समाचारमंगलबार, २८ आश्विन , २०७६

ग्याष्ट्रिकका औषधिमा क्यान्सर गराउने तत्व !

विभागद्वारा एनडीएमए तत्व मिसिएका औषधि आयात र उत्पादन नगर्न निर्देशन

रामु सापकोटा

औषधि व्यवस्था विभागले ग्याष्ट्रिकका बिरामीले सबैभन्दा धेरै प्रयोग गर्दै आइरहेका १४ ब्रान्डका रेनिटिडाइन समुहका औषधिमा क्यान्सर गराउने तत्व फेला परेको सुचना प्रकाशित गरेको छ ।

विभागले २७ असोजमा सुचना जारी गर्दै क्यान्सर गराउने तत्व एन–नाइट्रोसोडिमेथिलेमाइन(एनडीएमए) मिसिएका २१ ब्रान्डका औषधिको उत्पादन र आयात नगर्न नेपाली औषधि उद्योग र आयातकर्तालाई निर्देशन दिएको छ ।

विभागले १६ असोजमा गरेको उक्त निर्णय २७ असोजमा मात्र सार्वजनिक गरेको हो ।

नेपालमा प्रयोग हुने २१ ब्रान्डका ग्याष्ट्रिकका औषधि मध्ये १४ ब्राण्डका औषधि नेपाली उद्योगहरुले उत्पादन गर्दै आइरहेका छन् ।
बाँकी सात ब्रान्डका औषधि विदेशबाट आयात हुन्छ ।

एउटा ब्रान्डको औषधि बाङ्लादेश र बाँकी ६ वटा भारतबाट आयात हुने गरेको छ ।

क्यान्सर गराउने तत्व मिसिएको एसिलक र जेन्ट्याक ब्रान्डका औषधि पुरानो र सस्तो भएकाले नेपालमा धेरै प्रयोग हुने गरेको छ ।

अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन(एफडिए)ले १३ सेप्टेम्बरमा सुचना जारी गरेपछि औषधि व्यवस्था विभागले एनडीएमए तत्व मिसिएको औषधिको आयात र उत्पादन रोक्न निर्देशन दिएको हो ।

एफडीएले बिरामी र स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई जारी गरेको सुचना अनुसार रेनिटिडाइन समुहका औषधिमा क्यान्सर गराउन सक्ने तत्व एनडिएमए न्यून मात्रामा फेला परेको हो ।

ल्याब परीक्षणबाट एनडीएमए क्यान्सर गराउने सम्भावित तत्व भएको प्रमाणित भइसकेको एफडिएद्धारा जारी सुचनामा उल्लेख छ ।
तर, नेपालमा बजारमा गसकेका रेनिटिडाइन समुहका औषधिमा प्रयोग रोक्न भने चुनौती देखिएको छ ।

विभागका प्रवक्ता सन्तोष केसी ग्याष्ट्रिकमा प्रयोग भइरहेका २१ ब्राण्डका औषधिमा क्यान्सर गराउने तत्व भए वा नभएकोबारे जाँच्ने उपकरण नभएकाले अनुगमन कठिन भएको बताउँछन् ।

यस्तै, जाँच्ने उपकरणको अभावमा नेपालको भारतसँगको खुला सिमानाका कारण क्यान्सर गराउने तत्व मिसिएका औषधिको नियमन पनि चुनौतीपूर्ण देखिन्छ ।

“औषधि उत्पादक र आयातकर्तालाई यसबारे जानकारि गराइसकेका छौँ” विभागका प्रवक्ता केसी भन्छन्, “अब स्वास्थ्यकर्मी तथा डाक्टरहरुले पनि यस्ता औषधि सिफारिस रोक्नुपर्‍यो ।”

उनले उपभोक्तालाई आफ्नो सुरक्षाका लागि एनडीएमए तत्व मिसिएका ग्याष्ट्रिकका औषधि सेवन नगर्न र स्वास्थ्यकर्मीलाई बैकल्पिक औषधि सिफारिस गर्न आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस