टिप्पणीशुक्रबार, ८ कार्तिक , २०७६

जङ्क फूड : मन्द विष

डा.अरुणा उप्रेती

सबै आमाबाबु छोराछोरीले पौष्टिक खानेकुरा खाऊन्, स्वस्थ रहून् भन्ने चाहन्छन् तर त्यस अनुरूप व्यवहार भने गर्दैनन्।

अरुणा उप्रेती

‘छोराछोरी खाना खानै मान्दैनन्, दुब्लाएर सिट्ठा भइसके । चकलेट र आइसक्रिम जति दिए पनि भो भन्दैनन् । के गर्ने होला ?’ अधिकांश बाबुआमा प्रायः यस्तै गुनासो गर्छन् । सबैको बुझाइ छ, समस्या बालबालिकामा छ । तर होइन, मूल समस्या त आमाबाबुमै देखिन्छ ।

बालबालिकामा आफूलाई अरुले ध्यान दिऊन् भन्ने मनोविज्ञान हुन्छ । यो चाहना उनीहरूले अनेक ढङ्गबाट प्रस्तुत गर्दछन् । खाना खाने वेलामा देखाउने घुर्की यसको एउटा उदाहरण हो ।

गाउँतिर भ्याईनभ्याई काममा जोतिइरहनुपर्ने भएकाले छोराछोरी पुलपुल्याउने फुर्सद आमाबुबासँग हुँदैन । तीन–चार वर्षका बालबालिका पनि भान्सामा जे पाकेको छ त्यही खाइरहेका हुन्छन् । खाना ख्वाउन ‘गोठालो’ लाग्नै पर्दैन ।

शहरतिर भने उल्टो छ । बालबालिकालाई पौष्टिकताले भरिपूर्ण अन्न, गेडागुडी, त्यसको पीठो र आलु लगायतका खाद्यान्नबाट घरमै बनाइएका खानेकुरा दिन छाडेर प्याकेट वा बट्टामा भएका खानेकुरा दिन सजिलो मानिन्छ । त्यस्ता आमाबाबुले के याद गर्दैनन् भने बजारबाट ल्याइने प्याकेट वा बट्टाका महँगा खाद्यवस्तु पनि तिनै खाद्यान्नबाट बनाइएका हुन्छन् ।

खाद्यवस्तु उत्पादक कम्पनीले बालबालिकालाई के मन पर्छ भनेर गरिने अनुसन्धानमा आधारित भई स्वाद परिवर्तन गर्ने र आकर्षक देखिने प्याकेटमा खानेकुरा राखेर बजार पठाउने गर्छन् ।

उत्पादकले खाद्यान्नमा चिनी, नून, अमिलो–पिरो मिसाएर जिब्रो फड्कार्ने गरी स्वाद र स्वरुप परिवर्तन गरिदिन्छन् । यस्तै खानेकुरा बालबालिकाले मनपराएर खान्छन् । यी खानेकुरा महँगा त छन् नै तिनमा घरका खानामा जति पौष्टिकता पनि हुँदैन ।

यसबाट प्राकृतिक स्वाद भएका खानेकुराप्रति उनीहरूको रुचि घट्दै जाने मात्र होइन विस्तारै घरको खाना नै नखाने प्रवृत्ति हुर्किन्छ । आमाबाबुले बालबालिकामा देखिएको यो प्रवृत्ति निरुत्साहित गर्दै जानुपर्छ ।

तर धेरै अभिभावक उनीहरूकै अघिल्तिर बसेर परिवारका सदस्य वा साथीहरूसँग ‘यसले त घरको खानै खाँदैन; बजारबाटै किनेर ल्याउनुपर्छ’ भनेर सुनाउँछन् । बालबालिका पनि यस्तो पो गर्नुपर्ने रहेछ भनेर बिजाइँ गर्न उत्साहित हुँदै जान्छन् ।

कुनै पनि अभिभावकले बालबालिकाका अगाडि ‘यसले त हरियो साग मनै पराउँदैन; दाल खाँदै खाँदैन, आलु चिप्स मात्र खान्छ’ जस्ता वाक्य बोल्नै हुँदैन ।

अभिभावकले प्रयोग गर्ने यस्तै वाक्य अरु थुप्रै छन्– ‘मेरी सात वर्षकी छोरीले त फलफूल खान्न भन्छे; चकलेट दियो भने खुशी हुन्छे; मेरो छोरालाई जाउलो, खिचडी, रोटी दियो भने छ्या भन्छ; स्कूल लैजाने खाजामा चाउचाउको प्याकेट नराखिदिए स्कूल जान्न भन्छ; चिप्स र पिज्जा नभई मेरो बच्चा त पढ्नै मान्दैन ।’

बाल्यावस्थामा पन्पिएको यही बानी किशोरावस्थामा पुगिसक्दा पनि रहिरहन्छ । सडक, बजार, स्कूल, क्याम्पस, पिकनिक स्थलमा चाउचाउ र चिप्सका प्याकेट बोकेका किशोरकिशोरीले मजा मान्दै खाएको हामीले टुलुटुलु हेरिरहेकै छौं ।

धेरै अभिभावक उनीहरूकै अघिल्तिर बसेर परिवारका सदस्य वा साथीहरूसँग ‘यसले त घरको खानै खाँदैन; बजारबाटै किनेर ल्याउनुपर्छ’ भनेर सुनाउँछन् । बालबालिका पनि यस्तो पो गर्नुपर्ने रहेछ भनेर बिजाइँ गर्न उत्साहित हुँदै जान्छन् ।

अभिभावकले घरमा बनाएको खाजा दिनुको सट्टा हातमा पैसा राखिदिने गरेकाले पनि बालबालिकामा अस्वस्थकर खाना खाने बानी बढ्दै गएको हो ।

वास्तवमा बजारका यस्ता खानेकुरा ‘मन्द विष’ नै हुन् । विडम्बना, थुप्रै आमाबाबुले आफ्ना सन्तानलाई विस्तारै ‘मन्द विष’ दिएको चालै पाएका छैनन् ।

बालबालिकालाई जहिलेदेखि उनीहरूलाई ठोस खाना ख्वाउन शुरु गरिन्छ त्यही वेलादेखि बाहिरको होइन घरमै तयार गरिएका खानेकुरा खान प्रेरित गर्नुपर्छ ।

त्यसका लागि ७–८ महीनाको बच्चालाई लिटो, घरमा बनाइएको हलुवा, जाउलो, हरियो तरकारी र दालको झोल आदि खुवाउन थाल्नुपर्छ । शुरु–शुरुमा गाह्रो माने पनि बालबालिकाले विस्तारै खान थाल्छन् ।

बालबालिकाले खान समय लगाउँछन् भनेर जबरजस्ती कोच्याउने गर्‍यो भने पनि पछिसम्म त्यसैगरी ख्वाउने बानी बस्छ । कतिपय घरमा १२–१३ वर्षको हुँदासम्म आमा, दिदी, बज्यै वा सहयोगीले खुवाएको हामी सबैले देखिरहेकै छौं । यसले बालबालिकामा खाना खाँदा अरुको भर पर्ने बानी बस्छ ।

बच्चाले खान मानेन् भनेर गुलियो हालिदिने वा बजारमा पाइने खानेकुरा ल्याइदिने गर्नै हुँदैन । उनीहरूलाई खाना ख्वाउँदा पर्याप्त समय छुट्याउनै पर्छ ।

बालबालिका अलि बढेपछि बाबुआमाले दिक्क मानेर भनेको सुनिन्छ– “मेरो बच्चाले हरियो केही खाँदैन ।” अलि पछि बच्चा लिएर अस्पताल कुद्न थालेपछि मात्रै आफूले कहाँ त्रुटि गरेछु भनेर सोच्न थाल्दा अबेर भइसकेको हुन्छ ।

प्रतिकृया दिनुहोस