कला/साहित्यमंगलबार, १४ आश्विन , २०७६

हाम्रा लोक–मिथकः जहाँ देउता पनि दण्डित हुन्छन्

सेवा भट्टराई

सेवा भट्टराई

हिन्दू परम्परामा देउतालाई शक्तिशाली मानिन्छ । उनीहरूबाट उच्च नैतिक व्यवहारको अपेक्षा गरिन्छ तर हिन्दू धर्मग्रन्थका देउता भन्दा लोक–साहित्यमा भेटिने देउता फरक प्रकृतिका छन् ।

भारतीय लोक–साहित्यविद् एके रामानुज भन्छन्ः “लोक–साहित्यमा शास्त्रीय धर्मग्रन्थ बाहिरको वैकल्पिक संसार पाइन्छ । पात्र र कथाहरू उही भए तापनि तिनीहरूको अर्कै अर्थ भेटिन सक्छ । हरेक शास्त्रीय विचार वा अवधारणाको विकल्प वा चुनौती लोक–साहित्यमा भेटिन्छ ।”

नेपाली लोक–साहित्यमा पनि शक्तिशाली र उच्चनैतिक आचरण भएका देउताको अवधारणालाई गलत देखाइएको थुप्रै उदाहरण भेटिन्छन् । देउताले पनि मान्छेले जस्तै कर्मको फल भोगेका छन् । एउटा गन्धर्व गीतबाट शुरू गरौं ।

सत्य युगैमा हर्नाकुलेसु राजौ नि

चारै युग सहिर नि

अश्वदल गजदल राजा तिमीले

बहुतै दल नि जोड्यौ नि

एको दल संग नगयो होहो राजै जी

धन त धर्ती त राजै कसैको नि होइन होइन नि

द्वापर युगैमा दुर्योधन भयौ राजा नि

हिस्तनापुरकी सहित रामा होहो जी

सय कोटी योजना हो राजा तिम्रो, लछिमी त जति नि

एको लछिमी त संग नगयो हो राजा जी

धन त धर्ती त राजै कसैको नि होइन होइन नि

तीर्थापुर युगै मा र रामन्ने भयौ राजा नि

कञ्चनपटु दरबारको सहित रामा हो जी

एक लाख पुत्र थिए रामणका जी सवा लाख नि नातिनी

लकडीसंग हो नगयो हो राजै जी

धन त धर्ती त राजा कसैको नि होइन होइन नि

कली र युगैमा कृष्ण भयौ राजा नि

सोह्रसय गोपिनीको सहित जी

कंसलाई मारिकन विधंस खेलायौ नि

गोकुलमा बाजी बढाईं हो राजा जी

धन त धर्ती त राजै कसैको नि होइन होइन नि

सांसारिक मायामोहमा फसेका केही पात्रबाट यहाँ नैतिक शिक्षा लिन खोजिएको छ । हिरण्यकशिपुले घोडा र हात्तीमाथि गर्व गरे, तर मर्दा लिएर गएनन् । दुर्योधनले धेरै सम्पत्ति र रावणले धेरै सन्तति कमाए, तर मर्दा न दुर्योधनले केही लगे, न रावणसँग लकडीमा कोही चढे । यी पंक्तिमा त्यस्ता सांसारिक कमाइको पछि लाग्नु बेकार भएको अर्थ पाइन्छ ।

हिन्दू मिथकका यी खलपात्रलाई नकारात्मक उदाहरणका रूपमा उभ्याउनु सामान्य मान्न सकिन्छ । तर माथिको गीतको अन्त्यमा लोकप्रिय देउता कृष्णले पनि १६०० गोपिनीलाई छाडेर गएको उल्लेख छ । उनले कंसलाई मारेर ठूलो बाजी बढाईं गरे, तर त्यो सब क्षणिक थियो । खासमा कंसको हत्यालाई यहाँ ‘विध्वंस खेलायौ’ भनिएको छ । शास्त्रमा त्यसलाई ‘पापमाथि धर्मको विजय’ भनेर व्याख्या गरिए पनि यहाँ हत्याको बढाईं हुनुलाई विडम्बना जस्तो देखाइएको छ ।

गन्धर्व समुदायले सारङ्गी रेट्दै गाउने यो लोकगीत भगवद्गीताको तलको आशयसँग मिल्दोजुल्दो छः ‘जसले सुखसयल र मोजमज्जालाई सबभन्दा ठूलो उपलब्धि ठान्छन्, उनीहरूले आफूलाई झुक्याइरहेका छन् । त्यस्ता मानिसको मनलाई ध्यान र मोक्षतर्फ लगाउन सकिंदैन ।’

धर्मग्रन्थहरूमा कृष्ण जस्ता पात्रको देवत्वकरण गरिएको छ । उनीहरूले गर्ने गल्तीको अनेक तरिकाले ढाकछोप गरिन्छ । जसकारण धर्मशास्त्रप्रति धेरै प्रश्न र वितृष्णा पनि जागृत भएको पाइन्छ । तर लोक–साहित्यका कथाहरू शास्त्र जस्तो कडा नियममा बाँधिएका छैनन् । त्यसकारण लोकवार्ताले मानिसहरूलाई असन्तुष्टि पोख्ने ठाउँ दिएको छ । महान् मानिएका पात्रप्रति आफ्नै दृष्टिकोण बनाउने स्थान दिएको छ ।

लोक–साहित्यमा कुनै पनि देवतालाई पूर्ण र उच्च नैतिक चरित्र भएका पात्रका रूपमा हेरिंदैन । देउताका खोटलाई पनि अँगालेर तिनीहरूबाट नैतिक र सामाजिक दृष्टान्त दिने परिपाटी देखिन्छ ।

उदाहरणका लागि, रामायणका नायक रामका यति धेरै खोट छन् कि यिनलाई कसरी मर्यादा पुरुषोत्तम मान्न सकिन्छ भन्ने प्रश्न उठ्ने गर्छ । लोक–साहित्यमा भने रामलाई मर्यादा पुरुषोत्तम मानिंदैन ।

मूलधारको कथामा उनलाई अन्यायमा परेका पात्रका रूपमा धेरै देखाइन्छ । तर, उनी कुनै खोट नभएका पात्र भने होइनन् । लोक–साहित्यमा उनले वनवास जस्ता विपत्ति आफ्नै गल्तीले निम्त्याएको बताइन्छ ।

अछामका भोजराज भाटले गाएको एउटा गीतः

पहिली गरब कियो राजा रामचन्द्रले

बाह्रै वर्ष वनवासी भइ पर्भु ज्यू करमले

बातु छ न्यारी, करमकी बातु छ न्यारी

शास्त्र अनुसार रामले वनवास जानुपर्ने कारणका रुपमा धेरै घटनालाई देखाइएको छ । जस्तै, रामका बाबुले निर्दोष श्रवणकुमारलाई मार्नु, वा रामकी सौतेनी आमा दुष्ट हुनु, आदि आदि । तर, भाटको गीतमा भने दोष राममाथि नै लगाइएको छ । रामले गर्व गरेको हुनाले आफ्नै कर्मको फलस्वरुप वन जानुपरेको बताइएको छ ।

रामको गौरवको कथा अरू पनि थुप्रै लोकगीतमा पाइन्छ । ‘नेपाली लोकगाथाको अध्ययन’ नामक पुस्तकमा कपिलदेव लामिछानेले यस्तो गीत संकलन गरेका छन्ः

पहिला गरबु गर्या तिनी चन्द्र सूर्यले

तिनीकन कलंक लगाया

दोसरी गरबु गर्या बयली देवले

तिनकन अस्थिर गराया

तिसरी गरबु गर्या धरती र धर्मले

तिनकन थरीथरी कमाया

उहाँपछि गरब गर्या कामधेनु गाइले

तिनकन कुचिल खुवाया

उहाँपछि गरब गर्या तिनी राजा रामले

तिनकन अयोध्या छुटाया

उहाँपछि गरबु गर्यौ तिमी लछिमनले

तमीकन बाबली कमान छुटाया

चन्द्र सूर्यले पनि आफ्नो प्रकाशमा गर्व गर्दा उनीहरूमा दाग लाग्यो । वायु देवताले गर्व गर्दा उनलाई अस्थिर बनाइयो । धर्ती र धर्मले गर्व गर्दा उनीहरू अपवित्र हुनु पर्‍यो । र रामले गर्व गर्दा अयोध्या गुमाउनु पर्‍यो । यो गीत रामले गाएका छन्, अर्थात् रामले आफ्नो गल्तीको अनुभव गरिसकेका छन् । भाइ लक्ष्मणलाई त्यही कुरा बताउन खोज्दैछन्, “भाइ लक्ष्मण, तिमीले गर्व गरेको हुनाले सेनाको कमान तिमीबाट छुटाइयो ।” राम यहाँ मर्यादा पुरुषोत्तम पनि छैनन् र सर्वशक्तिमान देउताको अवतारमा पनि छैनन् । उनी कर्मको फल पाएपछि ज्ञानी बनेका विनम्र मानिस छन् ।

यहाँ पनि भगवद्गीताको मर्म पाइन्छः ‘आफ्ना इन्द्रियहरूलाई काबुमा राखेर मोहको त्याग गर, किनकि त्यसले ज्ञान र ध्यानबाट प्राप्त भएका सबै उपलब्धिको विनाश गर्दछ ।’

देउताले कर्मको फल पाएको अझै स्पष्ट उदाहरण कतिपय लोकगीतमा पाइन्छ । पूर्वी नेपालमा गाइने रामायणको अंश रहेको एउटा सँगिनी गीतको उदाहरण लिऊँ ।

वाल्मीकि रामायणमा शबरीले रामलाई बयर खुवाएको प्रसंग पाइँदैन । तर थुप्रै लोककथामा भने शबरीले दिएको जुठो बयर रामले खुशीले खाएको प्रसङ्ग पाइन्छ । रामको विनम्र स्वभावको उदाहरण दिने क्रममा यो प्रसङ्गको प्रयोग गरिन्छ । तर सँगिनीमा यसलाई अझै अगाडि बढाइन्छः शबरीले लक्ष्मणलाई पनि बयर दिएको, लक्ष्मणले जुठो भनी फ्याँकेको, तर त्यही बयर पछि गएर ‘सञ्जीवनी बुटी’ बनेको प्रसंग पाइन्छ ।

धनकुटाकी रमादेवी दाहालले गाएको यो गीतः

यस्तो मिठो बयर त अयोध्यामा छैन

कौशल्याको दूध पनि यति मीठो होइन

लेउ न भाइ अलिकति तिमी पनि खाउ

जुठो भनी लक्ष्मणले फ्याँके हेरी दाउ

त्यही बयर द्रोणाचलमा सञ्जीवनी बन्यो

मेघनादले लक्ष्मणजीलाई मृत्युवाण हान्यो्

मेघनादले लक्ष्मणजीलाई भुइँमा मूर्छा पार्‍यो

श्रीरामलाई अब फेरि पर्नु पर्‍यो साह्रो

श्रीरामले भन्नुभो हनुमानलाई हेरी

सञ्जीवनी बुटी खोजी ल्याउ यहाँ फेरी

हनुमानजी त्यहाँदेखि द्रोणाचलमा गए

बुटी खोज्दा नभेटेर पर्वत बोकी ल्याए

भक्तिभाव र प्रेमले दिएको हुनाले ती बयर जीवनदायी बने । भक्ति र प्रेममा जीवनदान दिन सक्ने शक्ति छ भन्ने आशय यो कथाको मूल मर्म हो ।

युवा अवस्थामा जुठो भनेर हेला गरेर फ्याँके पनि पछि त्यही बयरले लक्ष्मणको ज्यान बचाउँछ । आफ्नो पुरानो गर्वलाई त्यागेर सञ्जीवनी ग्रहण नगरी लक्ष्मणले सुखै पाएनन् । देउताले त आफ्नो कर्मको फल पाउँछन् भने मान्छेले पनि पाउँछ । त्यसैले विनम्र हुनुपर्छ भन्ने मूल्यमान्यता यो गीतमा पाइन्छ ।

देउताले दण्ड पाएका धेरै लोककथा छन् । वृन्दालाई छल गरेको हुनाले विष्णुले झार र ढुङ्गा बन्नु परेको, साढेसातको दशा लागेर शिवजीले भुसुना बन्नु परेको प्रसङ्ग सर्वविदितै छन् ।

देउतालाई पनि दण्डित गरिने यी लोककथामा कर्म शक्तिशाली हुन्छ भन्ने दर्शन छ । यस्ता गीत र कथाले सहज भाषामा भगवद्गीताको मर्म समाजमा फैलाइरहेका छन् । अर्थात्, सांसारिक मोहमा फस्नुहुँदैन भन्ने हिन्दू दर्शन पुस्तकमा मात्रै सीमित छैन ।

निरक्षर मानिसमा दर्शनको ज्ञान हुँदैन भन्ने धारणा कतिपय शिक्षित समाजमा पाइन्छ । माथिको गीतमा धर्म ग्रन्थ नपढ्दा पनि धर्मग्रन्थको ज्ञान भने लोकगीतले बाँडिरहेका हुन्छन् भन्ने देखिन्छ । लोक–साहित्य भनेको लोक जीवनदर्शन बुझ्ने बाटो हो ।  

देउताको प्रकृति कस्तो हुन्छ, वा कस्तो हुनुपर्छ, वा कुन नैतिक आचरणको मापदण्डमा देवतालाई राख्ने भन्ने बहस पनि खासै भएको पाइँदैन । जो मानिस वा समुदायको आध्यात्मिक जीवनमा देवता साँच्चै महत्वपूर्ण हुन्छन्, उनीहरूले देवताका खोटहरू पनि अँगालेर त्यसबाट नैतिक, सामाजिक वा दार्शनिक पाठ सिक्ने गर्छन् ।

लोक–साहित्यका गीत अपवाद होइनन् । पूर्वको सँगिनीदेखि मध्य नेपालको गन्धर्व गीत र पश्चिमको गौरा गीतसम्ममा धर्मशास्त्रमा भन्दा छुट्टै दर्शन पाइन्छ । अछामका चल्ली र टंकी वादीले गाएको एउटा तिहार गीतः

घाँटीमा फूलको माला

फेरी भेट होला कि नहोला

रावण मर्‍यो घमण्डले

बाली मर्‍यो पापले

सुखी र दुःखीले उस्तै भै खानु

निष्पातको भावले

घाँटीमा फूलको माला

फेरी भेट होला कि नहोला

यहाँ भगवद्गीताको मुख्य भावको सारांश पाइन्छः ‘जो जसको मन दुःखमा आत्तिंदैन, जसमा सुखको चाहना छैन, र जो सांसारिक मोह, डर र रिसबाट मुक्त छ, उसलाई स्थिर मन भएको मुनि मानिन्छ ।’

 

प्रतिकृया दिनुहोस