

मिथिलेशले इलाम छाडेपछि उनको र मेरो खास सम्पर्क भएन तर उनका काका डा. उपेन्द्र ठाकुर (स्वर्गीय) सित उहाँको जीवन रहेसम्म सम्पर्क भई नै रह्यो ।

मैले धेरै आदर गर्ने उपेन्द्र ठाकुर इलामको पूर्वीभेकमा ठूलो सुनाम कमाएका कविराज थिए । उनका छोरा डा. सिद्धार्थ ठाकुरसित म बेलाबेला मिथिलेशका बारेमा सोधिरहन्थें । फोनसोन भने गरेको थिइनँ ।

करीब चार वर्षअघि उनी झापामा कार्यरत छन् भन्ने थाहा पाएर भेट्न खोजेको थिएँ, तर सुयोग जुरेन । फोनमा कुराकानी भने भयो । हामी दुवै दङ्ग पर्‍यौं । बीचमा केही पटक कुरा भयो । यस पटक मैले फोन गरें, “मिथिलेशजी, छठ हेर्न तपाईंकहाँ आऊँ ?”

उनले ‘हुन्छ’ भन्नु स्वाभाविक थियो तर त्यो ‘हुन्छ’ ‘हुँदैन’ भन्न नसकेर भनिएको पनि हुनसक्थ्यो । त्यसैले मैले सिद्धार्थलाई फोन गरेर बुझें । अनि हामी खर्नाका दिन बिहान पण्डित टोल ‘परसा’ पुग्यौं ।

छठको पाठ

छठ एउटा अनौठो पर्व रहेछ । मैले जन्मदेखि मृत्यु संस्कारसम्मका कुनै पनि ‘हिन्दू’ धार्मिक अनुष्ठान पुरोहित, संस्कृत, दीप–कलश–गणेश, अग्निस्थापना, चामल र गोदान–दक्षिणा विना सम्पन्न भएको देखेको थिइनँ ।

छठलाई यी सबैबाट मुक्त देख्दा म चकित भएँ । “छठ वैदिक विधि अनुसार मनाइने, भगवान सूर्यनारायणको आराधना गरिने हिन्दू पर्व हो” भन्ने जस्ता कुरा सुनेर र पढेर बनेका मेरा धारणाहरू त्यहीं, छठ मनाइँदै गरेको पोखरीमै डुबे ।

छठ सही अर्थमा लोक पर्व, लोक अनुष्ठान रहेछ । मैले त त्यहाँ ‘सूर्यको आराधना’ पनि देखिनँ, मैले त अघिल्लो साँझको सूर्यास्त र भोलिपल्टको सूर्योदयको मौकामा ‘छठी माई’ को मौन प्रार्थना गरिएको मात्र देखें ।

अब मेरा मनमा छठका बारेमा प्रश्न मात्र छन्, यो लोकपर्वको सही इतिहास के होला ? छठी माईको परिकल्पना कसले ग‍र्‍यो होला ? यो हिन्दू कर्मकाण्डको प्रभाव पर्नु अघिदेखि नै यसभेकमा प्रचलित लोकपर्व हो त ? कि पछि उब्जेको पुरोहितहरूप्रतिको विद्रोह ?

बनारसले ‘छठको पूजाविधि’ किन बनाएन ? ब्राह्मणहरूले किन यसमा हस्तक्षेप गरेनन् ? अरू कुरामा शास्त्रीय विधिबाट कर्मकाण्ड गर्ने व्यक्तिहरू समेत किन छठलाई प्राकृत सरलताका साथ मनाउँछन् ?

मेरा मित्र, कवि धीरेन्द्र प्रेमर्षि भन्छन्, “मिथिलामा धेरै कुरा ‘लोकवेद’ अनुसार चल्छ । ‘लोकवेद’ नयाँ शब्द होइन, यो शब्द परम्परादेखि प्रचलित नै छ । छठ मात्र होइन, जितिया, सामा चकेवा, मधुश्रावणी, जूडशीतल सबै लोकपर्वहरू यसरी नै मनाइन्छन्, यी कुनैमा पनि कर्मकाण्ड हुँदैन ।” म थप आश्चर्यचकित भएँ ।

मित्र प्रेमर्षिलाई छठमा घुस्दै गरेको धार्मिक आडम्बरसित दिक्क र डर लाग्न थालेको छ । “मैले गाउँमा हुँदा कहिल्यै नदेखेको छठी माईको मूर्ति काठमाडौं आएर देखें ।

छठमा माटाका नयाँ भाँडा मात्र प्रयोग गर्ने चलन थियो, अहिले पित्तलका वर्तनहरू किनिन थालेको पनि थाहा पाएको छु । यो आआफ्ना खेतबारीमा उब्जेका अन्नबाली, तरकारी चढाएर धनी गरीब सबैले समानरूपमा मनाउने पर्वलाई बिटुलिन नदिन धेरै प्रयत्न गर्नुपर्ने भएको छ ।”

मधेशी मस्ती

छठ मूलतः मधेशमा मनाइन्छ, तर त्यसको परोक्ष प्रभाव भने काठमाडौंमा पनि निकै पर्छ । तिहारपछि, छठ नसकिएसम्म काठमाडौंमा हजाम, प्लम्बर, इलेक्ट्रिसियन केही पाइँदैनन् । कतिपय मैथिल डाक्टरका क्लिनिक बन्द हुन्छन् । कैयन् शिक्षक तिहारको विदा लम्ब्याएरै घर बसिदिन्छन् ।

महिलाले व्रत त तीजमा पनि बस्छन्, तर तीजका लागि छुट्टीमा कुनै पहाडे घर जाँदैन । छठमा पनि महिलाले नै व्रत बस्ने हो, तर छठका वेला सकेसम्म सबै मैथिल मधेशी घर पुग्छन्, पुग्दा रहेछन् र, बडो रमाइलो गर्दा रहेछन् । के कर्मचारी, के व्यापारी–व्यवसायी, के युवा–विद्यार्थी सबै नै भेला हुँदा रहेछन्, पारिवारिक अन्तरसम्बन्धहरू नवीकरण गर्दा रहेछन् ।

मिथिलेशले भने पनि, “अब भोलिदेखि यी सबै घर रित्ता हुन्छन्” र थपे, “तर हरेक वर्ष नवरात्रिदेखि छठसम्म गाउँहरू गुल्जार हुन्छन् ।”
स्वाभाविक हो, सबैले सधैं गाउँमै बसेर आधुनिक संसार चल्दैन । तर त्यहाँ नवयुवाहरूको जुन किसिमको सहभागिता देखियो, त्यसले यो लोकसंस्कृति र लोक अनुष्ठानको आयु निकै लामो छ भन्ने चाहिं स्पष्टै देखायो । ल

प्रतिकृया दिनुहोस