टिप्पणीआइतबार, १० कार्तिक , २०७६

देउसी भैलोमा बलिराजको प्रसङ्ग

सेवा भट्टराई

धेरै किंवदन्ती दानवराज बलिसँग सम्बन्धित पाइए पनि देउसी भैली गीतको उत्पत्तिामा भने थुप्रै ऐतिहासिक तथ्यले जुम्ली राजा बलिराज कल्याल नजिक देखिन्छन्।

सेवा भट्टराई

देउसी भैलो गीतको उत्पत्तिबारे धेरैले धेरै थरी अनुमान लगाएका छन् । ‘हामी त्यसै आएनौं, बलि राजाले पठाए’ भन्ने पंक्तिका आधारमा हिन्दू मिथकका राजा बलि र मगर राजा बलिहाङ यो गीतका पात्र हुन् कि भन्ने अनुमान गरिन्छ । जुम्लामा भने खस राज्यकालका जुम्ली राजा बलिराज कल्याल शाहीले देउसी भैलो खेल्ने परम्परा शुरू गरेको मान्यता अझै पनि पाइन्छ ।

१४औं शताब्दीको अन्त्यतिर सन् १३९८ आसपास बलिराज जुम्लाका राजा बनेका थिए । यिनकै शासनकालमा जुम्लाको खस राज्यले एक कुख्यात मुसलमान लडाकूको फौजसँग सामना गर्‍यो । यसै युद्धपछि जनताबाट कर उठाउन बलिराजले देउसी भैलो खेल्न लगाएको केही इतिहासविद्हरू बताउँछन् ।

२०७४ को तिहारमा तिलोत्तमा, रुपन्देहीको रोटरी क्लबले आयोजना गरेको देउसी–भैलो कार्यक्रम ।

‘खस जातिको इतिहास’ पुस्तकका लेखक एवम् इतिहासविद् बालकृष्ण पोखरेलले निधनको केही समय अघि बताएका थिए, “लडाइँमा बलिराजका छोरा वत्सराजले शत्रुलाई छक्क पारे । अन्त्यमा सबै फौज मारिंदा एक्लो वत्सराज खडा रहे । ‘मर्नु भन्दा अगाडि तँलाई के चाहिन्छ ?’ भनेर सोध्दा ‘मलाई तरबार पक्रेर मुसलमानको सबभन्दा बहादुर नेतासँग युद्ध गरेर मर्नु छ ।

जसरी म भुइँमा छु त्यसरी ऊ पनि भुइँमा ओर्लियोस् र मलाई मारोस् । एक्लैले सक्दैन भने दश जना आए पनि हुन्छ’ भनेर भने । यसो भनेपछि आक्रमणकारी छक्क पर्‍यो । कस्तो बहादुर रहेछ भनेर ओर्लेर अंकमाल गरेर मीत लगायो । र मीतज्यूलाई घर फर्किनका लागि बाटो खर्च जुटाउन बलिराजले आफ्नो राज्यभर चन्दा उठाउन पठाए ।”

पोखरेलले आफूले यो किस्सा अरबी र फारसी पुस्तकमा पाएको तर लिपि दोषका कारण वत्सराजको नाम बहरूज हुन गएको पनि बताएका थिए ।

बलिराजबारे कर्णालीमा धेरै किंवदन्ती सुनिन्छ, तर उनको यो युद्धको किस्सा भने नेपाली इतिहासका दस्तावेजमा भेटिंदैन । ‘खस साम्राज्यको इतिहास’ पुस्तकमा पोखरेलले वत्सराज कल्यालवंशीहरूको उपमा भएकाले वत्सराज र बलिराज बाबु–छोरा नभएर एकै पात्र पनि हुनसक्ने लेखेका छन् ।

पोखरेलका अनुसार बलिराजले सामना गरेका ती कुख्यात लडाकू तैमूर थिए । बलिराजको शासनकाल शुरू हुँदा अर्थात् मङ्गोल योद्धा तैमूरले भारतमा विध्वंस मच्चाइरहेका थिए । तैमूर–इ–लङ्ग र ‘तैमूर द लेम’ अर्थात् लङ्गडो तैमूर भनिने ती लडाकू भारत विजय गर्ने उद्देश्यले हाल उज्वेकिस्तानमा पर्ने समरकन्दबाट आएका र दिल्लीलाई ध्वस्त बनाएर उत्तरतिर लागेका थिए ।

तुर्की भाषामा लेखिएको ‘मल्फजत इ तैमूरी’ नामक पुस्तकलाई तैमूरको आत्मकथा मानिन्छ । अरू कसैले लेखे तापनि तैमूरकै भनाइ समेटिएको ‘जफरनामा’ मा आधारित भएर यो पुस्तक लेखिएको यसका अनुवादक बताउँछन् ।

सन् १३९८ मा दिल्लीको विनाशपछिका घटनालाई तैमूरले पुस्तकमा यसरी वर्णन गरेका छन्, “शिवालिक पहाडको मुनि ठूलो संख्यामा अधर्मीहरू जम्मा भएका छन् भन्ने मैले सुनें । ... मैले आफ्ना सैनिकलाई त्यतैतिर लाग्ने आदेश दिएँ । तीमध्ये एउटा पहाडी उपत्यकामा बहरूज नामका एकजना राई थिए । उनको सेनाको संख्या र साँघुरो उपत्यकामा बलियो भूबनोटका कारण उनी अरू पहाडी सरदार भन्दा उत्कृष्ट थिए, खासमा हिन्दुस्तानमै उत्कृष्ट थिए ।

इतिहासको विश्लेषण गर्दा उत्तरी भारतमा तैमूरले गरेको आक्रमणलाई जुम्लाको खस राज्य समेतले सामना गरेको र त्यसकै लागि खर्च उठाउन ‘हामी त्यसै आएनौं, बलि राजाले पठाए’ भन्ने देउसी गीत गाउनु सान्दर्भिक देखिन्छ । यद्यपि नेपाली अध्ययनले यसको पुष्टि गर्नु जरूरी छ ।

म आएको खबर पाएर उनले आफूलाई बलियो बनाउन राम्रो तयारी गरेका थिए । मप्रति शत्रुभाव राख्ने देशभरका राईहरू उनको नेतृत्वमा जम्मा भएका थिए । आफ्ना सैनिक र समर्थक, उपत्यका र वासस्थानको उँचाइ माथि विश्वास राख्दै उनले पछि नहटी मसँग लड्ने निर्णय गरेका थिए । मैले भने उनलाई आक्रमण गरेर शिवालिक पर्वतमाथि विजय गर्ने मनसुवा बनाएँ ।”

कसैले हरिद्वार त कसैले मोहनदर्रा उपत्यका भनेर पहिचान गरेको यो ठाउँमा त्यसपछि के भयो भन्ने कुरामा इतिहासविद्हरूको मत बाझिएको छ । तैमूरले त्यहाँबाट जितेर थुप्रै सम्पत्ति हात पारेको र धेरै महिला र बालबालिकालाई बन्दी बनाएर लगेको बताएका छन् ।

तर यो उनको आत्मकथा भएकाले त्यसमाथि संशय छ । यो युद्धपछि उनी समरकन्दतर्फ फर्केका थिए, त्यसैले उनी पराजित भएर आफ्नो भूमितर्फ लागेका थिए भन्ने पनि केहीको भनाइ छ । पोखरेलले वर्णन गरेको किस्सा अर्थात् तैमूर नेपाली लडाकूसँग प्रभावित भएर मीत लगाएको प्रसंग तैमूरको आत्मकथामा पाइँदैन ।

यद्यपि बहरूज भन्ने पात्रले भने तैमूरको आत्मकथामा प्रभावशाली छाप छोडेका छन् । बहरूजसँगको मूठभेडपछि तैमूर अगाडि बढ्दैनन्, पश्चिम फर्किन्छन् । फलतः क्रूरता र सर्वनाशकारी लुटपाटका लागि कुख्यात तैमूरको विध्वंसबाट नेपाल बच्यो ।

बहरूज जोडिएको घटनाको उल्लेख नेपाली इतिहासमा नभएकाले बहरूज बलिराज नै थिए कि थिएनन् भनेर पुष्टि गर्न सजिलो छैन । भारतीय इतिहासविद्ले यो पात्रको नाम ‘ब्रह्मदेव’ भएको अनुमान गर्दै उनी कुमाउ गढवाल वा कुनै उत्तर भारतीय प्रान्तका राजा थिए कि भन्ने आकलन गरेका छन्, तर त्यस्तो कुनै बलियो ऐतिहासिक पात्र देखिंदैन ।

तर ‘ब्रह्मदेव’ भन्दा ‘बलिराज’ नाम बहरूजसँग नजिक देखिन्छ । बरु, त्यस समयको शक्तिशाली खस राज्यको शरणमा कुमाउ, गढवाल, हिमाचल लगायतका राज्यहरू भएको इतिहासविद्हरू बताउँछन् । त्यसैले तिनको नेतृत्व सिंजा उपत्यकाका बलिराजले गर्नु तर्कसङ्गत देखिन्छ ।

इतिहासको विश्लेषण गर्दा उत्तरी भारतमा तैमूरले गरेको आक्रमणलाई जुम्लाको खस राज्य समेतले सामना गरेको र त्यसकै लागि खर्च उठाउन ‘हामी त्यसै आएनौं, बलि राजाले पठाए’ भन्ने देउसी गीत गाउनु सान्दर्भिक देखिन्छ । यद्यपि नेपाली अध्ययनले यसको पुष्टि गर्नु जरूरी छ ।

“त्यो गीतमा मानिसको मन पगाल्न घरबेटीलाई सम्बोधन गरेर लामो कारुणिक गाथा गाइन्छ । संवत् समेत रहेको त्यो गीतमा सृष्टिको शुरूआत, यम र यमुनाका कथा, बलिराजको कथा भनिन्छ र आजसम्मको कथा बुनिन्छ । भैलिनी महाकाव्य भनिने त्यो गीत एक रातमा गाएर सकिंदैन”, पोखरेलले बताएका थिए । यो गीत अन्तिम पटक अर्घाखाँचीमा सुनेको उनले बताएका थिए ।

मङ्गोल योद्धा तैमूरको मूर्ति ।

अर्घाखाँचीको भैलोमाथि वृत्तचित्र बनाएका प्रकाश बेल्बासे त्यहाँ निकै लामो र रमाइलो गरी भैली खेलिने बताउँछन् । “पहिलो चरणमा प्रत्येक घरमा जाँदा त्यही घरको कथावस्तु बुनेर कवितात्मक रूपमा गाइन्छ र हरेक घरमा फरक फरक गीत गाइन्छ”, उनी भन्छन् ।

उनका अनुसार, अर्घाखाँचीमा प्रायः सबै समुदायले भैली खेले पनि विशेषगरी मगर समुदायले भैली खेल्छन् । मगर समुदायको भैलोलाई गर्रा भैलो भनिन्छ, जसमा सर्वप्रथम भैलो भट्याएर घरबेटीलाई खुशी पारिन्छ । “त्यसपछि हुने सोरठीमा महिलाको भेषमा पुरुषहरू मारुनी नाच्छन् र बाँसुरीको तालमा केहीबेर नाचेपछि मादलको तालमा थाल नचाइन्छ” बेल्बासे भन्छन्, “अन्तिममा भैलेराहरूलाई नाङ्लोमा दक्षिणा दिएपछि उनीहरूले त्यही नाङ्लोलाई नचाएर आशिष दिंदै बिदा हुन्छन् ।”

यति धुमधामसँग भैली खेल्ने मगर समुदायले भैलीको उत्पत्ति आफ्नै समुदायबाट भएको बताउँदै आएका छन् । पाल्पाका राजा बलिहाङलाई लिन काल आउने भएपछि उनले प्रजाहरूसँग सबैतिर बत्ती बालेर ‘फाइलो’ अर्थात् बाँचियो भनेर गाउँदै बस्नु भनेको र त्यस्तो दृश्य देखेर काल पनि फर्केर गएको कथा मनोज घर्ती मगरले न्युज अभियान अनलाइनमा लेखेका छन् ।

त्यस्तै, हिन्दू मिथकका राजा बलिलाई विष्णुको वामन अवतारले ‘देउ शिर’ भनेको हुनाले उनको सम्झनामा देउसिरे भन्दै तिहारमा देउसी खेलिने खोटाङका लोकसङ्गीतकर्मी जीतराज राईले बताएका थिए । “राजा बलि जनजाति थिए, त्यसैले तिहार र देउसी भैलो पनि जनजातिबाटै शुरू भएको हो”, राईको भनाइ छ ।

दानवराज बलिसँग सम्बन्धित तिहारका यस्ता थुप्रै किंवदन्ती छन् । तर, तीभन्दा पनि थुप्रै ऐतिहासिक तथ्य जुम्ली राजा बलिराज कल्यालका पक्षमा देखिन्छन् । मगर र खस समुदायबीच बिहेवारी चलेको हुनाले बलिराज नै मगरका पुर्खा हुनसक्ने र बलिहाङको नाममा प्रख्यात भएको हुनसक्ने पनि इतिहासविद् पोखरेलको मत छ । जुम्लामा गाइने भैली गीतमा ऋतुको प्रसङ्ग जोडिन्छः

भैलेरा आया ... भैलो
ऋतु जुनाया ... भैलो

जुम्लाकी लोकगीत विज्ञ नवकन्या तिमिल्सिना जुम्लामा पुसमा भैली खेलिने र गीतमा शरद ऋतु समाप्त भएको जानकारी दिइने बताउँछिन् ।

गीत संरक्षणको चिन्ता गर्दै भन्छिन्, “हामी पुसेभैलो जोगाउन लागिपरेका त छौं, तर आधुनिकताका कारण हाम्रो संस्कृति हराउँदै गएको छ ।”

भैली मार्फत जुम्ली संस्कृति देशभर फैलेको भन्दै स्थानीयहरू खुशी छन् । जुम्लाका लोकसंस्कृतिविद् रमानन्द आचार्य जुम्ला हुँदै यो संस्कृति काठमाडौं पुगेर देशभर लोकप्रिय भएको बताउँछन् । उनी भन्छन्, “बलिराजले शुरू गरेको भैली धेरैले खेलेको देख्दा खुशी लाग्छ ।”

 

प्रतिकृया दिनुहोस