टिप्पणीबुधबार, १३ कार्तिक , २०७६

बुद्ध मूर्ति संग्रहालयमा कि विहारमा ?

वसन्त महर्जन

बौद्ध भिक्षुले कसैलाई मूर्ति दिनुको कारण विहारमा राखियोस् भन्ने उद्देश्य निहित हुने भएकाले म्यान्मारबाट प्राप्त बौद्ध मूर्तिहरू संग्रहालयमा राखिनु उचित होइन।

वसन्त महर्जन

राष्ट्रपति विद्यादेवी भण्डारी असोज अन्तिम साता म्यान्मारको पाँचदिने भ्रमणमा जाँदा याङ्गुनस्थित सितागु अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई ३० थान बुद्ध मूर्ति हस्तान्तरण गर्‍यो ।

हस्तान्तरण समारोहमा लुम्बिनी विकास कोषका एक पदाधिकारीले मूर्तिहरू लुम्बिनीस्थित संग्रहालयमा राखेर संरक्षण गर्ने बताए । अब प्रश्न उठ्छ, बुद्ध मूर्तिहरू म्यान्मारले संरक्षण गर्न नसकेर नेपाल पठाएको हो त ? सँगै अर्को प्रश्न, बुद्ध मूर्तिहरू संग्रहालयमा राख्ने कि विहारमा ?

हामीकहाँ बुद्ध र बौद्ध धर्मको मर्म नबुझी हल्का रूपमा बोल्ने र काम गर्ने प्रवृत्तिको कुनै कमी छैन । सरकारी स्तरबाट भएका काम समेत वस्तुस्थितिको जानकारी नभई गर्दा लोकरिझाइँमा सीमित र प्रत्युत्पादक भइदिन्छन् ।

इतिहास हेर्दा, सातौं शताब्दीमा नेपाली राजकुमारी भृकुटीले तिब्बती राजा श्रङ्–चङ्–गम्पोकी रानी बनेर जाँदा साथमा बौद्ध मूर्तिहरू लगेकी थिइन् ।

कान्छी रानी चिनियाँ राजकुमारी ‘वेन–चेन’ ले पनि बौद्ध मूर्ति र ग्रन्थहरू ल्याएकी थिइन् । दुई रानीले ल्याएका मूर्ति र ग्रन्थ राख्न श्रङ्–चङ्–गम्पोले ल्हासामा दुई भव्य विहार बनाउन लगाएका थिए । जसबाट तिब्बतमा बौद्ध धर्मले राजकीय संरक्षण प्राप्त गर्‍यो ।

चीनबाट बौद्ध धर्म सन् ३७२ मा कोरिया पुगेको थियो । छैटौं शताब्दीमा विभिन्न राज्यमा विभक्त कोरियाको एक राज्य कुदाराका राजाले बौद्ध सन्देश सहित बुद्ध मूर्ति उपहारस्वरूप जापान पठाएका थिए । यो उपहारबारे शुरूमा जापानमा विवाद भयो । त्यो घटनाको आधा शताब्दीपछि बौद्ध धर्म त्यहाँको राज्य–धर्म बन्यो ।

एकथरी श्रीलङ्कालीहरू श्रीलङ्कामा तीन पटक बुद्धको आगमन भएको र धर्मोदेश दिएको विश्वास गर्छन् । कतिपय भने भारतीय व्यापारीहरू मार्फत बुद्धवचन मात्रै पुगेको र त्यसबाट प्रभावित भएर राजकुमारीले बुद्धको चित्र मगाएको कथन पाइन्छ ।

इतिहासका यी सन्दर्भ सम्झाउने गरी सितागु अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानका संस्थापक भिक्षु सायादोले बर्मामा पनि यसरी नै मूर्ति आइपुगेको र मूर्तिका प्रतिकृति नेपाललाई दिएको बताएका थिए ।

बौद्ध भिक्षुले बुद्धको मूर्ति कसैलाई दिनुको अर्थ विहारमा राखेर श्रद्धापूर्वक पूजा गर्नका लागि हो । त्यस्तो मूर्ति संग्रहालयमा राख्ने सोच सराहना लायक होइन ।

उपहारमा प्राप्त ३० वटै मूर्ति संग्रहालयमा राख्ने सोच ज्ञान–विज्ञानको दृष्टिले उपयुक्त होइन । हालसालै बनाइएका ती मूर्तिहरू ‘म्यूजियम पीस’ नभएकाले तिनको उचित स्थान बौद्ध विहार नै हो ।

संग्रहालयमा के कस्ता वस्तु राख्ने, प्रकृति हेरी फरक–फरक हुन्छन् । सामान्यतया प्राचीन कलावस्तुको संरक्षण र प्रदर्शन नै संग्रहालयको प्रमुख कार्य हो । मौलिक कलावस्तु नभएको खण्डमा त्यसको प्रतिकृति राखेर सूचनाले खुलाइन्छ ।

लुम्बिनीस्थित संग्रहालयमा लुम्बिनी क्षेत्रको उत्खननका क्रममा प्राप्त मूर्ति लगायतका पुरातात्विक महत्वका वस्तु तथा विश्वप्रसिद्ध कलावस्तुका प्रतिकृतिहरू राखिएका छन् ।

बौद्ध विषयवस्तुका अन्यत्रका तस्वीरहरू पनि राखिएका छन् । विभिन्न देश र समाजमा के–कस्ता शैलीका बुद्ध मूर्ति बनेका छन् भनेर झलक देखाउन म्यान्मारको पनि एउटा मूर्ति संग्रहालयमा समेट्न सकिन्छ ।

तर उपहारमा प्राप्त ३० वटै मूर्ति संग्रहालयमा राख्ने सोच ज्ञान–विज्ञानको दृष्टिले उपयुक्त होइन । हालसालै बनाइएका ती मूर्तिहरू ‘म्यूजियम पीस’ नभएकाले तिनको उचित स्थान बौद्ध विहार नै हो ।

म्यान्मारले यसअघि पनि नेपाली विहारमा बुद्ध मूर्ति दिएर सहयोग गर्दै आएको छ । राष्ट्रपतिको भ्रमणका अवसरमा प्राप्त मूर्तिहरू दुई देशबीचको मित्रताका प्रतीक हुन् । तिनलाई देशका विभिन्न ठाउँमा नयाँ बनाइने विहारमा राख्न दिए जनस्तरमा पनि सुमधुर सम्बन्धको शुरूआत हुन्थ्यो ।

प्रतिकृया दिनुहोस