टिप्पणीबुधबार, २९ आश्विन , २०७६

‘भ्रमण वर्ष २०२०’ पुनःपरिभाषित

कनकमणि दीक्षित

कनकमणि दीक्षित

जतिवेला ‘भिजिट नेपाल २०२०’ विशेष वर्षको घोषणा गरियो, नीतिनिर्माता मात्र होइन आम नागरिकलाई पनि लागेको थियो– तयारीका लागि समय पर्याप्त छ । तर, काम त्यस हिसाबले अघि बढेन ।

सरकार बलियो भए पनि सोचेजस्तो राजनीतिक स्थिरता आएको छैन । सबल राजकाजका लागि अझै केही समय लाग्ने देखियो, सडकको अवस्था भन्नुस् वा वायु प्रदूषण, शहरी सरसफाइ र पर्यटन सेवा विस्तार । २०७२ सालको भुईंचालोले ध्वस्त सम्पदाको पुनर्निर्माणले अहिले आएर बल्ल गति लिएको छ ।

‘भिजिट नेपाल २०२०’ अभियानमा त्यतिवेला ठूलो क्षति पुग्यो, जब अभियानका रचयिता पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुन २०७५ मा ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भयो ।

त्यहीवेला पर्यटन वर्षको योजना पछि सार्ने निर्णय गरेको भए हुन्थ्यो या अधिकारीकै स्मृतिमा कामको रफ्तार बढाउनु पर्थ्याे। ६ महीना त पर्यटन मन्त्रालय नै नेतृत्वविहीन रह्यो । १५ साउन २०७६ मा योगेश भट्टराईले पर्यटनमन्त्रीको पद बहाली गर्दा समय घर्किसकेको थियो ।

‘डु नट भिजिट’: विमानस्थल आगमन कक्षको पुरुष शौचालयको ढाेका ।

रवीन्द्र अधिकारीकै कार्यकालमा ‘भिजिट नेपाल २०२०’का लागि संयोजक तोकिए– व्यवसायी सुरज वैद्य । तर पर्यटन व्यवसाय क्षेत्रका विभिन्न समुदाय र संगठन (ट्राभल एजेन्ट, टूर गाइड, ट्रेकिङ एजेन्ट, हवाई सेवा, ट्याक्सी\बस सेवा इत्यादि) को उत्साहलाई वैद्यले समेट्न नसकेको देखिन्छ । उता अभियानका लागि सरकारले छुट्याएको वार्षिक १० करोड पनि थोपा–थोपा मात्र भयो ।

पर्यटन व्यवसायी कर्ण शाक्यको नेतृत्वमा व्यवस्थापन गरिएको ‘भिजिट नेपाल १९९८’ को स्तर र कामको गति यसपटक देखिंदैन । न त ‘भ्रमण वर्ष २०११’ कै जस्तो ।

कुनै पनि देशमा गन्तव्य र वर्ष तोकिएर गरिने कार्यक्रममा बृहत्तर अनुसन्धान, तयारी र खर्चको खाँचो पर्छ । ‘आतिथेय देश’ आफ्नो उद्देश्य र प्राप्तिमा प्रष्ट हुनुपर्छ । ‘के का लागि विशेष भ्रमण वर्ष ?’ सामान्य प्रश्न पनि अहिलेसम्म नेपालीजनलाई बुझाउन सकिएको छैन ।

मेरो विचारमा गतिलो खर्च गर्ने पर्यटक भित्र्याउनु मुख्य लक्ष्य हुनु पर्दथ्यो । गन्तव्य विस्तारको तयारी गर्नुपर्थ्याे। पर्यटन सेवाको स्तर बढाउनेबारे छलफल चलाउनु पर्थ्याे। तर जसरी हुन्छ, २० लाख पर्यटक भित्र्याउनमै हामी आजसम्म केन्द्रित छौं । संख्यात्मक वृद्धिले गुणात्मकता र उच्च आय सुनिश्चित गर्ने होइन ।

‘भिजिट नेपाल १९९८’ को उद्घोष ‘ए वर्ल्र्ड अफ इट्स ओन्’, पर्यटन बोर्डको नारा ‘न्याचुरल्ली नेपाल’ र ‘वान्स् इज् नट् इनफ्’ अझैं मस्तिष्कमा बसेका छन् । तर, अहिले राखिएको नारा ‘नेपालः लाइफटाइम एक्सपिरिएन्सेस्’ ले मन छुन सकेको छैन ।

‘भिजिट नेपाल २०२०’ को आरम्भ हुन अब अढाइ महीना मात्र बाँकी रहँदा तयारी जाँच्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बेहाल हेरे पुग्छ ।

विमानस्थलको आगमन कक्षमा दुई–चार वटा जेट विमान उत्रने बित्तिकै कोलाहल शुरु हुन्छ – पर्यटकले भिसा फी तिर्ने एउटा लाइन, भिसामा छाप लगाउन अर्को लाइन, ‘मेटल फ्री’ जाँचका लागि थप लाइन, भिडभाड, हो–हल्ला माझ लगेजको पर्खाइ, अनि बल्लतल्ल बाहिर निस्कँदा गौचरको ओरालोमा सकिनसकी ट्रली गुडाउनु । सास्तीपूर्ण आगमन !

वर्ष २०२० तयारी र योजनामा केन्द्रित होस्, नेपाललाई आकर्षक आम्दानी दिने पर्यटन गन्तव्य बनाउनका लागि! 

आजको चापको लागि सानै भए पनि तीन दशकअघि निर्माण भएको विमानस्थल भवनको वास्तुकला नै उत्तम छ – पुरानो गौचरको टारमा उक्लँदै गरेको इँटाको ‘फेन्सिङ’ भएको यो संरचना ।

तर, ठीक मुनिको नयाँ पार्किङ छेउ भर्खरै बनेका नयाँ भवनहरु भद्दा छन् । टर्मिनल भवनको ढाँचासँग मेल पनि खाँदैनन् । फेरि पार्किङ पुग्न यात्रुलाई ओरालोमा जसरी ट्रलीलाई जोखिमपूर्ण गरी गुडाउँदै आउन बाध्य पारिएको छ, यसले त ‘डू नट् भिजिट्’ भन्ने सन्देश दिन्छ । धन्न स्व. रवीन्द्र अधिकारीको योजना अनुसार दशकौं पछि धावनमार्गमा नयाँ कालोपत्र ओछ्याउने कार्य सकिएको छ ।

केही गर्ने कोसिस नभएको होइन । विमानस्थलको आगमन कक्षमा विभिन्न भगवान् र बोधिसत्वको मूर्ति आकर्षक तरीकाले सजाएर राखिएका भर्खरै देखें ।

तर आगमन कक्षको मुख्य पुरुष शौचालय यति फोहोर, कटकटिएको छ, प्लाइउडको ढोका यति कमसल राखिएको छ, मर्मत–सम्भारमा यत्ति समस्या छ कि पर्यटकले नेपाल उत्रँदा नै घिन मान्ने अवस्था छ ।

यस्तो अवस्थामा के गर्ने त ? मेरो सुझाव – ‘भिजिट् नेपाल २०२०’ लाई गन्तव्य या लक्ष्यका रुपमा नभई पर्यटन प्रवर्द्धनको प्रस्थानविन्दु या तयारीको रुपमा लिने ।

जनवरीदेखि डिसेम्बर २०२० सम्मको अवधिलाई पर्यटन फैलाउने, आम्दानी बढाउने, गन्तव्य संख्या थप गर्नेतर्फ अनुसन्धान र छलफलको लागि सदुपयोग गर्ने । तराई, पहाड र हिमालमा पर्यटनका नयाँ गन्तव्य विस्तार गर्ने र पुराना गन्तव्यका आकर्षणका नयाँ पाटा प्रस्तुत गर्न कार्यक्रम बनाउने ।

वर्ष २०२० तयारी र योजनामा केन्द्रित होस्, नेपाललाई आकर्षक आम्दानी दिने पर्यटन गन्तव्य बनाउनका लागि ! ‘भिजिट् नेपाल २०२०’ लाई यसरी पुनः परिभाषित गरौं ।

प्रतिकृया दिनुहोस