अन्तर्वार्ता/विचारसोमबार, २७ आश्विन , २०७६

क्यानमा अब राजनीति भित्रिन दिन्न- चतुरबहादुर चन्द, अध्यक्ष, क्यान

प्रकाश गुरागाईं

 २०५२ सालमा बैतडीस्थित दशरथ चन्द स्मृति केन्द्रको क्रिकेट विभाग प्रमुख भएर क्रिकेट यात्रा शुरु गरेका चतुरबहादुर चन्द २०६० सालमा नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्य चुनिए। त्यसको तीन वर्षपछि उपाध्यक्ष र २९ मंसीर २०७२ मा अध्यक्ष निर्वाचित भए। तर, राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मान्यता नदिनु, चरम राजनीतिक हस्तक्षेप र आर्थिक अपारदर्शिताका कारण पाँच महीनापछि क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को निलम्बनमा पर्यो। निलम्बनकै बीच नेपाली क्रिकेट टोलीले एकदिवसीय राष्ट्रको मान्यता पायो।

चार वर्षपछि उनै चन्द गत १०–११ गते सम्पन्न निर्वाचनबाट पुनः अध्यक्षमा चुनिएका छन्। चन्दको पुनरागमनसँगै लामो समय आन्तरिक राजनीतिको गञ्जागोलमा फसेको नेपाली क्रिकेटले नयाँ जीवन पाउने आशा गरेको छ। के यो आशा वास्तविकतामा परिणत होला ? नवनिर्वाचित अध्यक्ष चन्दसँग प्रकाश गुरागाईंले गरेको कुराकानीको सारः

तस्वीर: बिक्रम राई

 

चार वर्षपछि तपाइँ फेरि क्यान अध्यक्षमा निर्वाचित हुनुभएको छ, तत्काल गरिहाल्नुपर्ने काम के के देख्नुभएको छ ?

पहिला त आईसीसीले क्यानमाथि लगाएको प्रतिबन्ध नै हटाउनुपर्यो । क्यानको स्वतन्त्र निर्वाचनपछि मात्र प्रतिबन्ध हट्ने आईसीसीकै ‘रोडम्याप’ अनुसार नयाँ नेतृत्व चुनिएको छ । यही १३ अक्टोबरमा आईसीसी बैठक हुँदैछ । बैठकबाट हामीमाथिको प्रतिबन्ध फुकुवाको सुखद खबर सुन्ने विश्वास छ ।

प्रतिबन्ध फुकुवालगत्तै हामी घरेलु प्रतियोगिता ब्युँताउनेतिर लाग्नेछौं । राष्ट्रिय टोलीको लागि ‘ब्याकअप’ टोली बनाउँछौं । नेपालले चार वर्षका लागि ‘एक दिवसीय मान्यता’ पाएको हो, तर क्यान नै प्रतिबन्धमा परेकाले एक वर्ष उपलब्धिविहीन बित्यो । अब सन् २०२१ को एक दिवसीय विश्वकप छनोटलाई ध्यान दिंदै बाँकी तीन वर्ष बढीभन्दा बढी एकदिवसीय खेल्ने प्रयास गर्नेछौं ।

 तर, कतिपय क्रिकेट विज्ञले त आर्थिक पारदर्शिताको सुनिश्चितता र क्रिकेट विकास कार्ययोजना विना आईसीसीको प्रतिबन्ध नहट्ने भनिरहेका छन् नि ?

नेपालमा धेरै क्रिकेट विज्ञ छन्, जसले आफ्नो सम्बन्ध दुरुपयोग गरेर अनावश्यक प्रचार गरिरहेका छन् । हामी आईसीसीले भने अनुसारकै प्रक्रियामा छौं । पहिले आईसीसीले काम गर्न स्वीकृति दिनुपर्यो, अनि हो कार्ययोजना पेश गर्ने, आर्थिक पारदर्शिताका लागि संयन्त्र बनाउने हो ।

 पहिले तपाईंकै कार्यकालमा आईसीसीको निर्देशन बमोजिम प्रमुख कार्यकारी अधिकृत र वित्त प्रबन्धक नियुक्तिमा ढिलाइ हुँदा क्यान कारबाहीमा परेको दृष्टान्त हामीसामु छ । अब के हुन्छ ?

नियुक्तिको व्यवस्था विधानमै छ । त्यसका लागि राष्ट्रिय खेलकुद परिषदसँग पनि छलफल गरिनेछ । मैले अहिले भन्न सक्ने चाहिं, सिईओ र फाइनान्स म्यानेजर नेपाली नहुन पनि सक्छन् ।

 आईसीसी नेतृत्वसँग बलियो पहुँच नभएकाले तपाइँको नेतृत्वमा खासै क्रिकेटको विकास नहुने आशंका पनि गरिएको छ नि ?

आईसीसीकै अनुगमनमा स्वतन्त्र निर्वाचन भएको हो । नत्र त बोर्ड बनाएर जानुपर्छ भन्नेहरू पनि थिए । अर्को कुरा, आईसीसीले व्यक्तिसँग होइन संस्थासँग सहकार्य गर्ने हो ।

 टंक आङबुहाङ अध्यक्ष र तपाइँ उपाध्यक्ष हुँदा नियमित प्रतिवेदन नपठाएकै कारण आईसीसीले ८४ हजार डलर जरिवाना गरायो । फेरि त्यस्तो अवस्था नआउला भनेर कसरी विश्वस्त हुने ?

त्यसको जिम्मेवारी तत्कालीन अध्यक्ष र महासचिवले लिनुपर्छ । म त नौ जना उपाध्यक्षमध्ये नवौं थिएँ । मलाई यस्ता विषयमा जानकारी नै दिइँदैनथ्यो । क्यान लथालिङ्ग भएपछि अध्यक्षलाई हटाउनुपर्छ भनेर साधारण सभामा भाग लिन पाउने ८५ जनामध्ये ७३ जनाको हस्ताक्षर सहितको ज्ञापनपत्र मैले नै मन्त्रालयमा बुझाएको थिएँ । त्यो ज्ञापनपत्रमा पनि आईसीसीको अनुदानमा ८४ हजार डलर कटौतीको विषय उल्लेख थियो ।

 

भर्खरै सम्पन्न निर्वाचनमा नेकपा र कांग्रेस समर्थित प्यानल भनेर प्रचार भयो । तपाईं स्वयं कांग्रेसको बैतडी जिल्ला उपसभापति हुनुहुन्छ । के अब क्यानमा संस्थागत रुपमै राजनीति भित्रिएको हो ?

२०६८ सालमा माओवादी केन्द्रका केन्द्रीय सदस्य टंक आङबुहाङलाई क्यानको नेतृत्व दिएर संस्थागत रुपमा राजनीति भित्त्र्याइएको थियो । तर, २०७२ सालमा हामीले तोड्यौं । त्यतिबेलाको मेरो टीममा सबै दल समर्थितहरू थिए ।

कांग्रेस हुनुमा मलाई गर्व छ । तर, टंकजी र मेरो तुलना गर्न मिल्दैन । क्रिकेटको विकासमा मैले साढे दुई दशक बिताइसकें । बैतडी मात्र होइन सुदूरपश्चिममा क्रिकेटलाई संस्थागत गर्ने म नै हुँ । म राजनीतिबाट क्रिकेटमा आएको होइन । त्यसैले अब नेपाली क्रिकेटमा राजनीति हुँदैन र छिर्न पनि दिन्नँ ।

 राजनीतिकै कारण क्यान प्रतिबन्धित हुँदा पनि नेपाली क्रिकेट अघि बढाएका पूर्व प्रशिक्षक जगत टमटा, पूर्वकप्तान पवन अग्रवाल पराजित हुनुलाई चाहिं कसरी हेर्नुहुन्छ ?

मैले ५९ मध्ये ५६ जनासँग भोट मागें । विनयराज पाण्डेजीलाई पनि अगुवा सदस्यका रुपमा बस्न आग्रह गरें । पवनजीले उम्मेदवार हुने जानकारी समेत दिनुभएन । जगतजीले भने आफू स्वतन्त्र उम्मेदवार बन्ने बताउनुभयो ।

 २०७२ सालमा तपाईं अध्यक्ष भएको क्यानलाई मान्यता नदिएर राखेपले रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति बनाएको थियो । अहिले सिलवाल नै राखेप सदस्यसचिव नियुक्त भएका छन् । काम कसरी गर्नुहुन्छ ?

हामीबीच कुनै ‘इगो’ छैन । नियमित सम्पर्क भइरहेको छ । उहाँको चाहना त निर्वाचन सर्वसम्मत गर्ने थियो । सिलवालजी र म २०६३ सालमा विनयराजजीको अध्यक्षतामा गठित क्यानको उपाध्यक्ष पनि थियौं । पछि म एउटा प्रक्रियाले अध्यक्ष भएँ, उहाँ अर्को प्रक्रियाले । त्यो हाम्रो व्यक्तिगत झगडा थिएन । उहाँले क्रिकेट बुझ्नुभएको छ । त्यसैले काम गर्न अप्ठेरो होइन, धेरै सजिलो हुन्छ भन्ने लागेको छ ।

 प्रतिबन्ध फुकुवालगत्तै घरेलु क्रिकेट ब्युँताउने कुरा गर्नुभयो । के योजना बनाउनुभएको छ ?

रोकिएका सिनियर, अण्डर–१९, अण्डर–१६, विद्यालयस्तरीय र महिला क्रिकेटका प्रतियोगिता सञ्चालनमा ल्याउँछौं । क्लब, जिल्ला र प्रादेशिक लिग पनि शुरु गर्छौं । दशकभन्दा बढी समयदेखि नभएका दुई दिवसीय क्रिकेट पनि शुरु गर्छौं ।

राष्ट्रिय टीम बाहेक ‘ब्याक अप’ का रुपमा नेपाल ए वा अन्डर २३ को अर्को टीम बनाउँछौं । अहिले जस्तो दुई, तीन जना खेलाडी घाइते भए टीम नै धरासायी हुने अवस्था आउन दिंदैनौं । प्रतिभाशाली खेलाडीलाई तालिम दिन्छौं ।

 ‘ब्याक अप’ का रुपमा पहिले पनि नेपाल ए टोली बनाइएकै थियो, तर अभ्यास गर्न पाएन र खेल्न पनि पाएन नि ?

राष्ट्रिय टोलीले एक दिवसीय खेल खेल्छ । ए टोलीलाई छिमेकी भारत, श्रीलंकाका क्षेत्रीय वा प्रान्तीय टीमसँग खेलाउँछौं, यसबारे एकचरण कुरा पनि भइसकेको छ । बढीभन्दा बढी प्रतियोगिता खेलाउने प्रयास गर्छु ।

 टेष्ट मान्यता पाउनुअघि नै अफगानिस्तान र आयरल्यान्डले चार दिवसीय घरेलु क्रिकेटको शुरुआत गरिसकेका थिए । तपाइँ भने किन दुई दिवसीय प्रतियोगिताकै कुरा गरिरहनुभएको छ ? 

टी–ट्वेन्टी क्रिकेटले खेलाडीको बानी बिगारेको छ । एक दिवसीयमा ब्याटिङ बलियो बनाउनै पनि दुई दिवसीयको अभ्यास चाहिन्छ । तर, यसमै अडिरहने भनेको होइन । क्रमशः तीन दिवसीय, चार दिवसीयमै जाने हो । यसका लागि भौतिक संरचना र दरिलो आर्थिक अवस्था हुनुपर्छ ।

 क्रिकेट लोकप्रिय भएका देशहरूमा फ्रेन्चाइज टी–२० लिग प्रतियोगिता बढेका छन्; क्यानले पनि केही सोचेको छ ?

सम्भव भएसम्म यो वर्षकै अन्त्यमा नेपाल प्रिमियर लिग (एनपीएल) गर्ने योजना छ । आईसीसीको कारबाही फुकुवासँगै हामी त्यसैको तयारीमा लाग्छौं । विभिन्न व्यापारिक घराना र सरकारी, अर्धसरकारी निकायको सहयोगमा टीम तयार हुनेछ ।

 निजी क्षेत्रबाट भइरहेका टी–२० लिगको निरन्तरताबारे क्यानको धारणा के हो ?

आफूलाई राष्ट्रिय भने पनि ती क्षेत्रीयस्तरका प्रतियोगिता हुन् । आईसीसीमा लेखेको एउटा निवेदनको भरमा २० हजार डलर तिरेर अनुमति पाएका छन् । क्यान नभएको वेला यस्ता प्रतियोगिता चाहिन्छ भनेर सल्लाहकार समूहबाट पनि ‘नो अब्जेक्सन लेटर’ पनि दिएका थियौं । अब ती लिगका वैधानिकता जाँच गरी निश्चित मापदण्ड वा निर्देशिका बनाएर क्यान मातहत ल्याइनेछ ।

 एकदिवसीय मान्यता पाएको नेपालसँगै एउटै पनि अन्तर्राष्ट्रिय मापदण्डको मैदान छैन । मुआब्जा विवाद र दक्षिणतर्फको सडकका कारण मूलपानी मैदान पनि अपूरो नै छ । यो चुनौतीलाई कसरी समाधान गर्नुहुन्छ ? 

भर्खरै मात्र राखेपका सदस्यसचिवसँग यसबारे कुरा भएको थियो । मुआब्जाको विवाद सल्टिने क्रममा भएको उहाँले बताउनुभएको छ । मैदान सम्पन्न गर्न यो वर्ष पनि सरकारले १० करोड बजेट छुट्याएको छ । सडक सार्ने कुरा त मैदानको विस्तृत आयोजना प्रतिवेदनमै उल्लेख छ । मूलपानी मैदानको काम चाँडै सक्न र कीर्तिपुर मैदान स्तरोन्नति गर्न राखेपको विशेष चासो रहेको मैले पाएको छु ।

प्रतिकृया दिनुहोस