टिप्पणीमंगलबार, १२ कार्तिक , २०७६

म्हः पूजामा जीवनोत्सव

डा. तीर्थबहादुर श्रेष्ठ

नेवार संस्कृतिले स्थापना गरे तापनि म्हः पूजालाई सबै जातजातिका मानवले मनन गरेर आफ्नो स्थूल शरीर चिन्ने र आत्मबोध गर्ने अवसरको रूपमा ग्रहण गर्नु वाञ्छनीय हुन्छ।

डा‍‌ तीर्थबहादुर श्रेष्ठ

नेपाली संस्कार र संस्कृतिमा पूजा–आराधनाले ठूलो अर्थ राख्छ । यसै कारण यसको सामाजिक महत्वव धेरै छ । वर्षभरिको चाडपर्व नियाल्यौं भने हामी मूर्तिको पूजा अधिकतम गर्दछौं । वन, वृक्ष, नदी–नाला, पहाड–पर्वतलाई पूजा गर्दा पनि कुनै न कुनै देवी–देवताको रूपमा उपासना गरिन्छ ।

मूर्ति पूजामा आस्था नराख्ने गौतम बुद्धलाई पनि मूर्तिकै रूपमा पूजा आराधना गर्दछौं । तर मान्छेलाई मान्छेकै रूपमा पूजा गर्ने दिन भने म्हः पूजा हो । तिहारमा लक्ष्मीपूजा (औंसी) को भोलिपल्ट प्रतिपदामा म्हः पूजा गरिन्छ, त्यही दिन नेवार समुदायले नव वर्षको प्रारम्भ उत्सव मनाउँछन् । शंखधर साख्वाले प्रचलनमा ल्याएको संवत्को आधारमा यो वर्ष नेपाल संवत् ११४० को साथमा म्हः पूजा मनाइँदैछ ।

‘म्ह’ भनेको जिउँदो शरीर हो । आफ्नो शरीरलाई स्वस्थ र स्वच्छ राख्न गरिने आत्मपूजा हो, म्हः पूजा । नेवार संस्कृतिले स्थापना गरे तापनि यो पूजालाई सबै जातजातिका मानवले मनन गरेर आफैंलाई चिन्ने अवसरको रूपमा ग्रहण गर्नु वाञ्छनीय हुन्छ ।

तस्वीर: shakyani@twitter

किनकि आत्मतत्वलाई बोध गराउने दिन भएकाले यो पूजाको विशेष महत्व छ । म्हः पूजामा जुनसुकै जातजाति र भाषा–भूगोलका नर–नारीले पनि सहभागिता जनाउन सक्छन् । यसै कारण आजभोलि विभिन्न नेवार समाजले सामूहिक पूजा पनि आयोजना गर्न थालेका छन् ।

म्हः पूजामा स्वस्थ शरीर, स्वस्थ मनमा जोड दिंदै अन्ततः स्वस्थ समाज कायम राख्ने लक्ष्य अन्तरनिहित छ । आफ्नो स्थूल शरीरलाई फूल, अक्षता, टीका, दियोले पूजा गरी फलफूल, दही, फुल (अण्डा), माछा–मासु र मदिराको सगुन दिएर परम्परागत भोजनले आत्मसन्तुष्टि दिलाउने पर्वको रूपमा म्हः पूजा स्थापित छ ।

पूजा विधि अनुसार प्रत्येक व्यक्तिको निम्ति एउटा कलात्मक मण्डल तयार गरिन्छ । आफ्नो आसनको अगाडि चित्रित त्यस मण्डलमा सात चक्र हुन्छन् । शायद त्यो सप्तलोकको सङ्केत हो ।

सात चक्रमध्ये बीचको भागमा तोरीको तेल राखिन्छ । त्यसको बाहिर ‘पोटाय्’ नामक पहेंलो धूलोको चक्र हुन्छ । चामलको पीठोमा बेसार मिसाएर ‘पोटाय्’ बनाइन्छ । यस्तै, तेस्रो चक्र ‘आखेय्×’ (ओखलमा धान कुट्दा पूरा बोक्रा नछुट्टिएको चामल) ले बनाइएको हुन्छ । चौथो चक्र मासको गेडाले र पाँचौं धानले बनाइन्छ भने छैटौं चक्र ‘ताय्’ अर्थात् धानको लावाले बनेको हुन्छ ।

तस्वीर: रितेजमान ताम्राकार

अन्तिम र सातौं चक्र पानीको जलचक्र हुन्छ । यस प्रकार ‘म्हः पूजा’ लाई मण्डलको आयामभित्र आफूलाई केन्द्रमा राखेर ब्रह्माण्डसम्मको विराटता आफ्नो चेतनामा खुलाउने पर्वको रूपमा लिन सकिन्छ ।

हाम्रो ब्रह्माण्डमा सूर्य लगायत अनगिन्ती तारा छन् । तीमध्ये प्राणी भएको ग्रह पृथ्वी मात्र हो । पृथ्वीका करोडौं जीवात्ममध्येको एक जीवात्म ‘म’ हुँ भन्ने हामीले बुझनुपर्छ । हामीले अर्काे जुनी (योनी) पाउँछौं वा पाउँदैनौं, कसैलाई थाहा छैन । जे गर्नु र भोग्नु छ, यही जुनी सबथोक हो । तसर्थ यो जुनीको यो देह, यो म्हः लाई ईश्वर समान पूजा किन नगर्ने भन्ने प्रश्नको उत्तर नै म्हः पूजा हो ।

म्हः पूजाको मर्मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कविताले बलियो गरी बोकेको पाइन्छ । त्यस कविताले मान्छे नै ईश्वर हो भन्ने सन्देश दिन्छ, जुन म्हः पूजाको सार हो । कविताको एक अंश यहाँ उद्धृत गर्नु उचित होला–

हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार
मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरूका द्वार ।
नसा नदीका तरल तरङ्ग, मन्दिर आफू अपार
कुन मन्दिरमा जान्छौं यात्री, कुन मन्दिरको द्वार ।।

म्हः पूजा जीवनोत्सव पनि हो । यस उत्सवमा आफ्नो जीवनको दीर्घायुको कामना गरिन्छ । तसर्थ दीर्घजीवी फल, फूल एवं अन्य सामग्रीको प्रयोग हुन्छ । गलामा ग्वेस्वाँ (मखमली फूल) को माला र निधारभरी टीका, एउटा हातमा उसिनेको सिङ्गो फुल, तारेको सिङ्गो माछा र केही टुक्रा छ्वेला (पोलेको मासु) तथा अर्को हातमा ऐलाको सलिंचा (माटोको प्यालामा मदिरा) समातेपछि म्हः पूजा प्रारम्भ हुन्छ । मदिरा सेवन नगर्ने व्यक्तिको हातमा दही राखिन्छ ।

यस अनुष्ठानको लागि नेवारहरू काँचो धागोको डोरामा रङ्गी–चङ्गी धजो उनेर जनै जसरी धारण गर्दछन्, जसलाई ‘जजङ्का’ भनिन्छ । म्हः पूजामा बालिने सुतली जस्तो लामो लोता धागोलाई ‘खेलुइता’ भनिन्छ ।

पातलो मलमल कपडाको टुक्रा बेरेर बनाइएको त्यस लोतालाई घिउ वा तोरीको तेलमा भिजाएर तयार गरिन्छ । करीब बित्ता–दुई बित्ताको लामो ‘खेलुइता’ बालेर मण्डलको बीचमा ओखर माथि राखिन्छ । त्यो बत्ती निभ्नु अघि नै सगुनको काम सम्पन्न गर्नुपर्ने हुन्छ ।

म्हः पूजाको सगुनमा जलचर, थलचर र नभचरको प्रतिनिधित्व हुने गरी माछा, मासु र फुलको प्रयोग हुन्छ । तिहारका लक्ष्मी पूजा, म्हः पूजा र भाइ पूजाका लागि अपरिहार्य मानिने फल ‘तःसी’ (ठूलो फल) लाई नेपालीमा बिमिरो भनिन्छ ।

मानव सभ्यताको प्रारम्भदेखि नै मानिसले फलाएको अग्रणी फलको रूपमा बिमिरो स्थापित छ । हिमालयको पूर्वी खण्ड तथा म्यान्मारको उप–उष्ण क्षेत्र यस फलको उद्गमस्थल मानिन्छ । ऐतिहासिक तथ्य केलाउँदा यो फलको खेती इसापूर्व ३०० वर्षअघि अर्थात् आजभन्दा २३०० वर्ष पहिलेबाटै भएको देखिन्छ । यो दीर्घजीवी फल हो, चाँडै सड्ने–गल्ने हुँदैन ।

म्हः पूजा र तिहारका अरू पूजामा मौसम अनुसार सबै फल विशेष गरेर अमिलो प्रजातिका फलहरू (सुन्तला, भोगटे, मौसम, ज्यामिर) चढाइन्छ । यसै गरी वनपाखाका फलहरू विशेष गरेर स्याँगुली (कटुस), सत्वःसी (सतीबयर), भ्वसा पासी (मयल नास्पाती) तथा केरा र उखु पनि पूजामा प्रयोग हुन्छ ।

म्हः पूजा लगायतका तिहार पूजामा मखमली फूलका अतिरिक्त सयपत्री एवं गोदावरी फूलका विभिन्न प्रकार अधिक प्रयोग गरिन्छ । तिहार भन्नु नै फल, फूल, रोटी, मिठाई एवं बत्तीको चाड हो । म्हः पूजा नेपाल संवत्को नयाँ वर्ष आरम्भ पनि भएकोले त्यो दिनको स्वनिग (काठमाडौं उपत्यका) उल्लासमय र झिलिमिली हुन्छ ।

अन्त्यमा, मुलुकको सामाजिक परिवेश नियाल्यौं भने विभिन्न जातजातिका संस्कार र संस्कृतिमा विकृतिहरू भित्रिने क्रम बढ्दो छ । आफ्नै मौलिक संस्कृतिबारे नयाँ पिंढीहरू अनभिज्ञ हुँदैछन् । तसर्थ चाडपर्व मनाउँदा त्यसको महत्व र औचित्यको जानकारी नयाँ पिंढीमा संचार हुने अवस्था सिर्जना गर्न आवश्यक छ ।

यस्तै, एक जातिको संस्कृति, संस्कार र परम्परा अर्काे जातिमा प्रवाह गर्ने नवीन सोच बनाउनु परेको छ । अन्तरजातीय विवाह एवं पारिवारिक सम्बन्धहरू बढ्दै जाँदा संस्कार र संस्कृतिका कडी जोड्दै लैजानुपर्छ । यसै सिलसिलामा म्हः पूजाको नेवारी संस्कारलाई अरू जातजाति र समुदायमा पनि प्रचारप्रसार गरेर आफ्नो जीवनोत्सव मनाउने बानी बसालौं भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । 

प्रतिकृया दिनुहोस