कला/साहित्यशनिबार, २३ कार्तिक , २०७६

फिल्म साउथएशिया २०१९: भयशून्य चित्तका वृत्तचित्र

शुष्मा बराली

फिल्म साउथएशिया महोत्सव पाकिस्तान र बाङ्लादेश जस्ता देशका निर्देशकहरूले समेत विना कुनै सङ्कोच तिनका भावना र विचार आदान–प्रदान गर्न सक्ने साझा चौतारी हो।

व्यावसायिक फिचर फिल्मले कब्जा गरेको फिल्मी दुनियाँमा वृत्तचित्र विधाप्रतिको मोह अहिले बढ्दै गएको छ । पछिल्लो समय वृत्तचित्रले विगत र आगतका सामाजिक क्रियाकलापलाई कलात्मक र आकर्षक ढङ्गले प्रस्तुत गरेर हरेकको ध्यानाकर्षण गर्न सफल भएको छ ।

‘फिल्म साउथएशिया २०१९’ ले दक्षिण एशियामा निर्माण गरिएका वृत्तचित्रका निर्देशक र पारखीहरूलाई एउटै मञ्चमा उभ्याउँदै आएको छ ।

महोत्सव कला र समाजका यथार्थलाई जीवन्त ढङ्गले वृत्तचित्र मार्फत प्रस्तुत गर्ने निर्देशकलाई एउटै मञ्चमा उभ्याएर साउथएशियाकै बारेमा जानकारी दिने सजिलो माध्यम भएको फिल्म साउथएशियाकी निर्देशक मितु बर्मा बताउँछिन् ।

उनका अनुसार वृत्तचित्रले गैरआख्यान कथा मार्फत समाजको यथार्थ जनतासामु प्रस्तुत गरेर धेरैको मन जित्ने प्रयत्न गरिरहेको छ । “हरेक मान्छेका छुट्टाछुट्टै कथा हुन्छन्, जसको कथा र संघर्ष धेरैका लागि प्रेरणा बन्न सक्छ”, उनले भनिन् ।

सन् १९९७ देखि शुरु भएको फिल्म साउथएशियाको यो महोत्सव १२औं संस्करण हो । यो महोत्सव यही २८ कात्तिकदेखि १ मंसीरसम्म यलमाया केन्द्र, ललितपुरमा शुरू हुने भएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने फिल्म साउथएशिया २०१९ को नारा यसपटक ‘ह्वेयर द माइन्ड इज फ्रि’ रहेको छ ।

नारा रवीन्द्रनाथ टैगोरको प्रसिद्ध कविता ‘ह्वेयर द माइण्ड इज विथआउट फियर’ बाट प्रेरित भई राखिएको निर्देशक बर्मा बताउँछिन् । उनी भन्छिन्, “फिल्म साउथएशिया हरेकले स्वतन्त्रता र हकअधिकारका कुरा गर्न सक्ने साझा चौतारी हो, जहाँ पाकिस्तान र बाङ्लादेश जस्ता देशका निर्देशकहरूले समेत विना कुनै सड्ढोच तिनका भावना र विचार आदानप्रदान गर्न सक्छन् ।” उनले अगाडि भनिन्, “घुमफिर गर्ने र वाक्स्वतन्त्रता अनुभूति गर्न नपाएका देशका नागरिकलाई समेत विचार गरेर नारा तय गरिएको हो ।”

फिल्म साउथएशिया महोत्सवले व्यावसायिक फिचर फिल्मले मात्र निर्देशक वा फिल्म निर्माता बन्न सकिन्छ भन्ने दृष्टिकोणलाई गलत सावित गरेको बताउँछिन्, निर्देशक बर्मा ।

“कम समय र लगानीमा तयार पारिएका वृत्तचित्रको माध्यमबाट नयाँ निर्देशक र निर्माताहरूलाई ऊर्जा र अवसर उपलब्ध होस् भनेर फिल्म साउथएशियाको शुरुआत गरिएको हो” उनी भन्छिन्, “फिल्म साउथएशिया वृत्तचित्रप्रेमीहरूको लागि अवसर जुटाउने उत्कृष्ट मञ्च हो ।”

‘फिल्म साउथएशिया २०१९’ मा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलड्ढा, भूटान र बाङ्लादेश लगायतका देशबाट २५०० वृत्तचित्र प्राप्त भएका थिए ।

तीमध्येबाट ‘मेन सेलेक्सन’ मा ५२ र ‘स्टुडेन्ट फिल्म’ अन्तर्गत १२ गरी ६४ वटा वृत्तचित्र प्रदर्शन गरिने महोत्सवका सहायक निर्देशक आलोक अधिकारी बताउँछन् । महोत्सवको पहिलो दिन २८ कात्तिकमा यलमाया केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ः३० बजेसम्म तीन वटा हलमा ‘स्टुडेन्ट फिल्म’ को छनोटमा परेका १२ वटा वृत्तचित्र प्रदर्शन गरिनेछ ।

यो वर्ष प्रदर्शन हुने ६४ वृत्तचित्रहरूमध्ये ५२ वटाले उत्कृष्ट पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धामा उत्कृष्ट हुने वृत्तचित्रले रामबहादुर ट्रफी सहित दुई हजार अमेरिकी डलर, द्वितीय हुने वृत्तचित्रले एक हजार अमेरिकी डलर पुरस्कार र ‘डेब्यू’ निर्देशकको उत्कृष्ट वृत्तचित्रले ‘तारेक मसूद पुरस्कार’ अन्तर्गत एकहजार अमेरिकी डलरको पुरस्कार प्राप्त गर्नेछन् ।”

बालबालिकाको विषयमा केन्द्रित भई तयार पारिएका वृत्तचित्रहरूमध्ये उत्कृष्ट वृत्तचित्रले ‘युनिसेफ पुरस्कार’ स्वरुप एक हजार अमेरिकी डलर र ‘स्टुडेन्ट फिल्म’ तर्फ उत्कृष्टले ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस वर्षको महोत्सवमा पत्रकार कुन्द दीक्षित, भारतीय भिजुअल आर्टिस्ट आयशा अब्राहम र श्रीलड्ढाकी फिल्म मेकर सुमाथी शिवामोहन गरी तीन जना निर्णायक रहेका छन् ।

फिल्म साउथएशिया २०१९ मा

समावेश केही वृत्तचित्र – वी आर वीथ डा. केसीः नेपाली निर्देशक गोपाल शिवाकोटी र गोविन्द शिवाकोटीद्वारा निर्मित वृत्तचित्र नेपालका डा. गोविन्द केसीको अनशनका विषयमा केन्द्रित छ । डा. केसीका पक्षमा उभिएका जनता र जनताको लागि अनशनमा उत्रिएका डा. केसीको कथालाई वृत्तचित्रमा बुनिएको छ ।

सिक्स फिट अन्डरः भारतका निर्देशक सानु कुम्मिल निर्मित यो वृत्तचित्र भारतको दलित बस्तीमा केन्द्रित छ । विभेद र चरम आर्थिक अभाव बेहोर्न बाध्य दलित बस्तीका बासिन्दाले लाश गाड्ने ६ फिट जमीन समेत नपाउँदाको अवस्था वृत्तचित्र मार्फत देखाइएको छ ।

अ डाइङ वीश्ः भारतका निर्देशक शुभरा दीक्षितले निर्माण गरेको यो वृत्तचित्र भारतीय जोडीको मृत्युसँग सम्बन्धित कथा हो ।

इच्छा अनुसार मर्न पाऊँ भन्ने एक जोडीको कथा उक्त वृत्तचित्रमा कलात्मक तरिकाले प्रस्तुत गरिएको छ ।

अबुः पाकिस्तानी निर्देशक अर्शाद खानद्वारा निर्देशित यो वृत्तचित्र बुबा र छोराबीचको कथा हो । वृत्तचित्रमा आफू ‘तेस्रोलिङ्गी’ हुँ भन्ने कुरा आफ्ना बुबालाई कसरी व्यक्त गरे र त्यसपछि बुबाले दिएको प्रतिक्रिया सृजनात्मक शैलीमा प्रस्तुत छ ।

एन् इन्जिनियर्ड ड्रिमः भारतका निर्देशक हेमन्तकुमार गावाको यो वृत्तचित्रमा विशेषगरी कोटामा नाम निकालेर इन्जिनियर पढ्नेहरूको संघर्षको कथा हो ।

द विन्टर ट्यापः ‘स्टुडेन्ट फिल्म’ को विधामा पर्न सफल नेपाली वृत्तचित्र हो । आशिष लिम्बू र देविन राईले निर्देशन गरेको यो वृत्तचित्रमा मुहानबाट घरसम्म पानी ल्याउने तरिकालाई कथा मार्फत देखाइएको छ ।

स्क्र्याचेज् अन सेलुलोइडः पाकिस्तानी निर्देशक विन्ध्या बुथपितीया र तिमोथी पि.ए कोपरद्वारा निर्देशित वृत्तचित्र हो, ‘स्क्र्याचेज् अन सेलुलोइड’ । पाकिस्तान र श्रीलड्ढामा रहेका पुराना थिएटरहरूको बारेमा केन्द्रित रही तयार पारिएको यस वृत्तचित्रमा फरक कथा रहेको उनले बताए ।

लिसन्ः म्यानमारका निर्देशक मिनमिन हेनद्वारा निर्देशित ‘लिसन्’ वृत्तचित्र म्यानमारमा एक कलाकारले गरेको संघर्ष, बाधा–अवरोधसँगै सफलताको कथा हो ।

प्रतिकृया दिनुहोस