दस्तावेजमंगलबार, २१ आश्विन , २०७६

त्यो नारायणहिटी राजदरबार, त्यो मालश्री र मंगलधुन

(आर्काइभ)

शेखर खरेल

राजदरबारको दशैंको विशेष उल्लासपूर्ण दिन टीकाको हुन्थ्यो। धनुषा बैठकमा टीका कार्यक्रम चलिरहँदा दरबार परिसरमा सेनाको सांगीतिक टुकडीले मालश्री र मंगलधुन बजाइरहेको हुन्थ्यो।

दिवंगत राजा वीरेन्द्र, रानी ऐश्वर्या र युवराज दिपेन्द्र शाह । तस्वीरः इन्टरनेट

नारायणहिटी राजदरबार संग्रहालयमा परिणत भएपछिको सन्देश सोझाे अनि प्रष्ट छ । दरबारको अर्थ उत्सव हो भने संग्रहालयको चाहिं अभिलेख । अर्थात्, हिजो दरबारमा मनाइने उत्सव आज स्मृतिको विषय बनिसकेको छ ।

नेपाल एकीकरणपछिको लगभग साढे दुई शताब्दी लामो राजतन्त्रकालमा राजसिंहासन गोरखा दरबारबाट नुवाकोटको साततले दरबार हुँदै हनुमानढोकाको नौतले र नारायणहिटीसम्म सर्दा त्यति नै पटक नेपाली जातिको राष्ट्रिय चाड बडादशैं ती राजप्रासादमा उल्लासपूर्वक मनाइएको हुनुपर्छ ।

एकीकरणकर्ता पृथ्वीनारायण शाहपछि राजगद्दीका एक दर्जन उत्तराधिकारीमध्येका तत्कालीन राजा वीरेन्द्रका भागमा परेका २९ बडादशैंमध्ये तीन वटाको साक्षी बन्ने संयोग यो पंक्तिकारलाई पनि जुर्‍यो ।

संवत् २०५४ मा पनि राजप्रासाद अर्कै उत्सवले उल्लासमय बनेको थियो । त्यस वर्ष राजा वीरेन्द्रकी एक मात्र छोरी अधिराजकुमारी श्रुति विवाह बन्धनमा बाधिंदै थिइन् । श्रुतिको कुमार गोरखशमशेर राणासँगको प्रणय–बन्धन वास्तवमा एउटा ‘फेरिटेल म्यारिज’ थियो, जसले राजपरिवार र भारदारदेखि सर्वसाधारणलाई समेत रोमाञ्चित बनाएको थियो । विवाह बारे साथीसंगति र छरछिमेकबाट जिज्ञासापूर्वक सोधिएका प्रश्नहरू पंक्तिकारको मानसपटलमा अझै ताजै छन् ।

खुला प्रतिस्पर्धाबाट १ पुस २०५२ मा शाखा अधिकृतका रूपमा राजप्रासाद सेवामा प्रवेश गर्दा संयोगले त्यो महीना दरबार एउटा भव्य माहोलमा डुबिसकेको थियो ।

गद्दीनसीन राजा वीरेन्द्र जन्मोत्सव मनाउने क्रममा त्यसै महीना स्वर्ण वर्षमा प्रवेश गर्दै गर्दा सम्पूर्ण राजप्रासाद उत्सवमय थियो । त्यसको अर्को वर्ष वीरेन्द्र आफ्नो शासनकालको पच्चीस वर्ष पूरा गर्दै थिए ।

संवैधानिक राजाको गद्दी आरोहणको रजत वर्षको त्यस अवसरलाई सम्पूर्ण राष्ट्रले नै महोत्सवका रूपमा ग्रहण गरेको थियो । (श्री ५ को) सरकारले त्यस अवसरलाई विशेष बनाउन हुलाक टिकट, ब्यांक नोट र सिक्काहरू समेत प्रकाशन गरेको थियो । संयोगवश गद्दी आरोहणको मूल नारा ‘अनेकतामा एकता, राजसंस्थाको विशेषता’ को रचयिता यो पंक्तिकार थियो ।

संवत् २०५४ मा पनि राजप्रासाद अर्कै उत्सवले उल्लासमय बनेको थियो । त्यस वर्ष राजा वीरेन्द्रकी एक मात्र छोरी अधिराजकुमारी श्रुति विवाह बन्धनमा बाधिंदै थिइन् ।

श्रुतिको कुमार गोरखशमशेर राणासँगको प्रणय–बन्धन वास्तवमा एउटा ‘फेरिटेल म्यारिज’ थियो, जसले राजपरिवार र भारदारदेखि सर्वसाधारणलाई समेत रोमाञ्चित बनाएको थियो । विवाह बारे साथीसंगति र छरछिमेकबाट जिज्ञासापूर्वक सोधिएका प्रश्नहरू पंक्तिकारको मानसपटलमा अझै ताजै छन् ।

विशेष वर्षगाँठ र विवाहका अपवादलाई छाड्ने हो भने पनि दरबार स्वयंमा उत्सवहरूको पर्याय थियो । ती उत्सव खासमा चाडबाड हुन्थे । यी चाडहरूको सिरानमा रहन्थ्यो, बडादशैं । सोह्रश्राद्ध सकिएर नौरथा शुरू हुँदा दरबारमा बेग्लै चहलपहल शुरू हुन्थ्यो ।

दशैं र दरबार अन्योन्याश्रित हुनुको एउटा ठूलो कडी शाहवंशको पुख्र्यौली गोरखा दरबार नारायणहिटीको आधुनिक राजप्रासादसँग जोडिनु पनि हो ।

गोरखा छाडेको शताब्दीयौं बितिसक्दा र दर्जन राजाहरूले गद्दीको भोग गरिसक्दा पनि गोरखाबाटै फूलपाती भित्रिइरह्यो । प्रजातन्त्रको पुनर्स्थापनापछि राजकीय सत्ता सम्पन्न राजाबाट संवैधानिक राष्ट्रप्रमुखको हैसियतमा रूपान्तरित हुँदा अन्य भूमिकामा राजा खुम्चिनु परे पनि उनी धार्मिक हैसियतमा भने लगभग एक धर्माधिकारीकै हैसियतमा रहे ।

संवत् २०४७ मा जारी संविधानले नेपाललाई हिन्दू अधिराज्य नै कायम गरेकाले पनि राजाको धार्मिक हैसियतमा कुनै संकुचन ल्याएन । उनी संविधानको मात्र नभएर (हिन्दू) धर्मको पनि संरक्षक रहे । जसका कारण दरबारको दशैं फिक्का हुन पाएन ।

दरबारको दशैं घटस्थापनामा हनुमानढोकामा जमरा राखेसँगै शुरू हुन्थ्यो । तर, जमरा हनुमानढोकामा राखिए पनि नारायणहिटी दरबारको पूजाकोठामा १०८ ब्राह्मणले घटस्थापनादेखि महानवमीसम्म दैनिक चण्डी पाठ गर्थे ।

त्यस कर्मका लागि बडागुरुज्यू वा मूलपुरोहितले छनोट गर्ने वटुकलाई राजाले नै वरणी गरेर पूजा कर्मका लागि तुनादार भोटो र रातो धोती प्रदान गर्थे । उनीहरूका लागि निश्चित भेटी समेत तोकिएको हुन्थ्यो ।

चाडपर्व अनुसार दरबारले वैदिक र तान्त्रिक दुवै खाले पूजा र अनुष्ठान अवलम्बन गरेको देखिन्छ । दशैं शक्तिको अनुष्ठान भएकाले वैदिक भन्दा तान्त्रिक विधि अपनाइएको पाइन्छ ।

दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने चलन राजतन्त्रको समाप्तिपछि पनि चलेकै छ ।

हिन्दू धर्मका पालक भएकाले पनि राजा (दरबार) कै नाममा मुलुकका विभिन्न शक्तिपीठमा बलि दिइन्थ्यो । जसमध्ये हनुमानढोकामा कालरात्रि (महानवमी) मा दिइने बलि प्रमुख थियो ।

हनुमानढोका (कोत) मा दिइने १०८ बोका, राँगा लगायतको बलिको प्रसाद राजप्रासाद सेवाका कर्मचारीलाई बाँडिने भएकाले दशैंले कर्मचारीबीच पनि छुट्टै उमङ्ग सञ्चार गथ्र्यो ।

यस्तो प्रसाद जात र दर्जा हेरेर व्यवस्थापन गरिन्थ्यो । जस्तैः बाहुन, क्षत्री, ठकुरी आदिलाई बोका भाग लगाइन्थ्यो भने नेवार आदिका निम्ति राँगा ।

त्यहाँ बलि दिइने कलिला बोकाका आकार लगभग कुखुराको भाले बराबर हुने र सिङ्गो बोकाको हकदार हुन प्रथम श्रेणीको हुनुपर्ने भएकाले बोका भन्दा राँगा भागमा पर्ने कर्मचारी बढी खुशी देखिन्थे ।

यसैगरी कर्मचारीका निम्ति अर्को उत्साह सम्बन्धित विभागका हाकिमले बाँड्ने ‘दशैं बक्सिस’ मा पनि हुन्थ्यो । राजाले विभागीय प्रमुखलाई बक्सिसका रूपमा दिने रकम सम्बन्धित विभाग प्रमुखले आफू मातहतका कर्मचारीलाई बाँड्ने गर्थे ।

हाकिमको कोठामा एक–एक गरी बोलाएर बाँडिने त्यो रकम केही सय रुपैयाँको हुन्थ्यो । राजाले ती हाकिमलाई वास्तवमा के–कति रकम दिन्थे भन्ने जान्नका लागि आफू पनि हाकिम हुन्जेल नै कुर्नुपथ्र्यो । त्यसैले, आफ्नो साढे तीनवर्षे सेवाकालका तीन दशैं पंक्तिकारले अनुमानमै बितायो ।

दरबारको दशैंको सबैभन्दा उल्लासपूर्ण दिन चाहिं विजयादशमीको टीका नै हुन्थ्यो । राजपरिवारका सदस्यहरूले टीका लगाएपछि दूबोको माला जसरी बुनिएको जमरा लगाएको धेरैको सम्झ्नामा हुनुपर्छ । किनकि, दशैंका बेला खासै समाचार नबन्ने हुँदा राजपरिवारको दशैं टेलिभिजनमा घरीघरी दोहोर्‍याएर देखाइन्थ्यो ।

प्रत्येक राम्रा कथा समाप्तिमा पुग्छन् भने जसरी दरबारको उत्सव पनि अन्त्योन्मुख रहेको भेउ हामीले १९ जेठ, २०५८ का दिन पायौं । त्यो अकल्पनीय हत्याकाण्डले नारायणहिटी राजप्रासाद र त्यस परिसरबाट मालश्री र मंगलधुनलाई सधैंका निम्ति मौन बनाइदियो । दरबारको दशैं हाम्रो स्मृतिमा मात्र जीवित छ ।

बडागुरुज्यू र मूलपुरोहितबाट राजपरिवारका जीवित सदस्यमध्येकी ज्येष्ठ मुमा बडामहारानी रत्नसँगै राजारानीले टीका थापेपछि परिवारबीच लगाइसकेर राजपरिवारबाट शाही नातेदारलाई टीका लगाइन्थ्यो ।

नारायणहिटी राजप्रासादका बैठकहरूमध्येको धनुषा बैठकमा दशैंको टीका थापिन्थ्यो । धनुषा बैठकमा टीका लगाइँदै गर्दा सेनाको सांगीतिक टुकडीले दरबार परिसरमा मालश्री र मंगलधुन बजाइरहेको हुन्थ्यो ।

मंगलधुन दरबारका निम्ति यस्तो अभिन्न संगीत थियो, जुन सबै मंगल कार्यमा अनिवार्य बज्थ्यो । राजपरिवार र शाही नातेदारको टीका सकिएपछि राजप्रासाद सेवाका कर्मचारी, शाही पाश्र्ववर्तीको पालो आउँथ्यो ।

तर, जंगीसेवामा ‘अफिसर’ र ‘नन–अफिसर’ भनेर चर्को पदीय विभेद भए जस्तै राजप्रासाद सेवाका राजपत्रांकित कर्मचारीले मात्र राजपरिवारबाट टीका थाप्न धनुषा बैठकमा प्रवेश पाउँथे ।

राजा, रानी, युवराज र मुमा बडामहारानीबाट टीका लस्करै लगाउनु उनीहरूका निम्ति असाधारण मौका हुन्थ्यो । असाधारण यस अर्थमा, मुलुककै प्रमुख कार्यकारी र संवैधानिक निकायका प्रमुखहरूलाई समेत यी चारै सदस्यबाट टीकाको अवसर जुर्दैनथ्यो । अधिकृत तह मुनिका कर्मचारीले भने पटाङ्गिनीमा राजाका हातबाट मात्र टीका थाप्न सक्थे ।

वास्तवमा राजपरिवारका सदस्यहरूको पर्व विशेषको जमघट आफैंमा एउटा उत्सव बराबर हुन्थ्यो । किनकि, हामीले दरबार भनेर चिनेको नारायणहिटी राजप्रासादको मुख्य भवन आवासीय नभएर औपचारिक समारोह वा उत्सव निम्ति निर्मित भवन थियो ।

दरबारको चारघेरा भित्र पनि राजारानी श्रीसदन, युवराज त्रिभुवन सदन र मुमा बडामहारानी महेन्द्र मञ्जिलमा बस्ने हुँदा मूल दरबारमा आयोजना हुने कुनै पनि उत्सव विशेष हुन्थ्यो ।

प्रत्येक राम्रा कथा समाप्तिमा पुग्छन् भने जसरी दरबारको उत्सव पनि अन्त्योन्मुख रहेको भेउ हामीले १९ जेठ, २०५८ का दिन पायौं । त्यो अकल्पनीय हत्याकाण्डले नारायणहिटी राजप्रासाद र त्यस परिसरबाट मालश्री र मंगलधुनलाई सधैंका निम्ति मौन बनाइदियो । दरबारको दशैं हाम्रो स्मृतिमा मात्र जीवित छ । 

प्रतिकृया दिनुहोस