टिप्पणीशुक्रबार, १ कार्तिक , २०७६

इनामेलले छोपिंदै कलाकृति

वसन्त महर्जन

प्राचीन मूर्तिको गरिमा नबुझ्दा र रङ लगाउँदा राम्रो हुने सोचका कारण जथाभावी इनामेलको प्रयोगले कलाकृतिको अर्थ र महत्वमै असर पार्न थालेको छ।

वसन्त महर्जन

काठमाडौंको स्वयम्भू थुम्कोको पश्चिमतर्फ मञ्जुश्री पर्वस्थान भन्ने ठाउँ छ । यहाँका चैत्य र मूर्तिहरूमा धमाधम रङ लगाउने काम भइरहेको छ ।

साना–ठूला चैत्यहरूको माथिल्लो भागमा अन्धाधुन्द पहेंलो रङ पोत्दा अनर्थ लाग्ने देखिएको छ । काठमाडौं उपत्यकाका ऐतिहासिक तथा सांस्कृतिक महत्वका क्षेत्रमा कलाकृतिलाई रङ्ग्याउने झिल्के सोचकै पछिल्लो कडी हो, यो ।

स्वयम्भू क्षेत्रमा रहेका सबै बुद्धमूर्ति गौतम बुद्धका मात्र नभई पञ्चबुद्धका पनि छन् । पञ्चबुद्ध र गौतम बुद्ध फरक फरक हुन् । निश्चित रङले निश्चित बुद्धलाई जनाउँछ । सेतो, नीलो, पहेंलो, रातो र हरियोले क्रमशः वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धि बुद्धहरूको चित्रण गर्छ ।

यस्तै, पहेंलो रङले शाक्य मुनि गौतम बुद्धलाई जनाउँछ । बुद्ध मूर्तिलाई पहेंलो रङले सजाइयो भने पञ्चबुद्ध पनि शाक्य मुनि बुद्धका रूपमा बुझिन जाने अनर्थ हुन्छ । महायान वज्रयान बौद्ध सम्प्रदायसँग सम्बन्धित मञ्जुश्री पर्वस्थानमा उक्त सम्प्रदायले मान्ने विभिन्न बुद्ध, बोधिसत्व तथा अन्य देवी–देवताका मूर्ति छन् ।

तस्वीर : वसन्त महर्जन

यस पंक्तिकारले पुरातत्व विभागका लागि केही वर्षअघि स्वयम्भू क्षेत्रका सम्पदा एवं मूर्तिको विवरण तयार गरेको थियो । विभागले प्रतिवेदन परिमार्जन गरी ६०० थान मूर्तिको तस्वीर सहितको पुस्तक प्रकाशन गरिसकेको छ । त्यहाँ अझै ४०० भन्दा बढी मूर्तिको अध्ययन हुन बाँकी नै छ । ती मूर्तिमध्ये गौतम बुद्धका मूर्ति १५/२० भन्दा बढी छैनन् ।

बेग्लाबेग्लै मुद्रामा प्रस्तुत गरिने पञ्चबुद्ध फरक फरक दिशासँग सम्बन्धित हुन्छन् । पाँच बुद्ध अन्तर्गत गौतम बुद्धको मूर्ति प्रायः राखिंदैन । गौतम बुद्धका मूर्तिहरू सबै मुद्रामा पाइन्छन्, रङ पहेंलो मात्र हुन्छ ।

विषय र प्रसङ्ग तथा मुद्रा र रङका आधारमा बुद्धका मूर्तिहरू पहिचान गरिन्छ । यसै कारण अन्धाधुन्द इनामेल लगाउँदा बुद्ध लगायत अन्य मूर्तिहरूले गलत अर्थ दिने संभावना हुन्छ ।

ढुङ्गा र काठमा सिर्जना गरिने कलालाई सामान्यतया रङरोगन गरेर झिल्के बनाइँदैन । बरु उक्त कलाकृतिलाई लामो समय टिकाउ बनाउन तेल लगाइन्छ, पुछपाछ गरिन्छ । इनामेलले ढुङ्गाको मूर्तिलाई प्राकृतिक रूपमा नराख्ने र रङमा प्रयोग गरिएको रसायनले असर पार्नेतर्फ ध्यान नै दिएको पाइँदैन ।

काठमाडौं उपत्यकामा रहेका कलाकृतिमध्ये धेरैजसो मध्यकाल, लिच्छविकाल र त्योभन्दा पनि पुरानो समयका छन् । तर रङरोगन गरेपछि ती कुन कालसँग सम्बन्धित हुन् भनेर छुट्याउन गाह्रो पर्छ । अभिलेख नभएका कलाकृतिको काल निर्धारण अन्यत्रका कलाकृतिसँग तुलना गरेर गरिन्छ ।

यसका लागि सूक्ष्म अध्ययन जरूरी हुन्छ । कलाकारले मिहिन शिल्पको प्रयोग गरी कलाकृति सुन्दर पारेका हुन्छन् । रङरोगनले त्यस्तो शिल्प र सौन्दर्य छोपेर कलाको महत्व घटाइदिन्छ ।

स्वयम्भूका मूर्तिहरू विभिन्न समयमा श्रद्धालुहरूले राखेका हुन् । कतिपयको अभिलेखबाट तिनको काल निर्धारण हुन्छ भने अभिलेख नभएका मूर्तिबारे अनुमान र तुलनात्मक अध्ययनको विकल्प हुँदैन । मञ्जुश्री पर्वस्थानमा रहेका चैत्य र मूर्तिहरूमा अभिलेख नभएकाले यस्तै अनुमान वा तुलनात्मक अध्ययन गर्नुपर्ने हुन्छ ।

प्राचीन कलाको गरिमा बुझ्न नसक्दा तथा रङ लगाउँदा सुन्दर हुने सोचले जथाभावी इनामेल लगाउने गरिएको छ । ढुङ्गामा निर्मित मूर्तिहरू लेउ लागेर चाँडै फोहोर हुने भएकाले सफा गरिरहनुपर्ने तर इनामेल लगाउँदा राम्रो देखिने र हत्तपत्त लेउ नलाग्ने जस्ता तर्क सुनिन्छ ।

यो तर्क विवेकपूर्ण छैन । सम्पदास्थलमा दैनिक सरसफाइ र स्वच्छतामा ध्यान दिनैपर्छ । ढुङ्गा निर्मित कलाकौशलमा बेलाबेला तेल लगाउने नेपाली परम्पराले ढुङ्गालाई बलियो र राम्रो पार्ने रैथाने ज्ञान मननीय छ ।

प्रतिकृया दिनुहोस