टिप्पणीशनिबार, ९ कार्तिक , २०७६

ऐतिहासिक ठाउँमा आधुनिक निर्माण

वसन्त महर्जन

ढुङ्गा निर्मित पुराना चैत्यहरू संरक्षण गर्ने नाममा सिमेन्ट र इँटाले छोप्नु भन्दा पुरानो स्वरुपलाई नै मर्मत मात्र गरेको भए ऐतिहासिकता कायम राख्न सघाउ पुग्थ्यो।

वसन्त महर्जन

काठमाडौंबाट लगभग १२ किमि उत्तरतर्फ जीतपुरफेदीभन्दा माथि ‘पाँच माने’ भन्ने ठाउँ छ । स्थानीय नेवार समाजमा ‘न्यागःमणि’ नामले परिचित यस स्थलमा नाम अनुसार पाँचवटा बौद्ध चैत्य हुनुपर्ने हो तर सात–आठ वर्षअघि थुम्कोमा रहेको एउटा चैत्य पहिरो सहित बगेपछि चारवटा छन् । ती चारवटामध्ये अर्को एउटा चैत्य पनि पहिरोले खसाउनै लागेको छ । बाँकी तीनवटा ढुङ्गा निर्मित चैत्य अहिले जीर्णोद्धार गर्ने क्रममा सिमेन्ट प्रयोग गरेर बाहिरी पत्रमा इँटाले छोपिएको छ ।

यी चैत्यका सम्बन्धमा स्थानीय व्यक्तिहरूले अनौठा र काल्पनिक कथा सुनाउँछन् । जीर्णोद्धारका लागि जग राख्ने दिन (वि.सं. २०७१ पुस १३) त्यहाँका स्थानीय नागरिक भन्दै थिए– ‘जङ्गबहादुर राणाको वेलामा नेपाल र तिब्बत बीच युद्ध हुँदा तिब्बती सेना यहाँसम्म आइपुगेको र चैत्य भत्काएर फर्केका हुन् ।’ कोही भन्दै थिए– ‘तिब्बती सेनाले यी चैत्य बनाएर गएका हुन् ।’ यो धेरै समय अघिको कुरै होइन । धेरै मानिस इतिहासका बारेमा गलत धारणा बनाएर बस्छन् भन्ने कुराको यो एउटा राम्रो उदाहरण हो ।

तस्वीर : वसन्त महर्जन

तिब्बती सेनाले चैत्य किन भत्काउनु ? युद्ध गर्न आएका सेना चैत्य बनाएर किन बसून् ? यति पनि हेक्का नराख्दा यस्ता काल्पनिक कथा बुनिएका हुन् । अर्को कुरा नेपाल–तिब्बत युद्धका वेला सेनाहरू यहाँसम्म आएकै थिएनन् भन्ने कुरा वेत्रावतीमा सन्धि भएबाट पनि बुझ्न सकिन्छ ।

जीतपुरफेदी केही दशकअघिसम्म पनि काठमाडौं उपत्यका प्रवेश गर्ने एउटा व्यापारिक नाका थियो । भञ्ज्याङमा रहेका यी पाँच चैत्य हाम्रा गौरव र पहिचान हुन् । काठमाडौं–नुवाकोट आउजाउ गर्ने परम्परागत बाटो पनि यही थियो ।

प्रत्येक साउन महीनामा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेला भर्न धुन्चे भएर जाने तीर्थयात्रीहरू यही बाटो प्रयोग गर्थे । मल्लकालीन घटना वर्णन गरिएको नेपालभाषाको एउटा गीतमा पनि यस ठाउँलाई ‘न्यागःमणि’ नै भनिएको छ । तीर्थयात्रीहरू एक रात यहाँ बास बसेर कुण्डतर्फ लाग्थे ।

बास बस्ने ठाउँ चैत्य स्थलभन्दा केही मिटर उत्तर दिशामा बाटोको छेवैमा रहेको सत्तल र त्यस वरिपरि हुनुपर्दछ । ६ वर्षअघिसम्म पनि त्यहाँ ठूलो सत्तल र शिवलिङ्ग सहितको मन्दिर थियो । हिजोआज उक्त सत्तल भएर जाने परम्परागत बाटो शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र परेको छ । निकुञ्जभित्र परेका कारण सेनाले प्रवेश निषेध गरेको सूचना टाँसेको छ ।

तिब्बती इतिहासमा बौद्ध धर्म विरोधी अत्याचारी राजा लाङ्दार्माको हत्यापछि तिब्बत विखण्डित भयो । यसले संरक्षकको अभाव हुँदा बौद्ध धर्मको अभ्यासमा पनि विकृति मौलायो । यस अवस्थामा पश्चिमी तिब्बतको गुगे प्रदेशमा उदय भएको एक राज्यका राजा ल्हा–लामा–यस्से–ह्वे (राजा ज्ञानप्रभ) ले बौद्ध अभ्यासमा सुधार गर्न भारतको विक्रमशील महाविहारका प्रकाण्ड विद्वान् ‘अतीशा दीपङ्कर श्रीज्ञान’ लाई आमन्त्रण गरेका थिए ।

जीतपुरफेदी केही दशकअघिसम्म पनि काठमाडौं उपत्यका प्रवेश गर्ने एउटा व्यापारिक नाका थियो । भञ्ज्याङमा रहेका यी पाँच चैत्य हाम्रा गौरव र पहिचान हुन् । काठमाडौं–नुवाकोट आउजाउ गर्ने परम्परागत बाटो पनि यही थियो ।

ती विद्वान् नेपालको बाटो हुँदै तिब्बत जाँदा काठमाडौंमा केही समय रही जीतपुरमाथिको ‘पाँच माने’ को बाटो भएर गएका थिए । बौद्ध विद्वानकाे तिब्बत प्रस्थान सम्बन्धी वर्णन गरिएको अतीशा दीपङ्कर जीवनी वर्णनमा यहाँका पाँच वटा चैत्य पनि उल्लेख गरिएका छन् । अतीशाको गमन इ.सं. १०४१ मा भएको सो वर्णनमा उल्लेख भएकाले ती चैत्यहरू पहिलेदेखि नै थिए भन्न सकिन्छ ।

जीतपुरमाथि भञ्ज्याङमा रहेका ती चैत्यहरू ढुङ्गा र माटोबाट निर्मित छन् । पुरातत्व विभागले यी चैत्यहरूबाट केही प्राचीन सिक्का प्राप्त गरेको थियो । पुरातात्विक संरचनामा केही काम गर्न पुरातत्व विभागको संलग्नता वा अनुमति अनिवार्य चाहिने कानूनी प्रावधान छ ।

जग हाल्ने अवसरमा पुरातत्व विज्ञ भनेर उपस्थित गराइएका व्यक्ति यस विषय क्षेत्रसँग परिचित अनुहार थिएनन् । यो पंक्तिकारले अर्का दिन विभागसँग बुझ्दा त्यहाँ कोही प्रतिनिधि नपठाइएको र जीर्णोद्धारबारे विभागलाई जानकारी पनि नभएको थाहा भयो । स्थानीय व्यक्तिहरूद्वारा गरिएको भनिएको जीर्णोद्धार कार्यबारे विभाग पूर्णतः अनभिज्ञ थियो ।

बाटो छेउमा रहेको चैत्य बगाउने पहिरो मुनिबाट पर्खाल उठाएर चैत्य पुनःस्थापना गर्न सकेको भए प्रशंसायोग्य काम हुन्थ्यो । अझैसम्म पहिरो जानेक्रम नरोकिंदा अर्को चैत्य पनि खस्ने अवस्थामा छ । साथै ढुङ्गा निर्मित पुराना चैत्यहरूलाई संरक्षण गर्ने नाममा सिमेन्ट र इँटाले छोप्नु भन्दा पुरानो स्वरुपलाई नै मर्मत मात्र गरेको भए यसले ऐतिहासिकता कायम राख्न सघाउ पुग्थ्यो । इतिहास र सम्पदाबारे संवेदनशील हुन नसक्दा ऐतिहासिक धरोहर जोगाउने अवसर गुमेको छ ।

प्रतिकृया दिनुहोस