टिप्पणीशनिबार, २ कार्तिक , २०७६

चासो बाहिर चमेरो

कमल मादेन

–कमल मादेन

प्रकृति र मानवका लागि अत्यन्तै उपयोगी चमेरोको अनुसन्धान र संरक्षणमा अपेक्षाकृत प्राथमिकता नदिइनु विडम्बना हो। 

 

कमल मादेन

उड्न सक्ने एक मात्र स्तनधारी प्राणी हो, चमेरो । पातलो कपडा झैं झिल्लीदार पखेटा हुने यो प्रायः राति उड्छ । चमेरोको उद्भव सम्बन्धी अनुसन्धानबाट चार/पाँच करोड वर्ष पुराना जीवाश्म भेटिएका छन् । वैज्ञानिकहरू यसको पूर्वज छुचुन्द्रो वा यस्तै कुनै जन्तु रहेको अनुमान गर्छन् ।

चमेरो अन्धो जन्मिए पनि ७ देखि ९ दिनबाट देख्न थाल्छ । तर, यसले चर्को प्रकाश सहँदैन । आकारका हिसाबले चमेरो साना र ठूला दुई प्रकारका हुन्छन् । ठूला चमेरोको आँखा सानोको तुलनामा ठूला हुन्छन् र देख्न सक्ने क्षमता पनि बढी हुन्छ । ठूलाले फल र फूलका रस खान्छन् भने सानाले मूलतः कीरा खान्छन् ।

दिउँसो रूखका हाँगा वा गुफामा झुण्डिएर बस्ने चमेरो रातको अन्धकारमा कसरी उड्न सक्छ त ? यसको कारण रोचक छ । चमेरोले विशेष किसिमको ध्वनि निकाल्छ, नजिकका वस्तुसँग ठोक्किएर फर्किने त्यसैको प्रतिध्वनिलाई विश्लेषण गरेर यो राति उड्ने गर्छ ।

तस्वीर : सन्जन थापा  

संसारमा पाइने करीब १२०० प्रजातिका चमेरामध्ये नेपालमा ५१ भन्दा बढी प्रजाति पाइन्छन् । सन् १९९७ मा नेपालबाटै पत्ता लागेको ‘मुसाकाने चमेरो’ हाम्रो रैथाने प्रजाति हो, जसको वैज्ञानिक नाम ‘मायोटिस सिसोर्बाइ’ हो ।

चमेरो प्रकृति र मानव दुवैका लागि उपयोगी जीव हो । यसले विशेषतः राति फूल फुल्ने वनस्पतिमा परागसेचन गराउन महत्वपूर्ण भूमिका खेल्छ ।

एक अध्ययन अनुसार चमेरोबाट सिमल, टोटला, चिउरी, केरा, मेवा, आँप, लिची, अमला, पीपल, कदम, निम, जामुन लगायत करीब ७०० प्रजातिका वनस्पतिमा परागसेचन हुन्छ ।

चमेराले परागसेचन गराउने मात्र होइन, वनस्पतिलाई एक ठाउँबाट अर्को ठाउँमा फैलाउने काम पनि गर्छ । चमेराले सिमल, खस्रेटो, रुद्राक्ष, कफी, वर, पीपल, अम्बा, डुम्री, स्वामीका फल खान्छ र बिष्टाबाट विभिन्न ठाउँमा तिनका बिरुवा उम्रन्छ ।

चमेराले अन्न उत्पादन र भण्डारणमा असर पुर्याउने मुसा, छुचुन्द्राको शिकार गर्छ । यस्तै, साना चमेराले लामखुट्टे, भुसुना, ससाना कीरा खाने गर्छ । अमेरिकामा गरिएको एक अध्ययनमा एउटा चमेरोले प्रतिघन्टा एक हजार वटा लामखुट्टे खाएको थियो ।

अध्ययन र अबको चिन्ता

नेपालमा चमेरा अध्ययन शुरू गर्ने श्रेय बी.एच. हड्सनलाई जान्छ । हड्सनले सन् १८३५ मा नेपालबाट मायोटिस फर्मोसस् र हिप्पोसिडेरोस आर्मीगर गरी चमेरोका दुई नयाँ प्रजाति पत्ता लगाएका थिए ।

हड्सनपछि सन् १९९६ सम्म झ्ण्डै २१ वटा विदेशी अनुसन्धानकर्ता/समूहले यहाँ चमेरोका नमूना संकलन गरेको तथ्य पाइन्छ । ‘बायोडाइभर्सिटी प्रोफाइल प्रोजेक्ट, पब्लिकेसन नम्बर ६’ मा लेखिए अनुसार, नेपाल सरकारको तर्फबाट सन् १९९५ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ३८ प्रजातिका चमेरा सूचीकृत गरेको थियो ।

चमेरा संरक्षण सम्बन्धी सचेतना बढाउन काठमाडौंको गोदावरीमा गएको ३१ अगष्टमा आयोजित ‘ब्याट नाइट २०१९’ का क्रममा सहभागी । तस्वीरः मायोटिस सिसोर्बाइ

टि.के श्रेष्ठ लिखित पुस्तक ‘म्यामल्स अफ नेपाल’ (सन् १९९७) तथा हेमसागर बराल र करनबहादुर शाह लिखित ‘नेपालका स्तनधारी वन्यजन्तुहरू’ (वि.सं. २०६५) मा नेपालका चमेरा सम्बन्धी जानकारी उपलब्ध छ । यस्तै, ‘ब्याट अफ नेपालः अ फिल्ड गाइड’ (सन् २०१०) पुस्तकमा नेपालका चमेराबारे मात्रै लेखिएको छ ।

पी.आर. आचार्यले सन् २००६ मा स्नातकोत्तर तहको शोधकार्यमा पोखराको चमेरे गुफाका चमेरा अध्ययन गरेका थिए । उनले सन् २००८ र २०१० मा क्रमशः काठमाडौं उपत्यका, कञ्चनजंघा सिंहलीला कम्प्लेक्स र मकालु बरुण क्षेत्रमा चमेराको अनुसन्धान गरे । एस.पी. फुयालले पनि पोखराको चमेराबारे सन् २००६–२००७ मा दुई वटा लेख लेखेका छन् ।

यसैगरी एच. अधिकारीले सन् २००८ देखि दुई वर्षको अवधिमा चमेरा सम्बन्धी ६ वटा आलेख प्रकाशन गरेका थिए । सन् २००८ यता चमेरो अध्ययनमा केन्द्रित सन्जन थापाले एक दर्जनभन्दा बढी लेख प्रकाशन गरिसकेका छन् ।

चमेरा संरक्षण सम्बन्धी सचेतना वृद्धि गर्ने उद्देश्यले सन् १९९७ देखि ३० भन्दा बढी मुलुकमा हरेक अगष्ट महीनाको अन्तिम साता ‘इन्टरनेशनल ब्याट नाइट’ कार्यक्रम हुँदै आएको छ ।

यसै क्रममा गएको ३१ अगष्टमा राष्ट्रिय वनस्पति उद्यान गोदावरी र साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले ‘ब्याट नाइट २०१९’ आयोजना गरेका थिए । कार्यक्रममा चमेरा समाउन दुई ठाउँमा टाँगिएको जालीमा ‘राइनोलोफस अफिनिज’ प्रजातिका चार वटा चमेरा परेका थिए ।

उद्यानमा नेपालको एक मात्र रैथाने चमेरा मायोटिस सिसोर्बाइ (मुसाकाने चमेरो) पनि पाइन्छ । यो प्रजाति गोदावरी सहित काठमाडौंको सुन्दरीजल, स्याङ्जाको कैलाश गुफा, पोखराको सुदामे, वनथान्ती र तिर्के ढुङ्गामा पाइएको छ ।

मायोटिस सिसोर्बाइ जैविक विविधताको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ । यो प्रजातिको चमेरो डा. जी. सिसोर्बाले सर्वप्रथम २३ जुलाई १९९५ मा स्याङ्जाबाट सङ्कलन गरेका थिए ।

चमेरो समाउन राखिएको जाली ।

सो नमूना हङ्गेरीको बुडापेस्टस्थित हङ्गेरियन न्याचुरल हिस्टोरी म्युजियमको जीवन विज्ञान विभागमा छ । यसैगरी, ए. बोरिसेन्को र एस. क्रुस्कोपले सङ्कलन गरेका यसका थप पाँच नमूना जूलोजिकल म्युजियम अफ मस्को युनिभर्सिटीमा संग्रहित छ । सन्जन थापाका अनुसार नेपालमा यसको नमूना त्रिभुवन विश्वविद्यालय केन्द्रीय जन्तु विभागमा संग्रहित छ ।

मायोटिज सिसोर्बाइ नेपालमा मात्र पाइने भएकाले यो प्रजाति कदाचित मासिए संसारबाटै लोप हुन्छ । तर संरक्षणका लागि विशेष अग्रसरता लिइएको छैन । यसो हुनुको मुख्य कारण हाम्रा अधिकांश वन्यजन्तुविज्ञ यो प्रजातिको चमेरोबारे बेखबर छन् । जसका कारण संरक्षण सम्बन्धी निकाय तथा संघसंस्था पनि अँध्यारोमा छन् ।

 

 

प्रतिकृया दिनुहोस