कला/साहित्यशनिबार, १८ आश्विन , २०७६

चङ्गा जस्तै उडी हिंड्ने मन

रघु पन्त

त्यो इन्द्रेणी त्यहीं रहिरहोस्, मेरो चङ्गा त्यसैगरी त्यो इन्द्रेणीको बीचमा उडिरहोस् र म लट्टाई समातेर इन्द्रेणी र चङ्गालाई निरन्तर हेरेर बसिरहुँ जस्तो लाग्थ्यो।

कविताको दुई पङ्क्ति सम्झनामा ताजै छ—

चङ्गा हेर न कस्तो राम्रो

स्वर्गै जाने बुट्टा हाम्रो ।

रघु पन्त

स्कूलमा छँदा पढेको यो कविता जस्तै सानोमा मैले ‘चङ्गा’ निकै उडाएँ । बाबा–आमासँग पैसा माग्दा दिन गाह्रो मानेका खण्डमा म हुर्रिएर प्यारी मुमा (हजुरआमा) सामु पुग्थें । मुमा अचेलको एटीएम भन्दा छरितो हुनुहुन्थ्यो– मेरो लागि । आफ्नो माग कतैबाट पूरा नभएपछि अन्तिम सहारा मुमा नै हुनुहुन्थ्यो । आखिर म उहाँको प्रिय जेठो नाति थिएँ ।

अरूले उडाएको चङ्गाको धागो काटियोस् भनेर आफ्नो लट्टाईको धागोमा साबुदाना, सिसा पिंधेर बनाइएको धूलो आदि पकाएर धागोमा ‘माझ’ लगाउँथ्यौं । त्यसो गर्दा धागो कडा र बलियो हुन्थ्यो तर जति ‘माझ’ लगाए पनि धेरैजसो मेरै चङ्गा चेट हुन्थ्यो ।

दिनका दिन चार–पाँच वटा चङ्गा चुँडिएर जान्थे । लट्टाईको धागो छोट्टिंदै जान्थ्यो । भदौ लागेदेखि दशैं पछिसम्मको एक–डेढ महीना चङ्गाको पछि लाग्दैमा बित्थे । यसो गर्दा हजुरबुबा, मुमा, आमा सबैसँग पैसा माग्दा पनि मलाई चङ्गा पुर्‍याउन गाह्रो हुन्थ्यो ।

‘धागो नपुगे टुप्पी गाँस’ भनेर कराउँथे । जुनबेला चङ्गा लडाउन र अरूको धागो माथि आफ्नो धागो र चङ्गा पार्न कोशिश गरिन्थ्यो त्यो बेला छेउमा साथीहरू कराउँथे “राम्ररी फुइँ हान् । ल ल पर्नै लाग्यो ।”

म टाउको अगाडिबाट चलाइरहेको लट्टाईलाई तल कम्मरसम्म झट्कारेर अरूको चङ्गामाथि आफ्नो चङ्गा–धागो पार्न फुईं हान्थें, तर कहिले लाग्थ्यो, कहिले लाग्दैनथ्यो । कहिले हावाको गति मिल्दैनथ्यो त कहिले चङ्गा आफूले चाहे जसरी उड्दैनथ्यो । चङ्गा लडिरहेको बखत अरूको चङ्गा काट्न आफूले धागो छोडिरहेको क्षण साँच्चै अविस्मरणीय र रोमाञ्चक हुन्थ्यो । अरूको चङ्गा काट्दाको उत्साह र आफ्नो चङ्गा काटिंदाको निराशाको स्वाद अहिले सम्झँदा पनि रमाइलो लाग्छ ।

चङ्गाकै कारणले कैयौंपल्ट झगडा परेको छ । हात हालाहाल भएको छ । खूब रीस त्यसबेला उठ्थ्यो जब आफ्नो चङ्गा काटिएर जान्थ्यो र लट्टाई बेर्दा–बेर्दै कसैले कौसीबाट वा बाटोबाट धागो समातेर तान्न थाल्थ्यो । तब विवाद चर्कन्थ्यो । वचनको झटारो हानाहान, कहिलेकाहीं त हात हालाहाल र कुस्तीको अवस्थासम्म पुगिन्थ्यो ।

त्यसबेला उडाइने कुनै चङ्गा पानबुट्टे हुन्थे त कुनै दाह्रीवाल र सादा । पानको बुट्टा टाँसिएको चङ्गा पानबुट्टे र एउटै मात्र रङ भएकोलाई सादा भनिन्थ्यो । एउटा ‘नेपाली कागज’ को र अर्को ‘चिल्लो कागज’ को चङ्गा हुन्थ्यो । चिल्लो कागजबाट बनाइएको चङ्गालाई किन हो कुन्नि लखनौ भन्थ्यौं हामी ।

धानका पहेंला बाला खेतका फाँटभरि झुलेका हुन्थे । खेतको आलीमा उभिएर म एउटा हातले लट्टाई र अर्को हातले धागो समातेर आफ्नो चङ्गा उडाउने कोशिश गर्थें । पाक्न लागेका धानका बालामाथि खस्थ्यो ।

लट्टाई घुमाउँदै धागो बेरिरहेका वेला मेरो चङ्गा झुलिरहेका धानका बालामाथि तैरिंदै–तैरिंदै मतिर आइरहेको हुन्थ्यो । त्यसरी पाक्न लागेको धानका बाला माथिबाट चङ्गा तान्दा धेरैपटक ज्यापू–ज्यापूनीको गाली खाएको छु । धान झर्ने भएकोले कहिले त लखेट्थे पनि ।

छानामाथि चङ्गा उडाउन कौसीमा जाँदा कतिपटक खस्न–खस्न लागेको बेला अरूले समाइदिएका घटना छन् । लट्टाई बेर्दै–बेर्दै पछि सर्दा लडेर पछारिएका घटना त झन कति कति !

लट्टाई, धागो र चङ्गा अनि ‘माझ’ लगाउने सामान किन्न साथीहरूसँग मिलेर हामी असनसम्म आउँथ्यौं । रङ्गीचङ्गी चङ्गाहरू छानी–छानी किन्थ्यौं । चङ्गा राम्ररी नउड्दा कहिले हावालाई गाली गर्थ्याैं  । कहिले चङ्गा उडाउँदा–उडाउँदै पानी पर्थ्याे । लट्टाईमा फटाफट धागो बेर्दा पनि चङ्गा हातमा आइपुग्दासम्म पानीले भिजेर च्यातिन्थ्यो । त्यस्तो बेलामा बहुत विस्मात् लाग्थ्यो ।

ओहो ! त्यो बेलाको आकाश कति सफा ! त्यही आकाशमा बेला–बेलामा इन्द्रेणी पर्थ्याे । कहिलेकाहीं त आकासिएको आफ्नो चङ्गा ठ्याक्कै त्यही इन्द्रेणीको बीचमा पुगे झैं लाग्थ्यो । लट्टाई बेर्नै मन लाग्दैनथ्यो । त्यो इन्द्रेणी त्यहीं रहिरहोस्, मेरो चङ्गा त्यसैगरी इन्द्रेणीको बीचमा उडिरहोस् र म लट्टाई समातेर इन्द्रेणी र चङ्गालाई निरन्तर हेरेर बसिरहुँ जस्तो लाग्थ्यो ।

कहिलेकाहीं साथीहरूको लहैलहैमा लागेर स्कूलबाट सीधै सैनिक मञ्च अगाडिको टुँडिखेलमा जान्थ्यौं । जहाँ छिन्–छिन्मा चङ्गाहरू काटिएर आएको आयै गर्थे । त्यस्तो चङ्गा हात पारौंला र उडाउँला भनेर थुप्रै किशोर र मेरै उमेरका केटाहरू पर्खेर बसिरहेका हुन्थे । जब कुनै चङ्गा काटिएर आउँथ्यो त्यो हात पार्न बीसौं जना कुद्थे । त्यो बेला भृकुटीमण्डप र बागबजार पछाडिपट्टिको भाग खुलै थियो । टुँडिखेलबाट बत्तिंदै बत्तिंदै कुनै चङ्गा त्यतातिर पुग्थे भने कतिपय चङ्गा रानीपोखरीमा गएर खस्थे ।

काठमाडौंको मुख्य शहरी भागमा मात्र हैन वरिपरिका गाउँहरूमा पनि चङ्गा निकै उडाइन्थ्यो । मेरो बाल्य र किशोरकालको काठमाडौंमा चङ्गा उडाउन प्रशस्त खुला फाँट थिए । चङ्गा उड्नबाट रोक्ने–छेक्ने, आकासिन नदिने अग्ला–अग्ला घरहरू थिएनन् । बरु कतिपय ठाउँमा अग्ला–अग्ला रूखहरू थिए, जहाँ बेलाबखत चङ्गा अड्किन्थ्यो ।

चङ्गा उडाउन कहिले साथीहरूसँग स्वयम्भूको डाँडोमा समेत जान्थ्यौं । त्यो डाँडाबाट पूरै उपत्यका देखिन्थ्यो । उपत्यका पहेंलो, सुनौलो विशाल गलैंचा झैं देखिन्थ्यो भने शहर र घरहरू त्यो विशाल गलैंचाका बुट्टाहरू जस्ता देखिन्थे । स्वयम्भूबाट चङ्गा उडाउनुको आनन्दै अर्कै । न कुनै रूखमा चङ्गा अड्केला भन्ने पीर न कुनै घरले छेक्ला भन्ने चिन्ता । त्यहाँबाट धीत मरुञ्जेल, हात नगलुञ्जेल चङ्गा उडाइन्थ्यो ।

शारदीय नीलो आकाश उज्यालो र भर्खर धोएको नीलो तन्ना जसरी वारपार आँखाले भ्याउञ्जेलसम्म फैलिएको हुन्थ्यो । त्यो सफा आकाशमा फर्फराइरहेका रङ्गी–चङ्गी चङ्गाहरू र सँगसँगै जस्तै गरी चराका बथान उडिरहेको देखिन्थ्यो । त्योभन्दा माथि उडिरहेका हुन्थे केही चीलहरू !

म कहिले आकाशको यो रमाइलो दृश्य दङ्ग पर्दै हेरिरहेको हुन्थें त कहिले झुलिरहेका धानका बाला मन्द–मन्द हावाको गतिमा नाचिरहेको देखेर छक्क पर्थें । फाँटहरूका कुलोमा भदौ–असोजसम्म पनि कुलकुलको सङ्गीतमय आवाज गुञ्जाउँदै सफा पानी बगिरहेको हुन्थ्यो । त्यो पानीमा म कहिले खुट्टा चोपल्थें, कहिले हात धुन्थें ।

चङ्गा उडाउन कहिले साथीहरूसँग स्वयम्भूको डाँडोमा समेत जान्थ्यौं । त्यो डाँडाबाट पूरै उपत्यका देखिन्थ्यो । उपत्यका पहेंलो, सुनौलो विशाल गलैंचा झैं देखिन्थ्यो भने शहर र घरहरू त्यो विशाल गलैंचाका बुट्टाहरू जस्ता देखिन्थे । स्वयम्भूबाट चङ्गा उडाउनुको आनन्दै अर्कै । न कुनै रूखमा चङ्गा अड्केला भन्ने पीर न कुनै घरले छेक्ला भन्ने चिन्ता । त्यहाँबाट धीत मरुञ्जेल, हात नगलुञ्जेल चङ्गा उडाइन्थ्यो ।

चङ्गा जसरी थरीथरीका र अनेक रङ र बुट्टाका हुन्थे, चङ्गा उडाउनेहरू पनि त्यस्तै । कोही सादा चङ्गामा थोरै शब्दका ‘साङ्केतिक भाषा’ प्रयोग गरेर प्रेमपत्र लेख्थे र आफूले मन पराएकी केटीको घरको कौसीमा झर्ने प्रयत्न गर्थे । कोही चाहिं केटी कौसीमा आए भने त्यत्तिकै पनि चङ्गा त्यहाँ झरेर प्रतिक्रिया पर्खेर बस्थे ।

मैले सात–आठ वर्षको हुँदादेखि झण्डै तेह्र–चौध वर्षको उमेरसम्म   चङ्गा उडाएँ । म पछि माइलो, साइँलो, काइलो र कान्छो भाइले समेत आफ्नो उमेरमा मजाले चङ्गा उडाए ।

उपत्यकामा अचेल पनि चङ्गा उडाउँछन्– दशैंताका । दशैंअघि अलि बढी र दशैंपछि निकै कम । चङ्गा उड्ने आकाश फराकिलो नभएर हो वा उडाउने ठाउँ नपाएर हो पहिले जस्तो उडाएको अचेल देखिंदैन । धागो टन्न बेरिएको लट्टाई र दश बाह्रवटा चङ्गा हातमा पर्‍यो भने संसारको सारा खुशी पाए जस्तो लाग्थ्यो । अचेलका किशोरहरूलाई चङ्गा–लट्टाईले पहिलेकालाई झैं खुशी पार्न शायद सक्दैन क्यारे !

आफूले चङ्गा उडाएको बेला सम्झदा अहिले पनि मन आनन्दित हुन्छ । चङ्गा उडाउन धागोमा ‘माझ’ लगाएको, चङ्गामा ‘कका’ (चङ्गामा ओजन मिलाई राम्ररी उडाउन बीचको कप्टेराको सिरान र पुछारमा बाँधिएको धागाको उझिन्डाे) हालेको एक–एक काम मलाई निकै रचनात्मक लाग्छन् । खास गरेर दशैंताका म मेरो बाल्य र किशोरावस्थाका ती दिनहरू फर्की फर्की आफ्नो स्मृतिमा खोज्छु । हरेक पल सजीव भएर आउँछन्– मानसपटलमा ।

आकाशमा उडिरहेका चङ्गा, सफा नीलो आकाश, विभिन्न दिशातिर उडिरहेका चराचुरुङ्गी, परेवा र बकुल्लाका बथान अनि त्योभन्दा पनि माथि–माथि उडिरहेका केही चीलहरू । तल धर्तीमा झुलिरहेका धानका बाला, म खोज्छु वितेका ती दिन, अनि मनै हर्ने ती अविस्मरणीय दृश्यहरू ! अवशेषहरू पनि पाउँदिन कतै ! मन कटक्क काट्छ । चित्त कुँडिन्छ । चङ्गा जस्तै उडी हिंड्ने मनलाई थुमथुम्याउँछु ।

कम होलान् तर चङ्गाहरू अझै उडिरहेकै छन् । म माथिको आकाश अझै नीलो छ । धान झुल्ने फाँटहरू थोरै भए पनि बाँकी छन् । इन्द्रेणी अझै पनि बेलाबेलामा झुल्कने गर्छ । ती इन्द्रेणीहरूको बीचमा आफ्ना चङ्गा पुर्‍याउन खोज्नेहरू बाँकी रहुन् । उपत्यकाको आकाशमा रङ्गीचङ्गी चङ्गाहरू उडिरहून् ।

प्रतिकृया दिनुहोस