कला/साहित्यबिहिबार, १४ कार्तिक , २०७६

फिल्म 'द स्पन्सर' : विकास सहायतामाथिको कलात्मक व्यंग्य

रविन गिरी

दाताको सहयोगका नाममा गरीबको भावना र सामाजिक भाष्यमाथि खेल्ने शहरी मध्यमवर्गीय सोच विरुद्ध दरिलो व्यंग्य चलचित्र ‘द स्पन्सर’ मा देख्न पाइन्छ।

सन् १९३० को दशकमा अमेरिकाबाट शुरु भएको महामन्दी (ग्रेट डिप्रेसन) बाट बेलायत पनि अछुतो रहेन । यो आर्थिक संकटकै बेला बेलायतका अर्थशास्त्री जोन मेनार्ड केन्सले एउटा सपना देखे– बीसौं शताब्दीभित्रै विकसित देशहरूबाट चरम गरीबी अन्त्य गर्ने ।

यसका लागि राज्यले लगानी बढाउनुपर्ने, कर घटाउनुपर्ने जस्ता सूत्र लागू गर्न उनले सरकारलाई आग्रह गरे । केन्सको यो सिद्धान्त केञ्जियन नामले चर्चित छ ।

केन्सले भने जस्तै एक्काइसौं शताब्दीको सँघारमा पुग्दा विकसित देशहरूमा चरम गरीबी मुख्य समस्या रहेन ।

‘द इण्ड अफ पोभर्टीः हाउ वी क्यान मेक इट ह्यापन इन आवर लाइफटाइम’ पुस्तकमा प्रसिद्ध अमेरिकी अर्थविद् जेफ्री स्याक्स लेख्छन्– ‘हो, हामीलाई केन्सको जस्तै एउटा यस्तै विश्वप्रतिबद्धता चाहिएको छ, जसले सन् २०२५ सम्ममा विश्वबाटै चरम गरीबी हटोस्, यो कुनै भविष्यवाणी होइन, नगरी नहुने काम हो ।’

स्याक्सले यस्तो लेखेको पनि १४ वर्ष लागिसकेको छ र गरीबीको त्रासदीबाट पार पाउन अब विश्वलाई मुश्किलले पाँच वर्ष दुई महीना मात्र बाँकी छ ।

के उनले घोषणा गरेकै समयमा नेपाल लगायत तेस्रो विश्वका जनता हातमुख जोर्ने संघर्षबाट मुक्त होलान् ?

तिहार लगत्तै प्रदर्शन तय गरिएको प्रणय लिम्बू निर्देशित चलचित्र ‘द स्पन्सर’ चरम गरीबीको कथा हो । सुनसरीको सप्तकोशी नदी किनारमा माछा मारेर जीवन धान्ने, बसाइँ सरिरहने अति सीमान्तकृत गुडी जातिकी नौ वर्षीया कौशिकीमा चलचित्र केन्द्रित छ ।

सानैमा बुबाआमा गुमाएकी उनी हजुरआमा र काकासँग बस्छिन् । रक्सी खाने काका र हजुरआमा दुवैबाट कौशिकी त्रासपूर्ण बाल्यकाल बिताइरहेकी हुन्छिन् ।

निरन्तर उकालो लागेको वैदेशिक सहायताले मुलुकमा कति विकास भयो ? कति गरीब मध्यम आयमा रुपान्तरित भए ? समग्रमा देश कुन हदसम्म आत्मनिर्भर भयो ? यसको पछिल्लो तस्वीर भूकम्प र नाकाबन्दी हुन्, जसले देशको आर्थिक दुर्बलता छर्लङ्ग देखाइदिए ।

विद्यालयको अनुहार नदेखेकी उनलाई उद्धार गर्न एक गैरसरकारी संस्था (एनजिओ) का प्रतिनिधि आइपुग्छन्, जोमार्फत अमेरिकामा रहेका ‘स्पन्सर’ ले कौशिकीलाई अनेक सन्देश सहितका चिट्ठी, उपहार र केही रकम पठाइरहन्छन् ।

‘स्पन्सर’ ले कौशिकीलाई एकदिन अमेरिका नै लैजाने वाचा समेत गर्छन् ।

कथाले मोड त्यतिबेला लिन्छ, जतिबेला एक्ला अमेरिकी ‘स्पन्सर’ को मृत्युको खबर आउँछ । अरु बेला निजी जीवनलाई पनि उत्तिकै ध्यान दिन सुझाउने उनका हाकिम यतिवेला भने परियोजनाका काममा यान्त्रिक बन्न निर्देशन दिन्छन् ।

नेपालमा औपचारिक रुपमा वैदेशिक सहायताको सात दशकको इतिहास छ । निरन्तर उकालो लागेको वैदेशिक सहायताले मुलुकमा कति विकास भयो ? कति गरीब मध्यम आयमा रुपान्तरित भए ? समग्रमा देश कुन हदसम्म आत्मनिर्भर भयो ? यसको पछिल्लो तस्वीर भूकम्प र नाकाबन्दी हुन्, जसले देशको आर्थिक दुर्बलता छर्लङ्ग देखाइदिए ।

त्यसो भए नेपालका नाममा आएको वैदेशिक सहायताले वास्तवमा कसको ‘सहायता’ गरिरहेको छ ? यसबाट समाजको कुन तप्का लाभान्वित भइरहेको छ ? देशका लागि बाध्यता र कुलत दुवै बनेको वैदेशिक सहायताबारे यस्तो संकथन जति छिटो थालियो उति नै मुलुकको अर्थतन्त्र भड्खालोमा पर्नबाट जोगिन सक्छ ।

पुस्तक ‘इनसाइड आउट’ मा सरकारका पूर्व राजस्व सचिव लालशंकर घिमिरेले नेपाल वैदेशिक सहायताको चंगुलमा नराम्रोसँग फसिरहेको बारे चिन्ता व्यक्त गर्छन् ।

“दाताको विभिन्न स्वार्थ, दबदबा, रणनीतिक र राजनीतिक अभीष्टप्रेरित वैदेशिक सहायतालाई स्वीकार्दै जाने हो भने मुलुक परनिर्भरताको भासमा निस्कनै नसक्ने गरी फस्नेछ”, घिमिरेको निष्कर्ष छ ।

‘द स्पन्सर’ यही भावभूमिमा उनिएको यस्तो चलचित्र हो, जसमा दाताको सहयोगका नाममा गरीबको भावना, सामाजिक भाष्यमाथि खेल्ने र कौशिकी जस्तालाई ‘आश्रय’ दिने शहरी मध्यमवर्गीय सोच विरुद्ध दरिलो व्यंग्य छ ।

आरबीए फिल्मका लागि रुद्र गुरुङले निर्माण गरेको चलचित्रमा प्रवीण खतिवडा, कामेश्वर चौरसिया, ग्रीष्मा नेपाल, रेखा कर्ण र एलिना श्रेष्ठको प्रशंसनीय अभिनय छ ।

‘इतिहास जित्नेहरूका लागि’ र ‘क्षमा देऊ... तर नबिर्स’ जस्ता वृत्तचित्र मार्फत आफूलाई प्रयोगधर्मी निर्देशकका रुपमा चिनाएका लिम्बूको यो अर्को परिपक्व प्रयोग मान्न सकिन्छ ।

प्रतिकृया दिनुहोस