थप समाचारमंगलबार, २८ आश्विन , २०७६

कसरी गर्ने दशैंपछिको सरसफाइ ?

नुनुता राई

दशैंमा घर रङ्गाउने, अनेकन् परिकार पकाउने, पूजापाठ गर्ने, पाहुना बोलाउने गरिन्छ । दशैंको रमाइलो पनि यही हो । तर जहाँ, एकातिर रमाइलो भइरहेको हुन्छ, त्यहीं अरू बेलामा भन्दा ज्यादा फोहोर पनि उत्पादन भइरहेको हुन्छ । धेरै पाहुनाको आवतजावतका कारण पनि घर फोहोर हुन्छ । बाहिर काममा जानुपर्नेहरूलाई दशैं नसकिंदै घर सफाइको चिन्ताले पिरोल्छ ।

खासगरी कामकाजी महिलालाई घर सफाइको बोझ थपिंदा समस्या हुन्छ । दशैं मान्न गाउँ जानेका लागि दुवैतिरको घर सफाइ भ्याईनभ्याई हुने बिजु पौडेल बताउँछिन् । उनी भन्छिन्, “हामी दशैं मनाउन गाउँ जान्छौं, यहाँको घर सफा गर्न गाउँबाट दुई दिन बिदा बचाएर आउनुपर्छ ।”

दशैं मनाउन उपत्यका बाहिर जाने भए पनि काठमाडौंको घर सफा गर्न प्रमिता थापा (बानेश्वर) कामदार नै लगाउँछिन् । उनी भन्छिन्, “यहाँ दशैं नमाने पनि घर त सफा गर्नैपर्छ, आफैं गर्न गाह्रो हुने भएकाले कामदारको सहयोग लिन्छु ।”

दशैं मनाउनेहरूले घरको फोहोर सडकमा फाल्दा दशैंपछि शहर दुर्गन्धित हुन्छ । खालीसिसी डटकमकी संस्थापक आयुषी केसीका अनुसार अधिकांश व्यक्ति दशैं मनाउन उपत्यका बाहिर गए पनि यहीं बस्नेहरूको घर र परिवारबाट सामान्य समयभन्दा तीन गुणा बढी फोहोर निस्कन्छ । दशैंमा निस्कने फोहोरमा धेरैजसो उब्रेको खानेकुरा र बोतल हुने केसी बताउँछिन् ।

फोहोर व्यवस्थापनको सजिलो उपाय

शुरुबाटै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्दा घर सफा गर्ने समय बचत हुन्छ । केसी भन्छिन्, “सकेसम्म खानेकुरा नफालौं । बरु अलिकति कम खाऔं, कुहिने फोहोर जथाभावी फाल्दा वातावरणलाई समेत असर गर्छ, त्यसलाई बारी वा गमलामा व्यवस्थापन गर्न सकिन्छ ।”

नकुहिने फोहोरमा पनि पुनः प्रयोग गर्न सकिने र नसकिने छुट्याएर राख्नुपर्छ । फेरि प्रयोग गर्न सकिने फोहोर पुनः प्रशोधन गर्ने विभिन्न संस्थालाई बेच्न सकिन्छ । पुनः प्रयोग गर्न नसकिने वस्तु एकठाउँमा राखेर महानगर/नगरपालिका तथा वडाबाट खटिएका सफाइ कर्मचारीलाई दिन सकिन्छ ।

फोहोर व्यवस्थापनको जिम्मेवारी परिवारका सबै सदस्यको हो। बालबालिकालाई समेत व्यवस्थापनमा सहभागी गराउनुपर्छ, जसका कारण उनीहरूले सफाइको महत्व बुझ्छन्।

 फोहोर व्यवस्थापनमा परिवारका सबै सदस्य सचेत हुनुपर्छ । बालबालिकालाई समेत व्यवस्थापनमा सहभागी गराउनुपर्छ, जसका कारण उनीहरूले सफाइको महत्व बुझ्छन् । तर, फोहोरलाई सडकमा भने फाल्नुहुँदैन । त्यसले सडक दुर्गन्धित हुनुको साथै स्वास्थ्यमा पनि असर गर्छ ।

यसरी गर्नुस् सफाइ

सोफा तथा गलैंचाको सफाइ गर्न निकै मिहिनेत गर्नुपर्छ । धूलो निकाल्न प्रायः भ्याकुमको प्रयोग गर्ने गरिन्छ । तर, दाग सफा गर्न भने निकै गाह्रो हुन्छ । सामान्य दाग घरेलु उपायबाट सहजै हटाउन सकिन्छ ।

सोडा र पानीको पेस्ट बनाएर दाग लागेको ठाउँमा राख्नुपर्छ । १५ मिनेट सुक्न दिएपछि थोरै पानी राखेर दाँत माझ्ने ब्रसले बिस्तारै रगडे दाग जान्छ । त्यसैगरी मनतातो पानीमा साबुनको घोल अथवा टुथपेस्ट राखेर दाग लागेको ठाउँमा दाँत माझ्ने ब्रसले सफा गर्दा पनि दाग जान्छ ।

भुईंमा लागेको दाग हटाउन बेकिङ सोडा तथा कागती प्रयोग गर्न सकिन्छ । एक बाल्टी पानीमा एउटा कागतीको रस मिसाएर भुईं पुछ्नाले दाग र कोठाको गन्ध हटाउँछ । तर कालो मार्बल लगाएको भए अम्लीय चीज प्रयोग गर्न हुँदैन । त्यसलाई सफा गर्न साबुन र मनतातो पानीको घोल प्रयोग गर्न सकिन्छ ।

कामकाजीहरूको समस्या बुझेर घर सफा गर्ने कामदार उपलब्ध गराउन काठमाडौंमा विभिन्न एजेन्सी खुलेका छन् । घर सफा गरिदिने व्यावसायिक कम्पनी पनि खुलेका छन् । तिनको प्रयोग गरेर पनि सफाइ गर्न सकिन्छ ।

 

प्रतिकृया दिनुहोस