कला/साहित्य मंगलबार, असोज १४, २०७६

नेपाली चेतनप्रवाहका अनुहार

शेखर खरेल

कुनै एक वंश, व्यक्ति, वाद वा विचारधारा वर्तमान नेपाल निर्माणको जग होइन। बरु पृथ्वीनारायणको भौगोलिक एकतापछि ‘रामायण’ मार्फत भानुभक्तले शुरु गरेको नेपालीजनलाई भावनाको एकतामा बाँध्ने यत्न आजपर्यन्त जारी छ। 

शेखर खरेल

गोरखाका राजा पृथ्वीनारायण शाह नेतृत्वको गोर्खाली फौजले संवत् १८०० मा नुवाकोटबाट शुरू गरेको एकीकरणको अभियान संवत् १८७३ मा सुगौली सन्धिसम्म आइपुग्दा युद्धको आयु लगभग ७३ वर्ष पुगिसकेको थियो । पृथ्वीनारायण नेपाल राज्य निर्माणका संवाहक रहे । तर, नेपाली राष्ट्रवाद उनी जीवित रहँदै विकसित भइसकेको थिएन । राष्ट्रको सरहद फुक्ने र खुम्चिने प्रक्रियालाई सुगौली सन्धिले पूर्णविराम लगायो ।

प्रसिद्ध जापानी मोटर निर्माता कम्पनी मित्सुविसीको ‘क्याचलाइन’ ‘फन विगिन्स् ह्वेर द रोड एन्डस्’ भने जसरी नै नेपाल राष्ट्रको निर्माण (एकीकरण) को समाप्ति (वा सम्झाैता) सँगै नेपाली राष्ट्रवादको आरम्भ हुन गयो । नेपाली राष्ट्रवाद संवत् १८७३ को सुगौली सन्धि यताको एक गतिशील संवृति (फेनोमेनन्) हो ।

पृथ्वीनारायणले भूगोलको विशालता र सरहदभित्रका बासिन्दालाई सुरक्षित बसोबास र राष्ट्रको परिचय दिए तापनि भाषा, संस्कृति, जातीयता र आस्थाको बहुल नेपाल राष्ट्रलाई उनीपछिका कल्पनाशील, प्रतिभावान, उदारमना, सुधारवादी र स्वतन्त्रताप्रेमी नेपालीले मनोवैज्ञानिक एवं भावनात्मक एकताको सूत्रमा बाँध्दै आए । ती नेपालीको योगदान नै नेपाली राष्ट्रवादको निर्माण हो । जुन राष्ट्रवादमा नेपाली पहिचान मजबूत बन्दै त गयो नै, विश्व परिवेश र परिवर्तनसँग नेपाल राष्ट्र पनि जोडिंदै गयो ।

पृथ्वीनारायणको भौगोलिक एकतापछि नेपालीजनलाई गोरखा छेउकै तनहुँ रम्घा चुँदीका भानुभक्त आचार्यले भावनाको एकतामा बाँधे । र, भानुभक्तको योगदानलाई नेपाली समाजमा चिनाउने काम मोतिराम भट्टले गरे । भानुभक्त रचित ‘रामायण’ सबै नेपाली जाति र जनमन जोड्ने नेपाली भाषाको सबैभन्दा पहिलो र लोकप्रिय मुद्रित सामग्री बनिदियो ।

अमेरिकाको कोरनेल विश्वविद्यालयका प्राध्यापक एवं प्रसिद्ध कृति ‘इम्याजिन्ड कम्युनिटिज’ का लेखक बेनेडिक्ट एण्डर्सनको ‘राष्ट्रवाद रगतबाट नभई भाषाबाट निर्माण हुन्छ’ भन्ने तर्कलाई भानुभक्तको ‘रामायण’ ले सत्य सावित गर्दछ ।

आज नेपाल राष्ट्रको सरहदभित्र मात्र नभएर भारत, भूटान, म्यानमारदेखि यूरोप, अमेरिका र अफ्रिकी महादेशको नेपाली जातिको स्थायी बसोबास र आप्रवासनसम्म भानुभक्त स्पन्दित छन् । दार्जीलिङका नेपालीभाषीका कोठा–चोटादेखि चोक–बजारसम्म नेपाली जातिको अस्तित्वका रूपमा भानुभक्त उभिएका छन् ।

‘रामायण’ को प्रकाशनयता पहिले बनारस र त्यसपछि नेपाल भित्रै छापाखानाको विकास, उम्दा साहित्य र सर्जकको उपस्थितिले नेपाली भाषालाई झनै परिष्कृत र प्रभावशाली बनायो । सुधारवादी राणा प्रधानमन्त्री देवशमशेरको योगदानस्वरूप संवत् १९५८ बाट पहिलो नेपाली समाचार पत्रिका ‘गोरखापत्र’ को प्रकाशन तथा सुब्बा ऋद्धिबहादुर मल्लद्वारा संवत् १९९१ मा आरम्भित साहित्यिक पत्रिका ‘शारदा’ नेपाली भाषा र साहित्यको श्रीवृद्धिका निम्ति कोसेढुङ्गा रहे ।

त्यसयता नेपाली साहित्यका त्रिमूर्ति कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र नाट्यसम्राट बालकृष्ण समले नेपाली साहित्य भण्डारमा एक–भन्दा–एक रत्न थपिदिए ।

यसैगरी सरदार रुद्रराज पाण्डे, युगकवि सिद्धिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, गुरुप्रसाद मैनाली, राष्ट्रकवि माधवप्रसाद घिमिरे, भीमनिधि तिवारी, भवानी भिक्षु, मल्ल दाजुभाइ (गोविन्दबहादुर र विजय) आदिले नेपाली साहित्यलाई काव्य, आख्यान र नाटकमा विविधीकृत गरिदिए ।

प्रजातन्त्रको उदयपूर्व नेपालबारेको गैरआख्यान विदेशी विद्वानको सरोकार जस्तो देखिएकोमा प्रजातन्त्रकाल यता समाज, अर्थ–राजनीति, कूटनीति जस्ता गैरआख्यानमा एक–से–एक नेपाली विद्वान पुस्तक लेखनमा देखिए ।

यदुनाथ खनाल, सरदार भीमबहादुर पाँडे, हृषीकेश शाह, डोरबहादुर बिष्ट, महेशचन्द्र रेग्मी, हर्क गुरुङ आदि रचित प्राज्ञिक एवं खोजमूलक कृति अद्यावधि नेपाली समाज अध्येताका निम्ति सबैभन्दा भरपर्दा सन्दर्भ सामग्री हुन् ।

सन् ६० को दशकसँगै नेपाली साहित्यमा प्रयोगधर्मी लेखकहरूको दबदबा देखियो । गोपालप्रसाद रिमाल, भूपि शेरचन, शङ्कर लामिछाने, ईश्वरवल्लभ, मोहन कोइराला, बैरागी काइला आदि लेखकले साहित्य मार्फत नै सिर्जनात्मक विद्रोह अभ्यास गरे । 

नेपाली साहित्यलाई साहित्यको वैश्विक आन्दोलनको आलोकमा हेर्नुपर्दा अंग्रेजी रोमान्टिक कविहरू किट्स र शेलीहरूले संसार छाडेको शताब्दी पछि मात्र लक्ष्मीप्रसाद देवकोटाहरूले स्वच्छन्दतावादी धार पछ्याएको देखिन्छ । ठीक विपरीत चित्रकारिताको हकमा भने हाम्रा चित्रकारहरूले युरोपबाट सोझै ‘मोडर्निज्म’ भित्र्याएको पाइन्छ ।

सन् ५० को दशकतिरै लैनसिंह बाङ्देल चित्रकारिता अध्ययनका लागि पेरिस पुगिसकेका थिए । त्यसैगरी, सन् ६० को दशकमा नेपालबाट दुई मोडर्निस्ट चित्रकारहरू उर्मिला उपाध्याय गर्ग र लक्ष्मण श्रेष्ठ पनि पेरिस पुगे । बाङ्देलले जस्तै उनीहरूले पनि क्युविज्मका प्रणेता पाब्लो पिकासो र जर्ज ब्राक, सरियालिस्ट पेन्टर साल्भादोर दाली जस्ता प्रयोगधर्मी मोडर्निस्ट कला शिल्पीका कर्म र जीवन नजिकबाट नियाल्ने मौका पाए ।

पेरिसमा दीक्षित बाङ्देल, गर्ग र श्रेष्ठदेखि नेपालको अग्रणी मोडर्निष्ट पेन्टरको समूह ‘स्किब’ (शशि शाह, कृष्ण मानन्धर, इन्द्र प्रधान र वत्सगोपाल वैद्य), उत्तम नेपाली आदिले पौभा र हस्तकलामा सीमित नेपाली कलालाई अन्तर्राष्ट्रिय समकालीनता दिए । यही दरिलो जगमा उभिएकै कारण आज नेपाली कलाकार न्यूयोर्क, पेरिस, लण्डनदेखि मेलवर्न र मुम्बईका कलाकार र कला आन्दोलनका हाराहारी उभिन सक्षम छन् ।

कला जस्तै नेपाली सुगम सङ्गीतले लिएको छलाङ उत्तिकै लोभलाग्दो छ । भलै प्रविधि र चेतनाका कारण नेपाली भाषाका प्रारम्भका गीतहरू नेपाल बाहिरै रेकर्ड भए तापनि राणाविरोधी क्रान्तिको शंखनाद निम्ति स्थापित ‘प्रजातन्त्र रेडियो’ प्रजातन्त्र स्थापनापछि रेडियो नेपालमा कायाकल्प भएसँगै सुगम सङ्गीतले उँचाइ लियो ।

सुगम सङ्गीतको जग बसाल्ने दुई शिल्पी मेलवादेवी र मास्टर मित्रसेन नेपाली मानसपटलमा सदा स्मरणीय छन् । पूर्वी पहाड रुम्जाटारको गुरुङ परिवारमा जन्मिएर (संवत् १९६४) महाराज चन्द्रशमशेरको दरबारी महफिलकी गायिक मेलवादेवीले ‘आऊ न बसौं पियारी मिर्मिरे झ्यालैमा’, ‘हाई मेरो परदेशी प्रितम छाडेर जानु भो’, ‘यो जिन्दगीको के भरोसा’, ‘माया मारी निष्ठुरीले छानी छानी रस लिएर’, ‘सवारी मेरो रेलैमा’ आदि गीतहरू पहिलोपल्ट संवत् १९८४ मै कलकत्तामा रेकर्ड गराएकी थिइन् ।

यसैगरी भारतको हिमाञ्चल प्रदेशको भाक्सुको लाहुरे परिवारमा जन्मिएका (संवत् १९५४) मास्टर मित्रसेनका ‘लाहुरेको रेलीमाई फेसनै राम्रो’, ‘धानको बाला झुल्यो हजुर’, ‘मलाई खुत्रुकै पार्‍यो जेठान तिम्रो बैनीले’, ‘किन गर्छौ ताना तानी’ जस्ता गीतहरूले मेलवादेवीले जग बसाएको सुगम सङ्गीतमा ईंटा थपेका थिए ।

कला जस्तै नेपाली सुगम सङ्गीतले लिएको छलाङ उत्तिकै लोभलाग्दो छ । भलै प्रविधि र चेतनाका कारण नेपाली भाषाका प्रारम्भका गीतहरू नेपाल बाहिरै रेकर्ड भए तापनि राणाविरोधी क्रान्तिको शंखनाद निम्ति स्थापित ‘प्रजातन्त्र रेडियो’ प्रजातन्त्र स्थापनापछि रेडियो नेपालमा कायाकल्प भएसँगै सुगम सङ्गीतले उँचाइ लियो ।

सन् ६० को दशकमा नेपाली सुगम सङ्गीतले नयाँ उँचाइ लियो । जसमा केही नेपाल भित्रैका र केही बाहिरका शिल्पीहरूले दरिलो काँध दिए । लेखक–सङ्गीतज्ञ पिटर जे कार्थकले ‘नेपाली म्युजिक मेकर्स, बिट्वीन दी डेल्स अफ दार्जीलिङ एण्ड दी भेल्स अफ काठमाण्डू’ मा दार्जीलिङ र काठमाडौंका सुगम सङ्गीतका सर्जक (गीत रचना, सङ्गीत र गायन) बारे विशद चर्चा गरेका छन् ।

नेपाली राष्ट्र गायनका सङ्गीत सर्जक दार्जीलिङका अम्बर गुरुङ सन् १९६१ मा कलकत्तामा अगमसिंह गिरीको ‘नौलाख तारा उदाए’ गीत रेकर्डिङबाटै चर्चित भइसकेका थिए । पछि तत्कालीन राजा महेन्द्रको आग्रहमा गुरुङको नेपालको स्थायी बसोबास र यसैगरी नारायणगोपालसँगको मितेरी साइनो पछि अर्का गीत, सङ्गीत र गायनका त्रिवेणी गोपाल योञ्जनको आगमन नेपाली सुगम सङ्गीतका निम्ति ‘टर्निङ पोइन्ट’ थिए ।

गुरुङ र योञ्जन जस्तै दार्जीलिङका शरण प्रधान, अरुणा लामा, जितेन्द्र बर्देवा, रञ्जित गजमेर, कर्म योञ्जन, शान्ति ठटाल, दिव्य खालिङ आदिको योगदान नेपाली सङ्गीतका निम्ति अतुलनीय रह्यो ।

यसैगरी नेपालभित्रकै नातिकाजी, शिवशङ्कर, बच्चु कैलाश, नारायणगोपाल, प्रेमध्वज प्रधान, तारादेवी, दीप श्रेष्ठ, भक्तराज आचार्य, ओमविक्रम विष्ट, दीपक खरेल आदिका हृदयस्पर्शी सङ्गीत र स्वरमाधुर्यले नेपाली सङ्गीतलाई भारतीय सङ्गीतको प्रभावबाट मुक्त गर्दै छुट्टै पहिचान दियो ।

राष्ट्रवाद र प्रजातन्त्रको सङ्कथन

नेपाल एकीकरणकर्ता पृथ्वीनारायण र जहानियाँ राणाशाहीका प्रतिपादक जङ्गबहादुर राणायता आधुनिक नेपालमा अकाट्य लिइने दुई नाम हुन्, बीपी कोइराला र राजा महेन्द्र । रमाइलो चाहिं, जसरी बीपीसँग प्रजातन्त्र जोडिएर आउँछ, महेन्द्रसँग राष्ट्रियता जोडिने गर्छ । विडम्बना चाहिं, यी दुई पात्रलाई एकअर्काका विपरीतार्थी बुझिन्छ वा बुझाइन्छ । त्यसैले एक पात्रको (धेरैजसो बीपी) को देवत्वकरण भइरहँदा अर्को पात्र (धेरैजसो महेन्द्र) को दानवीकरण भइरहेको हुन्छ ।

बीपी नेतृत्वको पहिलो जननिर्वाचित सरकारको अपदस्थीसँगै संसदको विघटन, बीपी र नेपाली कांग्रेसको शीर्ष नेतृत्वको काराबास र उनीहरूको रिहाइपछिको स्वेच्छिक निर्वासनका कारण पनि महेन्द्रलाई अधिनायकवादको श्रीपेच पहिर्‍याइन्छ । जसका कारण महेन्द्रका कतिपय सुधारवादी र विकासवादी काम ओझेलमा पारिन्छन् ।

महेन्द्रले आफ्नो शासनको वैधानिकता र लोकप्रियताका निम्ति ‘राष्ट्रवाद र विकास’ सङ्कथनको प्रयोग गरे । महेन्द्रका राम्रा कामका चर्चा गर्दा प्रतिगामी ठहरिने डरका कारण कतिपय बौद्धिक एवं प्राज्ञिक उनको नामदेखि नै कोसौंको दूरी बनाउँछन् । चैतन्य मिश्र जस्ता केही अपवाद विद्वान मात्र महेन्द्रको कृत्यको निन्दा र प्रशंसा गर्न धक मान्दैनन् ।

व्यक्तिगत रूपमा बीपी महेन्द्रको र महेन्द्र बीपीको प्रशंसक रहेको कुरा ऐतिहासिक दस्तावेज र सुनिजान्नेका कथनले पुष्टि गर्छ । तर, सत्ता राजनीतिको रस्साकस्सीमा यी दुई विराट प्रतिभा एकअर्का विपरीत उभिनु नेपाल राष्ट्रका निम्ति दुर्भाग्य बनिदियो ।

उता, बीपी कोइराला जीवनपर्यन्त निष्ठाको राजनीति र वैयक्तिक स्वतन्त्रताको अनुपम उदाहरण बनिरहे । सत्ताका निम्ति उनले कहिल्यै सम्झाैता गरेनन् । देशको अस्तित्व, प्रजातन्त्र, कानूनी राज्य र वैयक्तिक स्वतन्त्रताका अघि आफ्नो व्यक्तिगत जीवन गौण ठानिदिए ।

व्यक्तिगत रूपमा बीपी महेन्द्रको र महेन्द्र बीपीको प्रशंसक रहेको कुरा ऐतिहासिक दस्तावेज र सुनिजान्नेका कथनले पुष्टि गर्छ । तर, सत्ता राजनीतिको रस्साकस्सीमा यी दुई विराट प्रतिभा एकअर्का विपरीत उभिनु नेपाल राष्ट्रका निम्ति दुर्भाग्य बनिदियो ।

सामूहिक चेतनप्रवाह

फ्रान्सेली समाजशास्त्री एमिल दुर्कह्याम (जन्म सन् १८५८) को सिद्धान्त ‘कलेक्टिभ कन्ससनेस’ (सामूहिक चेतना) नेपाली राष्ट्रवाद बुझ्नका निम्ति उपयोगी हुनसक्छ । दुर्कह्याम कुनै पनि सामाजिक समूह वा समाजका साझा विश्वास, विचार (वा भाष्य), अवधारणा र ज्ञानको प्रवाहलाई ‘सामूहिक चेतना’ को रूपमा अर्थ्याउँथे । समाजका विशिष्ट व्यक्ति (वा व्यक्तित्व) को सद्भाव वा ऐक्यभावका कारण नै समाज अस्तित्वमा रहन्छ र त्यो समाज गतिशील हुन्छ भन्ने मत उनको थियो ।

नेपालको इतिहासलाई हेर्ने हो भने भौगोलिक एकीकरणपछिको विशिष्ट कालखण्ड राणाशाहीबाट मुक्ति र खुला समाजको आकांक्षाका निम्ति गरिएको संघर्षको समय हो । भारतको स्वतन्त्रता सङ्ग्रामका कारण नेपालमा पनि एउटा विशिष्ट परिस्थिति सिर्जना भएको थियो । नेपाली युवामा राजनीतिक सचेतता अंकुरित भएको थियो । जसले छिट्टै नै परिणाम पनि दियो ।

त्यस यताको समय राजनीतिक, सामाजिक र सांस्कृतिक चेतनाको युग थियो । उदार राजनीतिकर्मी, समाज सुधारक, साहित्यिक र साङ्गीतिक सर्जक, प्रगतिशील व्यक्तिहरूका सामूहिक चेतना नै आधुनिक नेपाली चेतनप्रवाहको मियो थियो । राजनीतिक निष्ठामा क्षयीकरण, राष्ट्रवादमा कैफियत अनि गूट र समूहमा विभाजित आजको नेपाली समाजलाई लर्खराउनबाट बचाउने मियो पनि यही हो ।

प्रतिकृया दिनुहोस