दस्तावेज शनिबार, कात्तिक १६, २०७६

नेपाल– भाेट युद्ध : सैनिक बस्ने थर्पु निर्माण

ज्ञानमणि नेपाल

भोटसँगको सीमा क्षेत्रमा अन्न र युद्धसामग्री लैजाने क्रमसँगै सैनिक बस्ने थर्पु (अस्थायी शिविर) बनाउने काम पनि धमाधम भइरहेको थियो।

ज्ञानमणि नेपाल

भोटसँग युद्धको तयारीका क्रममा आवश्यक सरसामान यथा–समयभित्र तोकिएका स्थानमा पुर्‍याउने काम तीव्र पारिएको थियो । अन्न र युद्धसामग्री त लगिने नै भए, फौज रहँदा बस्दा चाहिने कोदालो, बन्चरो, गल–खन्ती, मार्तोल, चुप्पीहरू पनि लगिंदै थियो ।

एक भारी सामान बोक्न खाजा सामल बोक्ने सहित दुई जना भरिया लगाउनुपर्थ्याे। २८६ जना पिपामध्ये १२० मात्र रहेकाले समयमा सामान पुर्‍याउन चुनौती थियो । यसबारे भरिया नाइके सुवेदार भवानीसिंह स्वाँरले बताएपछि पाल्पाबाट जर्नेल बद्रीनरसिंह राणाले दाइ एवम् प्रधानमन्त्री जङ्गबहादुर राणालाई चिठी मार्फत जानकारी गराए ।

त्यसपछि जङ्गबहादुरले पश्चिमका बडा कप्तान जङ्गध्वज राणालाई सामान ढुवानीको व्यवस्था मिलाउन अह्राए । श्रीशमशेरजङ्ग पल्टनमा जङ्गी निशान बोक्ने दुई जना राखी अरू सिपाही र पल्टनका १२० पिपालाई त्यहाँको काम नबिग्रिने गरी पठाइदिने तजबिज मिलाइयो ।

जङ्गबहादुरले त्रिशूलीबाट रसुवा निस्किन कुन बाटो सोझाे र सजिलो होला भन्ने हेरेर खबर गर्न मेजर कप्तान दलजित विष्टलाई अह्राएका थिए ।

उनले दुई–तीनतिरका बाटो हेरेर पल्टन जान सक्ने र तोप लैजान पनि सजिलो हुने मूल बाटो नै उपयुक्त हुने जवाफ चिठी मार्फत पठाए । विष्टले रसुवा जाने बाटोमा पर्ने पाँच सय खोलामा घट्ट तयार पार्न ढुङ्गाको काम गर्ने डेढ–दुई सय कालिगड आवश्यक पर्ने र हाँडी बनाउन कुमालेहरू आउने क्रममा रहेको पनि लेखेका थिए ।

कप्तान भैरवबहादुर पाण्डे मार्फत एक हजार पिपा र श्रीरणप्रियदलको दुई पल्टन रसुवा पठाइएको थियो । त्यसवेला १८ वटा गोदामघर बनाउने काम भइरहेको थियो । हेटौंडाबाट धर्मनारायण साहुको गोदामबाट रसद बोकेर गएका ती पिपालाई गोदामघर निर्माणमा सहभागी गरेर काम छिटै फत्ते गर्न जङ्गबहादुरले अह्राएका थिए ।

जमदार अ‍ैमानसिंह खत्रीले रसुवामा चारै दिशा राम्ररी देखिने अग्लो डाँडामा घर बनाएका थिए । त्यसैको नजिक सैनिकहरू बस्ने ६०\६० हात लामो दुई वटा घर बनाउन मेजर कप्तान विष्टलाई भनिएको थियो ।

त्यसभन्दा माथि चौकी बस्न र गोलीगठ्ठा राख्न अर्को घर बनाउन अ‍ैमानलाई लगाइएको थियो । सैनिक बस्ने थर्पुका लागि मूल बाटो नजिकैको जग्गामा ढुङ्गाका घर बनाउन उपयुक्त ठानिएको थियो ।

विष्टले प्रधानमन्त्रीलाई लेखेको चिठीमा विभिन्न ठाउँमा बनेका र बन्ने क्रममा रहेका सैनिक बस्ने थर्पु र तबेलाहरूको विवरण समेत उल्लेख गरेका थिए ।

जङ्गबहादुर राणाले जर्नेल बद्रीनरसिंह कुँवर राणालाई लेखेकाे पत्र–

उप्रान्त श्री ५ सरकारको जम्मा खडा गर्नामा कबुल गर्छाैं. तिमिहरू जो भन्छौ भनि रोजाईमा खडा गर्नामा कबुल गर्छन् भन्या बढीया भयो. लड्नमा कबुल गर्छन् भन्या हजुरको व्यवहार परमार्थमा र केहि हानि छैन भन्या विस्तार समेत जो लेखि पठायौ, तैले लेखि पठायाको कुरा मुनासिव हो. केहि सकिन्या कुरा छन् केहि नसकिन्या कुरा छन्. यस्तो छ तापनी आट्या पछि गर्न पर्छ. वाकि गठ्ठा ११५, पथ्थर ४८६९ हजुरका फर्मायस पीपा ५८, काठका संदुस पीपा ३६, पुराना बेकम्बा सजायाको पिपा १५५, ज्मापीपा २४९ तयार गर्‍या सुजनी १४१, मार्तौल ५१, मर्हटि १००, कमानि फुकालन्या सनासो २०, कोदालो २, कोदाली २, गल १, खन्ती १, बन्चरो २, चुपि २, चिराक कुपि ४ पनि तयार भयो. काठका सन्दुख पिपा १ के भरिया २ का हिसाबले कोदालीहरू वोकन्या समेतके ज्मा भरिया २८६ मध्ये १२० छन् अरुको ठेगाना छैन. येस हिसाबले भरियाले असवाफ उठिनसकला भन्या जस्तो लाग्दैन भनि लेख्याका कुरालाई २ जनाले बोकन्या माथिको तजविज गर्दा १ भरिया वेरामि भयो भन्या त्यो भारि अडकन जोरि बनाउन्या काम गर्नु. मानिस सबै खारेज भयापछि येस छुरुवा जिल्लामा १२ साललाई मबाट काम पुगी सक्दैन भनि सुवेदार भ्वानसिं स्वारले लेखिपठायेछ. ञाहा भन्या तेस जिल्लाको मेसो पाउन्या माथवर मानिस कोहि छैन भनि लेख्या कुरालाई तेस जगाको सट्टापट्टा मिलाइदिउ कि भनि लेखि पठाइ दिउँकि भनि येहि जगा थामियो. रुपैया येसै स्वारलाई थामिबक्स्या वेलावेलामा पल्टन २ ले पाउन्या छन् भन्या कुरा तिमिबाट लेखिआउँदा थामिदियाको हो. असुल तहसिललाई तिमिसँग रह्याका येक सय नाल मध्ये असुल तहसिललाई दिदा वन्दोवस्त गन्र्या काम गर्‍या वढिया होला. श्री सम्सेरजंगका पिपा सवै ताहा झिकाउनु. श्री वरख पल्टनलाई तारो हान्न सिकाउनु भन्या कुरा अघि भयाको हो. सो कुरा भया नभयाको, भया बढियै भयो. नभयाको भया श्री सम्सेरजंगका पिपामध्ये पल्टनका निसान लाई पिपा जना २ राखि अरु सवै साहिला भाइका जिम्मा पठाइदिनु भंन्या बडा कपतान जंगध्वज कुवर राणाजीलाई लेखिगयाको छ. ति सम्सेरजंगका पिपा झिकि ताहा राखन्या. २ पल्टनलाई तारा हांन सिकाउन्या काम गर्नु. श्रीवरख पल्टनमा ११ सालका बालीलाई थपयाको लेफ्टन भैरवसिं कुवर राणाजीका लेफ्टेनी बालीको लालसुवाका नाउमा दस्खत गरि पठाइदियाको छ. सो वमोजिम लिन्या काम गर्या वढिया होला. श्रीवरख पल्टनका ज्मा खटीयाका बखतलाई श्रीवरखका १२० पिपा र सम्सेरजंगबाट झिकीयाका पिपा ज्मागरि पल्टन खटिदा हर्कत नहुन्या गरि सिकाई सधाई ज्मा गरि राखन्या काम गर्नु. शुभम्.
मार्गसुदि २ रोजमा

जङ्गबहादुर राणालाई मेजर कप्तान दलजित विष्टले लेखेको पत्र–

उप्रान्त त्रिशुलगंगा पारि देउराली थुमवनवाट रसुवा निस्कन्या गोकर्ण सिंधु भन्ज्याङ कुन्डबाट हिउको डाडो नाघि स्याफ्रु तन्र्या बाटो हेर्न पठाई मुलबाटो भन्दा पनि टाढा पनि रहेछ विकट पनि रहेछ भन्या मुलबाटो बनाउनु. तोप लस्कर एकैबाटो लैजानु पर्छ. एक बाटो तोप एक बाटो लस्कर हिडाउनु हुँदैन. सोहि पाटसंग बाटोको तजविज गरि वनाउन्या काम गर. पानसये खोलामा डेढसये घट्ट तयार गर्नुपर्‍यो. सये डेढसये ढुंग्या कर्मि पठाइदिनु भनि तिम्रा छोरालाई उर्दिदियाको छ. २\४ दिनमा पठाई देला. घट बनाउन लाउनु. हाडि तुल्याउनालाई कुमाले पनि आउन्याछन्. कप्तान भैरवबहादुर पाण्डे मार्फत येक हजार पिपा र श्रीरणप्रीयदलका पट्टि २ पठायाको छ. हजार पिपा धर्मनारान मार्फत रसद बोकिल्याउन्या छन्. रसद राख्न्या घर १८ तयार हुन्ज्याल ति सिपाइ र पिपा लाई चाडो तयार गर्नु. काम सकिया पछि धर्मनारान मार्फत नुन बोकाई पठाउनु. ताहाका कामकुरालाई जौन कुराको मदत पुग्दैन, विंति गरिपठाउनु मदत दि पठाउला. रैतिहरूले ल्यायाको रसद तुरंत भरि रसिद दिनु भनि ज्यामादार अ‍ैमान खतृलाई अह्राउन्या काम गर्नु. दाउरा कटाइराख्नु भन्या मर्जि भै आयाका अर्थ जोग्य हो. त्रिशूलगंगापारी देउराली थुमवनको बाटो गबैया ढाक्र्या मात्र चल्दा रह्याछन्. पैरो विकट पनि रहेछ. सिंधु डाडो तेर्छो गै सूर्या कुन्डलको बाटो वस्ति नभयाको हिउले आजकाल वन्द गरेछ. जेठ असारमा मात्र खुल्दछ. त्यो पनि विकटै ठहर्छ. लस्कर तोप येकैबाटो हिडाउनालाई भरमगदुर गरि ६ पंनि ९ पंनि तोप निकालन्या गरि भिर गौडा गल्फा मगार येकवार फल्याक वलीयो फराक गरि बनाउनु भनि कप्तान सताराम खतृलाई अह्रायाको छ भरमगदुर गर्ला. पानसये खोलाका रैतिले जोभयाको अंन ढेसालाई दिनुपर्दैन आफु खाइ तार घाट बाटा बनाउनु नुन बोकाउनु पर्दैन भनि मर्जि आउँदा साह्रै राजि भया. अंन खानपाया पछि हामिले गर्न्या टहल भरिसक्य गर्छौं भन्छन्. स्याफ्रु वरावर भन्याका जगा साह्रै वढीया ठाउँ हेरि ज्यामादार अ‍ैमान खत्रीले घर बनायाछन्. उभो भन्या २ दिनको बाटो रसुवासम्म देखिन्छ उधो पनि देखिन्छ. मुल बाटादेखि कोसभर गोसाइथानपट्टि रहेछ. केरुं सम्म लस्कर चढदा मालिकले वस्नु पनि हुन्या रहेछ. घर पनि मजगुति गरि परिपाठसंग बनायाछन्. तेसैठाउँमा ६० । ६० हात लामा घर २ बनाउनु भनि जगा देखाइ आञ्यौं. केहि विकट पनि रह्याछन्. वनाउनाका तर्जुमा लागदछ. ताहापछि रसुवादेखि डेढ कोस वढो पुरानु तिमुर्‍या भन्याको जगा वढिया रहेछ. सेवाना नाघि प्याङफेदिसम्म पनि देखिन्या टिमुर्‍या व्यासि मुलबाटादेखि पौने कोसभर अबाटो उचा ठाउछ. तेसै ठाउँमा घरको तजवीजगरि बनाउनलाई ज्यामादार अ‍ैमान खतृलाई खटायाको छ. रसदघरमा पहराचौकि गर्नलाई गोलीगठा भयाको ज्यामादार झुडिकाे पट्टिलाई खटाई दिञा. नौचन्दा पनि उहिछ. आयाका गुन्टा र रसद पनि बुझि थन्क्याउनु भनिलायाको छ. चलाउन आउदो रहेनछ. अरु जगाजगाको मुलबाटामा कहि ढुंगाका घर मसाला पनी छन्. कहि वरालि जगा पर्‍याका ठाउमा थर्पु तयार पनि भया अरु पनि बनाउन लायाको छ. घट्ट बनाउनालाई ताहाका मानिस भन्दा खानाका बन्दोवस्त भया भोट्याहरूले बनाउन्या रह्याछन्. हिउँको जगा दोचा वखु लाई काम गन्र्या जिउका बलिया चाडो पनि तयार गर्नान् कि भन्याजस्तो लाग्छ. मुलबाटाको सरासर चलन्या रसदलाइ बन्याका थर्पुको अडा र घर बन्ने ठाउँको फाटका पुर्जीले जाहेर होला. घटलाई चाहिन्या पक्की छुरा मानि फाली छिना तयार भैआया ञाहिका भोट्याहरूले बनाउनन्. पछि नपुग्या विंति चह्राउला. हाडिगाग्रा पार्नालाई वेत्रावतिदेखि वटारसम्म जाहा वढिया माटो मिल्ला तेसै ठाउँमा पार्न लाउला. वटार कुमाललाई अरुकाम केहि लायाको छैन. भाँडाको काम गराउँछौं. धुनच्याको साघु बनाउन मिहिनत पर्न्या रहेछ र साघुमा २\४ दिन बसि बनाउन लाउछु वेत्रावतिका साघुलाई जतिदिन बस्नपर्ला बसि बनाउला. मुलबाटामा बासथर्पु बन्याका जगाका नगीचमा दारुवालाई रुख ढलाउला.
मार्ग शुदि ४ रोजको

प्रतिकृया दिनुहोस