टिप्पणी विहीबार, असोज १६, २०७६

प्रविधिले फेरेका चाडपर्व

गणेश आचार्य

प्रविधिको प्रयोगले चाडपर्व मनाउने तरिका जसरी व्यापक भएको छ, त्यसरी नै हामीलाई प्रविधिले नियन्त्रण गर्ने खतरा पनि बढेको छ।

गणेश आचार्य

चाडपर्व उत्साह र उमङ्गको पर्याय हो । हिन्दू धर्मग्रन्थ पुराणहरूमा भनिए जस्तै विजयोत्सवको रुपमा शुरु गरिएका धेरै चाडपर्व अहिले पनि उल्लासपूर्वक मनाइन्छ । फरक यति हो, पहिला प्रविधिको विकास थिएन, अहिले प्रविधिको प्रयोगले मनाउने शैली फेरिएको छ । दशैं–तिहारमा घर जान नसक्नेहरू विभिन्न प्रविधिको माध्यमले आफन्तसँग जोडिन्छन् ।

चाडपर्व मनाउने शैली फेर्ने पहिलो प्रविधि हो, स्मार्टफोन । हाम्रा धेरै चाहना एउटै स्मार्टफोनमा अटाएका छन् । अझ इन्टरनेट जोडिएपछि त्यसको उपयोगिता कैयौं गुणा बढेको छ । विदेश बसेकाहरूले घरमा रहेका आफन्तलाई स्मार्टफोनबाट ‘भर्चुअल’ सयर गराउँछन् । आफन्तहरूले चाडपर्वका बेला स्मार्टफोनबाटै विदेशमा भएका सन्ततिलाई ‘भर्चुअल’ टीका लगाइदिन्छन् । खुशियालीका तस्वीर र भिडियो आदानप्रदान गर्छन् ।

विश्वको कुनाकुनामा कसले कसरी दशैं मनायो सामाजिक सञ्जालमा हेर्न पाइन्छ । सूचनाहरू पठाउन र पाउन च्याट गर्ने, फेसबूक या अन्य कुनै सामाजिक सञ्जालमा लाइभ गर्ने लगायत विशेषता थपिएपछि चाडपर्व थप रोमाञ्चक भए । आफन्तलाई सामाजिक सञ्जाल मार्फत नै शुभकामना या निमन्त्रणा पठाउन सकिन्छ, जुन पहिले भौतिक रुपमा उपस्थित नभई संभव थिएन । इन्टरनेटकै माध्यमबाट अरुको संस्कृति र चाडपर्व मनाउने तरिकाबारे थाहा पाउन सक्छौं ।

विधिपूर्वक पूजा गर्न नजानेकाहरूले यूट्युब लगायत अन्य सामाजिक सञ्जाल हेरेर उपयुक्त विधि अँगाल्न सक्छन् । सामाजिक सञ्जालहरू मार्फत लाइभ भिडियो च्याट गरेर एक ठाउँबाट अर्को ठाउँमा पूजाविधि सम्पन्न गराउन सकिन्छ । जसले हाम्रा अनेकन् संस्कारहरू पनि विश्वव्यापी बन्न पुगेका छन् । पहिला असम्भव रहेका यस्तै धेरै काम सहज गराउने स्मार्टफोन अहिले दैनिक जीवनमा अपरिहार्य बनिसकेको छ ।

उहिलेदेखि नै दशैंको किनमेलमा लत्ताकपडा र खानेकुरा धेरै हुन्छन् । बजारमा स्वयम् उपस्थित भएर किन्नुपर्थ्याे । अहिले मोबाइल या कम्प्युटर मार्फत आदेश दिएपछि सामान घरैमा आइपुग्छ । बजारमा पाइने ग्याजेटहरूले दशैं–तिहार लगायत चाडपर्वका किनमेल सजिलो मात्र बनाएनन् कि छनोटको मौका पनि दिएका छन् । खानेकुरा, लुगाकपडा, रङरोगन परम्परागत तरिकाले बनाउनुपर्दैन । आधुनिक मेशिनबाट बनाइएका सामग्री तुरुन्तै पाइन्छ ।

ग्याजेटका कारण सांस्कृतिक कार्यक्रम गर्न सहज भएको छ । पहिला जस्तो नाच्ने, गाउने र बाजा बजाउने छुट्टाछुट्टै टोली बनाउनुपर्दैन । १५–२० वर्षअघि ठूल्ठूला क्यासेट प्लेयर बोकेर हिंड्नुपर्थ्याे । अहिले गोजीमै अटाउने र एकपटक चार्ज गरेपछि घण्टौंसम्म आवाज दिने ब्लूटुथ स्पिकरहरू पाइन्छन् । तीजका गीतमा नाँच्न या तिहारमा भैलो खेल्न यस्ता ब्लूटुथ स्पिकरले सजिलो पारिदिएका छन् ।

त्यस्तै डिजिटल क्यामेराले हाम्रा उत्सवलाई संग्रहयोग्य र अरुसँग बाँड्न सकिने बनाएका छन् । मोबाइलमा जोड्न सकिने डिजिटल क्यामेरा आएपछि घरीघरी कम्प्युटर खोलिरहनुपर्दैन । शक्तिशाली ‘पावर ब्याङ्क’ ले ग्याजेटहरू चलाउँदा चलाउँदै पहिले जस्तो ब्याट्री सकिने डर हटाएका छन् । चाडपर्वका बेला सपरिवार ठूलो पर्दामा फिल्म हेर्न हलमै जानुपर्दैन । साना र सस्ता प्रोजेक्टर र ठूला ठूला टेलिभिजन घरमै उपलब्ध हुन्छ ।

प्रविधिको नियन्त्रणमा मानिस

हामीलाई ‘स्मार्टफोन कल्चर’ ले ढपक्कै ढाकेको छ । फोन ‘स्मार्ट’ बोके पनि हाम्रा केही बानी भने ‘स्मार्ट’ छैनन् । प्रविधिमा भुलिरहँदा चाडपर्वको महत्व कम हुने जोखिम बढेको छ । दशैंमा टीका लगाउँदा ध्यान आशीर्वाद दिन र लिनभन्दा तस्वीर खिच्न वा ‘लाइभ’ गर्ततिर हुन्छ ।

तस्वीरमा अनुहार राम्रो देखिएन भने फेरि टीका लगाएको अभिनय गर्न लगाएर फोटो खिच्ने चलन बसिसकेको छ । यसरी प्रविधि हाम्रो नियन्त्रणबाट फुत्किएको छ र हामी प्रविधिको नियन्त्रणमा पुगिरहेका छौं ।

दशैं–तिहारको महत्वपूर्ण हिस्साको रुपमा रहेका चङ्गा, पीङ जस्ता खेललाई मोबाइल गेमहरूले विस्थापित गर्दैछन् । दशैं–तिहारमा प्रयोग हुने कतिपय सामग्री तयार गर्दा लिनेदिने व्यक्तिबीच आत्मीयता बढ्छ । तर, त्यस्ता कुरा बनिबनाउ किन्दा समाजबाट आत्मीयता हराउँदै गएको छ ।

चाडपर्व नआउँदै सामाजिक सञ्जालहरू बनिबनाउ शुभकामना सन्देशले भरिन्छन् । प्रत्यक्ष भेटेर, कार्ड दिएर वा फोनमा कुरा गरेर दिइने शुभकामनाले बढाउने सामीप्यता बनिबनाउ सन्देशमा हुँदैन । संस्कृति छोड्दै प्रविधि अँगाल्ने वा प्रविधि छोड्दै संस्कृति अँगाल्ने दुवैखाले प्रवृत्ति हानिकारक हुन्छ । हामीले प्रविधिको सदुपयोग, दुरुपयोग वा अति–उपयोगमा भिन्नता देख्न सक्नुपर्छ । तब प्रविधि र संस्कृति सँगसँगै अगाडि बढ्न सक्छन् ।

प्रतिकृया दिनुहोस