टिप्पणीबुधबार, ६ कार्तिक , २०७६

प्रकृति : साझा नेपाली दर्शन

डा. तीर्थबहादुर श्रेष्ठ

अनेक वाद, वैचारिकी, धर्म, सम्प्रदायका आधारमा विरोधाभास खोज्नुको साटो यसो विचार गरौं त हामी सबैका चाडपर्व त सूर्य, चन्द्र, ग्रहगण, ताराकै हिसाबकिताबमा चल्छन्; हामी सबै भूमि, नदी, आकाश– यी सबैको पूजा गर्छौं। बुझौं, हाम्रो शक्ति र सामथ्र्यको स्रोत पनि प्रकृति हो।

 

मेरो बुझाइमा, मानिसको नभएर कुनै अलौकिक शक्तिको कृतिलाई नै प्रकृति मान्नु सजिलो हुन्छ । त्यस अर्थमा पाँच तत्व जल, स्थल, वायु, आकाश र तेज प्रकृतिका निर्जीव तत्व हुन् र तिनका आधारमा बाँचेका प्राणधारी जीव जीवित प्राकृतिक तत्व हुन् ।

हिन्दू धार्मिक दर्शन अनुसार, प्रभु (जगदीश्वर/भगवान) को अपरम्पार शक्तिमा यो संसार घुम्दछ र घुमिरहेको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको कविता बाल्यावस्थामा कण्ठ गरिन्थ्यो– ‘शक्ति छ प्रभुको अपरम्पार, घुम्दछ जसमा सब संसार’ । पृथ्वी आफ्नो अक्षमा घुम्दछ र संसारमा दिन–रातको क्रम चल्दछ । स्वयं पृथ्वी आफ्नै कक्षमा पनि घुम्दछ, जसले ऋतुचक्र निर्माण गर्दछ।

यसरी हेर्दा घुम्नु पृथ्वीको प्रकृति हो । निश्चित चक्रमा घुम्नु प्राकृतिक नित्यको द्योतक हो । यो प्राकृतिक चक्रलाई हिन्दू धर्मावलम्बीहरू सृष्टि, पालन र संहारको रूपमा अथ्र्याउँछन् । यी चक्रको सञ्चालन र सम्पादनमा तीन फरक भगवानको परिकल्पना गरिएको छ– ब्रह्मा, विष्णु र महेश्वर । आध्यात्मिक अर्थमा भन्ने हो भने, अनित्य जीवनको नित्य चक्र नै प्रकृति हो भन्ने बुझ्नि आउँछ।

ईश्वर र प्रकृति

ईश्वर प्रकृति हो या प्रकृति ईश्वर ? या दुवैमा दुवै समाहित छन् ? त्यो नबुझिको कुरा हो । हामी मान्छेले नबिथोलेको जल, स्थल, वायु, आकाश तथा जीवजन्तु र उद्भिद भएको ठाउँलाई प्राकृतिक स्थल भनी बुझ्दछौं । तर, अहिलेको संसारमा यस्तो ठाउँको अभाव हुन थालेको छ।

पिउने पानी, सास फेर्ने हावा, बस्ने वासस्थान, ताप्ने घाम एवं अन्तरिक्ष समेत मानव अतिक्रमण र वातावरणीय प्रदूषणबाट मुक्त छैनन् । हाम्रा दर्शन र शास्त्रहरूले त प्रकृति, नदीनाला, पर्वत, वन, वृक्ष एवं पशुपक्षी, भूमिलाई पुज्न सिकाएको छ, प्रदूषण गर्न होइन ।

हामी नदीलाई पुज्छौं कि नदीको प्रकृतिलाई भन्ने बुझनु परेको छ । नदीको प्रकृति स्वच्छ, शुद्ध र स्वस्थ पानीको आपूर्ति गर्ने हो । बग्ने चिज बगाएर, गल्ने चिज गालेर लग्ने हो । हाम्रो तन र मन शुद्ध र स्वच्छ राख्नु हो।

यहाँनेर म मेरी आमाले आफू १०० वर्ष नाघ्दासम्म पनि दोहोर्‍याइरहने एउटा वाक्य उद्धृत गर्न चाहन्छु– ‘पशुपतिको चारै ढोका गुह्येश्वरीको दैलो, स्नान गर्नु वागमतीमा जान्छ मनको मैलो।’

आजका नेपाली वागमती नदीलाई पूजा, आराधना र आरती गर्छन् कि वागमतीको त्यो प्रकृतिलाई जसले मनको मैलो समेत पखालिदिन्छ ? नदीमा मनको मैलो पखाल्न सक्ने प्रकृति नै छैन भने त्यो नदी के नदी?

हामी पीपलको वृक्षलाई ‘नारायण भगवान’ मानेर आराधना गर्दछौं । त्यो पूजा पीपललाई मात्रै होइन, पीपलको प्रकृतिलाई पनि हो भन्ने हेक्का राख्नुपर्छ।

पीपलको प्रकृति त्यसले दिने छहारी मात्र हैन, हामीले सास फेर्ने वायु शुद्ध गर्ने पनि हो । वृक्षभरि चराचुरुङ्गी, कीट–पतङ्गलाई आश्रय दिन पनि हो । जराले जमीनलाई जकडेर सुरक्षा पनि गर्नु हो । वृक्षको प्रकृति वर्णन गरिसाध्य छैन । यत्ति भनौं कि– मान्छेलाई बुद्ध बनाउने प्राकृतिक वातावरण वृक्षले नै सिर्जेको हो ।

दर्शन र प्रकृति

दर्शनशास्त्रले जगत एवं जीवका तत्व बुझन, बुझउन चेष्टा गर्दछ । यो जगत के हो ? यसलाई कसले बनायो ? कसले बनायो चन्द्र र सूर्य ? हामी को हौं ? किन आयौं यो जगतमा ? हिजो के थियौं ? भोलि के हुँदैछौं ? यस्ता प्रश्नहरू दर्शनशास्त्रका आधार हुन्।

हिन्दू धर्मशास्त्रमा आधारित दर्शन अनुसार, यो जगत विभिन्न कालखण्डमा युगानुकूल परिवर्तन हुँदै विकसित भएको हो । सृष्टि सिद्धान्तको त्यो ज्ञान वर्तमान विश्वको वैज्ञानिक ‘विकासवादी सिद्धान्त’ प्रतिपादन हुनुभन्दा हजारौं वर्ष पहिले स्थापित थियो । जीव प्राणीको उत्पत्ति वा सृष्टिको सिलसिला पानीबाट र पहिलो अवतार मत्स्यबाट आरम्भ भयो।

दोस्रो कच्छप (कछुवा) अवतारले जल र जमीनमा बाँच्ने उभयचर प्राणीको प्रादुर्भाव सङ्केत गर्दछ । त्यसपछि स्तनधारी प्राणीको रूपमा बराह अवतार प्रकट हुन्छ । स्तनधारी प्राणीको विकास सिलसिलामा नृसिंह, वामन, परशुराम, राम, श्रीकृष्ण र बुद्ध अवतार हुँदै आज हामी कल्की अवतारको युगमा छौं।

सृष्टि संरचनाको क्रमिक विकासको सोच सर्वप्रथम फ्रान्सका लामार्कले सन् १८०९ र बेलायतका डार्बिनले सन् १८५९ मा ‘प्रजातिका उत्पत्ति’ पुस्तक मार्फत सार्वजनिक गरेका थिए।

इसाइहरूको धर्मग्रन्थ बाइबलमा सम्पूर्ण सृष्टिको निर्माण एकै कालखण्डमा (६ दिनभित्र) भएको हो भन्ने मान्यता रहेकाले उबेला लामार्क र डार्बिन जस्ता वैज्ञानिकहरूले ठूलो खप्की खानुपरेको थियो । विकासवादी सिद्धान्तको वैज्ञानिक मान्यता इसाइ जगतमा स्थापित हुन निकै कठिन रह्यो।

मान्छे र प्रकृति

नेपाली दर्शनमा प्रकृतिको बदलिंदो चक्रले गहिरो छाप छाडेको छ । बौद्धमार्गीहरू अनित्यको सिद्धान्तलाई विशेष मान्यता दिन्छन् । भन्छन्– नित्य भन्ने कुनै अवस्था हुँदैन । समयले सबैलाई परिवर्तन गर्छ । हामी प्रकृतिको चक्रीय प्रणालीभित्र जीवन दर्शन भेट्छौं ।

जन्म, मृत्यु, पुनर्जन्म, इहलोक र परलोकमा हामीजसो धेरैको आस्था छ । ‘नमरी स्वर्ग देखिन्न’ भन्ने पनि हाम्रो विश्वास छ। परलोक हाम्रो चेतभन्दा टाढाको वस्तु हो । बौद्धमार्गीहरू धर्म, कर्म, पाप र पुण्य इहलोकमा भोग्नुपर्छ भन्छन् । र; सदाचार, सम्यक् र अहिंसाको बाटोमा लाग्न प्रेरित गर्दछन् ।

विकासवादी सिद्धान्त अनुसार मनुष्य जाति जङ्गली वन्यजन्तु विशेषतः रूख चढ्ने बाँदर प्रजातिको वंशबाट विकास भएर, घुमन्ते र फिरन्ते जीवन त्यागेर, कृषिमा आधारित स्थायी बसोबासको बाटो अँगाल्दै विकासको बाटोमा लागेको तथ्य हामी पूर्णतया स्वीकार्दछौं।

हाम्रो सनातन धर्मले त्यही बाटोलाई फर्केर हेर्ने र जीवनलाई चार आश्रम ‘ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास’ मा व्यतीत गर्ने सिफारिश गरेको छ । त्यस अनुरूप जीवन बिताउने हो भने हामी अधिक समय प्रकृतिको समीपमा हुन्छौं ।

हिजोआज अधिकांश मानिसहरू आफ्नो जाँगरिलो, उत्पादनशील र प्रजनन्शील अवस्था पछिको विश्रान्ति जीवन प्रकृतितिरै फर्कने प्रवृत्ति मौलाउँदो छ । पर्या–पर्यटनको वर्तमान अवधारणाहरू प्रकृतितिर पुनरावृत्त हुने मानव चाहनाको द्योतक पनि हो । प्रकृति संरक्षण आदर्श मात्र होइन आर्थिक स्रोत पनि हो भन्ने मान्यता स्थापित भइसकेको छ ।

ज्ञान र प्रकृति

हाम्रा हिमाल, पहाड, वन, नदीनाला आदि/अनादि कालदेखि नै ज्ञान–विज्ञानका स्रोतकेन्द्र रहेको वेदव्यास, वाल्मीकि, कालिदास, तुलसीदासदेखि शिवपुरी बाबा र खप्तड स्वामीका जीवनी र लेखनीबाट समेत प्रष्ट हुन्छ । बौद्ध गुरु मिलेरपाले स्थापित गरेका हिमाली वेयुल र किमोलुङ्माहरू आज पनि बौद्ध दर्शनको मौलिक भण्डारको रूपमा स्थापित छन् । नेपाली दर्शन र ज्ञान–विज्ञानको उद्गमस्थलहरू प्रकृतिकै काखमा छन् ।

बुद्धको जन्म सालको वृक्ष मुनि भयो। पीपलको रूखमुनि उनले बुद्धत्व प्राप्त गरे । आफ्नो उपदेश र रचनाहरू वर, पीपल र विभिन्न वृक्षकै चौतारीबाट प्रसारण गरे र परिनिर्वाण पनि सालकै वृक्ष मुनि भयो ।

नेपाली दर्शन

नेपालको प्राकृतिक एवं सांस्कृतिक दर्पण नियाल्यौं भने अनेकतामा एकता र एकतामा अनेकता नै हाम्रो जीवन दर्शन अनुभूत हुन्छ । सन् १९८९ को वन गुरुयोजनामै नेपालको भोट, हिमाल, पहाड, मधेश, चुरे र तराईका ६ थरीका भूगोलमा ११८ वटा पारिस्थितिकीय प्रणाली विद्यमान रहेको प्रष्ट्याइएको छ । आफ्नो ‘दिव्योपदेश’ मा पृथ्वीनारायण शाह नेपाललाई ‘चार जात छत्तीस वर्णको फूलबारी’ भन्छन् ।

अध्ययन र अनुसन्धानले त्यसभित्र पनि १२३ विभिन्न भाषा–भाषिका बोल्ने नेपाली छन् भन्ने औंल्याएको छ । बुलु मुकारुङ लिखित हाम्रो जाति हाम्रो थर (२०६६) पुस्तकका अनुसार, जातिभित्रका थरहरू पनि छुट्याउँदा नेवारमा मात्र ६३४ थर भेटिए ।

यत्रो विधि–विविधता भएको भूगोल र संस्कृतिलाई एकतामा जोड्ने त्यो दर्शन के होला भनी घोत्लियौं भने निश्चय पनि प्रकृति र प्राकृतिक सम्पदाप्रति नेपालीको आस्था, भरोसा र तदनुरूपको जीवनपद्धति देखिन आउँछ ।

नेपालीको जीवन आधार कृषि, वन, वनस्पति र पशुपालनमा निहित छ । उत्तम खेती, मध्यम व्यापार र निर्घृण चाकरी (नोकरी/सेवा) हाम्रो पुरानो मान्यता नै हो । सबै संस्कृतिका मानिस भूमिलाई माता मान्दछन् । मनसुन, मेघ, वर्षा सबैका लागि साझ प्राकृतिक वरदान हो । जलाशय एवं नदीनालामा सबै जनजातिले आफ्नो देवता भेट्दछन् ।

सबै नेपाली सूर्यसँगै ब्युँझन्छन् र सूर्यसँगै सुत्दछन् । सूर्य सबैको साझा भगवान हो । जलवायु र ऋतुचक्रमा उभौली–उधौली लगायत अरू बन्द–व्यापार र मौसमी बसाइँसराइका तालिका निर्धारण हुन्छन् । घर छाडेका कुनै जुम्ली चैतको १२ गते घर फर्केन भने मरेको ठान्ने समाज पनि छ । चैत १२ गते रोपाइँ सम्पन्न गर्नुपर्ने बाध्यता ऋतुचक्रले नै निर्धारण गरेको मिति हो।

हामी सबैका चाडपर्व सूर्य, चन्द्र, ग्रहगण, ताराका हिसाबले चल्ने गर्दछ । प्रकृति अनुरूपको संस्कृति र संस्कार हाम्रो साझा धर्म हो । कुलदेवता, इष्टदेवता, मष्टो, मालिका, कालिका, ग्रामदेवता, सिमे–भूमे, नागनागिनी एवं पितृ पूजामा हामीलाई प्रकृति र प्राकृतिक शक्तिले ऐक्यबद्ध गरेको पाउँछौं ।

ऐक्यबद्धताको त्यो सङ्केत हाम्रो चन्द्र–सूर्यको झ्ण्डामा फक्रिन्छ । हाम्रो प्रकृति दर्शनले अनेकतामा एकता कायम गर्ने शक्ति र सामथ्र्यको विकास गराउँछ । गम्नोस् त, चन्द्र र सूर्यलाई कुन जात, जाति, धर्म वा संस्कृतिले पुज्दैन ?

वसुधैवकुटुम्बकम्

नेपाली दर्शन अनुरूप वस्तु र प्रक्रियाको संयुक्त स्वरुप नै प्रकृति हो भन्ने मेरो बुझइ छ । परिस्थिति परिवर्तनशील हुन्छ, कुनै पनि वस्तु नित्य हुँदैन । अनित्य वस्तुलाई नित्य प्रक्रियाभित्र चक्रीय प्रणालीमा ढालेर प्रकृतिले आफ्नो स्थायित्व कायम गर्दछ । प्रकृतिको चक्रीय प्रणालीभित्र स्थान नपाउने अर्थात् महेश्वरबाट पनि संहार नहुने कृत्रिम वस्तु जस्तै प्लास्टिक, रासायनिक पदार्थहरूले वातावरण प्रदूषित गर्दछन् । तिनको उचित व्यवस्थापन नभए प्रलयको सामना गर्नुपर्ने हुन्छ ।

हामी सबै एउटै पृथ्वीका सन्तान हौं भन्ने ‘वसुधैवकुटुम्बकम्’ आदर्श नमान्ने हो भने पृथ्वीको तापमान बढेर सबै सबै जलवायु परिवर्तनको प्रकोपमा होमिन्छौं । यो भावना नमान्ने केही विश्व नेताहरू संयुक्त राष्ट्रसंघका लागि समेत चिन्ताका कारण बनिरहेका छन् ।

हामी नेपालीले बुझ्नुपर्छ– प्राकृतिक एवं सांस्कृतिक विविधतामा मौलाएको हाम्रो बहुजातीय एवं बहुभाषिक सहअस्तित्व र सहिष्णुताको कडीलाई फगत आर्थिक वा राजनीतिक स्वार्थले बिथोल्नु आत्मघाती हुनेछ ।

हाम्रा विगत र परम्पराले स्थापित गराएका गौरव र सबल पक्षमा टेकेर नयाँ फड्को मार्नु नै आजको माग हो । विकासको सिलसिलालाई क्रम भङ्ग गर्नु र नयाँ चमत्कारी अवस्थाको अपेक्षा गर्नु प्रकृतिको दर्शन र सिद्धान्तबाट समेत प्रतिकूल हुन्छ । विकास, निर्माण र समृद्धि सबै प्रकृतिकै काख र साथमा हुनुपर्छ ।

 

प्रतिकृया दिनुहोस