समाचार बुधबार, कात्तिक १३, २०७६

दाजुभाइ नहुनेले तिहारमा मनाए ‘दिदीबहिनी टीका’ (तस्वीरसहित)

लक्ष्मी बस्नेत

दिदीबहिनीले दाजुभाइलाई लगाउने तिहारको ‘भाइटीका’ को दिन यस पटक धेरै चेलीबेटीले एक-आपसलाई नै टीका लगाएर मनाएका छन्। दाजुभाइ नहुनेले निधार खाली राख्नु वा अरुलाई दाजुभाइ बनाएर टीका लगाउनुको साटो नयाँ शुरुआत गरेको उनीहरु बताउँछन्।

पत्रकार, अधिकारकर्मी, कलाकारले दिदीबहिनी टीकाको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। तिनैमध्येकी सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्माले फेसबुकमा दुई छोरीले एक-आपसमा टीका लगाएर उपहार आदानप्रदान गरेको तस्वीर राख्दै लेखेकी छिन्, “दिदीबहिनी टीका: दाजुभाइ नहुनेले पनि यसरी टीका लगाउन शुरु गर्‍यौं भने समाजमा छोरा नै चाहिन्छ भन्ने मान्यतामा केही कमी आउला कि ?” शर्माका दुई छोरी छन्।

पत्रकार अश्विनी कोइरालाले पनि आफ्नी छोरी तथा दुई भान्जी (बहिनीका छोरी) मिलेर टीका लगाएको तस्वीर राख्दै लेखेका छन्, “साना मान्छेको सानै विद्रोह: विद्रोही नमान्नुको अर्थ संस्कृति नमान्नु होइन। अरुलाई असर नपर्ने गरी आफ्नो अनुकूल प्रयोग गर्नु हो। दाजुभाइ नभएका दिदीबहिनीलाई यस्तै बन्न सन्देश जाओस्।”

यस्तै, झापा बिर्तामोडका दिदीबहिनी प्रकृति र प्रनिका न्यौपानेले पनि फेसबुकमा तस्वीर राख्दै लेखेका छन्, “तीन वर्षदेखि दिदीबहिनी मिलेर टीका लगाएका हौं। परम्परा तोड्न होइन, दाजुभाइ नहुने दिदीबहिनीका लागि लागि ‘दिदीबहिनी टीका’ शुरुवात हो।” प्रकृतिको विचारमा हाम्रो संस्कृति एवम् चाडपर्वले धेरै कुरा छुटाएका छन्। उनी भन्छिन्, “तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने र दिदीबहिनी/दाजुभाइ नभए मन्दिर जाने भनियो, तर सँगै भएका दाजुभाइबीच वा दिदीबहिनीबीच टीका लगाउन सिकेनौं र सिकाएनौं।”

कलाकार लक्ष्मी बर्देवाले पनि तीन दिदीबहिनी मिलेर टीका लगाएको तस्वीर फेसबुकमा राखेकी छन्।

यस्तै, अर्थतन्त्र डटकमकी पत्रकार सुनिता सिंखडाले पनि दिदीबहिनीसँग टीका लगाएका तस्वीरहरु पोष्ट गरेकी छन्। ती तस्वीरमा प्रतिक्रिया लेख्नेहरुले सकारात्मक शुरुआत भनेर लेखेका छन्।

हाल जेनेभा बस्दै आएकी अधिकारकर्मी मोना श्रेष्ठले पनि आफ्ना दुई छोरीहरु (निलजा र श्रेयजा) लाई १० वर्ष अघिदेखि नै टीका लगाउन सिकाएको बताइन् । ब्राम्हाण परिवारमा बिहे गरेकी उनले भनिन्, “श्रीमानको समेत विचार मिलेकाले दुई छोरीबीचको टीका निरन्तर रहेको बताइन् । उनको विचारमा तिहारको टीकालाई ‘भाइटीका’ मात्र भन्नु गलत हुन्छ ।

सात वर्षअघि नै 'छोरी' नामक एक संस्थाले तिहारमा दाजुभाइ नभएका दिदीबहिनीहरुका लागि सामूहिक टीका लगाउने कार्यक्रम नै आयोजना गर्थ्यो। तर केही वर्ष संचालन भएको त्यो कार्यक्रम अहिले बन्द छ।

प्रतिकृया दिनुहोस