दस्तावेजबिहिबार, ३० आश्विन , २०७६

त्रिभुवनका भारतीय सेक्रेटरी

भैरव रिसाल

प्रजातन्त्र प्राप्तिपछि राजा त्रिभुवनले सेक्रेटरी नियुक्त गरेका भारतीय नागरिक गोविन्दनारायणले नेपालका गोप्य दस्तावेज र लिखतहरूमा कति चलखेल गरे होलान् !

भैरव रिसाल

नेपाली इतिहास केलाउँदा कतिपय विचित्रका घटना र तथ्यसँग जम्काभेट हुन्छ । कतिले रोमाञ्चित पार्छ, कतिले खिन्न तुल्याउँछ । सार्वभौम, स्वतन्त्र र स्वाधीन मुलुक हो हाम्रो । तर, २००७ सालमा राणाशासन अन्त्य भएपछि राजाका सेक्रेटरी भने विदेशी नागरिकलाई बनाइएछ ।

राजा त्रिभुवनका सेक्रेटरी हुने विदेशी थिए, भारतका गोविन्दनारायण । उनी ब्रिटिश राजको भारतमा आईसीएस (इण्डियन सिभिल सर्भिस) उपाधि प्राप्त थिए ।

शक्तिसम्पन्न परमाधिपति राजाले आफ्नो सेक्रेटरी विदेशी नागरिकलाई किन राखे ? यो प्रश्न रहस्यमय र अनुत्तरित छ । ७ कात्तिक २००८ मा गोविन्दनारायणले श्री ५ को सेक्रेटरीको जिम्मा लिएको समाचार गोरखापत्र मा आयो ।

समाचारमा उल्लेख गरिए अनुसार, तीन वटा दफामध्ये दफा १ मा ‘श्री गोविन्दनारायण आई.सी.एस.ले श्री ५ महाराजाधिराजको सेक्रेटरीको काम लिएका छन्, निजले नेपाल पब्लिक सर्भिस कमिशनलाई सल्लाह दिने काम जस्ता अरू कामकाजहरू जो निजलाई सुम्पिनेछन् सो गर्दै रहनेछन्’ भनिएको छ ।

यस्तै, दफा २ मा १० उपदफा राखी सेक्रेटरीका काम र अधिकार थप खुलाइएको थियो ।

राजा त्रिभुवन । तस्वीर : विकिपिडिया  

जसमा मन्त्रिमण्डलको कागजपत्र लगायत श्री ५ महाराजाधिराजको आदेश वा सूचनाको निमित्त मन्त्रालयहरूबाट आउने सबै सरकारी साध–सोध लेखापढीहरू, श्री ५ महाराजाधिराजको विशेषाधिकार प्रयोग, अनुरोध सम्बन्धी बिन्तीपत्रहरू, सरकारी लेखापढी, गैरनेपाली सरकारी पदाधिकारीहरूलाई श्री ५ महाराजाधिराजबाट बक्सने भेट मुलाकात र अरू नियुक्तिका कामहरू, जनसाधारणसँगको सम्बन्ध श्री ५ को सचिवालयका कर्मचारीहरूको कामकाज र अदव सम्बन्धी नियन्त्रण र निजहरूको नियुक्ति पनि उनैले गर्ने उल्लेख छ ।

यस्तै, श्री ५ महाराजाधिराजका दरबारमा हुने समारोहहरू र दरबार बाहिर हुने श्री ५ को नियुक्ति, काम सम्बन्धी कार्यक्रम गोविन्दनारायणकै जिम्मामा राखिएको थियो ।

यी वाक्यहरूमा धेरै कुरा बुझिँदैन । दरबार बाहिर हुने श्री ५ महाराजाधिराजको नियुक्ति भनिएको छ । यो के भनिएको हो ? त्यस अतिरिक्त राजाका सेक्रेटरी गोविन्दनारायणले गर्ने कामको नामावलीमा ‘क’ देखि ‘ङ’ सम्म छुट्याउँदै (क) मा संघ–संस्थाहरूलाई संरक्षण सम्प्रदान गर्ने, (ख) मा श्री ५ महाराजाधिराजबाट बक्सिने नियुक्ति पत्र, (ग) मा मेडल वा प्रतियोगिताको पुरस्कार, (घ) मा श्री ५ महाराजाधिराजको सफर सवार, (ङ) मा दरबारको औषधालय, मोटर कारखानाहरू भनिएको छ । के हो दरबारको मोटर कारखानाहरू भनेको ?

बाहिरियामा विश्वास

राजा त्रिभुवनबाट क–कसको परामर्शमा यस्ता सम्पूर्ण अधिकार दिएर एउटा छिमेकी मुलुकका नागरिकलाई सेक्रेटरीमा नियुक्त गरियो ? यो अध्ययन र विश्लेषणको विषय हो ।

छिमेकी मित्रराष्ट्रका नागरिक सेवा अध्ययन गरेका व्यक्तिले सेक्रेटरीको आफ्नो कार्यकालमा नेपालका जैसी कोठादेखि अन्यत्रका गोप्य लिखतहरू, द्विपक्षीय, त्रिपक्षीय एवं बहुपक्षीय दस्तावेजहरू कति हेरे होलान्, कति चलखेल गरे होलान्, प्रश्न गम्भीर छ ।

ब्रिटिश भारत सरकारसँगको सुगौली सन्धि लगायत ऐतिहासिक दस्तावेजहरूको मूल प्रति हामीकहाँ छैनन् रे भन्ने सुनिन्छ । हराएका ती महत्वपूर्ण लिखतहरू त्यही समयमा त तल–वितल भएनन् ? शङ्का गर्ने ठाउँ प्रशस्त छ ।

त्यस बखतको नेपाल विधान र ऐन कानून बनाउने मामलामा पनि कमजोर रहेछ । २००४ सालमा वैधानिक कानून देशकै विधिवेत्ता तथा कानूनवेत्ताहरूले तयार गरेका थिए ।

तर, २००७ सालको प्रजातान्त्रिक पद्धतिका प्रवर्तकहरूले आफ्नै मुलुकका कानूनवेत्ताहरूमाथि विश्वास नगरेरै होला, २०१२ सालमा कानून आयोग बन्दा भारतीय नागरिक मुर्देश्वरलाई कानूनी सल्लाहकार राखिएको रहेछ ।

मन्त्रिमण्डलको कागजपत्र लगायत श्री ५ महाराजाधिराजको आदेश वा सूचनाको निमित्त मन्त्रालयहरूबाट आउने सबै सरकारी साध–सोध लेखापढीहरू, श्री ५ महाराजाधिराजको विशेषाधिकार प्रयोग, अनुरोध सम्बन्धी बिन्तीपत्रहरू, सरकारी लेखापढी, गैरनेपाली सरकारी पदाधिकारीहरूलाई श्री ५ महाराजाधिराजबाट बक्सने भेट मुलाकात र अरू नियुक्तिका कामहरू, जनसाधारणसँगको सम्बन्ध श्री ५ को सचिवालयका कर्मचारीहरूको कामकाज र अदव सम्बन्धी नियन्त्रण र निजहरूको नियुक्ति पनि उनैले गर्ने उल्लेख छ ।

राजा महेन्द्रका निजी सचिव लोकदर्शन वज्राचार्यले २०७० सालमा प्रकाशित संस्मरणात्मक पुस्तक ‘जीवनका पानाहरू’ मा मुर्देश्वर भारत र अन्य देशका मुलुकी ऐनहरूको तुलनात्मक अध्ययनमा पोख्त भएकाले नेपाल सुहाउँदो ऐन बनाउन चित्तबुझ्दो धारणा व्यक्त गर्न सक्ने भन्ने लेखेका छन् ।

लोकदर्शनले पुस्तकमा अर्को रहस्योद्घाटन पनि गरेका छन् । राजा त्रिभुवनले २००७ सालमा भारतको सहयोग लिन दिल्ली गएको विषयमा देहरादुनमा बसेका जुद्धशमशेरकहाँ चिठी पठाएका रहेछन् ।

त्यसको जवाफमा जुद्धशमशेरले ठाडै भने रे, “महाराज सरकारले देश त्यागेर अर्काको देशमा (शरण) आएर राम्रो गरिबक्सेन । आफ्नो गद्दी छोडेर सवारी हुनुपर्ने किन ? त्यो मोहनशमशेर पनि कस्तो काँतर !

श्री ३ को पगडी त्याग्न सक्दैन ? म भए बुझाइदिन्थें । महाराजाधिराज सरकारलाई बिन्ती गरिदिनु । पछि हिन्दुस्तानले हेप्नेछ, ङ्याक्नेछ । राम्रो भएन, राम्रो भएन ।”

नभन्दै भारतले आफ्नो नागरिकलाई राजा त्रिभुवनको सर्वाधिकार सम्पन्न सेक्रेटरी बनायो । उनले पाएका अधिकार असाधारण थिए । २००७ सालको समग्र क्रान्तिको विश्लेषण गर्दा जुद्धशमशेरको टिप्पणी दूरदर्शी र देशभक्तिपूर्ण लाग्छ ।

प्रतिकृया दिनुहोस