सम्पादकीयबिहिबार, १६ आश्विन , २०७६

नेपाली दर्शन– नेपालको ‘सौम्य शक्ति’

किरण नेपाल

लोक–जीवनमा आधारित नेपाली दर्शन नै भूराजनीतिक सौम्य शक्ति (सफ्ट पावर) पनि हुन् जसको जगमा हामी नेपाली सदियौंसम्म आत्मसम्मान सहितका नेपाली बन्न सक्छौं।

६ र ७ असोजमा काठमाडौंमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू सहितको उपस्थितिमा चीनमा सत्ता चलाइरहेको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नेताहरूको नेतृत्वमा ‘सी चिनफिङ विचारधारा’ बारे ‘प्रशिक्षण’ कार्यक्रम चल्यो । सीपीसीका विदेश विभाग प्रमुखको नेतृत्वमा भएको प्रशिक्षण लगत्तै नेकपा र सीपीसीबीच पाँच वर्षसम्म उच्चस्तरको सहकार्य गर्ने सम्झाैता पनि भयो ।

दुई कम्युनिष्ट पार्टीबीचको सहकार्य स्वाभाविक दावी गरिए पनि दुवैको राजनीतिक विकासयात्रा विल्कुलै भिन्न भएकाले यसबाट पर्न सक्ने भूराजनीतिक प्रभावको आकलन अहिल्यै गर्न गाह्रो छ । तर, चिनियाँ राष्ट्रपति सीको विचारबारे नेपालमा दिइएको प्रशिक्षणले हाम्रो राजनीतिक नेतृत्वमा ठूलै वैचारिक सङ्कट रहेको कटु सत्य उजागर गरेको छ ।

नेपालमा विचार र विचारधाराको सङ्कट नयाँ विषय भने होइन । २०३४ सालमा प्रकाशित नेपालायन–१ पुस्तिकामा डा.जगदीशचन्द्र रेग्मीको एउटा मन्तव्य यहाँ स्मरणीय छ । रेग्मीले लेखेका छन्, “आज संसारभरि बौद्धिकताको क्षेत्रमा जुन गति आएको देखिन्छ, सोको आंशिक प्रभाव पनि हामीमा आइनपुग्नु एउटा समस्या भएर उभिएको छ ।

बौद्धिकताको सुनौलो परम्परा भएका हामी नेपालीलाई यो वर्तमान यथार्थले गिज्याइरहेको जस्तो लाग्दछ ।” के थियो त त्यो बौद्धिकताको सुनौलो परम्परा ? अनि कसरी हरायो ? के थियो नेपाली वैचारिकी ? के हो नेपाली दर्शन ? यस वर्षको दशैं विशेष अङ्कमा हिमालले यही विषय उप्काउने प्रयास गरेको छ ।

दर्शनको सामान्य अर्थ ‘देख्नु, हेर्नु’ भए पनि दर्शनशास्त्रले जीवन र जगतबारे गहिरा कुरा गर्छ । जीवन, विचार, चेतना, बुद्धि, स्वभाव, व्यवहार, कर्म, मृत्यु आदिबारे मात्र होइन, प्रकृतिका मसिना कुरादेखि धर्ती र ब्रह्माण्डसम्मका विषयमा प्रश्न, बहस र सङ्कथन (डिस्कोर्स) गर्छ, निष्कर्षमा पुग्ने प्रयत्न पनि ।

नेपालीले कहिलेदेखि यी विषयमा चिन्तन गर्न थाले ? यसबारे खोज जारी नै छ । तर, अहिलेको नेपाल राज्यमा लोकायत दार्शनिक बृहस्पति, ब्रह्मवादी दार्शनिक याज्ञवल्क्य तथा अष्टावक्र, साङ्ख्य दार्शनिक कपिलमुनि, न्याय दर्शनका अक्षपाद गौतम, वैशेषिकका कणाद, योगका पतञ्जलि र बौद्ध दर्शनका सिद्धार्थ गौतमको विशेष छाप र प्रभाव देखिन्छ ।

त्यसयता पनि किरात लगायतका दर्शनले खास भूगोललाई नछोएका होइनन्, दार्शनिकहरू पनि नजन्मिएका होइनन् । तर, यहाँ पनि अध्ययनकै कमी देखिन्छ ।

हामीकहाँ सरकारीस्तरबाट दर्शन विधामा काम थालिएको भने झण्डै सात दशक पुगिसकेको छ । प्रजातन्त्र प्राप्तिको एक महीनापछि ११ चैत २००७ मा ‘नेपाल दार्शनिक संघ’ स्थापना भयो । छरिएका दार्शनिक विचारधारालाई एकत्रित गर्ने र दर्शनको दिग्दर्शन गराउने उद्देश्यले स्थापित यो संघले स्थापनाको पाँच वर्षपछि पहिलो प्रकाशन ‘दर्शन–प्रवेशिका’ सार्वजनिक गरेको थियो ।

तर, जननिर्वाचित बीपी कोइराला नेतृत्वको सरकार अपदस्थ गर्दै राजा महेन्द्रले शासन लिएसँगै दर्शन जस्तो बृहत् क्षेत्र तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको संस्कृति विभागभित्र खुम्चियो । राजतन्त्रको विघटनपछि बल्ल २०६८ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानभित्र छुट्टै दर्शन विभाग बन्यो ।

१०४ वर्षे राणाकालमा नेपाली दर्शन विभिन्न रूपमा दमित हुन पुग्यो । ३० वर्षे पञ्चायत राष्ट्रवादको अवधारणा ल्याउँदै आफैं राजनीतिक दर्शन बन्ने प्रयत्नमा लाग्यो ।

लोकतान्त्रिक अभ्यासको झ्ण्डै तीन दशकयता विभिन्न समयमा दबिएका र छोपिएका नेपाली दर्शन प्रस्फुटित हुने क्रममा छ । तर विडम्बना के हो भने, दर्शनलाई बौद्धिक विलासको रूपमा लिइयो । जीवनसँग नजोड्दा यो जटिल र रूखो विषय बन्दै गयो ।

नेपालीमा अन्तरनिहित समन्वय र सहअस्तित्वको सूत्रले सबै समुदायलाई एकठाउँ उनेको छ । असहज परिस्थितिमा एक ढिक्का भएर जुट्नु नेपाली जीवन चरित्र हो । त्यसो भए, यो जनजनमा निहित समन्वयकारी, सह–अस्तित्ववादी, समभाव, सहिष्णुता, जब्बरपनको बीज के हो त ?

प्रश्न जति सहज छ उत्तर उति नै कठिन । किनकि, यी सामूहिकताको भाव हुनुमा न कुनै व्यक्तिविशेषको योगदान अहम् छ, न भूगोल वा खास भाषा, न त धर्म वा सम्प्रदायकै ।

संसारकै उच्च हिमवत्खण्ड शिर पाएको नेपालले अनुपम जैविक विशेषता र जातीय विविधताको साथ पाएको छ । विभिन्न कालखण्डमा शासक, सन्त, विद्वान, राजनीतिज्ञ, सामाजिक अभियन्ता, कलाकार र सर्वसाधारण समाजका नायक बनेका छन् । अर्थात् नेपाली चेतनप्रवाहका अनुहार बनेका छन् ।

यी सबैको केन्द्रमा नेपाली लोक जीवनपद्धति छ, जसको भावभूमिमा आजको नेपाल उभिएको छ । ग्रामीण जीवन नै हाम्रो विचार र दर्शन निर्माणको यस्तो स्रोत हो, जसले हामीलाई यी गुणहरूसँगै हुर्काइरहेको छ । लोक–जीवनमा आधारित  यी नेपाली दर्शन नै भूराजनीतिक सौम्य शक्ति (सफ्ट पावर) पनि हुन् जसको जगमा हामी नेपाली सदियौंसम्म आत्मसम्मान सहितका नेपाली बन्न सक्छौं ।

सबैमा बडादशैंको मङ्गलमय शुभकामना !

प्रतिकृया दिनुहोस