दस्तावेजबिहिबार, ३० आश्विन , २०७६

नेपाल–भोट युद्ध तयारी : रसद उठाउन तराईका जनतालाई नमस्कार

ज्ञानमणि नेपाल

प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणाले भोटसँग युद्धको पूर्व तयारी स्वरूप हिउँदभरि रसदको जोहो गरिसक्न र बाटो, पुलपुलेसा मर्मत गर्न विभिन्न ठाउँका अधिकारीहरूलाई अह्राएका थिए।

ज्ञानमणि नेपाल

चीनका बादशाह र ब्रिटिश इष्ट इण्डिया कम्पनी सरकारबाट आफूमाथि दखल नहुनेमा ढुक्क भएपछि प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणाले भोटसँग युद्धको तयारीलाई अझ तीव्र पारे ।

वि.सं. १९११ को हिउँदभरि फौजका लागि बढीभन्दा बढी रसदको जोहो र बाटो एवं पुल मर्मत गर्न जोड दिइएको थियो । बाटो र पुल बनाउने कामका लागि ठाउँ–ठाउँमा अफिसरहरू खटिएका थिए । तिनले आफूले गरेको कामको जानकारी प्रधानमन्त्रीसमक्ष वेलावेला पठाउँथे ।

जङ्गबहादुरले तराईका जिल्लाहरूबाट रसद सङ्कलन गर्न काजी डिल्लीसिंह बस्न्यात र खजाञ्ची सिद्धिमानसिंह राजभण्डारीलाई अह्राएका थिए ।

उनीहरूले बारा र पर्साका अमाली, जिमिदार, गुठियार, बिर्तावारहरूसँग सरकारी दस्तखत देखाएर सम्झाई–बुझाई रसद उठाइरहेको व्यहोरा प्रधानमन्त्रीलाई चिठी मार्फत जानकारी गराएका थिए । अहिलेसम्म मालिक बाहेकलाई हात नजोडे पनि रसद जुटाउने क्रममा सबैलाई नमस्ते गर्नुपरेको उनीहरूले उल्लेख गरेका छन् ।

धान कुटाएर अलिअलि बोकाइँदै गरेको र चामल उठाउन भने आफ्नो बुताले नभ्याउने भएकाले केन्द्रबाटै तागिता गर्नुपर्ने काजी डिल्लीसिंह र खजाञ्जी सिद्धिमानको आग्रह थियो । बारा र पर्साबाट रसद हिंडाउने बन्दोबस्त गरी रौतहटतिर जाने उनीहरूको योजना थियो ।

अन्नका पाँच लाख थैला हेटौंडादेखि भैंसेसम्म ४०० वटा गाडामा पुर्‍याउन तीन महीना लाग्ने, त्यहाँबाट भीमफेदी लैजान गोरु, घोडा गरी एक हजार चाहिने चिठीमा प्रधानमन्त्री समक्ष जाहेर गरिएको थियो । दिनदिनको ज्याला हिसाब गरेर पठाएको र रकम चाँडै पठाइदिन आग्रह गरिएको थियो ।

उता, रसुवातिर रसद राख्ने गोदामघर, बाटो र साँघु बनाउन मेजर कप्तान दलजित विष्ट खटिएका थिए । उनले पायक पर्ने गाउँगाउँमा झरा (ज्याला नदिई) मा मान्छे खटाएर गोदामघर बनाइसकेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

पुल र साँघु बनाउन भने धेरै मिहिनेत गर्नुपर्ने रहेछ भनेर उनले लेखेका थिए । यसको जवाफमा प्रधानमन्त्री जङ्गबहादुरले साँघु धेरै वर्ष टिक्ने बनाउनुपर्ने सुझाएका थिए । यस्तै, पाँच सय खोलाका रैतीलाई सैनिक बस्ने थर्पु निर्माणमा लगाउन आदेश दिंदै तीबाट रसद नउठाउन र नून पनि नबोकाउन निर्देशन दिइएको थियो । 

जङ्गबहादुरले गोकर्ण मूलखर्कबाट गोलपुच्छ्रे हुँदै भैरव कुण्डबाट स्याफ्रु निस्कने बाटो भएको बारे सुनेको र त्यहाँबाट ठूला तोप लैजान सकिने/नसकिनेबारे हेर्न पठाउनुपर्ने राय दिएका थिए ।

मूल बाटोभन्दा अरू बाटो लामो र विकट भए मूलबाटो नै मर्मत गर्नुपर्ने भनिएको थियो । तोप लैजान मात्र होइन, पल्टन हिंडाउन पनि सजिलो बाटो छनोट गर्न निर्देशन दिइएको थियो ।

रसद पिसाउन १५० वटा घट्ट तयार पार्नुपर्ने देखिएको थियो । एक हजार पिपाले धर्मनारायण साहुको गोदामको रसद बोकी आउने र तिनैलाई रसद राख्ने थप १८ वटा गोदामघर बनाउन लगाउनु भनिएको थियो ।

जङ्गबहादुरले दाउरा अहिले काट्न लगाएर सुकाइराख्न पनि अह्राएका थिए । कुनै कुरा नपुग भए दिनदिनको खबर पठाउन अह्राउँदै चाहिएको सबथोक पठाइदिने भनेर मेजर कप्तान दलजितलाई विश्वस्त पारिएको थियो ।

 काजी डिल्लीसिंह बस्न्यात र खजाञ्ची सिद्धिमानसिं राजभण्डारीले जङ्गबहादुरलाई पठाएको पत्र

तस्तै विचमा श्रीप्राइम्मिनिष्टरका हजुरमा काजी डिल्ली सिंहबस्न्यात् खजांची सिद्धिमानसिं राजभडारिबाट लेखी चह्राइपठायाको

उप्रान्त रसद बोकन आउन्या खलासिपिपा झराली गैह्रलार्ई सामल निमित्त पसल्याहरूलाई कर्जा दिनाके मोहर रुपैयाँ ३००० कपतान महारुद्र खतृलाई पठाई बक्स्याको अर्थलाई हामिहरूले पनि आफुले पत्यायाका असामिलाई दि छ मैन्हाको व्याज स्मेत् साउव्याज सौ भाकामा उठाई श्री ५ सर्कारमा दाखील गर्नु पन्र्याछन्. उठन्या असामिलाई दि रुपैयाँ नउठ्या तिमिले उठाउनुपर्ला भनि लेखन्या काम गर्या जिध्त्रा वारा पर्साका अमला चौधरी मोकदम रैयत् जिमिंदार, गुठिविर्ता गैह्रका मानिसहरूलाई डाकन पठाई हजुरका दस्खत देखाई सम्झाई बुझाई रसदको बन्दोबस्त गर्न लागि रह्याछु. मालिकदेखि अरुलाई हात जोर्याको थियेन. ञाहा मै दुसाध समेतलाई हातजोरि भदैया धानको चावल अलि अलि चलन लागिरह्या हु. हजुरका प्रतापले चल्या मात्र चलला सेवकहरूका नाकदम भैरहेछ तर दुमले र बुद्धिले भेटायासम्म गन्र्यैछु. हामि जस्ताले गरि क्या पुग्छ. हजुरका प्रतापले पार लागलाकि भन्याजस्तो लाग्छ. यो दुइजिल्लाको वन्दोबस्त गरि केहि चावल चलाई रौतहट जान्याछु. हेटौंडा पुग्याको चावल पनी ताहारहनु दिबक्सनुहुन्यै छन्. धर्मनारान् साहुका गोदाम पर्सौनिमा गै थैलिहेरि चावललाई भरि थैलामा १० पाथि चावल राखि ठिकपारि येहि बमोजिम सबै थैलि स्यून लाउनु भनि चाहिन्या कुरो अह्राईआ. हेटौंडादेखि भैस्या दोभानसम्मलाई पाँच लाख थैला ३ मैन्हासम्म बोकाउनुलाई ४ सये गाडा लाग्दो रहेछ र ४ सये गाडा हेटौंडा अड्डालाई भैस्या दोभानदेखि भिंफेदिसम्म अड्डालाई वैल टटुगरि १ हजारको दिनदिनका मजुरी साफगरिचह्राई पठायाको छ. नजर भै हजुरका तजविजमा ठहराई रुपैया ठेगाना गरि पठाई वक्स्या ज्याला ढिला नहवस्.

मार्गवदि ११ रोज ५

जङ्गबहादुरले मेजर कप्तान दलजित विष्टलाई लेखेको पत्र

तस्तै विचमा श्रीप्राइममिनिष्टरवाट मेजरकपतान् दलजितविष्टलाई लेखिगयाको

उप्रांत रसद राखन्या अड्डा वनाउनलाई र साघु वनाउनलाई पाहिमिल्दो गाउगाउ खटाई वनाउनलायाको साघुलाई पनी मिहिनेत् पर्र्या रहेछ भंन्या विस्तार स्मेत् जोभयाको विस्तार लेखिपठाउन्या काम वढिया गर्याछौ. साघुथर्पुलाई पाहि मिल्यो वलियो जुगुत गरि वनाउन जान्यैछौ. पान्सयेखोलामध्ये दोसाधसम्मका रैतिका कुरालाई अंनवेसाहा दिनुपर्छ भनि ढिस्सा नलाउनु भनि ज्यामादार अ‍ैमान खतृका नाउमा दस्खत पठायाको छ. त्यो दस्खत अ‍ैमान खतृछेउ पठाइदिनु. ति रैतिले आफ्नु अंन आफैले खाउंन्. रैतिलाई हाल नुन पनी नवोकाउनु तारघाटैका काम लाउनु. यो वाटो भन्या ४ पंनीका तोपमात्र जिनतिन् निकालन होला. ६ पंनि ९ पंनिका तोप चलाउन त गाह्रो जस्तो देखिन्छ. त्रिशुल गंगाको साघु खिंच्यातरि गढतिरको बाटो गरि भैलुखोलाको दोवाटो देउरालि गदवा थुम्वनको बाटो गई रसुवामा पुग्छ भनि गवैयाले हेर्न पठाउछु गोकर्ण मुलखरकबाट सिन्धु भन्ज्याङ गोपुच्छे« पार्क, भन्ज्याङ गोपुच्छ्रे पार्क, भन्ज्याङ भगन ठाडै छौबाट सूर्य कुण्डमा निष्कियो. भैरुं कुण्ड बाट हिउको डाडो काटी स्यापुरु निस्कया बाटो छ भन्छन् वस्ति भन्याछैन ठुला तोप हिडाउन त. तेहिबाटो होला कि भन्याजस्तो लाग्छ हेर्न पठाउँछु थप्पी लेख्याको कुरालाई त्रीसुलगंगाको साघु देउराली थुमनको बाटो गै रसुवा पुगन्या बाटो कति नगिच पन्र्या रहेछ विकट कस्तो रहेछ. त्यो बाटो र गोकर्ण मुलखरकको बाटो स्याफ्रु निस्कन्या वाटो नगीच विकट कस्तो रहेछ २ वटा हेर्न पठाई मुलबाटो भन्दा टाढा पनि पन्र्या रहेछ विकट पनि रहेछ भन्या मुल्बाटो वनाउन्या काम गर्नु. मुल्बाटो भन्दा नगीच पनि पन्र्यारह्याछन् लस्कर तोप पनी जान्यारहेछ भन्या सोहि वेहोरा लेखिपठाउन्या काम गर. तोप र लस्कर येकैवाटो लैजानुपर्छ १ बाटो तोप र १ बाटो लस्कर हिडाउनु हुँदैन. सोहि पाठसंग वाटाको तजवीजगरि वनाउन्या काम गर. पानसये खोलामा डेढसये घट्ट तयार गर्नु पर्यो. सये डेढसये ढुंगा कर्मि पठाइदिनु भनि हाम्रा छोरालाई उर्दि दियाको छ. २/४ दिनमा पठाइदेला घर वनाउन लाउनु र हाडि तुल्याउनलाई कुमाले पनि आउँछन्. कपतान भैरवबहादुर पांडेमार्फत येक हजार पिपा रणाप्रीयदल २ पट्टी पठायाको छ १ हजार पिपा धर्मनारान् मार्फत्को रसद वोकि आउन्याछन्. ति पिपालाई चाडै ञाहा पठाउनु र रसद राखन्या घर १८ तयार नहुन्ज्याल ति सिपाहि र पिपालाई काम लगाइ चाडो तयार गर्नु. तयार भैसकियापछि ति पिपालाई धर्मनारान् साहुको नुन बोकाई पठाईदिनु. त्यहाका कामलाई जौन कुरोको मदत पुग्दैन सोकुरा याहा लेखिपठाउनु. मदत् दि पठाउन्या काम गरियेला. रैतिहरूले ल्यायाको रसद तुरंत भरी रसिद दिनु. ज्यामादार अ‍ैमान् खतृलाई भनि पठाउन्या काम गर्नु. ताहा तैयारि नभयाको मदत् नपुग्याको कुरो रोजरोज लेखन्या काम गर्नु. दाउरा पनी कटाई राख्नु सुक्छन्.

मार्गसुदि १ रोज ३

 

प्रतिकृया दिनुहोस