टिप्पणीआइतबार, १० कार्तिक , २०७६

एक्लै उभिएका देवकोटा

सन्दर्भ : देवकाेटा जयन्ती

शेखर खरेल

किस्सा, मिथक र देवत्वकरणमा विनिर्मित महाकविको व्यक्तित्वलाई पछिपछिसम्म सान्दर्भिक बनाइराख्ने हो भने उनका विश्वजनीन रचनाको शक्ति र सामर्थ्य चिन्न र चिनाउन सक्नुपर्छ ।

शेखर खरेल

यो आलेखको ध्येय महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिको समीक्षा वा विवेचना गर्नु होइन । देवकोटा एक्लै वा उनका कुनै एक कृति वा प्रवृत्तिमाथि शोधार्थीहरूले विद्यावारिधि गरिसकेका छन् । उनीमाथि ठेलीका ठेली पुस्तक र संस्मरण पनि प्रकाशित छन् ।

त्यसैगरी, देवकोटा जन्मिएको दिनको सन्दर्भमा उनको कर्मकाण्डी सम्झ्ना गर्नु पनि आलेखको अभिप्राय होइन । देवकोटा नेपालमा सबैभन्दा बढी पढिने साहित्यिक सर्जक हुन्, त्यसैले उनी हरक्षण नेपाली स्पन्दनमा बाँचिरहेकै छन् । तर, देवकोटा बारेको रमाइलो वा विडम्बना भनौं, जति उनका रचनाको चर्चा हुन्छ त्यति नै रचयिताको पनि । जुन कहिले किस्सा त कहिले मिथक जस्तै सुनिन्छ ।

देवकोटा र उनका मिथकले गान्धीमाथिको अलबर्ट आइन्स्टाइनको भनाइको सम्झ्ना हुन्छ । गान्धीको त्याग र सादगीबाट द्रवित आइन्स्टाइनले भनेका थिए, “हाड र मासुले बनेको यस्तो मान्छे यसै धरतीमा थियो भन्ने विश्वास गर्न आउँदो पुस्तालाई मुश्किल पर्छ ।” शायद देवकोटा पनि यस्तै हुन्, वर्तमान तथा आउने पिंढीका निम्ति ।

कृतित्व र व्यक्तित्व

कृतित्वसँग व्यक्तित्व शायदै छुटाउन सकिन्छ । कुनै कवि, लेखक वा सर्जकका कृति पढेपछि मानिस ती सर्जकबारे थप जिज्ञासु बन्दछन् ।

हिजोसम्म कृति पढ्नेहरू जीवनी पढ्न रुचाउँछन् । तर, सबै सर्जक कृति बराबरै रोचक नहुन पनि सक्छन् । अथवा भनौं, कृतिले जति आल्हादित वा रोमाञ्चित गर्छ, सर्जकले त्यति नगर्न पनि सक्छन् ।

उदाहरणका लागि, शेक्सपियरका कृतिको जति चर्चा हुन्छ व्यक्ति (शेक्सपियर) को उति सुन्दैनौं । अल्प जीवनका शेली र किट्सका प्रेमका किस्सा उनीहरूका प्रेमिल कविता जसरी नै प्रसिद्ध छन् ।

तर त्यति भइकन पनि शेली, किट्स, वर्डस्वर्थका कविता कविका जीवनका अप्रमाणिक किस्सा वा भनौं मिथकको गर्तमा लुकेका छैनन् । यता, हाम्रा महाकविको जति चर्चा कृतिको हुने गर्छ, शायद त्योभन्दा बढी वा हाराहारी उनको व्यक्तित्वको हुने गर्दछ । देवकोटाको कविताको मियो वरपर उनका जीवनका किस्साहरूले दाइँ गरिरहेका हुन्छन् ।

अंग्रेजीका प्रसिद्ध स्वच्छन्दतावादी कवि विलियम वर्डस्वर्थ भन्ने गर्दथे, ‘पोयट्री इज दी स्पोन्टानियस ओभरफ्लो अफ पावरफूल फिलिङ्ग्स, इट टेक्स इट्स ओरिजिन फ्रम इमोसन रिकलेक्टेड इन ट्रान्क्वालिटी’ (कविता शक्तिशाली भावनाको स्वेच्छिक अधिप्रवाह हो, जुन शान्तपनामा स्मरण वा ध्यान गरिएका भावबाट उत्पत्ति हुन्छन्) ।

महाकवि देवकोटाका हकमा यो भनाइ शायद आधा मात्र सत्य हुन् । उनका निम्ति कविता शक्तिशाली भावनाको स्वेच्छिक अधिप्रवाह मात्र रह्यो । ती भाव ध्यानातीत थिए वा थिएनन्, कवि नै जानुन् । किनकि महाकविले कसैले दिएका शीर्षक वा प्रतिक्रियाका निम्ति काव्य सिर्जना गरे । दश दिनमा महाकाव्य लेखिसिध्याउने ‘बाजी’ मा उनले ‘शाकुन्तल’ लेखे ।

भारतीय विद्वान् राहुल सांकृत्यायनको ‘आजकल’ हिन्दी मासिक (सन् १९५३) को टिप्पणी ‘देवकोटा नेपालीका पन्त, प्रसाद, निराला तीनै हुन् ।निरालाका केही दोस्रा गुण पनि उनीमा मौजूद छन् । निरालालाई राँची लैजाने कुरा कति पटक उठे, तर देवकोटाका परिवारले जब उनलाई विक्षिप्त सम्झेर राँची लैजाने कुरा गरे, उनले कत्ति पनि आपत्ति गरेनन् र पागलखानामा केही दिन रहेर फर्किए ।’

महाकवि देवकोटा निर्विकल्प र निःसन्देह नेपालका सर्वाधिक अग्ला साहित्यिक व्यक्तित्व हुन्। यदि मुलुकभित्र कुनै अधिमूल्याङ्कन (ओभररेटेड) हुन्छ भने त्यो उनको देवत्वकरण मात्र हो । तर, नेपालका महाकवि वैश्विक परिदृश्यमा अवमूल्याङ्कित (अन्डररेटेड) स्रष्टा भने पक्कै हुन् ।

सांकृत्यायनको यस्तो टिप्पणीबाट देवकोटा कुन हदसम्म ‘पागल’ बने र प्रतिक्रियामा उनले कसरी ‘पागल’ कविता सिर्जना गरे, त्यसको वर्णन महाकविका भान्जा एवं साहित्यिक अन्वेषक जनकलाल शर्माको ‘महाकवि देवकोटाः एक व्यक्तित्व दुई रचना’ मा पढ्न सकिन्छ । ‘पागल’ कवितामा शुरूमा उनले ‘तिम्रा महापण्डित राहुल, मेरा मूर्ख’ लेखेका थिए । जसलाई पछि संशोधन गरे ।

स्वच्छन्द र लहडी स्वभावका कारण नै महाकवि देवकोटाको अलग व्यक्तित्व निर्माण भएको हो । आफ्ना समकालीन कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्य सम्राट बालकृष्ण सम झ्ैं उनी ‘अनुशासित र औपचारिक’ रहन चाहेनन् । जसका कारण किस्साहरू रचिन थाले ।

यस्तो व्यक्ति जो महीनावारी तलब थापेर घरसम्म आइपुग्दा गरीब–दुःखी बीच पैसा सिध्याइसकेको हुन्थ्यो । जाडोमा थरथर कापेको भिखारीलाई आफूले पहिरेको कोटसम्म फुकालेर दिन्थ्यो । यस्तो सर्जक जो आफ्नो हातमा चुरोट निभ्दै गरेको पत्तो पाउँदैनथ्यो ।

जो चुरोटका खोलमा समेत कविता कोथ्र्यो, र कापी, कलम र चुरोटका खोल समेत खोसिदिएपछि ऊ अँगारले भित्ता कोथ्र्याे । भारतको एक काव्यिक सम्मेलनमा हिन्दी भाषामा बोल्दा कसैले ‘कविजी आपका लिङ्ग गडबड है, जरा लिङ्ग पकडकर बोलिए’ भन्दा महाकवि निकै कड्किएका थिए रे ! उनी बनारसमा रहँदा गुजाराका निम्ति सुका मोहरमा कविता बेच्थे रे ! अनि उनकै कविता किनेर धेरै कवि पनि भए रे ! उनी बारेका मिथकको सूची निकै लामो छ ।

महाकविलाई गरीबीसँग जोडेर हेर्ने नजर भने दोषपूर्ण छ । किनकि, काठमाडौं स्थायी घर भएका देवकोटा त्यस बखतको वर्गीय हिसाबले उच्चमध्यम वर्गीय हुन् । रेली साइकल चढ्ने र ‘फूलमार’ चुरोट फुस्फुसाउने देवकोटा आम नेपाली भन्दा उच्च हैसियतका हुन् ।

कलेजको अध्यापन र ट्यूसन उनका राम्रा आम्दानीका स्रोत हुन् । तर, कविलाई अभाव, किसानलाई गरीबी र व्यापारीलाई सम्पन्नतासँग जोडिदिने मनोग्रन्थीका कारण देवकोटालाई पनि दिनहीन बनाइदिएको हुनसक्छ ।

अधिमूल्याङ्कन र अवमूल्याङ्कन
सिर्जना छिचोल्दै सर्जकसम्म पुग्नु पाठकको स्वाभाविक उपक्रम हुनसक्छ । तर, सर्जक बारेका असङ्गत र अप्रमाणिक किस्सा र कहानीकै कुहिरोमा रङमङ्गिएर सिर्जनाको गुदी परख नगर्नु भनेको स्वयं सर्जकप्रतिकै अन्याय हो । महाकवि देवकोटाप्रतिको अन्याय वा विडम्बना नै यही हो कि, मानिसहरू उनको काव्यिक सामथ्र्यको आग्रहरहित विवेचना बेगर नै कविको देवत्वकरण गरिदिन्छन् ।

सांकृत्यायनले भने झैं देवकोटा नेपालका पन्त, प्रसाद र निराला हुन् । उनी सर्जक मात्र नभएर नेपाली आधुनिक चेतनाका संवाहक पनि हुन् । बन्द समाजका वेला लेखिएको ‘के नेपाल सानो छ’ निबन्धमा देवकोटा कसरी संसारका उत्कृष्ट मस्तिष्कहरूको फेहरिस्त पेश गर्न समर्थ रहे, त्यसले आजका पाठकलाई समेत अवाक् बनाउँछ ।

स्वच्छन्द र लहडी स्वभावका कारण नै महाकवि देवकोटाको अलग व्यक्तित्व निर्माण भएको हो । आफ्ना समकालीन कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्य सम्राट बालकृष्ण सम झैं उनी ‘अनुशासित र औपचारिक’ रहन चाहेनन् । जसका कारण किस्साहरू रचिन थाले ।

उनी लेख्छन्, “यहाँ वाग्नर (विलियम रिचर्ड वाग्नर, प्रसिद्ध जर्मन सङ्गीतज्ञ) कोदाली खनिरहेछन्; शेक्सपियर हलो जोत्ता हुन्; टिसियन (इटालियन रेनासाँ चित्रकार) र टर्नर (राल्फ टर्नर, भाषाविद्) भेडा चराउँदा हुन्, सोक्रेटिज (ग्रीक दार्शनिक) गुफामा घोत्लिरहेका होलान्, कालिदास (संस्कृतका महाकवि) आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ साण्डो (रूसी बडीविल्डर) ले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन केलर (लेखिका एवं अधिकारकर्मी) हरू गीत गाउँदछन्, यहाँ कति सावित्री (हिन्दू मिथककी पात्र) हरू छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिनेछ ।”

बेलायतको स्कूल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिज (सोआस्) र क्याम्ब्रिज विश्वविद्यालयमा नेपाली साहित्य र इतिहास अध्ययन गरेका रस एड्किन, देवकोटा दक्षिण–एशियाका सबैभन्दा समर्पित लेखक हुनसक्ने मान्यता राख्दछन् । “उनी अन्य भाषाहरूको प्रयोग अनि संवाद गर्न सक्ने सामथ्र्य राख्दथे” एड्किन भन्छन्, “महाकविसँग जति जिज्ञासु, विद्वत्तापूर्ण अनि मेधावी मस्तिष्क थियो त्योभन्दा बढी एउटा सच्चा कवि र लेखकको आत्मा थियो ।”

संयुक्त अधिराज्यका रस जस्तै फ्रान्सका रेमी बोर्देस पनि देवकोटाका प्रशंसक हुन् । पेरिसस्थित इन्ष्टिच्यूट नेसनाल दे लङ्ग ए सिभिलाइजासियों ओरियन्टलका नेपाली विषयका अध्यापक रेमीले देवकोटाका धेरै कविता फ्रेञ्च भाषामा अनुवाद समेत गरिसकेका छन् ।

रेमीका निम्ति देवकोटा एक कुशाग्र अनि स्वभाविक साहित्यिक प्रतिभा हुन् । “देवकोटाका महाकाव्य र खण्डकाव्य गैर–एशियाली पाठकका निम्ति दुरुह पठन हुनसक्छ । तर, जीवनको उत्तराद्र्धतिर मुक्त छन्द (फ्रि भर्स) मा लेखिएका उनका छोटा कविता आधुनिक अनि शक्तिशाली छन्”, उनी भन्छन् ।

महाकवि देवकोटा निर्विकल्प र निःसन्देह नेपालका सर्वाधिक अग्ला साहित्यिक व्यक्तित्व हुन् । यदि मुलुकभित्र कुनै अधिमूल्याङ्कन (ओभररेटेड) हुन्छ भने त्यो उनको देवत्वकरण मात्र हो । तर, नेपालका महाकवि वैश्विक परिदृश्यमा अवमूल्याङ्कित (अन्डररेटेड) स्रष्टा भने पक्कै हुन् । मेधावी मस्तिष्क र विश्वजनीन चेत भएका देवकोटाको चर्चा जति विश्वभरमा हुनुपर्दथ्यो त्यति हुनसकेको छैन । उनका उम्दा सिर्जनाको अब्बल अनुवाद हुन नसक्नु विडम्बना हो ।

रेमी देवकोटालाई पश्चिमका महान साहित्यकार भन्दा पनि छिमेकका रवीन्द्रनाथ टैगोरको नजिक पाउँछन् । “लोक र रहस्यमिश्रित देवकोटाका रचनामा टैगोर जस्तै मानवताको पुकारा पाइन्छ । देवकोटाको ‘गाइने गीत’ टैगोरको ‘गीताञ्जली’ निकट लाग्छ” रेमी खुलाउँछन्, “देवकोटा र टैगोर दुवैको विरासत आफ्नै परम्परा हो । तर रमाइलो के भने, यी दुवै परम्पराको सीमा पार गर्दै आधुनिकताका संवाहक बन्न सफल देखिन्छन् ।”

एउटा कवि वा सर्जकलाई अर्को कवि वा सर्जकसँग तुलना गर्न सकिंदैन । तैपनि विश्वका उत्कृष्ट सर्जकबीच देवकोटालाई उभ्याइए उनको उँचाइ कस्तो देखिएला ? रस एड्किन भन्छन्, “केही वर्षअघि नेपाली युवाले ‘मुनामदन’ का हरफ ‘हातका मैला सुनका थैला, के गर्नु धनले’ लाई हिप्–हप्मा गाएको सुन्दा म चकित परेको थिएँ । देवकोटा नेपालका किट्स, शेली वा शेक्सपियर हुन् भन्ने प्रश्नमाथि कुनै शङ्का छैन । देवकोटा तिनीहरू जस्तै हुन्, तर एक्लै उभिएका ।” 

 

प्रतिकृया दिनुहोस